अस्ट्रेलियाको
क्वीन्सल्यान्ड विश्वविद्यालयमा कार्यरत नेपाली वैज्ञानिक प्रोफेसर भेष
भण्डारीले पत्ता लगाएको (ड्राइङ प्रविधि) फलफूल पकाउन प्रयोग गरिने पाउडरको
हाल विश्वव्यापी रूपमा माग बढिरहेको छ ।
प्रोफेसर भण्डारीले आविष्कार गरेको नयाँ
प्रविधिले फलफूल पकाउन प्रयोग हुने परम्परागत इथाइलिन ग्यासलाई धुलो
(पाउडर) मा रूपान्तरण गर्न सक्छ । यो प्रविधिको विकासले बजारमा फलफूल
पुर्याउनुअघि सुरक्षित, प्रभावकारी र सहजरुपमा त्यसलाई पकाउन मद्दत गर्नेछ
।
विश्वविद्यालयमा २० वर्षदेखि प्राध्यापनरत
भण्डारीले गत महिनामात्र सो प्रविधिको आविष्कार गर्नुभएको हो । हाल नेपाल
भ्रमणमा रहेका भण्डारीले भन्नुभयो-’फलफूल तथा गोलभँेडालगायतका उत्पादनलाई
फार्मबाट टिपेपछि यसलाई भण्डारण गरी पकाउने झमेला अब पर्दैन र सवारी साधनमा
नै यो पाउडर प्रयोग गरी फलफूल तथा तरकारीको मात्राअनुरूप पकाउन सकिन्छ ।’
भण्डारण गरी ग्याँसको प्रयोग गरी फलफूल
पकाउन लगानी र खर्च धेरै हुने भएकाले यसलाई सजिलो र आधुनिक प्रविधिका रूपमा
विश्वकै माग आएको छ-उहाँले भन्नुभयो ।
विगतमा बगैँचाबाट फलफूल टिपेर बजारसम्म
पुर्याउनेक्रममा सिलिन्डरमा राखिने इथाइलिन ग्यासको प्रयोग गर्ने
गरिन्थ्यो । इथाइलिन ग्यासका सिलिन्डर विस्फोट हुने खतरा विगतमा रहने
गरेकामा अब त्यस्तो ग्यासलाई पाउडरमा रूपान्तरण गरिएको छ, प्रो भण्डारीले
भन्नुभएको छ ।
प्रो भण्डारीले आविष्कार गरेको नयाँ पाउडर
केरा, आँप, घिउफल (एभोकाडो) र गोलभेँडाजस्ता फलफूलमा छर्किएर निश्चित
तापक्रम र आद्रता कायम गर्नासाथ त्यो ग्यासमा पुनः रूपान्तरण भई फलफूल
पकाउन थाल्छ । उहाँलाई आविष्कारमा अतुलनीय
योगदान पुर्याएको तथा ड्राइङ प्रविधिमा निकै लामो समयदेखि सेवा पुर्याएको
भन्दै एक विश्वप्रसिद्ध अवार्ड “एक्सीलेन्स इन ड्राइङ अवार्ड” पनि हालै
प्रदान गरिएको छ । रासस