Thursday, February 7, 2013

जापानको साग अब नेपालमा - onlinekhabar

एकपटक यो फोटो हेर्नुस् त ? पात हेर्दा रायोको सागजस्तो, आकार हेर्दा बन्दा जस्तो यो सब्जी तपाईंले पनि कहीँकतै खानुभएको होला । पकाएर हैन, सलादको रुपमा ।
ठूला होटलमा खान खान जाँदा चाख्न पाए पनि खेतबारीमा यसको बोट चाहिँ तपाईंले पक्कै पनि देख्नुभएको छैन । किनकी नेपालमा यसको व्यवसायिक खेती नै हुँदैन । नेपाल कृषि अनुसन्धान परिषद नार्कमा बीउ उत्पादन गर्नको लागि यसको खेती गरिएको छ ।
‘नेपालमा कसैकसैले नमूनाको रुपमा लगाए मात्र, नत्र हाम्रो अनुसन्धान फार्ममा मात्र यसको बोट छ’ केन्द्रीय तरकारी बीउ उत्पादन केन्द्र्रका प्रमुख भरतकुमार पौडेलले अनलाइनखबरसित भन्नुभयो । उहाँका अनुसार यसको बीउ उत्पादन गरेर किसानलाई वितरण गर्ने तयारी छ ।
‘तीन चार महिनाभित्र बीउ उत्पादन गरेर यसको व्यवसायिक खेती थाल्ने हाम्रो योजना छ’ पौडेलले भन्नुभयो ।
न्वारन भयो, नाम जुराउन बाँकी
सलादको रुपमा प्रयोग हुने यो नौलो सागको बीउ जापानबाट ल्याईएको हो । यसलाई अंग्रेजीमा latuce भनिन्छ । यसको नेपाली नाम भने जुरिसकेको छैन । ‘अहिले जिरी साग भनेर चिनिन्छ, तर खास नेपाली राख्न बाँकी छ’ केन्द्रीय तरकारी बीउ उत्पादन केन्द्रका प्रमुख पौडेलले भन्नुभयो ।
जिरी साग कसरी रहृयो भन्ने कुरा यकिन भैसकेको छैन । दोलखाको जिरीमा प्रोजेक्टमा काम गर्ने बेला स्वीसहरुले यो साग खाएका र त्यहीँबाट यसको नाम जिरी रहेको हुन सक्ने पौडेलले अनुमान गर्नुभयो । ‘जे होस् हामी छिटै नयाँ नाम राखेर यसको व्यवसायिक खेती अभियान थाल्नेछौं’ पौडेलले भन्नुभयो ।
यो साग नेपालका सबै ठाउँमा खेती गर्न सकिने पौडेलको भनाई छ ।