Sunday, May 26, 2013

बहुदलवादी भएर मैले अर्थ सचिवबाट राजिनामा दिएको हैन - देवेन्द्रराज पाण्डे - Setopati



मलाई अहिलेका नेताहरु ‘प्रजातान्त्रिक पद्दतीका निरंकुश’ राजा जस्तो लाग्छ । जवकी म राजा विरेन्द्रलाई ‘निरंकुश प्रणालीका प्रजातान्त्रिक नेता’ ठान्थे ।
विदेशका नामीगिरामी कलेजबाट पढाई सकेर युवराजधिराज विरेन्द्र स्वदेश फर्केदेखिनै मैले उनीसँग काम गर्ने मौका पाए ।
 
महेन्द्रले राजकाजको ममिलामा ‘ट्रेन्ड’ गर्ने उद्देश्यले विरेन्द्रलाई जाँचबुझ केन्द्रमा खटाएका थिए । केन्द्रको प्रशासन, विकास र योजना हेर्ने विभागको म पनि एउटा सदस्य थिए ।
मेरो जागिर नाथे उपसचिवको थियो । तैपनि युवराजधिराजसँग छलफलको मौका मिलिरहन्थ्यो । विकास परिषद्, जिल्ला प्रशासन योजना, लोकसेवा आयोगको पर्नुसंरचना लगायतमा हामीले काम गरेका थियौं । अधिनायकवादी राजसंस्थाको प्रतिनिधित्व गर्ने भएपनि उनी प्रायजसो एउटै चासो व्यक्त गर्थे– जनताको विचार के छ । जनता जे चाहन्छन्, त्यहिँ गरौं । 
 
राष्ट्रिय योजनाहरु कसरि तर्जुमा गर्ने भन्ने विषयमा पनि जाँचुबुझ केन्द्रले काम गथ्र्यो । युवराज एउटै मन्त्र दोहो¥याइरहन्थे– जनसहभागिता, जनसहभागिता, जनसहभागिता ।
युवराज विरेन्द्रको नजिक रहेर काम गर्ने मौका पाउँदा मैले उनको माया र स्नेह पनि पाएको थिए ।
 
...
 
राजसंस्था आफैंमा निरंकुश प्रणाली हो । त्यहाँमाथि २०१७ सालको कदमबाट पूर्ण निरंकुश वनेका राजा महेन्द्रको छोरामा किन यो उदारता ?
मानिस कस्तो बन्छ । चेतनाको विकास कसरि हुन्छ । सोचहरु कसरि विकसित हुन्छ– ‘स्कुलिङ्’ ।
 
आलंकारिक प्रजातान्त्रिक मुलुकहरु जापान, वेलायत र अमेरिका पढेर आएका विरेन्द्रको सोच धेरै आधुनिक भएको हामी सुन्थ्यौं । उनकै मातहत काम गर्दा हामीलाई उनी उदारवादी नै हो जस्तो लाग्थ्यो ।
२०२८ माघ १७  गते महेन्दै विते । विरेन्द्रले राज्यारोहण गरे ।
 
‘अब परिवर्तन हुन्छ,’ हाम्रो पहँुच भएका पंचायत ‘सिष्टम’ भित्रका उच्च अधिकारी, मन्त्री र नेताहरुले नै अनुमान गरेका थिए, ‘संसारका उत्कृष्ट प्रजातान्त्रिक मुलुकमा शिक्षा लिएर आएका राजाले अब बहुदल दिन्छन् ।’
राज्यारोहणपछि विरेन्द्रले दिएको संवोधनमा पंचायत भन्ने एक शव्द पनि परेको थिएन । यो पनि राजा उदार थिए भन्ने उदाहरण थियो ।
 
राजाले अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रस्तुत गर्ने कतिपय दस्तावेजको लेखनमा म पनि सरिक हुन्थे । राजाको सचिवालयबाट आउने त्यस्ता दस्तावेजको मस्यौदामै यस्ता वाक्य राखिएके हुन्थ्यो, ‘म र मेरो श्रीमती ।’
राजाले म र मेरो श्रीमती लेख्नु चानचुने कुरो थिएन । दरबारिया, पञ्च र कर्मचारीतन्त्रमा त्यस्ता वाक्यांस प्रयोगबारे हल्लीखल्ली मच्चिएको थियो । ‘राजा निरंकुश हुन खोजेका छैनन्, जनताको अधिकार जनतालाई नै फिर्ता गर्छन्,’ कतिपय ठूलाबडाहरु ठोकुवा नै गर्थे ।
 
...
 
