
धेरै माओवादी नेताका छोराछोरी बाबुआमासँगै ‘जनयुद्ध’ मा लागे । उनीहरुको
पढाइलेखाइ अलपत्र पर्यो । प्रतिकूल अवस्थामा पनि विदेशका विश्वविद्यालयमा
पढ्न पाउने भाग्यमानी थिइन्, माओवादी उपाध्यक्ष बाबुराम भट्टराई र नेतृ
हिसिला यमीकी पुत्री मानुषी । शान्ति प्रक्रिया सुरु भएर माओवादी खुला
भएपछि उनी नेपाल आइन् । माओवादीकै विद्यार्थी राजनीतिमा होमिइन् । त्रिवि
कीर्तिपुर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनकी सचिव मानुषी जेठ २३ गते
हुने निर्वाचनमा सभापति उम्मेदवार बनेकी छन् । त्यसकै लागि राजनीतिशास्त्र,
इतिहास हुँदै उनी अहिले समाजशास्त्रमा भर्ना भएकी छिन् ।
बुवाआमालाई आदर्श मानेर राजनीतिमा होमिएकी उनी अहिलेको राजनीतिबाट खुसी
छैनन् । बुवाआमाको कार्यकालप्रति खुसी हुन नसकेकी मानुषीसँग स्ववियु
निर्वाचनको सेरोफेरोमा सेतोपाटी सहकर्मी
विनिता दाहालले गरेको कुराकानीः
-
तपाईं फेरि पनि विद्यार्थी राजनीतिमै सक्रिय हुन लाग्नुभयो ?
- हो । म अखिल क्रान्तिकारीबाट पहिला सचिव हुँदा हाम्रो शैक्षिक स्तर
उकास्न र विद्यमान समस्या सुल्झाउन केही प्रयास थालेको थिएँ । त्यसलाई पूरा
गर्न फेरि चुनावमा उठ्दैछु ।
-
अहिले सभापतिमा उठ्नुभयो होइन ?
- सभापति भन्दा अलि जेन्डरबायस्ड हुने रैछ । अध्यक्ष भन्नुपर्दो रहेछ । हो म अब अध्यक्षमा उठ्दैछु ।
-
तपाईंका चुनावी एजेन्डा केके छन् ?
- उही त हो, हाम्रो शैक्षिक क्षेत्रमा थुप्रै समस्या छन् । तिनीहरुको
समाधान गर्न पहल गर्ने । शैक्षिक स्तर सुदृढ गरेर धनी र गरिबबीचको शैक्षिक
स्तरमा समानता ल्याउने ।
-
यी एजेन्डा पहिला तपाईं सचिवको उम्मेदवार हुँदा पनि थिए । त्यो बेलाको एजेन्डा तपार्इंको कार्यकालमा के कति सार्थक भयो ?
- धेरै त भएनन् । तर हामीले पहल गर्यौं । त्रिविको सबैभन्दा ठूलो समस्या
समयमा कक्षा सञ्चालन, परीक्षा र नजिता प्रकाशित नगर्ने छ । त्यसलाई सुधार
गर्न हाम्रै पहलमा त्रिविले क्यालेन्डर निकाल्यो । तर क्यालेन्डर अनुसार
काम भएन ।
-
त्यसो भए विद्यार्थी नेताको पहल कागजमा सीमित भयो ?
- हो । सचिव हुँदा कागजमा भए पनि हामीले क्यालेन्डर बनाउन लगायौं । त्यो
पनि सानो लडाइँ थिएन । अब त्यो कागजी जितलाई व्यवहारमा गरेर समयमै सबै कुरा
लागू गराउन प्रयासरत हुन्छौं।
-
हाम्रा शैक्षिक क्षेत्रका समस्या केके हुन् ?
- सबैभन्दा ठूलो समस्या त प्राध्यापकहरु यहाँ जागिर खाने । हाजिर गर्ने ।
तलब सुविधा लिने । काम निजी कलेजमा पढाउने रहेछ । उहाँहरु आर्थिक लाभको पछि
मात्र कुद्नु हुँदो रहेछ । यस्तो अवस्थामा विद्यार्थीले कसरी शिक्षाबाट
लाभ लिन सक्छन् ?
