Monday, May 20, 2013

यी हुन् अमरेश - nepal

भारतको राजधानी नयाँदिल्लीस्थित जवाहरलाल नेहरु भवनमा आयोजित कार्यक्रममा ११ वैशाखमा नेपाली पत्रकार टोलीका एक सदस्यले भारतीय विदेश मन्त्रालयको नेपाल-भुटान डेस्क प्रमुख अखिलेश मिश्रसँग टिप्पणी गरे, "नेपालमा भारतले गरेको कल्टिभेसन प्रक्रिया नै गलत भयो। जस्तो : अमरेशकुमार सिंह। उनको अनावश्यक सक्रियता र भूमिकाले भारतको छवि खराब हुँदै छ।" त्यस्तो टिप्पणीको जवाफ मिश्रले नेपालीमै दिए, "हो, अमरेशका बारेमा हामीलाई पनि विभिन्न रिपोर्ट आएका छन्। उनले नेपालमा भारतीय संस्थापन पक्षको प्रतिनिधित्व गर्दैनन्।"

१८ असोज ०५९ मा राजा ज्ञानेन्द्रले चालेको कदमपछिका १० वर्षमा देखिएका महत्त्वपूर्ण राजनीतिक प्रक्रियाहरूमा उनै सिंहको सक्रिय भूमिका देखिएको छ। माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदादेखि गिरजिाप्रसाद कोइरालालाई राष्ट्रपति बन्नबाट रोक्दासम्म उनको सक्रियता थियो। कांग्रेसलाई सरकारको नेतृत्व लिन वञ्चित गर्नेदेखि माओवादी र मधेसी मोर्चालाई एक ठाउँमा राखेर बाबुराम भट्टराईको नेतृत्वमा सरकार निर्माण गर्ने प्रक्रियामा समेत उनको दौडधूप देखिएकै हो।

राष्ट्रपति र तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईबीचको बढ्दो दूरी कम गर्ने र पछिल्लो समय सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउने अनि लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउने प्रकरणमा पनि उनकै सक्रियता देखियो। प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरूले खेल्नुपर्ने भूमिका कांग्रेस महासमितिका सदस्य र पूर्वसांसदको मात्र हैसियत भएका सिंहले कुन आधार र कसको इसारामा गरेका हुन् ? आखिर को हुन् अमरेश सिंह ?

४३ वर्षीय सिंहलाई नजिकबाट चिन्नेहरू उनी आफैँ निर्णायक नभई राजनीतिक दलहरूबीच भएको सहमति कार्यान्वयन गराउन भूमिका खेल्ने 'क्याटलिस्ट' मात्र भएको दाबी गर्छन्। उनी निकटस्थ पूर्वराजदूत विजयकान्त कर्णको बुझाइमा सिंहले कसैलाई प्रधानमन्त्री वा कुनै निकायका प्रमुख बनाउनेभन्दा पनि प्रमुख नेताहरूबीच भएको सहमतिलाई परिणाममुखी बनाएका हुन्। नेताहरूले गरेको सहमतिबाट उनी बाहिर जाँदैनन्, त्यसैले उनीहरू सिंहलाई सधैँ स्वीकार गर्छन्। "जुन देश संक्रमणकालमा छ, जहाँ कुनै राजनीतिक संयन्त्रले राम्ररी काम गर्न सकिरहेको हुँदैन, त्यहाँ छिमेकी राष्ट्रले विभिन्न व्यक्तिमार्फत आफ्नो चासो दर्शाउनु आफैँमा अस्वाभाविक होइन," कर्ण भन्छन्, "यस्ता नेता नेपालमा धेरै छन्, सिंह स्वीकार्छन्, अरू लुकाउँछन्, फरक त्यति मात्र हो।"

'ट्रोइका’मध्येका एक

सर्लाहीका मेधावी विद्यार्थी सिंहको राजनीतिक यात्रा आठ वर्षअघि सुरु भयो, जतिबेला उनी नयाँदिल्लीस्थित जवाहरलाल नेहरु युनिभर्सिटी (जेएनयू)मा 'राइज अफ इथ्निक कन्पिm्लक्ट इन नेपाल' शीर्षक शोधपत्रका साथ एमफिल गर्दै थिए।

