Thursday, February 7, 2013

ट्विटरका हाकिम भन्छन् : फेसबुकलाई पछार्छौँ - onlinekhabar

माइक्रो ब्लगिङ साइट ट्विटरका प्रमुख कार्यकारी डिक कोस्टोलोले ट्विटरलाई विश्वको नम्बर वान सामाजिक संजाल बनाउने योजनाको खुलासा गर्दै भविष्यमा ट्विटरले फेसबुकलाई पछार्ने दाबी गरेका छन् ।
एक अर्ब प्रयोगकर्ताको कोशेढुंगो अघिल्लो वर्षको अक्टोबरमै पार गरिसकेको फेसबुकको तुलनामा ट्विटरका प्रयोगकर्ता आधा भन्दा पनि कम छन् । तथापि ट्विटरका हाकिम कोस्टोलोले भने एक अर्बको कोशेढुंगो अब खासै टाढा नरहेको दाबी गरेका छन् ।
संचालनमा आएको ९ वर्षमा फेसबुकले आफ्ना प्रयोगकर्ताको संख्या १ अर्ब पूराएको थियो । जबकी संचालनमा आएको ७ वर्ष पुगेको ट्विटरका प्रयोगकर्ता अहिले ५० करोड पुगेका छन् ।
फेसबुकतर्फ लक्षित गर्दै कोस्टोलोले कुनै अर्को कम्पनीसँग तुलना गर्दै आफुहरुले आफ्नो लक्ष्य निर्धारण नगर्ने भन्दै तर विश्वव्यापी रुपमा एक अर्ब प्रयोगकर्ता पूराउने अहिलेको मुख्य लक्ष्य भएको खुलासा गरे ।
अरु ९९.९ प्रतिशत कम्पनीहरुले आफुलाई जत्रो बनाउन चाहन्छन् त्यत्रो साइजमा ट्विटर पुगिसकेको भन्दै कोस्टोलोले ट्विटर विश्वका सबै मानिसका लागि मुल्यवान भएको जिकिर गरे ।
सोसल साइटहरुको दुनियामा फेसबुक र ट्विटर कडा प्रतिद्धन्दी हुन् । फोटो शेयरिङ सेवा इन्स्टाग्रामको विषयलाई लिएर यी दुइ बीच गएको वर्ष ठूलै विवाद भएको थियो । ट्विटरले किन्ने सहमति भैसकेको इन्स्टाग्राम दोब्बर रकम दिएर फेसबुकले हत्याए पछि ट्विटर आगो बनेको थियो । ट्विटरले पछिल्लो पटक भिडियो सेयरिङ सेवा पनि सुरु गरेको छ ।