यही जेठ १० गतेदेखि भृकुटीमण्डपमा पुस्तक मेला सुरु भएको छ । वर्षमा एकपटक (साझाको बाहेक) आयोजना हुने यसप्रकारको मेलामा गएर कसरी पुस्तक छान्ने भनेर तपाईंलाई कन्फ्युज्जड भइरहेको हुन सक्छ । तपाईंहरुको सजिलोका लागि ०६९ भरि निस्केमध्येका किताबहरुबारेको यो जानकारी पस्केका छौं ।
गएको वर्ष निस्केका पुस्तकहरुमध्ये हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ बिक्री र चर्चाका हिसाबले सबैभन्दा अगाडि रह्यो । तर उक्त पुस्तकले आलोचकहरुबाट अपेक्षा गरेजति उत्कृष्ट नभएको, सिलसिला नमिलेको, मूल्य असाध्यै चर्को राखेर हरिवशंले लोकपि्रयतामाथि निकृष्ट व्यापार गरेको लगायतका आरोप पनि खेप्नु पर्यो । यद्यपि गुणवत्ताका दृष्टिले चाहिँ मदनमणि दीक्षितको ‘आनन्दमय जीवन’ वर्षभरिकै सबैभन्दा उत्कृष्ट आत्मकथा हो । साझा प्रकाशनले बजारमा ल्याएको यो कृतिले अपेक्षित चर्चा भने पाउन सकेको छैन ।
विनोद चौधरीको ‘आत्मकथा’ पनि चर्चाको बजारमा अब्बलमै गनियो । विश्वका धनीहरुको नाम प्रकाशित गर्ने फोब्स पत्रिकामा सूचिकृति एउटा सफल ब्यापारीको यो आत्मकथाले देशको समसामयिक राजनीति र विगतको राजघरानाका छोपिएका थुप्रै रोचक पाटाहरुलाई उजागर गरेको छ । उक्त पुस्तक प्रकाशनपछि चौधरीले आफ्ना कमीकमजोरी ढाकछोप गरेको, राजस्व छली बारे चोखिन खोजेको लगायतका आरोप पनि नलागेका होइनन् । यद्यपि जीवनमा केही गर्न चाहनेका लागि यो पुस्तक निकै प्रेरणास्पद छ ।
किष्ट बैंकका सिइओ कमलप्रसाद ज्ञवालीको ‘कर्म’ र सरिता श्रेष्ठको ‘छुटेको साथ’ गएको वर्ष निस्केमध्येका पठनीय आत्मकथा हुन् । तर विविध कारणले तीनले चर्चा पाउन सकेनन् । बरु आनी छोइङको आत्मकथा ‘फूलको आँखामा’, नारायण सुवेदीको ‘माओवादी कब्जामा सय दिन’ चर्चामा अगाडि रहे ।
शारदा शर्माको ‘ताप’ उपन्यासलाई त ०६९ को मदन पुरस्कारको दावेदार भनिएको छ । यसमा बौद्ध दर्शन र समसामयिक राजनीतिलाई परिवेश बनाइएको छ । यद्यपि यो उपन्यास पूरै पढिसकेँ भन्नेहरु एकदमै कम भेटिएका छन् । जर्मनीको परिवेशमा आधारित कृष्ण धरावासीको महत्वाकांक्षी उपन्यास ‘गेस्टापो’ले पनि बिक्रीमा हावा खायो । बोल्ड नारी उपन्यासकार अनुपम रोशीको उपन्यास ‘नाङ्गो मान्छे’ले ‘कुमारी आमा’को जति पनि स्थान बनाएन । बरु पृथ्वीनारायण शाहकालदेखि वर्तमानसम्मको परिवेश समेटिएको जगदिश घिमिरेको ‘सकस’ले पाठकलाई नयाँ स्वादसँगै बजारमा राम्रै स्थान जमायो ।