०६२ जेठमा तत्कालीन नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र बाबुराम भट्टराईलाई दिल्लीमा दोस्रोपटक भेटे, तत्कालीन कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले। हिंसात्मक विद्रोह गररिहेको माओवादी र राजा ज्ञानेन्द्रबाट गलहत्याइएका दलहरूलाई एकै ठाउँमा ल्याउन भारतीय संस्थापन पक्षको सहयोगमा भूमिका तयार हुँदै थियो। त्यही क्रममा कांग्रेसबाट राजनीतिक 'नेगोसिएसन' र कुराकानी अघि बढाउन कृष्ण सिटौला, सभापति कोइरालाका भतिजा डा शेखर कोइराला र सिंह तोकिए। सिंहलाई ट्रोइकामध्येका एक बनाउन प्रमुख भूमिका निर्वाह गरेका थिए, जेएनयूकै प्राध्यापक सुखदेव (एसडी) मुनिले।

आखिर कोइरालाको स्वभावै थियो, कुनै मिसनका लागि पार्टीका पूर्ण नेताभन्दा सहयोगी खोज्ने। त्यो टिम पनि कोइरालाको त्यही स्वभाव अनुसार बनेको थियो। आफ्ना विश्वासिला सहयोगी महन्थ ठाकुरका पनि सहयोगी भएकाले सिंहको 'ट्रोइका' प्रवेशमा आपत्ति जनाउनुपर्ने कुनै कारण देखेनन्, कोइरालाले। नयाँदिल्लीका निकायहरूमा सम्बन्ध स्थापित गरेका सिंहसँग त्यसअघि चिट्ठीपत्रका साथ नयाँदिल्ली-काठमाडौँ आहोरदोहोर गर्दादेखि नै कोइरालाको चिनजान भइसकेको थियो।

सिंह सम्मिलित त्यही 'ट्रोइका'ले माओवादी, कांग्रेससहितको सात दल र भारतबीच सन्देशवाहकको भूमिका निर्वाह गर्‍यो। दुवै पक्षका लागि सहजकर्ताको भूमिकामा त्यहीँबाट उदाएका सिंहले त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन। तर, 'ट्रोइका'का एक सदस्य शेखर कोइराला पछिल्लो समय उनीहरूसँग छैनन्। खासगरी गिरिजाप्रसादको निधनपछि उनको त्यो भूमिका लगभग सकिएको थियो। उक्त समूहमा सिंहसँगै सिटौला पनि छन् र शेखरको ठाउँ पछिल्लो समय मीनेन्द्र रिजालले लिएका छन्। यसैले पनि कुनै न कुनै रूपमा 'ट्रोइका' सक्रिय नै रहेको बुझ्न सकिन्छ।

स्वयं सिंह पनि शान्ति प्रक्रिया पूरा नभएसम्म अर्थात् संविधानसभाको निर्वाचन सम्पन्न भएर नयाँ सरकार र नयाँ संविधान नबनेसम्म 'ट्रोइका'को भूमिका रहिरहने बताउँछन्। भन्छन्, "यदि कसैले ट्रोइकाको औचित्य सकिइसकेको भन्छ भने ऊ शान्ति प्रक्रियालाई निर्णायक तहमा पुर्‍याएर नेपाललाई विकासको बाटोमा अघि लाने कुराको विरोधी हो।"


राजनीतिक फड्को

०६२/६३ को जनआन्दोलन सफल भएपछि माओवादी जंगलबाट शान्ति प्रक्रियामा आयो। र, सिंह पनि दिल्लीबाट नेपाल फर्किए। त्यसपछिका माओवादीसहितको सात दलका अति गोप्य भनिएका बैठकहरूमा तत्कालीन वार्ता टोली संयोजक एवं गृहमन्त्री सिटौला र प्रधानमन्त्री कोइरालाका सहयोगीका रूपमा शेखर सहभागी हुनु त स्वाभाविकै थियो। तर, राजनीतिक ओहोदा बनाइनसकेका भए पनि सिंहको सक्रियता निकै बढी देखिन्थ्यो।

चौतर्फी आलोचना खेपिरहेको सिटौला, शेखर र सिंहको समूहलाई त्यतिबेला प्रधानमन्त्री रहेका कोइराला स्वयंले पाखा लगाउन खोज्दा पनि सकेनन्। जस्तो : २३ असोज ०६४ मा कांग्रेस केन्द्रीय समितिको बैठकले अन्य पार्टीसँग वार्ता गर्न पार्टी उपसभापति रामचन्द्र पौडेलको संयोजकत्वमा सात सदस्यीय टोलीसमेत बनाएको थियो, जहाँ गृहमन्त्रीका नाताले सिटौलालाई राखे पनि शेखर र सिंहलाई कुनै जिम्मेवारी दिइएन। त्यसै दिन कांग्रेस संसदीय दलको बैठकमा त प्रधानमन्त्री कोइरालाले सिंहलाई ठाडै भनिदिए कि 'पार्टीको सामान्य सदस्यभन्दा माथि नभएकाले जथाभावी बोल्ने अधिकार छैन।'

