Saturday, May 11, 2013

सर्वोच्चमा लोकमानलाई जिताउने वकीलले माफी मागे पीडित र पीडक दुबैतिर बकालत गर्न खोज्दा लफडा - onlinekhabar

पैसा पाइन्छ भने वकीलहरुले जसको पक्षमा पनि वकालत गर्छन् । चोर, डाका, हत्यारा, बलात्कारी वा मानवअधिकार उल्लंघनकर्ता जोसुकैको पक्षमा पनि भाडामा बहस गर्नु वकीलहरुको पेशागत धर्म नै मानिन्छ । तर, मानवअधिकारको पक्षमा वकालत गर्दै आएका एक वकीलले लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालतमा जिताएपछि आफूले काम गर्ने मानवअधिकारवादी संस्थामा गुप्तरुपमा माफी माग्नुपरेको छ । अधिवक्ता फुँयालले आफूले व्यवसायिक हिसाबले कार्कीको पक्षमा वकालत गरेको बताउनुभयो । 
Hari-Phunyalपहिले लोकमानको पक्षमा लागेर पछि माफी माग्ने क्रम एमाले नेताले शुरु गरेका हुन् । पछि कांग्रेस सभापति सुशील कोइरालाले पनि लोकमानको पक्ष लिनु गल्ती भयो भन्दै सार्वजनिकरुपमै माफी मागिसक्नुभएको छ । अब यो सिलसिला नेताहरुबाट वकिलतिर सरेको छ । सर्वोच्च अदालतमा कार्कीलाई जिताउने मध्येका अधिवक्ता हरी फुँयालले माफी माग्नुभएको छ, तर सार्वजनिकरुपमा नभई गोप्यरुपमा ।
मन्दिरा शर्मा नेतृत्वको एड्भोकेसी फोरमलगायत धेरैवटा मानवअधिकारवादी संस्थामा आवद्ध फुँयालले कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन हुन्छ भन्दै सर्वोच्च अदालतमा कार्कीको पक्षमा पैरबी गर्नुभएको थियो । उहाँलगायतका वकीलहरुको बहसकै कारण सर्वोच्च अदालतले कार्कीलाई अख्तियारमा नियुक्तिको बाटो खोलेको हो ।
संक्रमणकालीन न्याय र वेपत्तासम्बन्धी अध्यादेशको चर्को वकालत गर्दै दण्डहीनता एवं आममाफीको विरोधमा देश विदेशमा अभियान चलाउने फुँयालले रायमाझी आयोगले दोषी देखाएका आधारमा लोकमानलाई कारवाही गर्न नमिल्ने जिकिर अदालतसमक्ष गर्नुभएको थियो । फुँयालले रायमाझी आयोगको विरुद्धमा पैरवी गरेपछि उहाँ कार्यरत मानवअधिकारवादी संस्थाहरुमा हल्लीखल्ली मच्चिएको थियो ।
रायमाझी आयोगले मानवअधिकार उल्लंघनकर्ताका रुपमा कारवाहीको सिफारिस गरेको व्यक्तिका पक्षमा वकालत गरेवापत चर्को आलोचना खेप्नुपरेपछि फुँयालले आफू कार्यरत संस्थाहरुमा सैद्धान्तिक गल्ती भयो भन्दै माफी मागेको बुझिएको छ । ‘लोकमान जनआन्दोलन दबाउने व्यक्ति हुन्, हामीले उनको नियुक्तिको विरोध गर्दै आइरहेका छौं । हरिजीले कार्कीका पक्षमा वकालत गरेकोमा संस्थामा रिग्रेट (पश्चाताप) गर्नुभएको छ ।’ एड्भोकेसी फोरमकी अध्यक्ष मन्दिरा शर्माले अनलाइनखबरसँग भन्नुभयो, ‘उहाँले काम गर्ने अन्य मानवअधिकारवादी संस्थामा पनि गल्ती महसुस गर्नुभएको छ ।’
तर, लोकमानको पक्षमा वकालत गरेकोमा गोप्यरुपमा माफी मागे पनि फुयाँलले सार्वजनिकरुपमा जनसमक्ष माफी माग्नुभएको छैन । साथै कार्कीबाट उहाँले बहस गरेवापत कति रुपैयाँ लिनुभएको थियो र माफीपछि सो फिर्ता गर्नुभयो या भएन भन्ने पनि खुलेको छैन ।
सर्वोच्च अदालतले कार्कीलाई अख्तियार प्रमुख बनाउन बाटो खोल्नेगरी गत वैशाख १६ मा गरेको अन्तरिम आदेशमा फुँयालको योगदान प्रष्ट रहेको छ । लोकमानको पक्षमा फुँयालसमेतको बहस सुनेरै न्यायाधीशद्वय गिरिशचन्द्र लाल र तर्कराज भट्टले कार्कीको पक्षमा हुने गरी आदेश सुनाउनुभएको हो ।
अधिवक्ता फुँयालले गोप्यरुपमा मानवअधिकारवादी संस्थासँग माफी त माग्नुभयो, तर उहाँलगायतका वकीलहरुकै बहसमा टेकेर कार्की अख्तियार प्रमुख बन्न सफल भैसक्नुभएको छ । उक्त मुद्दामा कार्कीले १० जना वकिलहरु राख्नुभएको थियो, जसमा रामनारायण बिडारी, सुशीलकुमार पन्त, तुलसी भट्ट, प्रकाश राउत, बद्रीबहादुर कार्की, कृष्णप्रसाद सापकोटा, मिथिलेसकुमार सिंह, नरेन्द्र गौतम, केशव भट्टराई र हरि फुँयाल हुनुहुन्थ्यो । कार्कीको विपक्षमा शम्भु थापा, टीकाराम भट्टराईलगायत २३ जना वकीलले बहस गर्नुभएको थियो ।
कार्की विरुद्ध परेको मुद्दामा वैशाख १६ गते अन्तरिम आदेशमात्रै भएकाले अन्तिम फैसला हुन बाँकी छ । विचाराधीन मुद्दामा कार्कीको पक्षको मान्छेले गल्ती महसुस गर्दा कार्कीको पक्ष कमजोर हुने र निवेदक पक्ष बलियो बन्ने सम्भावना रहन्छ ।