नयाँ लेखक सुबिन भट्टराईको ‘समर लभ’ बिक्रीमा बाजी मारेको उपन्यास हो । युवा पुस्ताको प्रेम कथामा आधारित यो उपन्यासले चेतन भखत शैलीको नेपालीकरण गरेको छ । गएको वर्ष चर्चाका हिसाबले राजेन्द्र थापाको खेलौना अगाडि रहे पनि उक्त कृति किनेर पछुताएँ भन्नेहरु धेरै भेटिए । निकै रोचक कथा भएको माधव सयपत्रीको उपन्यास ‘सीमान्त विचलन’ले त प्रकाशकको कमजोरीकै कारण बजारमा पानीसमेत पिउन पाएन । बाहुन क्षेत्रीलाई गाली गर्ने कुन्ठाजन्य नियत राखिएको राजन मुकारुङको ‘दमिनी भीर’ पनि बिक्रीका दृष्टिले भीरैभीर गुल्टियो । देवप्रकाश त्रिपाठीको ‘प्रलय प्रारम्भ’ले पनि पाठकको मनमा नयाँ कुरा आरम्भ गर्न सकेन । स्वागत नेपालको ‘जिगोलो’ पनि पाठक तान्ने सवालमा कच्चा ठहरियो । बरु तारालाल श्रेष्ठको ‘सपनाको समाधि’ र राजवको ‘बेकारीमा उपन्यास’ले राम्रै चर्चा बटुले । ‘सपनाको समाधि’मा भुटानी शरणार्थी समस्या उठाइएको छ भने ‘बेकारीमा उपन्यास’मा जो पनि उपन्यासकार हुने प्रवृत्तिलाई कसिलो कटाक्ष गरिएको छ । यसलाई आहुतिको ‘स्खलन’ पछिको दोस्रो ब्यङ्ग्य उपन्यास भने पनि हुन्छ ।
नयाँ लेखक रमेश पौडेलको ‘द सुपि्रम हृमुमन’ पछिल्लो समयमा बौद्धिक पाठकबाट निकै प्रसंसा पाएको उपन्यास हो । यो उपन्यासमा अति स्वैरकल्पनाको प्रयोग गरिएको छ । अमेरिकाको डोरेन्स पब्लिकेसन्सबाट अंग्रेजी संस्करणसमेत आउने क्रममा रहेको यो उपन्यासलाई कतिपय समीक्षकले विश्वस्तरको नेपाली उपन्याससमेत भनेका छन् ।
पूर्वीय दर्शनलाई वर्तमान परिवेशसँग समन्वय गरेर लेखिएको गोरखापत्रका वरिष्ठ पत्रकार कमल रिजालको उपन्यास ‘सुकर्म’ पनि ०६९ का उत्कृष्ट उपन्यासमध्येको एक हो । तर आँखै बिझाउने अति साना अक्षरका कारण अधिकांश पाठकले पढ्ने आँटै गर्न सक्तैनन् । बरु चलचित्र लेखक ब्रजेशको यौन मनोविज्ञानमा आधारित उपन्यास ‘यायाबर’ले पाठकबाट राम्रै रेस्पोन्स पायो ।
कथामा नयनराज पाण्डेको ‘चकलेट’, माया ठकुरीको ‘पि्रयंवदा’, महेशविक्रम शाहको ‘ज्याक्सन हाइट’, मधुवन पौडेलको ‘अन्त्यहीन परिवेश’, राजुबाबु श्रेष्ठको ‘मृत्युमेला, विद्या सापकोटाको नीलो तृष्णा आदि अब्बलमा दरिए । पछिल्लो समयमा बजारमा आएको नवोदित लेखक मिलन संग्रौलाको ‘च्याट गर्ल’ले पनि राम्रो सम्भावना देखाएको छ ।
निबन्धमा गोविन्द वर्तमानको ‘हरियो साइकल’ गएको वर्षको उत्कृष्ट कृति हो । भूपिनको निबन्ध संग्रह ‘चौबीस रिल’ले त गएको वर्षको उत्तम शान्ति पुरस्कार समेत पाइसकेको छ । रोजगारीको खोजीमा खाडी मुलुकमा भासिएकाहरु र तिनका परिवारका पीडा-समस्याका बारेमा लेखिएको युवराज नयाँघरेको ‘हरियो राहदानी’ पनि निकै रोचक छ । दीपक सापकोटाको ‘लोकेशन’चाहिँ चर्को मूल्यका कारण प्रकाशकको गोदाममा थन्किने लक्षण देखिएको छ । बरु समालोचक डा. ऋषिराज बरालको संस्मरणात्मक निबन्धसंग्रह ‘सलाम रोल्पा’ले राम्रै प्रतिक्रिया बटुल्यो ।
हास्यब्यङ्ग्यात्मक कृतिमा नेपाली साहित्य वृत्त कमजोर नै सावित भयो । लक्ष्मण गाम्नागेको ‘स्वाहा’, रोहिणीविलास लुइँटेलको ‘बुद्धिबंगारो’, माणिकरत्न शाक्यको ‘आफ्नै झ्याइँकुटी’, मिलन तिमिल्सिनाको ‘नेताजीको म्याद’ बाहेक खासै कृति बजारमा आएनन् । लघुकथामा भने रवीन्द्र समीरको ‘अणु र पहाड’लाई उछिन्ने गरी अर्को कृति बजारमा आएन । कवितामा सरस्वती प्रतीक्षाको ‘बागी सारङ्गी’, प्रकाश आङदेम्बेको ‘रुवाई’, शकुन्तला जोशीको ‘आदिम सीमाना’ आदि उत्कृष्ट देखिए ।