'नाङ्लो ठटाएर हात्ती तर्साउनु' भनेजस्तै कोइरालाले सिंहलाई भनेजस्तो गरेर भारतसमक्ष आफ्नो असन्तुष्टि जनाएका थिए, त्यतिबेला। खासमा पार्टीले औपचारकि निर्णय नगर्दै गणतन्त्रमा जाने कुरा सिंहले खुलासा गर्दै हिँडेका कारण कोइराला बालुवाटारमा क्रुद्ध भएको भनाइ छ।

एमाले महासचिव माधवकुमार नेपालले बालुवाटारमा खिचेको सामूहिक तस्बिरमा उनी अन्तरमि संविधान निर्माता-नेताहरूकै पंक्तिमा देखा परे। लगत्तै प्रधानमन्त्री कोइरालाले माघ ०६३ मा अन्तरिम व्यवस्थापिका-संसद् सदस्यमा मनोनयन गरेर उनलाई राजनीतिक हैसियत प्रदान गरे। त्यतिबेला कोइरालाका एक सहयोगीले उनलाई सोधे, 'सिंहलाई सुराकी पनि भन्ने तर सांसद पनि बनाउने काम किन गर्नुभयो ?' जवाफमा उनले 'सिंहलाई सांसद बनाउन आफूमाथि ठूलो दबाब थियो, कहिलेकाहीँ आफूले नरुचाउँदा नरुचाउँदै सन्तुलनका लागि आफ्नो वरपिरि अरूको मान्छे राख्नुपर्ने हुन्छ' भनेका थिए।

त्यतिबेला सिहंको सक्रियतालाई लिएर हल्का टिप्पणी गर्ने र उनको हैसियतमाथि प्रश्न उठाउनेहरूको मुखमा बुझो नै लाग्यो, उनी अन्तरमि व्यवस्थापिका-संसद्मा सांसद भएर सिंहदरबार छिरेपछि। त्यसपछि सिंहले पनि आफू भारतनिकट रहेको कुरा बताउनुमै गर्व गर्दै आए । त्यो क्रम अहिले पनि उस्तै छ ।

सिंहमा जहिल्यै कूटनीतिक कौशल र राजनीतिक चरत्रिको अभाव रहेको उनलाई चिन्नेहरू बताउँछन्। सिंहका सम्बन्धमा कांग्रेस नेताहरू कुनै टिप्पणी गर्न चाहँदैनन्। कांग्रेस मात्र होइन, सिंहलाई नजिकबाट चिनेका तराई-मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ता पनि सिंहका बारेमा टिप्पणी गर्न चाहँदैनन्। उनी नेपालको राजनीतिक प्रक्रियालाई भारतले नजिकबाट हेर्न खोज्नुलाई अस्वाभाविक पनि मान्दैनन्। भन्छन्, "पछिल्लो समय भारतको सर्वाधिक चासो भनेको सुरक्षा नै हो। नेपालको भूमि आफ्नाविरुद्घ प्रयोग भइरहेकामा भारत चिन्तित पनि छ। त्यसका लागि उसले कहिले कुन व्यक्ति प्रयोग गर्न सक्छ कहिले कुन। यो स्वाभाविक हो।"

शान्ति प्रक्रियामा संकट आउँदा आफूहरूले प्रभावकारी भूमिका निर्वाह गरेको सिंहको दाबी छ। माओवादीले सरकार छाडेर आन्दोलनमा जाँदा होस् वा माओवादी लडाकूलाई तलब-भत्ता नदिएर बाहिर निस्किएका बेला होस् या संविधान निर्माणकै बेलामा आफूलगायतले शान्ति प्रक्रिया टुट्न नदिएको उनको भनाइ छ। माओवादीको एजेन्डामा लगेर कांग्रेसलाई हुल्नुमा सिटौला र सिंहलाई दोष दिने कांग्रेसजन पनि अहिले उत्तिकै छन्। नाम उल्लेख गर्न नचाहने कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, "कांग्रेसभित्र सिटौला र सिंह भनेका बलिउडको सांगीतिक जोडी लक्ष्मीकान्त प्यारेलालजस्तो हो। तर, यो जोडीबाट कांग्रेसले कहिल्यै मीठो धुन सुन्न पाएन।"