यस्ता उदार देखिएका राजाको व्यवहारबाट पंचायत पक्षधर, दरबारिया र कतिपय उच्च प्रशासक भने सशङ्कित देखिन्थे । पंचायतले ११ वर्षमा एउटा शासक वर्ग जन्माइसकेको थियो । राजा उदार होलान् र आफूले रँजाई गर्न नपाइएला भन्ने डर त्यो वर्गलाई थियो । राजा भन्दा उनीहरुका लागि पंचायत बढि प्यारो थियो ।
 
उनीहरुले राजपरिवारका सदस्य मार्फत् विरेन्द्रको ब्रेन स्टोर्मिङ् गरे । पंचायतकै पक्षमा ।
 
पंचायत राजा महेन्द्रले जन्माएको निरंकुश दर्शन थियो । पंचायतमा समाहित भएर त्यसलाई अघि नबढाउँदा स्वर्गवासी पिताप्रति अपमान गरेको हुन सक्ने व्याख्या त्यस्तो वर्गले ग¥यो ।
राज्यरोहण गर्दा उदारवादी देखिएका राजा १० महिनामा खाँटी पंचायतवादी भइसकेका थिए । २०२९ साल पुष १ गते पंचायत जयन्ती तथा संविधान दिवससम्म आइपुग्दा विरेन्द्र परिवार, दरबार र पञ्चहरुको घेरावन्दीमा परिसकेका थिए ।     
पढाई लेखाईले सैद्वान्तिक ज्ञान भएपनि उनमा विचारको परिपक्वता देखिएन । ‘काँचो उमेरको राजालाई पंचायतले जन्माएका एलिटहरुले कप्र्याक कुप्रुक पारे,’ म विरेन्द्रलाई निर्दोष नै ठान्थे ।
 
...
 
पंचायत बलियो होस् कि कमजोर त्यसले म सामान्य कर्मचारीलाई खासै फरक पार्ने थिएन । राजासँगको दोहोरो चिनाजानीले हो वा के कारणले हो मेरो उन्नती चाँडो चाँडो भइरहेको थियो । म छोटो अवधिमै अर्थ मन्त्रालयको सहसचिव भइसकेको थिए । अर्थ मन्त्री भेषबहादुर थापा, सचिव नरकान्त अधिकारीको स्कुलिङ्मा धेरैथोक सिक्न पाइएको थियो ।
 
सहसचिवै हुँदा पनि म आक्कल झुक्कल राजासँग दर्शनभेटको मौका पाउँथे । व्रिफिङ् वा अरु केहि कामको सिलसिलामा ।
 
२०३४ सालमा गलैचा काण्ड भयो । प्रधानमन्त्री तुलसी गिरी, मेरै मन्त्री थापा, सचिव अधिकारी, मन्त्री हर्क गुरुङ, कुलशेखर शर्मा जस्ता शिखर व्यक्तित्व सबैलाई काण्ड लाग्यो ।
प्रधानमन्त्री किर्तीनीधि विष्ट हुनुभयो । सरकारले मलाई नै कायममुकायम अर्थ सचिव बनायो । उनान्चालिस वर्षकै उमेरमा कायममुकायम सचिव हुन पाउनु । अर्थ जस्तो महत्वपूर्ण मन्त्रालयमा पोष्टिङ् पाउन दरबारले विश्वास गरेको हुनुपथ्र्यो ।  
किर्तीबाबुसँग काम गर्न असाध्यै सजिलो । राजाले नै भनेपनि उहाँले हुनेबाहेक नहुने काम गर्ने हैन । फ्याटफ्याट बोलेर जसलाई पनि मू–तोड जवाफ दिइहाल्ने स्वभाव । हामीले इमान्दारीपूर्वक निर्णय गर्दिनुप¥यो, बस् । ‘माथि’ जहाँ जहाँ भिड्नुपथ्र्यो त्यो उहाँकै जिम्मा ।
 
म अर्थको क्याडेर जस्तै भएपनि फरेन एड (वैदेशिक सहायता) मा मात्र काम गरेको । कर, भन्सार, बजेट पट्टिको मलाई केहि पनि थाहाँ थिएन । भुवनेश्वर खत्री दह्रो सहसचिवमा कहलिनुभएको थियो । उहाँलाई सेकेण्ड म्यान बनाएर ल्याए । उहाँले जे भन्नुभयो त्यहिँ अनुसार कर÷भन्सारका महानिर्देशक र फिल्डका हाकिम खटाइदिए ।   
बजेट वा अरु विभिन्न काममा दरबार गइरहनुपथ्र्यो । प्राय ग्रुपमा गइन्थ्यो । आक्कल झुक्कल एक्लै पनि भेट्न पाइन्थ्यो । राजाको म प्रतिको माया युवराज हुँदा जस्तै पाउँथे । मलाई पुरापुर विश्वास पनि गरेका थिए ।
दरबारका आसेपासेहरुलाई अप्रिय हुने निर्णय गरिरहँदा पनि राजाबाट कहिल्यै कुनै प्रकारको हस्तक्षेप हुँदैनथ्यो ।
...
जुल्फिकर अलि भुट्टोको फासीको निहँुमा सुरु भएको विद्यार्थी आन्दोलन चर्किदै गएको थियो । २०३५ चैतमा सुरु भएको आन्दोलन एक वर्षमा ह्वात्तै बढिसकेको थियो ।
अर्थ सचिवको आन्दोलनसँग खासै लेनादेना हुँदैनथ्यो । गृह सचिवलाई तनाव हुन्थ्यो होला । एउटा सचेत नागरिकले राख्ने चासो बाहेक आन्दोलनसँग साइनो पनि थिएन ।
 
