Tuesday, January 1, 2013

महिलाविरुद्ध युद्ध र देवी सरस्वती - nagariknews


राजेन्द्र महर्जन 
पुराणअनुसार ब्रह्मालाई सृष्टिकर्ता, प्रजापति र मुख्य देवता मानिन्छ तर यस्ता वृद्ध पितामह ब्रह्माले पनि कामोन्मत्त भएर आफ्नै छोरीमाथि धावा बोलेको कथा पुराणमा पाइन्छ। हुन त ब्रह्माकी छोरी सरस्वती हिन्दु धर्मावलम्बीहरूका लागि विद्या, वाणी र भाषाकी देवी मानिन्छन्। तर श्रीमद्भागवत पुराणअनुसार ब्रह्माले उनै छोरी सरस्वतीसँग अनुचित सम्बन्ध स्थापित गरेका थिए। श्रीमद्भागवत पुराणका लेखकहरूबाट समेत अधर्म बुद्धि र कार्यका रूपमा व्याख्या र आलोचना गरिएका ब्रह्माको व्यभिचारले धेरै कुरा संकेत गरेको छ। सुसन ब्राउन मिलर अगेन्स्टले 'आवर विल :  मेन, विमेन एण्ड रेप' पुस्तकमा भनेझैं पिताद्वारा पुत्रीमाथि बलात्कारको मुख्य कारण हो, परिवारमाथि पिताको पूर्ण तानाशाही। त्यही तानाशाही लाद्ने क्रममा पिताहरूले पत्नीहरूलाई जस्तै बालबालिकालाई पनि आफ्नो 'सम्पत्ति' ठान्ने गर्छन्। यही तानाशाहीतन्त्र र सम्पत्तिको मानसिकताको अभिव्यक्ति बलात्कारका रूपमा समेत अभिव्यक्त हुन्छ।

सरस्वतीमाथि ब्रह्माको व्यभिचार
स्त्री–मुक्तिसम्बन्धी अध्येता अनामिकाका अनुसार ब्रह्माबाट आफ्नै छोरीमाथि भएको अनुचित सम्बन्ध वास्तवमा बलात्कारसम्बन्धी आदिकालिक उदाहरण हुन सक्छ। हाडनाता करणीदेखि अनेकखालका व्यभिचारसम्मका उदाहरण भएका अठार पुराण खोतलियो भने हिन्दु समाजमा रहेको र बलात्कारसम्बन्धी विमर्श बुझ्न र उनीहरूको मनोविज्ञान पढ्न सहज हुन सक्छ। सरस्वतीकै उदाहरणले पनि विद्या, वाणी, भाषा र जीविका प्राप्तिका लागि संघर्ष गर्ने महिलाहरूको बाटोमा आफ्नै परिवार, परिवारमाथि कायम रहेको पिताको तानाशाही सबैभन्दा ठूलो बाधा हुने गरेको संकेत गरेको छ। र, आफ्नै परिवारका मर्द र मर्दवादी मानसिकताका कारण शारीरिक र मानसिक उत्पीडन सहेर पनि अचेल घरको संघार नाघ्न थालेका धेरैजसो नेपाली महिला पनि देवी सरस्वतीजस्तै पीडित छन्। घरभित्रको संसारमा पति, पिता, पुत्रहरूसँगै परम्परा नामक शिकारी छन् भने घरबाहिरको विश्वमा त अनेक नामधारी र रूपधारी शिकारीको के अभाव छ र?
