Friday, May 31, 2013

क्षयरोग के हो ? कसरी बँच्ने ? - onlinekhabar

क्षयरोग अर्थात ट्युवरकुलोसिस (सामान्य बोलीचालीमा टिबि ) माइकोब्याक्टेरिएम ट्युबरकुलोसिस (Mycobacterium tuberculosis) भन्ने सुक्ष्म जीवाणुको संक्रमणबाट लाग्ने सरुवा रोग हो । संस्कृतमा यसलाइ राज्यक्षमा पनि भन्ने गरिन्छ । यो रोगले सरिरको क्षय गर्ने भएकोले नै यसलाइ क्षयरोग भनिएको हो । यसलाइ महारोग अर्थात रोगहरुको राजा पनि भन्ने चलन रहेको छ । क्षयरोग मुख्यतया फोक्सोको रोग भएतापनि सरिरका अन्य अ्र्ग जस्तै हाड , मस्तिष्क , आन्द्रा लगायतका भागमा पनि यसले संक्रमित गर्न सक्छ ।
TB
क्षयरोगको जीवाणु हाछ्युँ गर्दा वा खोक्दा हावा सँगै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छन्- ( Airborne Droplet infection ) । यो जीवाणु सन् १८८२ मा रोबर्ट कोचले पत्ता लगाएका हुन् ।
जीवाणु पत्ता लागेको एक शताव्दी भैसक्दा र यो रोग निको पार्ने प्रभावकारी औषधी र रोग लाग्न नदिने खोपको व्यापक प्रयोग भैरहदा पनि क्षयरोग विश्रभरी नै मुख्य स्वास्थ्य समस्याको रुपमा रहदै आएको छ । एक अध्ययन अनुसार नेपालमा मानिसको ज्यानैलिने दोश्रो भयानक सरुवा रोगको रुपमा क्षयरोग रहेको छ ।
क्षयरोगको संक्रमण र रोगका लक्षण : 
क्षयरोगका जीवाणु स्वस्थ व्यक्तिको सरिरमा प्रवेश गरेपछि संक्रमित व्यक्तिको प्रतिरोधात्मक क्षमता हेरिकन केही महिना देखि एक वर्ष सम्ममा यो रोगका लक्षण देखापर्न थाल्छन् । तर सामान्यतया ६ महिना देखि एक वर्ष सम्मको समयलाइ झ्याली समयको रुपमा लिने गरिन्छ । यो रोगका जीवाणुहरुले उत्पादन गर्ने एक प्रकारको विष Tuberculin को कारणले सरिरका कोषहरु को क्षय हुन जान्छ फलतः रोगका लक्षण देखिन थाल्छन् ।
सामान्यतया सरिरमा भएको रोग प्रतिरोधक कोषहरु (T-cell) ले जीवाणु हरुको प्रवेश र वृद्धी नियन्त्रण गर्ने गर्छन् । तर जब क्षयरोगका जीवाणुहरुको नियन्त्रणमा यस् कोषहरु असफल हुन्छन् तब जीवाणुहरु सम्पूर्ण रक्तप्रवाहमा समाहित हुन पुग्छन् । र फोक्सो लगायतका अङ्गमा पुगी वृद्धी हुन थाल्छन् । यो चरणलाई MiliaryTuberculosis भनिन्छ । रोग पाकेको चरणमा रक्तनलीहरु क्षतविक्षत पारी प्वाल पार्ने र कोषहरुलाई मार्ने गर्छन् । फोक्सोका भित्ताहरुमा समेत प्वाल पर्न जान्छ । यो अवस्थामा निम्न लक्षणहरु देखिन थाल्छन् ।
क. लगातार खोकी लाग्ने तथा खोकीमा रगत देखिने
ख. सरिरको वजन घट्ने
ग. फोक्सोमा पीडा महसुस हुने ज्वरो आउने आदि ।
यदी सहि उपचार नभएमा रोगीको मृत्यु हुन सक्छ ।
क्षयरोगबाट को को खतरामा छन् त ?