म पनि देश विदेश पढेलेखेको भनेर कहलिएकै थिए । कामै संसारका मुलुक घुमिहिँड्ने । संसारमा प्रजातन्त्र कति लोकप्रिय हुँदै गएको छ मैले बुझेको थिए । ‘विद्यार्थिले सल्काएको आगोले पञ्चायत ढल्छ,’ म मनमनै गम खान्थे, ‘अबको दुनियाँमा निरंकुश व्यवस्था कसरि चल्दो हो र ।’ 
 
भित्ताको पनि कान हुन्छ भनेर हामी कर्मचारी मध्ये कसैले पनि व्यवस्थाविरोधि कुरा गर्ने आँट गर्दैनथ्यौं ।   
मेरो अनुमान सही निक्ल्यो । २०३६ जेठ ९ गते ठूलो मास उर्लियो । गोरखापत्र र आरएनएसीमा आगो लगाए । गोरखापत्रसँगै भूगोलपार्कमा नेपाल वैंक थियो । त्यतिबेलाको सबैभन्दा ठूलो वैंक ।
 
‘नेपाल वैंक पनि जलाउलान, सुरक्षामा विशेष ध्यान पु¥याउनु,’ दरवारबाट मलाई फोन आयो, ‘भोली विहानसम्म राजाबाट जनमत सं्रह घोषणा हुन्छ ।’
जेठ १० गते जनमतसंग्रह घोषणा भयो ।
 
‘बहुदलीय व्यवस्था की सुधारिएको पँचायत’ छान्ने अधिकार मतदाताको । त्यो सँच्चिक प्रजातान्त्रिक प्रक्रिया थियो । आन्दोलनकारीले मागे भन्दा बढि दिएर राजा विरेन्द्रले आफू उदारवादी भएको देखाउन सके । मैले जस्तो राजा सोचेको थिए उनीबाट त्यो भन्दा राम्रो कदम चालियो ।
 
‘राजाबाट घोषणा भएको जनमत संग्रह निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्नु,’ प्रशसनयन्त्रलाई पनि दरवारबाट निर्देशन आएको रहेछ ।
मुख्य सचिवले सचिवहरुको बैठक डाके । जनमतसंग्रह कसरि निष्पक्ष गर्न सकिन्छ भन्नेमा मन्त्रालय र मातहतका निकायहरु कसरि चनाखो रहने भन्ने विषयमा छलफल भयो ।
‘पञ्चै हो यो देश वनाइदेऊ जस्ता गितहरु रेडियोमा अबदेखि बजाउने कि नबनाउने,’ सञ्चार सचिवले जिज्ञासा राखे ।
 
सरकारी संयन्त्रबाट पंचायत वा बहुदलको पक्षधरता देखिनुहुन्न भन्नेमा राजा चिन्तित रहेको जानकारी गराइयो । ‘पञ्चायतको स्तुती गाएको गीत रेडियोबाट बजाउन मिल्दैन, नबजाउने,’ सचिवहरुले निर्णय गरिदिए । संचार सचिवले त्यस्ता गीत पनि बन्द गराए ।
 
विश्वेश्वरप्रसाद कोइरालाले राजाको घोषणा लगत्तै जनमतसंग्रहको स्वागत गरिसक्नुभएको थियो । वरु पञ्चहरु नै राजाको यो कदमबाट खुशी थिएनन् । उनीहरु मध्ये कति हेभिवेट पञ्चहरु जनमसंग्रहको घोषणाले मर्महात नै भएक थिए ।
‘जनमतसंग्रह दिनु भनेको पंचायती दर्शनको विघटन नै हो,’ डा. गिरीले सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । यस्ता अभिव्यक्तिले बहुदलवादीहरु झन् उत्साही भएर त्यो प्रजातान्त्रिक अभ्यासमा समर्पित भइरहेका थिए ।
...
 