-
तपाईं त विदेशका नामी युनिभर्सिटीमा पढेर आउनुभएको, यहाँ र त्यहाँको पठपाठन पद्धतिमा कस्तो फरक रहेछ ?
- धेरै नै फरक । उहाँ सबथोक क्यालेण्डर अनुसार हुन्छ । कक्षामा प्राध्यापक
कहिल्यै नआउने भन्ने हुँदैन । हाम्रोमा प्राध्यापक आउने भन्ने हुँदैन ।
साँच्चै भन्ने हो भने मैले भारतमा ब्याचलर्समा पढेकै भरमा यहाँ (त्रिवि)
मास्टर्स पोलिटिकल साइन्समा टप गरेँ । यहाँ त प्राध्यापकसँग प्रश्न गर्दा
सुरुसुरुमा उहाँहरु झस्किनु हुन्थ्यो जुनबेला उहाँहरुलाई म कसकी छोरी भन्ने
थाहा थिएन । मेरो नाम अस्मिता सिंह भनेर छ । त्यही प्रश्न गर्ने तरिकाले
प्राध्यापकहरुले भोलिपल्टदेखि थाहा पाउनुभएछ, म कसको छोरी भनेर अनि अचम्म
मान्नुभएन । त्यसपछि त मैले पनि समय दिन पनि भ्याइनँ र नयाँ सिक्ने कुरा
पनि पाइनँ ।
-
त्यसो भए तपाईं ज्ञान हासिल गर्न भन्दा पनि विद्यार्थी राजनीतिमा रहिरहन पढिरहनुभएको छ ?
- एक किसिमले विद्यार्थी राजनीतिमै रहन हो । तर मैले राजनीतिशास्त्रपछि,
इतिहास र अहिले समाजशास्त्र पढिरहेको चाहिँ आफ्नो समाज र इतिहास बुझ्नकै
लागि हो । आफ्नो इतिहासबारे म धेरै बेखबर थिएँ । यहाँ नपढेको भए हाम्रा
शैक्षिक क्षेत्रको समस्या हेक्का हुँदैन थियो मलाई ।
-
राजनीतिमा लागेका विद्यार्थीहरु शैक्षिक क्षेत्रमा भन्दा माउ पार्टीको कार्यकर्ता हुन्छन् । पार्टीले गरेको गलत काम जान्दाजान्दै पनि त्यसको विरोध गर्न सक्दैनन् नि ?
- त्यस्तै देखिन्छ । विगत धेरै वर्ष देखि यसैगरी विद्यार्थी नेताहरु
अभ्यास गरिरहनु भएको छ । तर यो पूर्ण सत्य होइन । हामीले हाम्रै पार्टीको
सरकार चलिरहँदा पनि पेट्रोलियम पदार्थको मुल्यवृद्धिलगायतको विरोध गर्यौ ।
हाम्रै माग अनुसार विद्यार्थी भाडामा सहुलियत पनि भयो ।
-
सबै विद्यार्थी नेताहरु आफूलाई यसैगरि ओभानो ठान्छन् । तपाईंलाई विद्यार्थी राजनीतिको नाममा आफूबाट कुनै त्रुटि भए जस्तो लाग्दैन ?
त्रुटि नै त नभनौं । तर हाम्रा थुप्रै कमजोरी छन् । जसरी पार्टी नेतृत्वको
गलत काममा आवाज उठाउनुपर्ने हौ सधैँ सम्भव हुँदैन । हामी पनि चुकेका छौं ।
- यही भनेर छुट्याउन सकिन्न तर त्यस्ता धेरै ठाउँ छन् ।
-
यस्ता विषयमा तपाईँको बुवासँग कुरा हुँदैन ?
- हामीलाई समय नै मिल्दैन छलफल गर्न । तर जति समय मिल्छ, त्यसमा उहाँ सधैँ
हाम्रो सरकारले गरिरहेको कुरामा विद्यार्थीको धारणा के छ भनेर प्रश्न
गरिरहनुहुन्थ्यो । क्रान्ति सफल पार्ने युवापुस्ताले नै हो भनेर उहाँ सधैँ
युवा सोच र उनीहरुको बुझाइमा उत्सुक हुनुहुन्छ ।
-
तपाईं सानैदेखि राजनीतिक वातावरणमा हुर्कनुभयो, तपाईँले सानैदेखि बुझ्दै आएको समाज र देश परिवर्तनको कुरा त्यसैगरी हुँदोरहेछ ? बुवा प्रधानमन्त्री, आमा मन्त्री हुँदा कस्तो महसुस गर्नुभयो ?