महिलाहरू घर, समाज र देशबाट बाहिर जाने प्रक्रियाविरुद्ध उभिएका पुरानो पारिवारिक संरचना र परम्परागत बन्धन पनि खुकुलो हुँदै गएका छन्। समाजशास्त्री डा. चैतन्य मिश्रका अनुसार पुराना मान्यता भत्केको र नयाँ स्थापित नभएको स्थितिमा हाम्रो समाजमा हिंसा बढी भएको र देखिएको हो। महिलाहरू घरबाट निस्कने क्रम सुरु भएको तर घरबाहिर तिनको सुरक्षा, विशेषतः शिक्षा र रोजगार, त्यसका लागि न्यायपूर्ण कानुन एवं जवाफदेही प्रशासनजस्ता सुरक्षा स्थापित नभइसकेको स्थितिमा समाजमा महिलाविरुद्ध हिंसा बढी भएको हो र त्यस्तो हिंसा देखिएको पनि हो।
घरेलु कैदबाट मुक्त हुन चाहने महिलाहरूको अग्रगामी प्रयासका कारण धेरैजसो पुरुषको अंहकारमा चोट पुगेको छ। 'पोथी बास्न थालेको' देखेर बहुलाएका पुरुषहरू परिवारमा मात्रै होइन, परिवारबाहिरको समाजमा पनि छ्यापछ्याप्ती छन्। अतः उनीहरू कहीँ पनि नयाँ ब्रह्माको रूपरंगमा प्रकट हुँदै आएका छन्। घरभित्र र बाहिरका सोमनाथ खनाल र पर्शुराम बस्नेत वा अन्य कुनै पनि मर्द वास्तवमा ब्रह्माकै नयाँ–नयाँ अवतारबाहेक अरु केही होइनन्, जसले मौका पाउनासाथ घरभित्र र बाहिर महिलालाई चीलले कुखुरालाई जस्तै छोपिहाल्छन्। यसैको पछिल्लो उदाहरण हो– साउदी अरबबाट एक्लै घर फर्केकी एक सोझी केटी सीता राईलाई देखेपछि अध्यागमनका चीलहरूको आँखा लागेको घटना। 'ती युवतीलाई शिकार बनाउँदा कुनै फरक नपर्ने ठानेरै लुटेको' नासु सोमनाथ खनालको स्वीकारोक्तिले लुटाहा प्रशासनतिर मात्रै होइन, मर्दवादी हिंसातिर पनि जबर्जस्त संकेत गरेको छ। अतः बाहिरी आवरणमा कर्मचारी, प्रहरी वा अन्य कुनै नाममा रक्षक वा अभिभावक वा संरक्षकजस्तै देखिएका र देखाउने गरेका पुरुषहरूको भक्षक आचरणमा यौनपिपाशु चरित्रमात्रै होइन, महिला अधिकार विरोधी मर्दवादी हिंसा पनि उजागर भएको छ।

छद्म हिंसाको आक्रमण
मानवशास्त्री स्टेफन माइकसेलले भनेझैं नेपाली समाजमा विद्यमान छद्म हिंसाका अनेकानेक रूपमध्ये महिलाको देहव्यापार पनि एक हो। छद्म हिंसाका अन्य केही रूप हुन्– आमरूपमा भूमिको बेदखली, ग्रामीण ऋण, कमैया प्रथा, उच्च बाल मृत्युदर, स्रोतहरूको दुरुपयोग, महँगी, भ्रष्टाचार, श्रमशक्तिको बसाइँ सराइ, जसमा महिला कम पीडित छैनन्। महिलाहरूको देहव्यापारलगायत् महिलाविरुद्ध जारी अन्य खालका हिंसाका क्रममा पहिले उनीहरूको शरीरलाई वस्तु बनाइन्छ, अनि बजारमा लगेर बेचिन्छ। यसरी नेपाली समाजमा महिला शरीरको वस्तुकरण (कमोडिफिकेसन) गर्ने र त्यसको व्यापारीकरण गर्ने अभियान तीव्र भएको छ, जसलाई कमैले मात्रै हिंसा वा शोषण वा उत्पीडन ठान्ने गर्छन्। अनामिकाअनुसार हरेक वर्ग–वर्ण–नश्ल–धर्मका स्त्रीहरूका केही समस्या विशिष्ट पनि छन्, तर महिलाको देहचाहिँ सबैको शोषणको 'प्राइम साइट' हो, चाहे बलात्कारका लागि होस् या व्यभिचार, हत्या, यौन–शोषण, प्रेमविहीन विवाह–बन्धन, घरेलु बेगार, मारपिट, गालीगलौज, स्वच्छ र सुरक्षित प्रसवको अभाव, पर्दा प्रथा, सती र बोक्सी प्रथा, पोर्नाेग्राफी अनि पण्यीकरणका लागि...!