जनमतसंग्रह घोषणा भएको केहि दिनमै किर्तीवावुले प्रधानमन्त्रीबाट राजिनामा दिनुभयो । किर्तीवावुले काम गर्ने उपयुक्त वातावरण भएको नदेखेरै हट्नुभएको होला ।
‘यो शुभ संकेत हैन,’ मलाई शंका लाग्यो ।
 
नयाँ प्रधानमन्त्री हुनुभयो सूर्यबहादुर थापा । अर्थ मन्त्रालय पनि प्रधानमन्त्रीले आफै राख्नुभएको थियो ।
 
त्यहिँ विचमा म कन्फर्म सचिव भए । अर्थ मन्त्रालयमै पोष्टिङ भयो । सरकारमा भएको परिवर्तन मलाई फाप्यो नै । कर्मचारीलाई अरु साथिभाई भन्दा चाँडो प्रोमोसन र रोजेको मन्त्रालय पाएपछि के चाहियो !
सूर्यबहादुर थापा शासन प्रशासनको नसनस बुझेको प्रधानमन्त्री । ऐन, कानून, नियम पनि कन्ठस्त । उहाँले निर्णय गर्न चाहे कानूनकै दफा देखाएर तर्क गर्नुसक्नुहुन्थ्यो । त्यहिँ विषयमा निर्णय गर्न नचाहे पनि कानूनकै आडमा अरुलाई चुप लगाइदिन सक्नुहुन्थ्यो । कानूनको दफाको आडमा फाइल घुमाउन सक्ने काइते कर्मचारी भन्दा पनि माहिर ।
 
मेरो विभागिय मन्त्री पनि हुनुभएकाले म रातबिहान प्रधानमन्त्री निवास गइरहनुपथ्र्यो । कुनै एक दिन विहान ६ वज्नुअघि नै मलाई निवासमा बोलाइयो । प्रधानमन्त्रीले मलाई बेडरुममै डाक्नुभयो ।
उहाँ त झुलभित्र फाइल पढिरहनुभएको छ । खाटमा चाङ्का चाङ् फाइल छन् । प्रधानमन्त्री तीनै फाइलहरुसँग रात काटेजस्तो दखिन्थ्यो । यो घटनाले पनि मलाई उहाँ प्रत्येक फाइल पढेर निर्णय गर्नुहुन्थ्यो भन्ने सम्झना हुन्छ ।
मलाई उहाँसँग काम गर्न पनि मज्जा आइरहेको थियो । सधैजसो वैदेशिक सहायतामा मात्र काम गरेकाले नियम, कानूनको त्यति हेक्का नराख्ने मेरो कार्यशैली । उहाँ फाइलको अंग पु¥याउन सिपालु । निर्णय गर्दा कानूनी त्रुटी होला वा फसिएला भनि डर मान्नु नपर्ने ।
 
आफै फोन गर्ने । ठाडो स्वर नगर्ने । उहाँले अह्राएको विषयमा विपरित तर्क गर्दा पनि रातो मुख नलगाउने ।
 
म उहाँसँग आफूलाई लागेको जेसुकै विषयका कुरा खुलस्त राख्न सक्थे । कर्मचारी भएपनि राजनीतिक कुरा गर्ने छुट पनि मैले पाएको थिए ।
‘तुलसी गिरीले पंचायतको साइन बोर्ड मात्र बाँकि छ, बहुदल आइसकेको छ भन्नुभयो,’ मैले थापाज्यूलाई भने, ‘पार्टीहरुसँग सम्झौता गरेर केहि राजनीतिक निकास निकाल्न सकिन्छ की ।’
 
यो सुझावमा मैले उहाँमा अघिपछि जस्तो सौहार्द्रता देखिन । ‘मलाई हटाएर विश्वेश्वरलाई ल्याएर प्रधानमन्त्री वनाउनुस्,’ उहाँ कड्किनुभयो । गोरो अनुहार पनि रातोपिरो भयो । चस्माभित्र पनि आँखा लाल देखिए ।
मैले कुनै प्रतिक्रिया गरिन । राजनीति मेरो प्रत्यक्ष सरोकारको विषय नभएकाले मौन बसे ।     
 
...
 