विगत वर्षहरुजस्तै यसवर्ष पनि कान्तिपुर पब्लिकेसन्सका पत्रकारहरुका कृति मिडिया-प्रचारमा हाबी रहे । त्यसमध्येमा सरोजराज अधिकारीको अनुसन्धनात्मक कृति ‘चक्रब्युहमा चन्द्रसूर्य’ले वर्षका उत्कृष्ट कृतिको हैसियत बनायो । कान्तिपुरकै हरिबहादुर थापाको ‘दलीय द्वन्द्व’, अखण्ड भण्डारीको ‘समाचारको भाषा’, राजेन्द्र फुयालको ‘संविधानसभा निर्वाचनदेखि अवसानसम्म’, फुलमान वलको ‘महाभारतकी मैच्याङ’, साप्ताहिकका अश्विनी कोइरालाको ‘उनी’ आदिले मिडिया-समीक्षा एकलौटी पारे ।
नागरिक दैनिकका केपी ढुंगानाको ‘ओपन सेक्रेट’, विनोदविक्रम केसीको ‘भोकको क्षेत्रफल’ले पनि मिडिया-प्रचारमा राम्रै स्थान बनाए । युरोपको नेपालीपत्रका अच्युत कोइरालाको ‘टर्गेट बिन लादेन’ र ‘स्टिभ जब्सको जीवनी’ले सुलसुले पाराले बजार जमाए । बिक्रीमा पछि परे पनि जनदिशा दैनिकका दीपेन्द्र रोकायाको ‘नाफाको जिन्दगी’ गुणवत्ताको दृष्टिले निकै उत्कृष्ट मानियो । कतिपय समीक्षकले यसलाई जनयुद्धमाथि लेखिएमध्येकै उत्कृष्ट कृतिसमेत भनेका छन् । वरिष्ठ पत्रकार सौरभका लेखहरुको संग्रह ‘सौरभका पच्चीस वर्ष’ चाहिँ रोचक भइकन पनि उति चर्चा पाउन सकेन । पाका पत्रकार मदनमणि दीक्षितको ‘ऋग्वेदका नारी चरित्र’ले पनि त्यही नियति व्यहोरिरहेको छ ।
समालोचनामा यसवर्ष राम्रै भेल आयो । डा. जगदीश समसेरको ‘उत्तरआधुनिकतावाद र बाहुल्य विष्फोट’, डा. गोविन्दराज भट्टराईको ‘समयबोध र उत्तरआधुनिकता’, डा. रामप्रसाद ज्ञवालीको ‘महाकाब्य सिद्धान्त र नेपाली प्रयोग’, डा. ऋषिराज बरालको ‘आजको साम्राज्यवाद र माओवादी आन्दोलन’ देवी नेपालको ‘काब्य समालोचना’ आदिले यसैवर्ष बजारमा प्रवेश गरे ।
केही प्रकाशकहरुले यही मेलालाई लक्ष्य गरेरसमेत पुस्तकहरु सार्वजनिक गरेका छन् । फाइनपि्रन्टको ‘फस्ट लभ’, ब्रदर बुक्सको विषपुरुष, सांगि्रला बुक्सको ‘परिवन्दमा बितेका १५ वर्ष’, नेपालयको ‘भीषण दिनहरू’ र ‘खलंगामा हमला’, पाँचपोखरी प्रकाशनको ‘स्वामी विवेकानन्दको जीवनी’ केही उदाहरण हुन् । फस्ट लभमा पछिल्लो पुस्ताका सिवानीसिंह थारुदेखि सुबिन भट्टराईसम्मका १० जना कथाकारका पहिलो प्रेमसम्बन्धी रोचक प्रसंग छन् । ‘विषपुरुष’ चाहिँ रक्तकुण्डका लेखक कृष्ण अविरलको यौन विषयक उपन्यास हो । यसमा सहरका वेश्या पुरुषहरुको कथा रोचक पारामा उनिएको छ । पत्रकार देवेन्द्र भट्राई सम्पादित ‘परिवन्दका १५ वर्ष’ चाहिँ जापानी महिलाको हत्याको आरोपमा १५ वर्षसम्म जापानको जेलमा थुनिएका गोविन्द मैनालीको आत्मकथा हो ।