काठमाडौँ
- राजनीतिक तथा सामाजिक परिवर्तनका लागि टि्वटर महत्वपूर्ण माध्यम हुने एक
अध्ययनले देखाएको छ। सेन्टर फर मिडिया रिसर्चले गरेको अध्ययनले टि्वटरको
बढ्दो प्रयोगसँगै यसले परिवर्तनका लागि भूमिका खेल्न सक्ने देखाएको हो।
माइक्रो ब्लगिङ टि्वटर प्रयोगकर्ताबीच
गरिएको सर्वेक्षणमा सहभागीमध्ये ७१ प्रतिशतले परिवर्तनका लागि यसको भूमिका
हुनेमा मत दिएका हुन्। कतिपयले यो सामाजिक सञ्जाल हल्काफुल्का टिप्पणीमा
सीमित रहेको बताए पनि यसका प्रयोगकर्ता त्यसलाई स्वीकार्न तयार छैनन्। ७१
प्रतिशत नै सहभागीले टि्वटर सिरियस नहुने भन्ने भनाईलाई गलत ठहर्याएका छन्।६ सय २५ जना सहभागी रहेको सर्वेक्षणमा उनीहरुको टि्वटर प्रयोगको प्रवृत्ति र सोचमाथि अध्ययन गरिएको थियो। 'सामाजिक सञ्जालले नेपाली समाजलाई पनि उत्तिकै प्रभावित पारेको छ' सेन्टरका अध्यक्ष उज्ज्वल आचार्यले भने, 'सिरियस विषयमा अभिव्यक्ति दिने यो राम्रो माध्यम बनेको छ।'
सर्वेक्षण युवाहरुको उपस्थिति बलियो थियो। प्रविधिमा युवापुस्ता अगाडि भएका कारण पनि यो माइक्रोब्लगिङमा उनीहरुको सहभागिता धेरै देखिएको हो। सर्वेक्षणमा सहभागीमध्ये १३ प्रतिशत महिला र ८७ प्रतिशत पुरुष थिए। २० देखि ३५ वर्ष उमेर समूहका ८७ प्रतिशत अध्ययनमा सहभागी थिए। टिनएजर्सको संख्या भने ४ प्रतिशत थियो।
पेशागत आधारमा १६ प्रतिशतहरु पत्रकार, वकिल र अभियन्ता थिए। २७ प्रतिशत विद्यार्थी र १३ प्रतिशत निजी क्षेत्रमा कार्यरत पेशाकर्मी थिए।
कतिवटा टि्वटर?
अभिव्यक्तिका लागि एउटा टि्वटर अकाउन्ट काफी नै हुने गर्छ। तर अध्ययनमा समेटिएकामध्ये हरेक दशमा एक जनाको टि्वटर एउटामात्र थिएन। एकैले मल्टिपल अकाउन्ट खोलेका छन्, माइक्रो ब्लगिङमा।
आफ्नो नाममा तथा छद्म नाममा पनि सामाजिक सञ्जालको सदस्य बन्नेहरु धेरै छन्। उनीहरु आफ्नो पहिचान नखुलोस् भनेर फरक नाममा यस्ता अकाउनट खोल्छन् र विचार अभिव्यक्त गर्छन्। अध्ययनमा सहभागीमध्ये हरेक ४ जनामा तीन जनाले नेपालभित्रबाटै टि्वट गर्छन्। यीमध्ये काठमाडौंका ८६, ललितपुरका ७ र भक्तपुरका ४ प्रतिशत छन्। उपत्यकापछि टि्वटरमा चितवन र कास्की अगाडि देखियो। कास्कीमा ३ र चितवनबाट टि्वट गर्नेहरु २ प्रतिशत थिए। विदेशमा रहेर टि्वट गर्नेमध्ये सबैभन्दा धेरै अमेरिकामा छन्। र, हरेका ४ मा ३ जनाले नेपाली र अंग्रेजी दुबै भाषामा टि्वट गरेको पाइयो।
वेबमा आधारित सर्वेक्षणमा सहभागिताका लागि सामाजिक सञ्जालकै प्रयोग गरिएको थियो। टि्वट र रिटि्वटबाट नै सहभागीहरुको संख्या बढेको थियो।
टेक्स्टमै धेरै