केहि महिनासम्म मेरो र प्रधानमन्त्रीज्यूको ट्युनिङ खुब मिलेको थियो ।
 
‘दरवारले साम, दान, दण्ड, भेद प्रयोग गरेर पंचायतलाई जिताउन सूर्यबहादुरलाई प्रधानमन्त्री र अर्थमन्त्री वनाएको हो,’ मेरा शुभेच्छुकहरु चिन्ता व्यक्त गर्थे, ‘तिमीलाई काम गर्न अप्ठोरो पार्लान् है ।’
नभन्दै मेरो टेबुलमा बजेट रकमान्तरको फाइलको चाङ लाग्न थाल्यो । शिक्षा, स्वास्थ्य, सडक, पानी, विजुली जस्ता आधारभूत सेवाका वजेट काटेर अन्यत्र लाने प्रयास हुन थाल्यो ।
 
अनुचित लागेका जति फाइल मैले स्विकृत गरिँन । सूर्यबहादुर थापा रकमान्तरको पक्षमा म विपक्षमा । अधिकार मेरै थियो । निर्णय गर्ने अधिकारी मै भएपछि उहाँको मनसुवा सजिलै पुरा भएको थिएन ।
‘अलि अलि आँखा चिम्लिदिनुस् न सचिवज्यू,’ प्रधानमन्त्री अनुरोध गर्नुहुन्थ्यो, ‘जहाँ गरेको खर्चले धेरै प्रतिफल आउँछ त्यतै लैजाऊ भन्ने मात्र हो ।’
 
रकमान्तरमा मैले अवरोधकको काम गरे । कर्तव्यपालन गर्न सकेकोमा दंग परे । रकमान्तरबाट बजेट दुरुपयोग गर्न खोजिएको मेरो शंका थियो ।
‘म सँग पंचायत जिताउन भनेर चन्दा मागिएको छ,’ आरएनएसीका जिएमले डराउँदै मेरो अफिसमा आएर भने, ‘इमान्दारीपूर्वक काम गरेर कसरि लाखौं चन्दा दिन सकिन्छ ।’
 
यो सूचनाले मलाई दुखि बनायो । केहि दिनमा नेशनल ट्रेडिङ्का जिएम भेट्न आए । उनको दुखेसो पनि उस्तै थियो, ‘चन्दा दिएनौं भने देख्लास् भनेर थ्रेट आएको छ ।’
अव मलाई छर्लङ् भइहाल्यो पंचायतका नाममा सरकारले नै चन्दा आतंक सुरु गरेको रहेछ । त्यस्तो चन्दा कसैले आफ्नो घरघरानाबाट दिँदैनथ्यो । जुन सरकारी निकायमा काम गर्छ त्यहिँबाट चोरेर दिने न हो । प्रधानमन्त्रीले नै चन्दा मागेपछि कसलाई के को डर । दिन नचाहने वृहस्पतीहरु म सँग आए ।
 
धेरैलाई त बाँदरलाई लिस्नु हालिदिए जस्तो भयो । फट्याइ गर्न खोज्ने मन्त्री, सचिव, जिएम, हुँदै तलसम्मैकाले जर्ती काटेर आफ्नो भाग राखि पंचायत जिताउने नाममा प्रधानमन्त्रीलाई चन्दा दिने भए ।   
म रकमान्तर रोकेर राज्यको ढुकुटीमा पर्न लागेको दूलो टाले भनेर मख्ख । अन्त भ्वाङ् परिसकेको रहेछ । दुरुपयोगको भेल नै बग्न थालिसकेको थाहाँ हुँदै गयो ।
 
अन्यत्र र अर्थ मन्त्रालयमा पनि कर्मचारी सरुवाको चलखेल हुन थाल्यो । फलानालाई कर, भन्सार ल्याइदिनुप¥यो भने र प्रधानमन्त्री आफैले फोन गर्न थाल्नुभयो । भ्रष्टाचारको गुञ्जायस रहेको अरु मन्त्रालयमा पनि त्यस्तै भएको सुनिन्थ्यो ।
मुलुकको कर्मचारीतन्त्रमा एउटा नया ‘थिती’ वसालियो– कर्मचारीसँग पैसा उठाउने । त्यसभन्दा अघि सरुवा, बढुवा वा अरु निहँुमा कर्मचारीसँग माथिका मानिसले पैसा खान्छन् भन्ने कसैले चिताउन पनि सक्दैनथ्यो । हामी राज्यको सिस्टमभित्रै बसेकाहरुले पनि कर्मचारीसँग माथिका मानिसले पैसा खान्छन् भन्ने कल्पना पनि गर्दैनथ्यौं ।
 
यसले मात्र पुगेन जनमतसंग्रहको नाममा जंगल सखाप पार्ने काम सुरु भयो । तराईमा रातारात स–मिलहरु खडा भए । मेचीदेखि महाकालीसम्म चारकोसे झाँडीको सालको जंगल सखाप पारेर भारत पु¥याइराखिएको हामी पनि सुन्थ्यौं । जनमतसंग्रहको नाममा मुलुकले वन जंगल क्षेत्रमा अपुरणिय क्षती व्योहोर्यो ।
...
 
