चैतको अन्तिम हप्ता भएको पहिलो राष्ट्रिय
पण्डित सम्मेलनले जारी गरेको आचारसंहिता कार्यान्वयनको लागि पहल भएको छ ।
पण्डितले धूमपान-मद्यपान गर्न नपाइने, टुपी-शिखा-जनै-चन्दन लगाउनुपर्ने
लगायतका २७ बुँदे आचारसंहिता कार्यान्वयनको लागि समिति बनाउन लागिएको हो ।
पत्रकारको आचारसंहिता प्रेस काउन्सिलले
अनुगमन गर्छ भने वकिलको अनुगमन बार काउन्सिल एवं डाक्टरहरुको मेडिकल
काउन्सिलले गर्छ । भर्खर पण्डितहरुका लागि तयार भएको आचारसंहिता अनुगमनका
लागि पनि छुट्टै समिति गठन गर्न लागिएको हो ।
‘आचारसंहिता कार्यान्वयन भए/नभएको अनुगमन
गर्न सबै जिल्लामा समिति बनाउने तयारी छ’ राष्ट्रिय धर्मसभा नेपालका
प्रवक्ता एवं संस्कृतिविद डाक्टर वासुदेव कृष्ण शास्त्रीले अनलाइनखबरलाई
भन्नुभयो-’आचारसंहिता कडाइका साथ लागू हुन्छ, सबै गाविसहरुमा समेत समिति
बनाउने तयारी छ ।’
धर्म, संस्कार र संस्कृति संरक्षणमा
महत्वपूर्ण भूमिका खेल्ने पण्डित, पुरोहित एवं ज्योतिषीहरुले जथाभावी गर्ने
गरेको गुनासो बढेपछि सम्मेलनले उनीहरुको लागि आचारसंहिता तयार पारेको हो ।
आचारसंहितामा पण्डितहरुको टुपी, शिखा, जनै, निधारमा टीका चन्दन अनिवार्य
हुनुपर्ने व्यवस्था गरिएको छ । यस्तै धूमपान र मद्यपान गर्नेलाई पण्डितको
मान्यता नदिने उल्लेख छ । यस्तै छोराछोरीलाई धर्म, संस्कृति र संस्कारको
शिक्षा दिनुपर्ने व्यवस्था पनि गरिएको छ । पैसा उठाउने मात्रै उदेश्य लिएर
गरिने यज्ञ पुराणलाई निरुत्साहित गर्ने आचारसंहितामा उल्लेख छ ।
लत छोड्नै गाह्रो
आचारसंहिता सार्वजनिक भएपछि त्यसलाई कसरी
कार्यान्वयन गर्ने भन्नेबारे स्वयं पण्डित, पुरोहितहरु अलमलमा परेका छन् ।
मद्यमान गर्ने पण्डित पुरोहित नभएपनि धूमपान गर्ने चाहिँ धेरै छन् ।
धूमपानको लत बसिसकेपछि सितिमिति छाड्न सकिँदैन ।
‘उबेला तमाखु खान बानी लागिहाल्यो, अब
कसरी छाड्ने’ सिन्धुपाल्चोकका एकजना बृद्ध पण्डितले अनलाइनखबरसित
भने-’शास्त्रका नीति नियम पालना गरेकै छौं, तमाखु खाएर के पो होला र ?’
लागिसकेको लत छोड्न गाह्रो हुने उनको भनाई छ ।
तर धर्म, संस्कार र संस्कृति मार्फत समाज
परिवर्तन गर्ने पण्डित पुरोहितहरुले धूमपान गर्न नसुहाउने अगुवाहरु
बताउँछन् । ‘हाम्रो अनुमानमा केही बृद्ध पण्डितहरुले मात्र धूमपान
गर्नुहुन्छ, युवाहरुले गर्दैनन्, बृद्धहरुले पनि छोड्नुहुन्छ भन्ने हाम्रो
विश्वास छ’ राष्ट्रिय धर्मसभा नेपालका प्रवक्ता एवं संस्कृतिविद डाक्टर
वासुदेव कृष्ण शास्त्रीले भन्नुभयो ।
आचारसंहिता पालना नगर्नेलाई अनुगमनपछि
कार्वाही हुने नेपाल पञ्चांग निणर्ायक समिति र राष्ट्रिय धर्मसभा नेपालका
अगुवाले यसअघि नै बताइसकेका छन् ।