१ केटाकेटी किशोर किशोरी र वयस्क जो सुकै पनि क्षयरोग संक्रमणको सिकार बन्न सक्छन् ।
२ रेागी सँग बारम्बार सम्पर्कमा आइरख्ने जस्तै चिकित्सक र रोगीको परिवार
३ धेरै भिडभाड र रोगसंक्रमित क्षेत्रका बासिन्दा
४ अल्कोहल लगायतका मध्यपान र धुम्रपानको कुलतमा लागेका हरु र बढि धुलो धुवामा बस्नेहरु
५ एड्स रोगी जसको रोगप्रतिरोधात्मक क्षमता हुदैन
रोगबाट बच्न के गर्ने ?
१ धुम्रपान मध्यपान नगर्ने
२ बालबालिकाहरुलाइ उचित समयामा बिसिजि को खोप लगाउने
३ रोगका लक्षण देखिएमा जचाएर उपचार गर्ने र रोगको संक्रमण अरुमा फैलिन नदिने
४ हाछ्यँु गर्दा र खोक्दा मुख छोप्ने
नेपालमा क्षयरोगको बर्तमान अवस्था
विश्वमा करीब १.७ अर्ब मानिस क्षयरोग बाट संक्रमित भएको बताइएको छ । त्यसमध्ये एक तिहाइ रोगी सार्क क्ष्ृत्रका नेपाल , भारत , बङ्गलादेश , पाकिस्तान , श्रीलङका , लगायतका राष्ट्रहरुमा भएको तथ्याङ्कहरु सार्वजनिक भएका छन् । । नेपालमा प्रत्येक दश जना मध्ये ६ जना मानिस यो रोगबाट संक्रमित छन् । प्रतिवर्ष ४० हजार नया रोगी थपिने गरेका छन् । एक तथ्यांकका अनुसार नेपालमा भएका क्षयरोगी मध्ये ५ देखि १५ प्रतिशत रोगी बालबालिका रहेका छन् । बालबालिका यो रोगबाट धेरै पिडित रहेको र बालमृत्युदरको एक मुख्य कारणको रुपमा यो रहेको छ । बालबालिका हरु यो रोगको संक्रमणको बढि जोखिममा पनि रहेका हुनछन् । कुपोषण भएका बालबालिकाहरु क्षयरोगको झनै जोखिममा रहेका हुन्छन् ।
नेपालमा धेरै जनता अििशक्षित छन् । जसले यो रोग इश्वरले सरापेर दिएको हो भन्ने रुढिवादी मान्याता राख्छन् । बालबालिका यो रोगबाट बढि प्रभावित हुने कारणले पनि वयस्कहरुमा यो रोग बढि छ भन्ने कुरालाइ प्रतिबिम्बित गरेको हुन्छ ।
उपचार र नियन्त्रण
क्षयरोगको सरल र सहज उपचार सम्भव भएपनि यसले वर्षेनी हजार्रौको ज्यान लिने गरेको छ । त्यसैले यो रोगप्रति हेलचेक्राइ नगरिकन छिटौ औषधोपचारमा लाग्नुपर्छ ।
१ यो रोग लाग्नै नदिन बिसिजी नामक खोप दिइन्छ
२ यो रोग लागि सकेपछि भने रोग पत्ता लगाएर विभिन्न औषधिको प्रयोग गरी उपचार गरिन्छ (Chemotherapy) ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक एक सेकेण्डमा एक जना मानिसलाई क्षयरोगले संक्रमित गर्ने गरेको छ । विश्वका एक तिहाइ मानिस क्षयरोगबाट संक्रमित छन् । यद्यपि असाध्य र महारोग मानिएको क्षयरोगको उपचार सहज बन्दै गएकोले यो रोगबाट प्रभावित हुने र ज्यान गुमाउनेको संख्या कम भएको छ । तरपनि नेपालको केही ग्रामिण क्षेत्रमा व्याप्त रोग र रोगीप्रतिको नकारात्मक सोच र लापरवाहीले गर्दा रोगीले अनाहकमा ज्यान गुमाउनुपरेको तितो यथार्थ रहेको छ । तसर्थ क्षयरोगबारे पुर्ण जनचेतनाको खाँचो छ ।                                                         कुलचन्द्र अर्याल (एजेन्सीको सहयोगमा)