सरकारले कर फछ्र्यौट आयोग वनायो । त्यसको अध्यक्ष हुनुहुन्थ्यो डा. यादवप्रसाद पन्त । व्यापारीक फर्महरुलाई करोडौं आयकर मिनाहा दिने निर्णय हुनथाल्यो । जनमतसंग्रहमा पंचायतलाई जिताउने नाममा जथाभावी निर्णय भइरहेका थिए । राजस्वमा व्रम्हलुट चलेको थियो ।
 
म पनि आयोगको पदेन सदस्य थिए । म एकातिर अरु सबै एकातिर हुन्थे ।   
 
त्यहिँ विचमा धमाधम बजेटको तयारि गर्ने काम पनि भइरहेको थियो । बजेटको चटारो अर्थ सचिवलाई पनि अत्यधिक हुन्छ । थापाले बजेट पन्तलाई देखाउनु भन्नुभयो ।
 
‘राष्ट्रिय पंचायतमा पेश हुनुभन्दा अघि अर्थ मन्त्री, प्रधानमन्त्री, राजा बाहेक अरु सबैसित बजेट गोप्य राख्नुपर्छ,’ बजेटको मर्यादा मैले स्मरण गराए । बजेटसँगै कर, भन्सारको दररेट पनि तलमाथि हुन्छ । यसको गोप्यता भंग भयो भने करोडौं (त्यतिबेलाको) राजस्व हिनामिना हुन सक्थ्यो ।
 
पन्तलाई म कसरि बजेट देखाउन सक्थे !
 
मैले बजेट थापालाई सुनाए । कतिपय कार्यक्रम र करका दररेट उहाँले तलमाथि गर्न लगाउनुभयो । धेरै मैले आनाकानी गरे ।
कति जोरी खोज्नु !
 
प्रधानमन्त्रीको अनुरोध अनुसार बजेट पनुर्लेखन गरे । पन्तलाई नसुनाउने मेरो अडानकै जीत भयो ।
दरवारमा बजेट व्रिफिङ गर्ने दिन आयो ।
 
म र प्रधानमन्त्री थापा राजदरवार गयौं । राजालाई पढेर सुनाए । प्रधानमन्त्रीको अनुरोधमा राखेका कतिपय बँदा मलाई चित्त बुझेको थिएन । त्यो पनि पढ्नैपर्यो‌ । मलाई कता कता सकस भयो ।    
‘सरकार सेवकलाई यो बँदा चित्त बुझेको छैन,’ मैले विन्ती गरे, ‘प्रधानमन्त्रीज्यूको अनुरोधमा यो व्यवस्था राखेको हुँ ।’
...
 
वजेट आयो । सूर्यबहादुर थापा आफैले अर्थ मन्त्रीको रुपमा भाषण गर्नुभयो । बजेट पास भएपछि अर्थ मन्त्री, सचिव, कर्मचारीको टाउको दुखाइ सकिन्छ । भारी बिसाएजस्तो हलुका हुन्छ ।
बजेटको लठारो सकिँदा पनि मेरो कपाल दुखाइ भने जस्ताको तस्तै थियो । मन्त्री र मेरो तनावको पारो  चढिरहेको थियो ।
 
रकमान्तर, कर्मचारीसँग असुली, राजश्व मारेर व्यापारी मोटाउन दिने÷नदिने भन्ने विषयमा मेरो र प्रधानमन्त्रीको मतान्तर बढ्दै गइरहेको थियो ।
म स्पिड ब्रेकर हुन खोज्थे । प्रधानमन्त्रीको गति तेज थियो । उहाँ भन्नुहुन्थ्यो, ‘पंचायतलाई जिताउनुपरेन ।’
 
मैले जति विमति राख्दा पनि प्रधानमन्त्रीले मसँगको व्यवहार फरक गर्नुभएन । बोलीव्यवहार, आदर, शिष्टाचारमा कुनै फरक परेको छैन ।
 
...
 
