Thursday, January 3, 2013

१२,८७६ शिक्षकका लागि विज्ञापन खुलाइने विज्ञापनको पर्खाइमा सात लाख - souryadaily

-शरद शर्मा
काठमाडौं, १९ पुस । शिक्षक सेवा आयोगले १२ हजार ८ सय ७६ दरबन्दीमा शिक्षक विज्ञापन खुलाउने भएको छ । सबै जिल्ला शिक्षा कार्यालयले रिक्त दरबन्दीको विवरण पठाएपछि खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्न आयोगले विज्ञापन खुलाउने टुंगो लगाएको हो ।
‘१२ हजार ८ सय ७६ शिक्षकका लागि विज्ञापन गर्ने टुंगो लागेको छ,’ आयोगका प्रशासकीय प्रमुख खगेन्द्रप्रसाद नेपालले सौर्यसँग भने । नेपालका अनुसार प्राथमिक तहका लागि सबैभन्दा बढी विज्ञापन गरिने भएको छ । माध्यमिक तहमा २ हजार २ सय ४२, निम्न माध्यमिकमा २ हजार ७ सय ६६ र प्राथमिकका लागि ७ हजार ८ सय ६८ शिक्षकको विज्ञापन गर्न लागिएको हो । ५० प्रतिशत खुला र ४५ प्रतिशत आरक्षणतर्फ विज्ञापन खुलाइने भएको छ ।
आयोगका उपसचिव नारायण भट्टराईले सबै जिल्लाबाट रिक्त शिक्षक दरबन्दीको जानकारी आइसकेकाले शुक्रबारसम्ममा विज्ञापन गर्ने पहल भइरहेको बताए । सबै शिक्षा कार्यालयले तह निर्धारण गरी शिक्षक दरबन्दी बुधबारसम्ममा आयोगमा पठाइसकेको उपसचिव भट्टराईले जानकारी दिए ।
१९ मंसिरमा मन्त्रिपरिषद् बैठकले शिक्षक सेवा आयोग निमावली संशोधन गरेपछि आयोगलाई शिक्षक नियुक्तिका लागि बाटो खुलेको हो । आयोगले नियमावली संशोधनलगत्तै सबै शिक्षा कार्यालयलाई रिक्त दरबन्दीको जानकारी मगाएको थियो । एक महिनाभित्र सबै शिक्षा कार्यालयले रिक्त दरबन्दीको संख्या किटान गरी आयोगमा पत्र पठाएका छन् ।
आयोगले रिक्त दरबन्दीका लागि तहगत प्रक्रिया मिलाइरहेको छ । विज्ञापन सºटवेयरमा हाल्ने काम भइरहेको उपसचिव भट्टराईले जानकारी गराए । उनले केही जिल्ला शिक्षा कार्यालयले विषयगत शिक्षक नछुट्टयाइदिँदा समस्या भएको बताए । शिक्षा कार्यालयले विज्ञान र गणितको संयुक्त रूपमा पठाएकाले संख्या छुट्टयाउन समस्या परेको छ ।
आयोगका अनुसार नयाँ विज्ञापनमा खुला प्रतिस्पर्धाका लागि ४० वर्षको उमेर हदबन्दी राखिएको छ भने अस्थायी र करारका लागि उमेर हदबन्दी छैन । माध्यमिक तहका लागि सम्बन्धित विषयमा स्नातक उत्तीर्ण, १० महिने शिक्षण तालिम र अध्यापन अनुमतिपत्र, निम्न माध्यमिकका लागि सम्बन्धित विषयमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण, १० महिने शिक्षण तालिम र अध्यापन अनुमतिपत्र अनिवार्य तोकिएको छ । यस्तै, प्राथमिक तहका लागि पनि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण, १० महिने शिक्षण तालिम र अध्यापन अनुमतिपत्र हुनुपर्ने उल्लेख छ । एसएलसी उत्तीर्णले भने परीक्षा दिन नपाउने भएका छन् । एसएलसी उत्तीर्ण गरी अस्थायी र करार शिक्षकमा कार्यरतलाई प्रवीणता प्रमाणपत्र तह अनिवार्य छैन । त्यस्तै, महिला र अपांगलाई १० महिने तालिम अनिवार्य गरिएको छैन । आयोगले विद्यालय क्षेत्र सुधार कार्यक्रम लागू नभएकाले शिक्षकको योग्यता बढाउन सकेको छैन । सुधार कार्यक्रममा माध्यमिक तहको शिक्षकका लागि स्नात्तकोत्तर, निम्न माध्यमिकलाई स्नातक हुनुपर्ने व्यवस्था गरिएको थियो ।
आयोगले ०५२ सालपछि खुला विज्ञापन गर्न सकेको थिएन । त्यसबेला लिइएको परीक्षाको नतिजा ८ वर्षपछि प्रकाशन गरिएको थियो । त्यतिबेला १४ हजार ३ सय ९७ शिक्षकका लागि खुला परीक्षा लिइएको थियो । त्यसपछि आयोगले ०६१ सालमा आन्तरिक परीक्षा लिएको थियो । आन्तरिक परीक्षामार्फत १२ हजार ९६ शिक्षक स्थायी भएका थिए । १ लाख ४७ हजार शिक्षक दरबन्दी रहेकामा ४० हजारको हाराहारीमा अस्थायी र राहत शिक्षक छन् ।
विज्ञापनको पर्खाइमा सात लाख
आयोगले करिब १७ वर्षपछि शिक्षक नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने भएपछि अध्यापन अनुमतिपत्र लिएर बसेकाहरू उत्साहित छन् । ७ लाखको हाराहारीमा शिक्षक लाइसेन्स लिएर बसेका व्यक्ति विज्ञापन खुल्ने प्रतीक्षामा छन् ।
शिक्षक संगठन असन्तुष्ट
शिक्षक संगठनहरूले भने सरकारले विगतका सम्झौता कार्यान्वयन नगरी नयाँ शिक्षकको मात्र विज्ञापन खोल्न लागेको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले सम्झौताअनुसार ११ वैशाख ०६३ भन्दा अघिका रिक्त दरबन्दी पनि खुलाउन माग गरेका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम अधिकारीले नयाँ शिक्षकका लागि विज्ञापन खुलाएपछि आन्तरिक पनि खोल्नुपर्ने बताए । शिक्षक संगठनसँग भएको सम्झौताअनुसार आयोगले विज्ञापन गर्नुपर्ने उनको भनाइ छ । ‘नयाँ विज्ञापनमा हाम्रो सैद्धान्तिक असहमति छैन,’ उनले भने, ‘तर हामीसँग गरिएको सम्झौताअनुसार पुराना रिक्त दरबन्दी पनि खोलिनुपर्‍यो ।