८ जेठ, काठमाडौं । गुडिरहेको बसभित्र निदाएर बिउँझिंदा काखमा रहेको बच्चा भेटिएन भने बाबुआमालाई कस्तो होला ? अझ खेल्दाखेल्दै बसको झ्यालबाट बच्चा राजमार्गको सडक किनारमा खस्यो भने………..। चिन्ता नगर्नुस्, यस्तै घटना व्यहोरेका एक दम्पत्तीले आफ्नो ७ महिने बालकलाई सकुशल भेट्टाएका छन् ।
घटना हो, मंगलबार रातिको । रुपन्देहीको बुटवल नगरपालिका ११ मिलनटोलका विकास मित्तल र ममता मित्तल आफन्तको बिहेभोज मानेर काठमाडौंबाट घर फर्कँदै थिए । रिजर्ब गरिएको लु १ ख ६९४७ नम्बरको बसमा सबै मित्तलकै आफन्त थिए । रातिको समयमा बस आफ्नै सुरमा गुड्दै थियो ।
यो पनि पढ्नुस्
दुई दिनसम्म बिहेको दौडधूप र गर्मीका कारण सबै थकित थिए । झ्याल खोलेर हावा लिँदै उनीहरु उँघ्न थाले । मित्तल दम्पत्तीको साथमा ७ महिने छोरो पनि थियो । पहिलो सन्तान छोरो खेलाउँदै रहेका उनीहरुलाई पनि निद्रा लाग्यो । आमा ममताको काखमा रहेको छोरो निदाउन थाल्यो । छोरो निदाएपछि बाबुआमा पनि सिटमै निदाए ।
बुधबार बिहान ६ बजेतिर बस मुग्लिङ कटेर नवलपरासीको दलदलेमा पुग्यो । त्यहाँ सवारी जाम भएकाले बस रोकियो । हल्लाखल्ला भएपछि बसभित्र सिटमा निदाएका यात्रु बिउँझिए । मित्तल दम्पत्तीको पनि आँखा खुल्यो । आँखा खुल्ने बित्तिकै दुवैजना झसँग भए, काखमा रहेको छोरो छैन । अरु आफन्तको सिटमा गयो कि भनेर अघिपछि हेरे । तर अहँ छोरो देखिँदैन । बसभित्र खैलीबैली भयो । सिटमुनी कतै खेल्दैछ कि भनेर सबैले यताउता हेरे । बालक कतैपनि छैन । सबैजना रोइकराई गर्न थाले । पक्कै झ्यालबाट खस्यो, लौ के भयो……भन्दै सबै डराए । हतारहतार बस फर्काएर उनीहरु नवलपरासीबाट काठमाडौंतिर फर्किए ।
प्रहरीलाई छुट्टै तनाव
चितवनको फिस्लिङ नजिकै सुनसान राजमार्ग । वरपर नजिक वस्ती छैन । जंगल र झाडी मात्र । रातको साढे १२ बजे त्यस्तो सुनसान ठाउँको सडक कुनामा एउटा बच्चा रोइरहेको छ । काठमाडौंबाट नारायणघाटतिर गैरहेका एक ट्रक चालकले त्यो दृश्य देखे । उनले ट्रक रोके । बच्चालाई बोके र नजिकै मझिमटार प्रहरी चौकीमा लगेर बुझाए ।
सुनसान जंगलमा भर्खरको बच्चा भेटिएको खबर पाएर प्रहरी पनि झसँग भए । ‘त्यो ठाउँ बढी दुर्घटना हुने र कसैकसैले आत्महत्या गर्ने गरेको क्षेत्र पनि हो, त्यसैले हामीले धेरै कोणबाट आशंका गर्यौं’ इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक तुलसी भट्टराईले अनलाइनखबरसित भन्नुभयो-’हामीले रातभर अनुसन्धान गर्यौं, तर यो दुवै घटना भएको देखिएन ।’
कसैले अपहरण गरेर छोडेको हो कि भन्ने प्रहरीले आशंका गर्यो । त्यसपछि धादिङका सबै प्रहरी कार्यालय र चितवनमा समेत राति नै यस घटनाको जानकारी गराउने काम भयो । बच्चालाई चाहिँ जोगिमारा ल्याएर राखियो । ‘त्यहाँ पुग्दासम्म बच्चा रोइरहेको थियो, तर महिला प्रहरीले स्याहार गर्न थालेपछि उ चुप लाग्यो, त्यहाँ उसलाई खानेकुरा खुवाउने र सुताउने काम गरियो’ प्रहरी निरीक्षक भट्टराईले भन्नुभयो । रातिसम्म पनि बच्चाको बारेमा केही थाहा नभएपछि उसलाई बुधबार सबेरै इलाका प्रहरी कार्यालय गजुरी पुर्याइयो ।
६ घण्टापछि भेटे बाबुआमाले
नवलपरासीको दलदलेमा पुगेपछि मात्र छोरो हराएको पत्तो पाएका बाबुआमा र आफन्त बुधबार बिहान रुवाबासी गर्दै मुग्लिन आइपुगे । त्यहाँ प्रहरीलाई घटनाको बेलिबिस्तार लगाए । फिस्लिङ नजिकै सडकमा राति एउटा बच्चा बेबारिसे अवस्थामा फेला परेको चितवन प्रहरीले थाहा पाइसकेका थिए । पक्कै यिनीहरुकै बच्चा हुनुपर्छ भनेर प्रहरीले गजुरीमा पठाइदिए ।