दशै तिहारपछि अर्थ मन्त्रालयमा कामको चटारो क्रमश बढ्दै जान्छ । अर्को वर्षको बजेटको गृह सुरु भइहाल्छ । २०३६ मंसिरको एकदिन म विहान १० बजे भन्दा अघि नै अफिस पुगिसकेको थिए, साविक जस्तै ।    
दरवारबाट फोन आयो ।
 
‘तुरुन्त आउनु,’ बुलावट आयो ।
 
‘सरकारबाट हुकुम भएको छ, पिएमको प्रोजेक्टमा बाधा अड्काउ नगर्नु,’ एक सचिवले भने, ‘उहाँको कार्यक्रममा सहयोग पु¥याउनु ।’
 
मैले केहि पनि जवाफ दिँइन । हुन्छ पनि भनिन हुन्न पनि भनिन ।
 
सरक्क फर्किए ।
 
नारायणहिटीबाट वागदरवार आइपुगेको थाँहै पाइन ।
 
अफिस आएर थचक्क कुर्सीमा बसे ।
 
‘प्रधानमन्त्रीले अह्राएको काम मैले सबै मानेकै छु,’ मैले गम खाए, ‘नहुने काम त जसले अह्राएपनि म गर्दिन ।’ म मुलुकलाई घाटा हुने काममा सहीछाप गर्न सक्दिनथे ।  
प्रधानमन्त्रीको के प्रोजेक्ट मैले टेरेको छैन ?
 
दरवारलाई पनि रकमान्तर गरेर बजेट हारलहुरल, कर मिनाहा, कर्मचारी, व्यापारीसँथ असुली गर्नुपरेको रहेछ ।
 
कि म पनि विवेक गुमाएर मतियार वन्नुप¥यो । हैन भने जागिर छाडेर बाटो लाग्नु जाती । मैले दोस्रो बाटो रोज्ने भए । राजिनामा ड्राफ्ट गरे ।
प्रधानमन्त्री, दरवार सबैको कसिंगर भएर कसरि जगिर खान सकिन्छ ?
 
मुलुकका १०१ व्यक्तित्वलाई गलैँचा काण्ड लागेको झलझली सम्झिएँ । दरबार लाग्नु भन्दा नै पहिला नै मैदान खालि गरिदिनु वुद्विमानी, मेरो ठम्याइ थियो ।
दियालो वंगलामा राजपरिवारका सदस्य र नातेदारको मिटिङ बसेको सुनेको थिए । डाङ्राङ, डुङ्रुङ् गरेर भएपनि पंचायतलाई जिताउनुपर्छ भन्ने निर्णय भएको हल्ला पनि आएको थियो ।
 
‘साँच्चै हो रहेछ,’ ती हल्ला साँचो हुन् भन्ने आधार थपिदै थिए ।
 
राजिनामा बुझाउनु भन्दा पहिला कसैसँग त सल्लाह गर्नै प¥यो ।
भुवनेश्वरजीलाई डाके ।
 
‘जागिर खान देलान जस्तो छैनन्,’ सबै कुरा सुनाए । आठ महिनादेखि प्रधानमन्त्रीसँग भइरहेको खटपट उनलाई म बेलाबेलामा सुनाइरहन्थे ।
‘वेला भइसक्यो र हजुर,’ खत्रीजीले सुझाए, ‘दरवार अपार हुन्छ राजाकै मुखबाट नसुनी यस्तो कठोर निर्णय लिने वेला भइसकेको छैन ।’
 
हो त ! राजाको मुख बाट तँ मैले सुनेको छैन नी । दरवारमा धेरैवटा पावर सेन्टर हुन्थ्यो । तीनै मध्ये कुनैले चलखेल गरिरहेको हुन सक्छ । शंकाको सुविधा दिने ठाउँ पनि थियो ।          
विरेन्द्र मातहत काम गरेको दश वर्ष नाघिसकेको थियो । उनले कहिल्यै हस्तक्षेप गरेको मलाई सम्झना थिएन ।
 
एक महिनापछि पेरिसमा नेपाल डभलेपमेन्ट फोरमको वैठक हुँदै थियो । अर्थमन्त्री भेषबहादुर थापासँग धेरैपटक गइसकेको थिए । उनको ठाँट देखेको थिए ।
यसपाला विभागिय मन्त्री प्रधानमन्त्री स्वयं । उहाँलाई चुनावको चटारो छ । मैले संवोधन गर्न पाउँछु । त्यो फोरममा भाषण गर्ने लोभले पनि थियो । त्यसले लेखेको राजिनामा कोटको बगलीमा लुकाउन उत्प्रेरकको काम ग¥यो ।  
...
 