- राजनीतिमा आदर्श एउटा हुन्छ । त्यो सबै व्यवहारमा लागू नहुने रहेछ ।
मैले अचेल त्यही बुझेँ । यथार्थ अर्कै हुँदो रहेछ । जुन उद्देश्य लिइन्छ
त्यो पूर्ण रुपमा सत्यमा परिणत हुन्छ भन्ने हुँदैन ।
-
त्यसको मतलब तपार्ईंको बुवा राजनीतिमा जुन उद्देश्यले आउनु भएको थियो त्यसमा चुक्नुभयो ?
- हो मलाई दुख लाग्छ । बुवा जुन उद्देश्यले संविधान जसरी पनि जारी गर्छु
भनेर प्रधानमन्त्री हुनुभएको थियो । त्यो सफल हुनसकेन । उहाँ प्रधानमन्त्री
हुनुभन्दा अगाडि पनि उहाँका सामु चुनौतीका पहाड देखाइएको थियो । उहाँले म
त्यसलाई सामना गर्न सक्छु भनेर आउनुभयो । तर समयले साथ दिएन । आफ्नै
पार्टीका अर्को समूहले त्यो सफल हुन दिएनन् ।
- हो ।
-
तपाईंलाई बुवाकै पालामा संविधान जारी हुन्छ भन्ने लागेको थियो ?
- हामी त अन्तिम समयसम्म पनि हुटिङ गर्न, उल्लास मनाउन बसिरहेका थियौं ।
भित्र के भइरहेको छ, थाहा भएन । एक्कासी संविधानसभा विघटन भयो भन्दा हामी
निकै चकित भयौं ।
-
तपाईंको बुवाले आफ्नो प्रधानमन्त्रीत्वकाल लम्ब्याउन जानिजानी संविधानसभालाई मर्न दिनुभयो भन्ने आरोप थियो नि ?
- त्यो आरोप मात्रै हो । मैले बुझेसम्म त्यो दिन उहाँको जीवनकै सबैभन्दा
दुखद दिन हो, त्यसको ग्लानि उहाँलाई बाँचुञ्जेल भइरहनेछ । र, संविधान जारी
भएको दिन उहाँ सबैभन्दा बढी खुसी हुनुहुनेछ ।
-
उहाँ सधैँ मलाई अदालतले काम गर्न दिएन भन्नुहुन्थ्यो ?
- त्यो सत्य हो । उहाँले थालेको सबै काम सर्वोच्चमै गएर थन्किए ।
-
उहाँकै सरकारको निर्णयमात्रै किन त्यस्तो भयो होला त ?
- विदेशतिर न्यायाधीशहरुले के काम गरे भन्ने कुराले माने राख्दैन ।
अदालतले के गर्यो भन्ने मात्रै हुन्छ । यहाँ आफ्नो चिप पपुल्यारिटीको लागि
न्यायाधीशहरु निर्णय सुनाउँदा रहेछन् । विदेशमा न्यायाधीशहरु वाहवाह पाउन
खोज्दैनन् । त्यसकै उपज उहाँले आँटेका धेरै काम गर्न पाउनुभएन ।
-
आममानिसले बाबुराम भट्टराईले मुस्ताङ म्याक्स चढ्नेदेखि धेरै कुरामा चिप पपुल्यारिटी खोजे भन्छन् नि ?
- त्यस्तो हो जस्तो मलाई लाग्दैन । उहाँ प्रधानमन्त्री भएपछि स्वाभाविक
रुपमा कुन गाडी चढ्ने भन्ने कुरा उठ्यो । जुन सस्तो छ, त्यही चढ्छु
भन्नुभयो । उहाँले आफ्नो विवेकले जे भन्यो, त्यसैअनुसार भन्नुभएको हो ।
यसमा चिप पपुल्यारिटी कसरी भयो ?