नेपालमा सामाजिक सञ्जालमध्ये फेसबुक अग्रणी स्थानमा छ। फेसबुकमा स्टाटसभन्दा पनि फोटो तथा भिडियो अपलोड गर्ने प्रचलन बढी छ। टि्वटरबाट फोटो अपलोड गर्ने सुविधा छ तर पनि प्रयोगकर्ताहरुले यसको खासै धेरै प्रयोग गर्दैनन्।
अध्ययनले ७ प्रशितमात्र टि्वटर प्रयोगकर्ताले रेगुलर फोटो पोस्ट गर्ने गरेको देखाएको छ। जवकी १५ प्रतिशतले त कहिल्यै पनि फोटो अपलोड गरेका छैनन्। १ सय ४० क्यारेक्टरमा विचारमात्र दिन सकिने सुविधा टि्वटरमा छ। जवकी प्रतिस्पर्धी सामाजिक सञ्जाल फेसबुकमा धेरै समेट्न सकिन्छ।
नेपालमा प्रोफेसनहरुबीच टि्वटरको प्रयोग बढ्दो छ। थोरै टेक्स्ट हुने भएकाले टाइमलाइनमा धेरै कुरा थाहा पाउन सकिने भएकाले पनि यसको प्रयोग यो वर्गमा लोकप्रिय भएको हो।
सामाजिक, रोचक र राजनीतिक
सामाजिक विषयमा टि्वट गर्नेहरु धेरै छन्। ४४ प्रतिशतलाई सामाजिक सरोकारका विषयमा टि्व गर्न मन लाग्छ। ४२ प्रतिशतलाई भने कुनै पनि रोचक विषयले छुन्छ र उनीहरु त्यसैलाई टि्वटरबाट अभिव्यक्त गर्छन्। ३७ प्रतिशतलाई राजनीतिक विषयमा चासो छ। आफ्नो व्यवसायलाई लिएर टि्वट गर्नेहरुको संख्या २६ प्रतिशत र मिडियाको विषयमा टि्वट गर्नेहरु २३ प्रतिशत देखिए। टि्वटर प्रयोगकर्तालाई मल्टिपल अप्सनमा भोट गर्न मिल्ने गरी उनीहरुको प्राथमिकताको विषयहरु दिइएको थियो।
ज्नमतको विषयमा ५९ प्रतिशत र गफगाफका लागि ५६ प्रतिशतले टि्वटरको प्रयोग गरेको देखियो। आफ्नो मनको गाँठो फुकाउन टि्वटिनेको संख्या ५० प्रतिशत रह्यो। आफ्नो सञ्जाल विस्तारका लागि यो माइक्रो ब्लगिङमा सहभागी हुनेहरु ४६ प्रतिशत रहे। व्यवसायिक विषयमा टि्वट गर्नेहरु ३१ प्रतिशत रहे भने समय विताउनका लागि यो माध्यम प्रयोग गर्नेहरुको संख्या सबैभन्दा कम ३० प्रतिशत रह्यो।
८९ प्रतिशतले आफ्नो अभिव्यक्तिका लागि टि्वटर अत्यन्त महत्वपूर्ण रहेको जनाएका छन्। तर, महत्वपूर्ण के छ भने ४२ प्रतिशतले नेपालमा टि्वटरको सही सदुपयोग नभएको वा गर्न नसकिएको स्वीकार गरेका छन्। धेरैले सेलिब्रिटी र नेताहरुले यो सामाजिक सञ्जालबाट फाइदा लिनसक्ने धारणा राखेका छन्।
टि्वटर मनोविज्ञान
- १९ प्रतिशतलाई अरुले फलोब्याक गरेन भने नराम्रो लाग्छ
- ४२ प्रतिशतलाई आफूले मेन्सन गर्दा पनि रिप्लाइ आएन भने नराम्रो लाग्छ
- २४ प्रतिशतले थोरै मानिसलाई फलो गर्नेहरुलाई घमन्डी बताए
- ६८ प्रतिशतलाई रिटि्वट वा फेवरेट गरे–नगरेको मा मतलव छैन
- ६४ प्रतिशतले थोरै तर महत्वपूर्ण व्यक्तिलाईमात्र फलो गर्छन
- ६३ प्रतिशतलाई रिट्वट, फलो वा मेन्सन भएकोमा खुशी लाग्छ
- ६९ प्रतिशतलाई फलोअर बढाउनभन्दा राम्रो विचार टि्वट गर्न मन लाग्छ
- ५९ प्रतिशतले मन परेजति सबै टि्वटको रिटि्वट गर्छन्