आफ्नो मधुर स्वरले लाखौँ स्रोतालाई मन्त्रमुग्ध पार्ने स्वरसाम्राज्ञी लता मंगेशकरलाई कुनै समय मन्दविष दिएर मार्ने कोसिस भएको थियो । लता मंगेशकरको निकट सम्पर्कमा रहेकी कवयित्री तथा साहित्यकार पद्मा सचदेवको संस्मरण्ाात्मक पुस्तक 'ऐसा कहाँ से लाऊँ'मा यस घटनाको दाबी गरिएको छ ।
पुस्तकमा मंगेशकरले बताएको उल्लेख गर्दै सन् १९६२ को सो घटनाको वर्णन गरिएको छ । त्यस वेला उनी ३३ वर्षकी थिइन् । एक दिन बिहान उठ्दा उनलाई पेटमा अप्ठ्यारो महसुस भयो । त्यसपछि दुई/तीनचोटि बमिट भयो । बिस्तारै उनी पेट दुखाइले हलचल पनि गर्न नसक्ने भइन् । त्यसपछि डाक्टरलाई बोलाइयो । दुखाइ सहनै नसकेपछि उनलाई बेहोसीको इन्जेक्सन दिइयो । तीन दिनसम्म उनी जीवनमरणको दोसाँधमा रहिन् ।
त्यसपछि पनि तीन महिनासम्म उनी ओछ्यान नै परिन् । उनलाई केवल चिसो सुप पिउने अनुमति थियो । तर, पनि पेट सफा हँुदैनथ्यो र पोलिरहन्थ्यो । दस दिनसम्म उनको हालत खराब नै रह्यो । त्यसपछि बिस्तारै सुधार भयो । त्यसैवेला डाक्टरले बताए कि उनलाई मन्दविष दिइएको थियो ।
यस घटनापछि उनको घरमा खाना बनाउने भान्छे कसैलाई केही नभनी र तलब पनि नलिई भाग्यो । पछि लतालाई थाहा भयो- त्यो भान्छेले चलचित्र उद्योगमा पनि काम गरेको थियो । यो घटनापछि घरमा भान्छेको काम उनकी सानी बहिनी उषा मंगेशकरले सम्हालिन् ।
पुस्तकका अनुसार लता आफू बिरामी भएको वेला गीतकार मजरुह सुल्तानपुरीले गरेको स्नेह भुल्न सक्दिनन् । सुल्तानपुरी पूरै तीन महिना हरेक दिन बेलुका ६ बजे आएर छेउमा बस्दथे र उनी जे खान्थिन्, त्यही खान्थे । कविता र कथा सुनाउँथे ।
पुस्तकमा उल्लेख अर्को घटना पनि उल्लेख्य छ- उषा मंगेशकरले देखेको सपना ।
उषा मंगेशकरले लेखिकालाई बताएअनुसार लता बिरामी भएको वेला भारतीय गीतकार शैलेन्द्र मरिसकेका थिए । तर, उनी उषाको सपनामा आए र भने, 'उषा मलाई माफ गर । यो मैले गरेको होइन । मैले आफ्नै आँखाले कसैले दिदीलाई विष दिएको देखेँ ।'
कलायात्रा अभिनयबाट
लताको जन्म २८ सेप्टेम्बर १९२९ मा भारतको इन्दौरमा भयो । इन्दौर उनको मामाघर थियो । उनको जन्मपछि परिवार कोल्हापुर बस्न थाल्यो ।उनका बुबा दिनानाथ मंगेशकर नाटक कम्पनी चलाउँथे । त्यसमा उनले बच्चाको भूमिकामा अभिनयको मौका पाइन् । दिनानाथले नाटक कम्पनी बन्द गरेर चलचित्र कम्पनी चलाए । तर, लतालाई अभिनयमा भने रुचि थिएन ।
सन् १९४२ मा बुबाको मृत्युपछि भने लता आफैँले परिवारको जिम्मेवारी लिनुपर्यो । त्यसबखत उनलाई पैसाको ठूलो समस्या पर्यो । समस्या टार्न निकै संघर्ष गर्नुपर्यो ।
संघर्षका क्रममा उनले उति मन नलागे पनि हिन्दी र मराठी चलचित्रमा काम गरिन् । उनको चलचित्र अभिनय-यात्रा 'पाहिली मंगलागौर' -१९४२) बाट भयो । जसमा स्नेहप्रभा प्रधानको सानी बहिनीको भूमिका उनले पाएकी थिइन् । त्यसपछि उनले 'माझे बाल', 'चिमुकला संसार' -१९४३), 'गजभाउ' -१९४४), 'बडी माँ' -१९४५), 'जीवनयात्रा' -१९४६), 'माँद' (१९४८), 'छत्रपति शिवाजी' -१९५२) 'सामिल'लगायत चलचित्रमा काम गरिन् ।
सानैदेखिको सपना गायन