हतार हतार गजुरी पुग्दा मित्तल दम्पत्तीले देखे-सानो छोरो प्रहरीसित खेलिरहेको । हर्षले सबैका आँखा रसाए । छोरोलाई काखमा लिएर म्वाई खाए । बाबुआमाको काख पाएपछि बालक पनि दंग पर्यो । उनीहरुले प्रहरीलाई धन्यवाद दिए । प्रहरीले बच्चालाई यसरी खेलाँची नगर्न सचेत गरायो ।
गुडिरहेको बसबाट खस्दा समेत बच्चा सकुशल भेटिएकोमा प्रहरी, बाबुआमा र आफन्त सबै चकित भएका छन् । ‘मोड भएकाले बसको स्पिड कम भएको हुनुपर्छ, अनि झ्याल खुलै भएकाले बस कोल्टँदा अथवा आफ्नो सुरले खेल्दा बच्चा खसेको हुनसक्छ’ प्रहरी निरीक्षक भट्टराईले भन्नुभयो-’हामीले यस्तो घटना पहिलोपटक भोग्यौं ।’
बीच सडकमा भेटेको बच्चा देउता जस्तो : ट्रकचालक
गुडिरहेको बसबाट सडकमा खसेका बच्चालाई उद्दार गर्ने ट्रक चालक धादिङ मलेखुका रविन सिलवाल दंग हुनुहुन्छ । बच्चाको उद्दार गरेकाले उहाँलाई धन्यवाद दिनेहरु त धेरै छन् नै । बच्चाले बाबुआमा भेटेकोमा रविन पनि खुशी हुनुहुन्छ । अनलाइनखबरसितको कुराकानीमा रबिनले घटना यसरी सम्झनुभयो ः
म भैरहवाबाट काठमाडौंतिर आउँदै थिएँ । फिस्लिङ नजिकै आइपुग्दा बीच सडकमा बच्चा रोइरहेको देखें । उसले गञ्जी र कट्टु मात्र लगाएको थियो । बीच सडकमा बच्चा रोइरहेको देखेर म आत्तिएँ । मैले अलि वरै ट्रक रोकें । अरु गाडी पनि रोकिए ।
मध्यरातमा बीच सडकमा बच्चा रोइरहेको देखेर सबै छक्क परे । सबै नजिक गएर हेरे । तर बच्चालाई उठाउने हिम्मत कसैले गरेनन् । सबैजना डराए । त्यो बच्चा देखेर मलाई मेरो छोरोको सम्झना आयो । मेरो छोरो पनि १८ महिनाको मात्रै छ ।
कसैले उसलाई वास्ता नगरेपछि मैले सडकमा रोइरहेको बच्चालाई उचालें र काखमा राखें । यसलाई म लैजान्छु, प्रहरीलाई जानकारी दिन्छु भन्दै ट्रकमा राखें । एकछिन काखमा राखेपछि बच्चा निदायो ।
त्यहाँबाट भण्डै २५ किलोमिटर अगाडिको जोगिमारा चौकी पुगेर गाडी रोकें । बच्चाको बारेमा जानकारी दिएँ । यसलाई आफैं पाल्छु, मेरो छोरोजस्तै हो भनेर प्रहरीलाई अनुरोध गरें । प्रहरीले आज एकदिन हेरौं, उसका कोही आफन्त भेटिएन भने विचार गरौंला भने । मैले आफ्नो नाम, नम्बर र बिलबुक छोडेर हिँडें ।
बिहान थाहा पाएँ, उसका बाबुआमा फेला परेछन् । बच्चाको भिनाजु पर्नेलाई त मैले पनि भेटें । मलाई भेटेर उहाँ खुशी हुनुभयो । मलाई धन्यवाद दिनुभयो । काठमाडौं आउँदा भेट्नुपर्छ भन्नुभएको छ ।
बाबुआमा नभेटेको भए म त्यो बच्चालाई पाल्थें । तर बाबुआमा नै भेटिएपछि झन् बढी खुशी लागेको छ । गुडिरहेको बसबाट खस्दा समेत बच्चालाई केही भएन । बच्चा त देउता हो नि । देउता जस्तो भएकाले उसलाई केही भएन ।
बोल्ने शब्द नै छैन
सँगै सिटमा रहेको छोरो बसबाट खसेको कुरा ६ घण्टापछि मात्र पत्तो पाएका विकास मित्तलका दम्पत्ती अहिले रुञ्चेहाँसोमा छन् । ७ महिने छोरो हराएको क्षण सम्झँदा पीडाले खप्न हुन्न । छोरो सकुशल भेटिएकोमा खुशीले आकाश छोउँ कि जस्तो भैरहेको छ । ‘छोरोलाई सकुशल भेट्टयाएको क्षणलाई म वर्णन नै गर्न सक्दिन’ बुटवलस्थित घर पुगेका विकासले बुधबार दिउँसो अनलाइनखबरसित भन्नुभयो-’सडकमा बेवारिसे अवस्थामा भेटिएको छोरोलाई उद्दार गर्ने ट्रक चालक र प्रहरी धन्यवादका पात्र हुन् ।’
अहिले छोरो घरमै सकुशल रहेको र आफन्त तथा परिवारजनले बधाई र शुभकामना दिइरहेको उहाँले जानकारी दिनुभयो । गुडिरहेको बसबाट सडकमा खस्दा समेत बच्चालाई केही नभएको सुन्दा सबै अचम्ममा परेका छन् । ‘यो सबै भगवानको कृपा हो’ विकासले भन्नुभयो ।