के तपाई
कुनै ‘सर्भिस अट्याच’वाला स्मार्टफोन ‘अनलक’ गरेर चलाउने बिचार
गर्दैहुनुहुन्छ ? यदि त्यसो गर्दै हुनुहुन्छ भने त्यस्तो काम गैरकानुनी
ठहर्ने छ । तपाईले अदालतमा मुद्दा खेप्नुपर्ने छ र २ हजारदेखि ५ लाख
डलरसम्म जरिवाना तिर्नुपर्ने हुन्छ ।
खासगरि
अमेरिका लगायत बिकशित मुलुकमा अहिले बिभिन्न टेलिफोन सेवा प्रदायक
कम्पनीहरुले सस्तो दरमा सर्भिस अट्याचवाला स्मार्टफोन बेच्दै आएका छन् ।
यस्तो फोन किन्ने ग्राहकले सम्झौता अबधिभर किस्ताबन्दीमा कमभन्दा कम रकम
तिरेर चलाउन पाउँछन । तर, अनलक गरेर अर्को सेवा प्रदायकको सिम राख्न
पाउँदैनन् ।
तर, पछिल्ला दिनमा यसरी सेवा अबधि नसकिदै अनलक गर्ने र सस्तो मूल्यमा तेस्रो मुलुकमा पठाउने चलन बढेको थियो ।
शनिवारदेखि अमेरिकामा लागू भएको डिजिटल
कपिराइट कानुनअनुसार अब यसरी अनलक गर्नु अपराध मानिने छ । ‘डिजिटल मिलेनियम
कपीराइट एक्ट’ले सेवा प्रदायकको अनुमति बेगर फोन अनलक गर्नुलाई गैरकानुनी
हुने ब्यबस्था गरेको छ ।
तर, तपाईले पहिलै नै फोन अनलक गर्नुभएको छ
भने तपाईलाई कुनै समस्या नपर्ने एवीसी न्यूजले जनाएको छ । यस्तो
ब्यबस्थालाई अमेरिकी डिजिटल अधिकारसम्बन्धी बिज्ञले आलोचना गरेका छन् ।
‘ग्राहकले पैसा हालेर किनेको चिजलाई उनीहरुले जे चाह्यो त्यो गर्न
पाउनुपर्छ’ रिबेका ज्याक्हेले भने-’यो राम्रो कानुन हैन् ।’
नयाँ नियमबाट टेलिफोन सेवा प्रदायकहरु भने
खुसी छन् । यसले गर्दा उनीहरुको ग्राहक सेवा अबधि नसकिदै अन्त सर्ने
सम्भावना कम हुनेछ । नयाँ कानुनअनुसार अब टेलिफोन सेवा प्रदायकले अनलक
गर्ने ग्राहकबिरुद्ध मुद्दा हाल्न सक्नेछन् । अपराधिक प्रयोजनका लागि अनलक
भएको पाइए अपराधिक मुद्दाकै रुपमा कारवाही हुने छ ।
सोसल मिडिया तथा डिजिटल मिडिया कानुनबारे
ज्ञाता ब्राड सेरका अनुसार सेवा प्रदायकले उपभोक्ताबिरुद्ध मुद्दा हालेमा
कम्तीमा २ हजार अमेरिकी डलरसम्म जरिवाना हुनसक्छ । अनलक गरेका फोन बेच्ने
बिक्रेतालाई करिव ५ लाख डलर जरिवाना र जेल सजायँसम्म हुनसक्छ ।
तर उनले टेलिफोन सेवा प्रदायक कम्पनीहरु यति आक्रामकरुपले उपभोक्ताविरुद्ध लाग्लान र मुद्दा हाल्न तम्सिएलान भन्ने नलागेको बताए ।