यसरी हेर्दा नेपाली महिलाविरुद्ध पनि यी सबै हतियार प्रयोग गरिएको देखिन्छ। र महिलाको शरीर यी सबै हतियारको प्रयोग क्षेत्र भएको छ। यस अर्थमा महिलाको शरीर युद्धग्रस्त छ, स्त्री देह युद्धस्थलमा परिणत भएको छ। त्यस युद्धको शिकार पनि महिला नै हुँदै आएको छ। हुन त दस वर्षे लडाइँ समाप्त भएको छ तर दसौं सय वर्षदेखि महिलाविरुद्ध अर्काे युद्ध भने जारी नै छ। यस्तो छद्म युद्धमा दैनिक कति महिलाको ज्यान जाँदैछ, कति नारीको अंगभंग हुँदैछ र कति स्त्री जेलमा बन्द हुँदैछन्, तिनको कुनै हिसाबकिताब छैन। महिलाविरोधी हिंसाविरुद्ध अभियान जारी रहेको १६ दिनभित्रै १२ जना महिलाको हत्या भएको त बाहिर देखिएको तथ्यांकमात्रै हो, नदेखिने तथ्य त मर्दवादी समाजको सुकुलमुनि कति नाम लुकाइएको छ, कसैलाई थाहा छैन। वास्तवमा सीता राई, शिवा हासमी, विन्दु ठाकुर, सरस्वती सुवेदी र ममता महतोहरू त केही नमुना नाममात्रै हुन्। महिलाविरुद्ध हत्या, हत्या प्रयास र बलात्कारको शृंखलाबद्ध आक्रमण चलिरहेको बेला एक से एक 'सरस्वती' को नाम खोज्न पनि गाह्रै छ।
यस्तो युद्धको वातावरणमा मर्दवादी समाजमाथि टिकेको राज्य हिन्दी र नेपाली फिल्मका पुलिसको भूमिकाभन्दा राम्रो देखिएको छैन। नेपाली राज्यले आफ्नो भूमिका सधैं आपराधिक घटना भएपछि मुचुल्का उठाउनमात्रै आउने पुलिसको भन्दा उन्नत बनाउन सकेन भने राज्य स्वयम् आपराधिक रहेको आरोप पुष्टि हुन्छ। महिलामैत्री पनि हुनेगरी पुनर्संरचना हुन बाँकी राज्यलाई अग्रगामी पुनर्संरचना नगरी यथावत्रूपमा राखियो भने महिला विरोधी छद्म हिंसा जारी रहनेछ र त्यसको शिकार हुने सरस्वतीहरूको नामावलीको फेहरिस्त रातोदिन बढ्दै जानेछ। धेरैजसो मानिसमा विद्यमान प्रहरी, प्रशासन र न्यायालयबाटै सरस्वतीहरूलाई न्याय र पीडकलाई सजाय दिन सकिन्छ भन्ने भ्रम छ। तर न्यायकी देवीको आँखामा पट्टी लगाइएको, न्यायको नौ सिङ पैदा गर्ने क्रम जारी रहेको र न्याय कायम गर्न सघाउने भनिएका प्रहरी र प्रशासनमा बस्नेत र खनालजस्ता मर्दवादी पुरुष नै आसीन रहेको स्थितिमा यस्तो भ्रम अब टुट्नु जरुरी भइसकेको छ। त्यसो त केही मानिसमा यस्तो हिंसामा पुरुषलाई मात्रै अपराधी ठहर्‍याउने र केही पुरुष अभियुक्तलाई कडाभन्दा कडा सजाय दिइयो भने अपराध निमिट्यान्न हुन्छ भन्ने अतिवादी सोचाइ पनि छ। तर यस्तो सोचाइले मर्दवादी सोचाइ र मर्दतन्त्रलाई मलजल गर्ने सामाजिक व्यवस्था र त्यसको राज्यको भूमिकालाई भने पूरै बेवास्ता गर्न सक्छ। यसको अर्थ हो– अपराधीलाई सजाय दिनैपर्छ तर उसलाई सजाय दिँदा उसको आपराधिक मनोवृत्ति जन्माउने पुरानो समाज र राज्यलाई पनि माफ गर्न सकिँदैन। अतः महिलामैत्री हुनेगरी समाजको रुपान्तरण र राज्यको पुनर्संरचना गरी मर्दवादी सोचाइ र मर्दतन्त्रको जरा निमिट्यान्न गर्नतिर पनि परिवर्तनकामी शक्तिहरूको ध्यान जानु जरुरी छ।

महिला विरोधी हिंसा र राज्य पुनर्संरचना