पार्टी निर्णयभन्दा एक कदमअघि पुगेर सार्वजनिक रूपमा बोल्ने, अनावश्यक रूपमा जसकहाँ पनि पुग्ने, राज्य संयन्त्रसम्म आफ्नो पहुँचको प्रसंग सुनाउनेजस्ता अवगुणका कारण उनी पार्टी र बाहिर उत्तिकै आलोचित छन्। यसमा उनको पृष्ठभूमि पनि कारक रहेको उनलाई नजिकबाट चिनेका एक राजनीतिकर्मी बताउँछन्। तिनका अनुसार भारतको विहारमा उनको शिक्षादीक्षा भएकाले पनि उनी त्यहाँको राजनीतिक शैलीबाट बढी प्रभावित छन्। जस्तो ०६४ को संविधानसभा निर्वाचनमा उनले सर्लाहीको आफ्नो निर्वाचन क्षेत्रमा गरेको प्रचार शैली, जुन विहारमा 'कास्ट' र 'क्राइम'का बलमा हुने निर्वाचनको विकृत स्वरूपभन्दा पृथक् थिएन, ले नै पनि त्यसलाई पुष्टि गर्छ।

स्थानीय प्रहरी प्रशासनमा उनको प्रभाव कुनै सरकारको पालामा घटेको छैन। कुनै ओहोदामा नभए पनि उनी जिल्ला आउँदा सुरक्षा व्यवस्था हेर्न भनेर गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबाट स्थानीय सुरक्षा निकायमा सूचना आउने गर्छ। भारतीय दूतावासमा निरन्तर पहुँचले उनलाई राजनीतिमा चलखेल गर्न सुविधा पुगेको छ। जस्तो : १५ वैशाख ०६९ मा भारतीय सहयोगमा सर्लाहीमा निर्मित सडक उद्घाटन गर्न सर्लाही आउँदा भारतीय राजदूत जयन्तप्रसादले सिंहकै बलरास्थित घरमा एक रात बाससमेत बसेका थिए।त्यसो त कांग्रेस सभापति सुशील कोइराला र महामन्त्री सिटौला पनि सिंहको सर्लाहीस्थित घरमा बास बसिसकेका छन्। नेताद्वय १७ वैशाखमा उनको चुनावी क्षेत्रमा राखिएको सभाका निम्ति बसेका थिए।

पार्टीले औपचारकि रूपमा उनलाई न वार्ताकारको भूमिका दिएको छ, न त मध्यस्थकर्ताकै। तैपनि, उनी सक्रिय देखिन्छन्। उनलाई पार्टी नीतिविपरीत गएर बोलेको भन्दै कारबाही गरिएको पनि छैन। कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी सिंहका बारेमा भन्छन्, "जस जसले आफूलाई पार्टीका तर्फबाट वार्ताकार वा मध्यस्थकर्ता भनेर माओवादी वा अरूसँग वार्ता गररिहेका छन्, भोलि उनीहरूको व्यक्तिगत महत्त्वाकांक्षाका कारण पार्टी ओरालो लाग्ने अवस्था आयो भने त्यसको जिम्मेवारी उनीहरूले नै लिनुपर्छ।"

बाबुराम भट्टराई नेतृत्वको सरकारको विकल्प खोज्ने बेलामा कांग्रेसबाट सभापति कोइरालाको नेतृत्वको सरकार बनाउने प्रयास भएको थियो। त्यतिबेला सिटौलालगायत केही नेताले प्रधानमन्त्रीमा कोइरालाको नाम हतार हतार प्रस्ताव गर्न बल गरे। तर, कोइराला प्रधानमन्त्री भएनन्। उक्त प्रस्ताव पारति गराउन जोड गर्नेमा सिंह पनि थिए। एक कांग्रेस नेता भन्छन्, "सिटौला-सिंहको दबाबले सभापतिको नाम प्रस्तावित गरियो। तर, उहाँ प्रधानमन्त्री हुन सक्नुभएन। यसले पार्टीलाई हानि गर्‍यो।" त्यसैले पनि सिटौलाजस्तै उनलाई कांग्रेसभित्र 'सहयोगीजस्ता देखिने असहयोगी' पनि भनिन्छ।

