सरकारले काठमाडौँ उपत्यका विकास
प्राधिकरणका आयुक्त केशव स्थापितलाई अवकाश दिएको छ। बिहीबार बसेको
मन्त्रिपरिषद् बैठकले स्थापितको स्थानमा योगेश्वरकृष्ण पराजुलीलाई पाँच
वर्षका लागि नियुक्त गरेको छ।
सरकारले
गत वैशाखमा काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा
पूर्वमेयर केशव स्थापितलाई पाँच वर्षका लागि नियुक्त गरेको थियो। स्थापित
पछिल्लो पटक भएको स्थानीय निर्वाचनमा अत्यधिक मतका साथ मेयर निर्वाचित भएका
थिए। उनलाई सहायक मन्त्रीसरह सेवा सुविधा दिइने भनिएको थियो।
प्रधानमन्त्री निकट स्रोतका अनुसार आयुक्त
स्थापितको कामप्रति प्रधानमन्त्री भट्टराईले लामो समयदेखि असन्तुष्टि
पोख्दै आएका थिए। बैशाखमा उनलाई आयुक्तको जिम्मेवारी दिइएपछि नौ महिनासम्म
कुनै काम नगरेको भन्दै प्रधानमन्त्रीले उनलाई बोलाएरै राजीनामा गर्न समेत
भनेका थिए। तर स्थापितले त्यसलाई अस्विकार गरेपछि प्रधानमन्त्री कानूनी
प्रक्रिया पुरा गरेर हटाउने निश्कर्षमा पुगेको स्रोतको दावी छ।
स्थापितको काममा अनियमितताको आशंका गर्दै
प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव
कृष्णहरि बाँस्कोटाको संयोजकत्वमा भौतिक योजना निर्माण तथा यातायात सचिव
तुलसी सिटौला र कानून सचिव भेषराज शर्मा सहितको समिति गठन गरेर उनको कामको
मूल्यांकन गर्दै सात दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको नागरिक
दैनिकमा खबर छ ।
‘स्थापितलाई हटाउनुको कारण उनलाई पार्टीमा
प्रवेश गराउने प्रयास असफल हुनु र सडक विस्तारको काममा लाइन नमिल्नु हो,’
शहरी विकास मन्त्रालयका एक सहसचिवले भने ‘आफुले ल्याएर नियुक्त गर्दा पनि
आफुले भनेजस्तो काम हुँदैन भने उनलाई राखिराख्नुको औचित्य प्रधानमन्त्रीले
देखेनन्।’
प्रधानमन्त्री निकट स्रोतका अनुसार यसअघि
काठमाडौं महानगरपालिकाको मेयर हुँदा अत्याधिक चर्चा बटुलेका थिए। त्यसैबाट
प्रभावित भएर स्थापितलाई आयुक्त बनाइएपनि उनले खासै चर्चायोग्य काम गरेर
देखाउन सकेनन्। उल्टै सुकुम्वासी समस्या समाधान गर्ने, सडक विस्तार गर्ने
काममा मतभेद देखियो। सुकुम्वासी समस्या समाधान गर्न दिइएको निर्देशन पालना
नभएपछि मुख्यसचिव लीलामणी पौड्याल समेत स्थापितसंग रुष्ट बनेका थिए।
यो पनि पढौ l