-
उहाँकै पालामा थुप्रै जघन्य अपराधका अपराधीले संरक्षण पाउने गरी निर्णय भयो । त्यो पनि सही थियो ?
- मानव अधिकारको नाममा उहाँलाई दोषी देखाउन खोजियो । तर यो सबै मुलुकमा
हुन्छ । बालकृष्ण ढुंगेलको मुद्दा जनयुद्धकै कारण भएको थियो । डेकेन्द्रको
केस पनि कुनै न कुनै किसिमले जनयुद्धसँगै सम्बन्धित थियो ।
-
डेकेन्द्रको मुद्दामा त दोषी आफैँले मैले नै निर्मम तरिकाले मारेको हुँ भनेर कबुल गर्दा पनि सरकारले जोगाउन खोज्यो होइन र ?
- त्यो एकजना दोषीको कुरा मात्रै थिएन । त्यसले थुप्रै मुद्दा तान्छ भन्ने
उहाँको चासो थियो । जस्तै बेलायतमा पक्राउ परेका कर्नेल कुमार लामाको पनि ।
-
मुद्दा तानिन्छ भनेर अपराधीलाई संरक्षण दिनु जायज हो त्यसो भए ?
- पक्कै होइन । तर त्यसको छानबिन गर्ने निकाय गठन नै भएको छैन । अहिले नै
दोषी संरक्षण भन्न मिल्दैन । सत्य निरुपण तथा मेलमिलाप आयोगले त्यसको
निक्र्यौल गरिहाल्छ । अदालतले रोकिरहनै पर्दैन ।
-
अनि उहाँ त सधैँ अदालतले काम गर्न दिएन भन्ने मान्छे, उहाँ आफैँले न्यायमूर्तिलाई नै चुनावी प्रयोजनका लागि मन्त्रिपरिषद् अध्यक्ष बनाउनुभयो ?
- उहाँलाई दोष गएको हो । सहमति र हस्ताक्षर त सबैले गर्नुभएकै हो नि ।
-
तपार्ईं खुसी हुनुहुन्न त्यसो भए ?
- म पहिल्यैदेखि खुसी छैन । जुन व्यक्ति जुन क्षेत्रको हो, उसलाई त्यहीको
मात्रै जिम्मेवारी दिनुपर्छ । तर अब हुने कुरा भइसकेपछि सकारात्मक हुन्छ
भन्नेमा आशावादी हुनुपर्छ ।
-
तपाईलाई चुनाव मंसिरमै हुन्छ भन्ने विश्वास लाग्छ ?
- अहिलेसम्म मिति तोकिइसकेको छैन । त्यसैले यसै भन्न सकिन्न ।
-
सत्तामा बसिरहेका मान्छेहरु कति लामो समय सत्ताबाहिर बस्नसक्नु होला ?
- धेरै समय सक्नुहुन्न । त्यसैले पनि चुनाव चाँडै भइहाल्नुपर्ने हो । तर अहिलेसम्म मिति नै तय भइसकेको छैन ।
-
अहिले भइरहेका राजनीतिक परिवर्तनको मूल्यांकन कसरी गर्नुभएको छ ?
- हामी भाग्यमानी पुस्ता हौं । हामीले ठूला ठूला राजनीतिक परिवर्तन देख्न
पाएका छौं । सबै मुलुक संक्रमणबाट गुज्रिँदा यस्तै हुन्छ । म अहिलेको
राजनीतिक परिवर्तनसँग चाहिँ खुसी छैन ।
-
तपाईँ राजनीतिजस्तो कञ्चन हुनुपर्छ भन्ने सोच्नुहुन्थयो, आफ्नो बुवाआमा पदमा पुग्दा राजनीति त्यस्तै भयो भन्ने लाग्छ ?
- लाग्दैन । उहाँहरुसँग आमजनताको चाहना जीवनयापन सहज हुने खालका योजना
आउँछन् भन्ने थियो । तर राजनीति स्थिर नहुँदासम्म सम्भव हुँदोरहेनछ ।
उहाँहरुले मैले सोचेअनुसार काम गर्नै सक्नुभएन ।
तस्विरहरु: सोभा शर्मा