कतिसम्म भने एक टेलिभिजन कार्यक्रममा सिंहले 'गिरिजाप्रसाद कोइरालाले आफूलाई बालुवाटारबाट बेइज्जतीपूर्वक निकालेकाले भारतले उनलाई राष्ट्रपति बन्नबाट रोकेको'जस्तो टिप्पणी गरिदिए। उनको सक्रियता र भूमिकामाथि कांग्रेसभित्र गत वर्ष जेठमा पनि प्रश्न उठ्यो। पार्टी केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, गगन थापालगायतले सानेपास्थित केन्द्रीय कार्यालयमा सिंहलाई पार्टीले भूमिका दिएको हो भने भन्नुपर्‍यो नत्र कारबाही गर्नुपर्‍यो समेत भनेका थिए। तर, सभापतिले त्यसमा कुनै प्रतिक्रिया दिएनन्। केही समयअघि पार्टीको संसदीय दलको बैठकमा पनि यस्तो प्रश्न उठेको थियो।

यिनै सिंहले नेपालको राजनीतिक प्रक्रियाका सम्बन्धमा गर्ने अनुमान सामान्यतया सही प्रमाणित हुने गरेकाले पनि पनि राजनीतिको नेपाली बजारमा उनको भाउ बढेको छ। जस्तो : पछिल्लो समय उनले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार बन्दै छ भन्ने कुरा सरकार बन्नुभन्दा १५ दिनपहिले नै धुलिखेलको एक कार्यक्रम सहभागी हुँदा भनेका थिए।

सर्लाहीको बलरा-८ घर भएका सिंहले सीमा जोडिएको भारतीय बजार बसभिटाबाट विद्यालय तहको पढाइ पूरा गरेका थिए। भारतको मुजफ्फरपुर बसेर लंगरसिंह कलेजबाट विज्ञान (रसायनशास्त्र)मा स्नातकोत्तर गरेपछि उनले राजनीतिमा रुचि देखाउन थाले। सिंह ०५१ को मध्यावधि चुनावमा महन्थ ठाकुरको चुनाव क्षेत्रमा सक्रिय भए। ठाकुरलाई जिताउन सक्रिय भएबापत उनले काठमाडौँ उक्लिने मौका पाए। झन्डै सात वर्ष रसायन विषय अध्यापन गरे। लैनचौरमा रहेको शान्ति विद्या गृहमा पनि काम गरे, केही समय। त्यही क्रममा बिहान-बेलुका ठाकुरको सहयोगीका रूपमा काम गरे। ठाकुरकै सिफारसिमा उनी गोरखापत्र संस्थानका बोर्ड सदस्य पनि भए। त्यतिबेलै उनको भारतीय दूतावाससँग सम्पर्क हुन पुगेको हो। खासगरी दूतावासमा कार्यरत रञ्जित रे (जो भियतनाममा भारतका लागि राजदूत छन् र अब राजदूतकै रूपमा जयन्तप्रसादलाई प्रतिस्थापन गर्दै छन्)सँग उनको सम्बन्ध निकट थियो/छ।

ठाकुरको सिफारसि र रेसँगकै सम्पर्कबाट उनी जवाहरलाल नेहरु विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधिका लागि भर्ना भए। त्यहाँबाट उनले सन् २०१० मा 'द इमरजेन्स अफ मधेसी आइडेन्टी एन्ड इट्स इम्पिलिकेसन फर नेसन विल्डिङ् प्रोसेस इन नेपाल' विषयमा विद्यावारििध पनि गर्न भ्याए।

कांग्रेस छाडेर तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरेका आफ्ना राजनीतिक गुरु ठाकुरविरुद्ध संविधानसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर-६ मा उम्मेदवारी दिए उनले। आफूले कांग्रेस छाडेनन् तर ठाकुरलगायत कांग्रेसमा रहेका मधेसी नेता-कार्यकर्ताहरूलाई कांग्रेस छाडी मधेसवादी पार्टीमा सहभागी हुन प्रेरति गरेको आरोप पनि उनीमाथि छ। ठाकुर र सिंहको लडाइँमा त्यस क्षेत्रबाट मधेसी जनअधिकार फोरमका शिवपूजन रायले चुनाव जिते। पराजित भए पनि सिंहले आफ्नो क्षेत्रमा संगठन बलियो बनाउन सबै शक्ति लगाइरहेका छन्। उनले आगामी निर्वाचनका लागि आफ्नो चुनाव प्रचारसमेत सुरु गरसिकेका छन्।

पार्टी सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेलदेखि महामन्त्री सिटौलालाई चुनाव घोषणा नभई आफ्नो प्रचारमा क्षेत्र घुमाउनुको उद्देश्य पनि त्यही हो। भन्छन्, "चिनी मिल, स्कुल, कलेज खोल्नेदेखि पुल र बाटोघाटो निर्माणसम्मको काम गरेको छु, मैले किन चुनाव नजित्ने ? 

(सर्लाहीबाट अमन कोइरालाको सहयोगमा )

© नेपाल साप्ताहिक