लताका बुबाले छोरीलाई ५/६ बर्षकै उमेरमा गीत सिकाउन थालेका थिए ।लताको पनि अभिनयभन्दा गायनमै अभिरुचि थियो । उनले पहिलोपटक वसन्त जोगलेकरले निर्देशन गरेको चलचित्रमा गाउने मौका पाएकी थिइन् । तर, लताका बुबा चाहन्थे- छोरीले फिल्ममाचाहिँ नगाए हुन्थ्यो । त्यही कारणले फिल्मबाट गीत निकालियो । तर, उनको गायन-प्रतिभाबाट वसन्त निकै प्रभावित भइसकेका थिए ।
जोगलेकरले १९४७ मा आफ्नो चलचित्र 'आपकी सेवा में'मा उनलाई गाउने मौका दिए । त्यस फिल्मको गितले लतालाई निकै चर्चामा ल्यायो । त्यसपछि 'मजबुर' फिल्मको गीत 'अंग्रेजी छोरा चला गया' र 'दिल मेरा तोडा, हाय मुझे कहीं का न छोडा, तेरे प्यार ने' जस्तो गीतबाट उनको अझ चर्चा बढ्यो ।
त्यसो त चलचित्रमा अभिनय गर्ने क्रममै उनले फिल्मका लागि गीत गाइसकेकी थिइन् । उनले नूरजहाँका साथ अभिनय गरेको चलचित्र 'बडी माँ'का लागि गीत पनि गाएकी थिइन् । त्यसमा बहिनी आशा भोस्लेको भूमिकाका लागि उनले पाश्र्वगायनसमेत गरेकी थिइन् ।
१९४९ मा बनेको 'महल' चलचित्रको गीत 'आएगा आनेवाला' गीतबाट भने उनको चर्चा चुलियो, जसमा त्यस समयकी चर्चित र सुन्दरी अभिनेत्री मधुवालाले अभिनय गरेकी थिइन् । त्यसपछि लताले पछाडि हेर्नुपरेन । उनले एक हजारभन्दा बढी बलिउडका चलचित्रमा गीत गाइसकिन् । ३६ भाषाका गीतमा उनले स्वर दिएकी छिन् । भारतको सबैभन्दा ठूलो पदकमध्ये मानिने 'भारत रत्न' पाउने उनी दोस्री गायिका पनि हुन् ।
१९७४ देखि १९९१ सम्म लताको नाम गिनिज बुकमा सबैभन्दा बढी गीत रेकर्ड गराउने गायिका भनेर
लेखिएको थियो ।
नेपाली गीतमा लताको स्वर
फूल भन्छ फुलिरहूँ
जून भन्छ चम्किरहूँ
मन त भन्छ सबैसँग
मायामोह राखिरहूँ
बाँचुन्जेलीलाई, बाँचुन्जेलीलाई...
दिनेश अधिकारीका यी शब्दले प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको स्वर पायो । गीत निकै चर्चामा आयो । सँगै चर्चामा आए लतासँग युगल गायन गर्ने गायक रामकृष्ण ढकाल र संगीतकार शिखर सन्तोष । रामकृष्ण ढकालले पछिल्लो एल्बममा यो गीत समेटे र नाम नै 'बाँचुन्जेल' राखे ।
बजारमा यो गीतको चर्चा हुनु स्वाभाविक थियो । किनकि, केही वर्षदेखि हिन्दी गीत पनि छानेर मात्रै गाउन थालेकी लताले नेपाली भाषामा गीत गाउनु सुखद त छँदै थियो, लताका कालजयी हिन्दी गीत सुन्ने नेपाली स्रोताले आफ्नै भाषामा उनको स्वर पाउनु थप
आनन्ददायक छ ।
त्यसो त लताले गाएको यो नै पहिलो नेपाली गीत भने होइन । उनले 'तिमीलाई शुभकामना, तिमीलाई लाखलाख वन्दना' र 'आकाशैका नौलाख तारा म गन्न सक्दिनँ' बोलका दुई गीत बीसको दशकमै गाएकी थिइन् । मबिबी शाहले लेखेका ती गीतमा भारतीय संगीतकार जयदेव र हेमन्तकुमारले संगीत गरेका थिए ।
अन्य भारतीय गायक-गायिकाले पनि नेपाली गीत नगाएका भने होइनन् । तर, तीमध्ये लताको उचाइ र प्रसिद्धि बढी नै मानिन्छ । भारत मात्रै होइन, विश्वका धेरै देशमा सुनिने मंगेशकरको स्वरलाई 'मखमली' मानिन्छ । उनको गायकीको प्रशंसा मात्रै होइन, उत्तिकै सम्मान पनि गरिन्छ । भारतीय संगीत क्षेत्रमा त उनी जीवित किंवदन्ती नै बनिसकेकी छिन् । भारतमा भनिन्छ- लताले भगवान्को वरदानस्वरूप सुन्दर आवाज पाएकी हुन् । त्यसलाई उनले मानवकल्याणका लागि गरिन् । त्यसैले जबसम्म धर्तीमा सूर्य-चन्द्रमा रहन्छ, लताको आवाज हाम्रोवरिपरि गुन्जिरहन्छ ।'