पेरिस गए । फर्केर आए । मनोकामना पुरा भए जस्तो भयो ।
 
प्रधानमन्त्री/अर्थमन्त्रीले पनि आफ्नै शैलीमा काम गरिरहनुभएको थियो । म पनि आफ्नो स्टाइलबाट टसमस भएको थिँइन ।
 
प्रधानमन्त्री देश दौडाहामा हुनुहुन्थ्यो । पंचायतको पक्षमा चुनाव प्रचार गर्न । राज्यको स्रोत साधन खर्चेर देश पंचायतको पक्षमा दौडाहा गर्नुले निष्पक्ष निर्वाचनको संकेत गर्देनथ्यो ।
कहिलेकाँहि हाम्रो भेट हुन्थ्यो । तर सम्वन्ध चिसो हुँदै गएको थियो । उहाँले अह्राएको नहुने काम म टर्दैनथे । पन्छाइदिन्थे ।
 
माघ अन्तिम सातातिर दरवारबाट बोलावट आयो ।
 
‘पिएमको कार्यक्रममा सहयोग गरिदिनुप¥यो,’ दरवारका उच्च अधिकारीले भने, 'सरकारबाट हुकुम भएके छ ।'
 
म छाँगाबाट खसे जस्तो भए । दरवारका सचिवले दुई महिना अघि जे भनेका थिए ।  अहिले त्यहिँ आदेश आयो ।
रकमान्तर, कर्मचारीबाट असुली र कर मिनाहामा सरकारबाट भइरहेको अनियमितताबारे वताए ।
 
‘पिएमले के के गर्छन् दरवारलाई जाहेर गर्नु,’ राजालाई उदृत गर्दै उनले भने, ‘अहिले पिएमलाई सहयोग चाहिएको छ ।’
राजा हैन अरुले नै वदमासी गराइरहेका भन्ने मेरो विश्वास शिशा झै चकनाचुर भयो । राजाले नै पंचायतको पक्षमा धाँधली चाहिरहेको पनि बुझे । प्रधानमन्त्रीले कतिपटक कम्प्लेन गरेपछि मलाई भन्नुपर्ने अवस्था आयो होला भन्ने पनि अनुमान लगाए ।
 
‘अव तेरो खैरियत छैन,’ म अन्तिम निश्कर्षमा पुगे, ‘अव जागिर खाने दिन सकियो ।’
 
माघ मसान्तमा प्रधानमन्त्रीकहाँ लगेर राजिनामा दर्ता गराए । फागुनको २ वा ३ गते प्रधानमन्त्री जिल्ला दौडाहाबाट आउनुभयो ।
‘आउनुस् यहाँ,’ उहाँले नै मलाई वोलाउनुभयो ।
 
‘हजुरले मलाई विदा दिने भए आइहाल्छु,’ मैले जवाफ दिए ।
‘पहिला आउुनस् न,’ उहाँले नरम स्वरमा भन्नुभयो ।
 
म एक घण्टा भित्रै निवास पुगे । त्यहाँका कर्मचारीले तुरुन्त उहाँको वैठक कोठामा लगे ।
उहाँले कफि मगाउनुभयो ।
 
‘के उपद्रो गर्नुभएको यो,’ उहाँ जुरुक्क उठ्नुभयो, ‘के चाहिन्छ । कहाँ जानु हुन्छ जानुस् ।’
अरु मन्त्रालय, एम्वेसडर वा योजना आयोग मागोस् भन्ने उहाँको चाहना रहेछ ।
 
मैले सरल जवाफ दिए, ‘मेरो राजिनामा स्विकृती भए मेरा लागि ठूलो उपलव्धि हुन्थ्यो ।’
‘राजाबाट सम्झाउन हुकुम भएको छ,’ प्रधानमन्त्रीले भन्नुभयो ।
 
म छाड्छु भन्ने उहाँ नछाड । कफि खाएर हामी एक घन्टासम्म अलमलिइरह्यौ । 
म तैपनि पग्लिने कुरा थिएन । प्रधानमन्त्री मेरो राजिनामा स्विकृत गर्न राजी हुनुभयो ।
 
...
 
मेरो राजिनामापछि विभिन्न हल्ला चल्यो । मलाई हिरो बनाएर चलेका ती हल्लाहरु साँचो थिएनन् । म बहुदलवादी भएर जागिर राजिनामा दिएको थिँइन । वहुदलसँग मेरो कुनै प्रकारको लगाव थिएन ।
राजाले ढुकुटीबाट जथाभावी पैसा चलाउन आदेश दिएकाले मैले राजिनामा दिए भन्ने हल्ला पनि साँचो होइन । सूर्यबहादुर थापाले मलाई जागिर छाड्न बाध्य बनानुभयो भन्ने पनि सत्य होइन ।
 
झण्डै दुई दशक जागिर खाँदा मैले जे सिकेको थिए । मेरो मनमा शासनप्रशासनबारे जुन मूल्य मान्यता गढेको थियो । विरेन्द्रलाई म जसरि आदर्श राजा मान्थे । ती सबै विश्वास तासको घर जस्तो गम्रयाङ गुम्रुङ ढलेकाले मैले जागिर छाडेको हुँ ।  
 
अमित ढकाल र किरण भण्डारीले गरेको कुराकानीमा आधारीत ।
तस्विर:प्रकाश लामा / सेतोपाटी