नेपाली राज्य चलाइरहेको सरकारले पनि महिला विरोधी हिंसाका शिकार 'सरस्वती' हरूको लाश गन्ने र केही राहतका काममात्रै आफूलाई अल्झाउनु न्यायपूर्ण हुँदैन। सरकार, आन्दोलनकारी महिला र सबै परिवर्तनकामी शक्तिले यतिखेर महिला विरोधी हिंसाको प्रकरणलाई महिलामैत्री हुनेगरी समाजको रुपान्तरण र राज्यको पुनर्संरचना गर्ने दिशातिर पनि वैचारिक–राजनीतिक विमर्श लक्षित गर्नु बुद्धिमानी हुन्छ। यस्ता विमर्शका एजेण्डामा महिलामैत्री न्याय, कानुन र प्रशासनसँगै सम्पत्ति, शिक्षा र रोजगारमा महिलाको पहुँच, अधिकार र तिनको क्रियान्वयन पनि पर्छन्। त्यसैले सुसन ब्राउन मिलरले भनेझैं 'बलात्कारको विचारधारा' को विनिर्माण तथा त्यस विचारधारालाई टेवा दिने मर्दवादी कानुन र पुरुष प्रभुत्व भएको प्रशासनको पुनर्संरचनाबाट मात्रै समस्या समाधान हुँदैन तर ती सुरुका पाइला भने पक्कै हुन्। न्याय र प्रशासन क्षेत्रको पुनर्संरचनासँगै सत्ता, शक्ति र सम्पत्तिमा पुरुषको एकाधिकार कायम गर्नेखालका सबै सम्बन्ध, संस्कृति र मूल्य/मान्यतामाथि पनि निर्मम विमर्श गर्नु जरुरी छ।
तीन दशकअघि नै पारिजातले बलात्कारको मूल्य/मान्यतामाथि प्रश्न उठाउँदै लेखेकी थिइन्– पशु समाजमा बलात्कार हुँदैन। यो अपराध उन्नत मस्तिष्कको धनी मान्छे जातले मात्र गर्छ। संसारको जुनसुकै देशमा चलेको युद्धमा पनि हत्यासँगै बलात्कार पनि भएको पाइन्छ। बलात्कारलाई पनि हत्याजस्तै युद्धको हतियार ठानिएको विश्लेषण गर्दै उनले स्वीडिस उपन्यासकार ब्रिटा स्टोबलिंगकोे 'रेप' शीर्षकको कवितामार्फत् भनेकी थिइन्– 'बलात्कारमात्रै एउटा त्यस्तो अपराध हो, जसमा अपराधीको शिकारले अपराधबोध गर्नुपर्छ।' पक्कै पनि बलात्कारले शरीरमाथि जति आघात पार्छ, त्यसभन्दा बेसी मनलाई आहत पार्छ। 'मलाई व्यक्ति होइन, वस्तु सम्भि्कयो र मेरो शरीरमाथि मेरो सहमतिविना दाइँ गरियो, अब मेरो स्व, मेरो अस्मिता, मेरो इज्जत सबै लुटियो, म बर्बाद भएँ' भन्ने मनोभाव महिलामा पर्न सक्छ नै। यसरी शारीरिक हिंसाभन्दा बेसी मानसिक हिंसाले महिलालाई भित्रभित्रै नराम्ररी खाने भएकाले राज्य र सरकारले मात्रै होइन, अन्य सबै गैरराज्य र गैरसरकार पक्षले पनि महिलामा मानसिक उत्प्रेरणा र प्रेरक शिक्षाको अभियान पनि चलाउनु आवश्यक छ। यसका लागि पनि देवी सरस्वती नै एक प्रतीत हुन सक्छिन्, जसले आफ्नै पिता ब्रह्माको व्यभिचारका कारण भाँचिएको शरीर र मनलाई सम्हालेकी हुन सक्छ, जसले वितृष्णाकारी हाडनाता करणी त जोकसैले पनि भोग्नुपर्ने तीतो यथार्थ भन्ठानेकी हुन सक्छ र त्यस्ता नराम्रो इतिहास बिर्सेर विद्या, वाणी र भाषाको ज्ञानको मन्थनमा डुबेकी हुन सक्छ। कसैले धकेलेर धुलोमा गुल्टिँदैमा ज्यानै जाने वा फाल्ने होइन भन्दै, आफ्नो शरीरमा लागेको धुलो झार्दै उनी अगाडि नबढेकी भए आज हिन्दु धर्मावलम्बीबीच पीडित सरस्वती देवीका रूपमा पूजनीय हुने थिइनन् कि? एकातिर सरस्वती विद्या, वाणी र भाषाकी देवीका रूपमा पूजनीय हुनु, अर्काेतिर उनका पिता ब्रह्मालाई भने कहीँ पनि पूजाआजा नगरिनुको कारण पनि ब्रह्माको कामोन्मत्त व्यभिचार र अधर्म बुद्धि त थिएन? विचारणीय र उदाहरणीय छ।