भरतमोहन अधिकारी / मदन
भण्डारी हाम्रो वीचमा नहुनु भएको यो २० बर्ष भयो । यो वीचको नेपाली
राजनीतिलाई नियाल्दा के निश्कर्ष निकाल्न सकिन्छ भने मदनको रहस्यमय
मृत्युसँगै नेपालको राजनीतिको दुर्भाग्य सुरु भएको रहेछ ।
नेकपा एमाले अहिले पनि मदनले स्थापित गरेको
जनताको बहुदलिय जनवाद ‘जवज’ को बिचारलाई बोकेर हिँडेको छ । तर बिचारले
मात्रै हुदैन रहेछ नेतृत्व पनि उत्तिकै महत्वपूर्ण हुनुपर्दो रहेछ । एमाले
‘जवज’को बिचार बोकेर २०५१ सालमा देशको सबै भन्दा ठूलो र लोकप्रिय पार्टी
बनेको थियो ।
तर सिद्धान्तका रुपमा ‘जवज’ बाहिर ल्याएको ५
महिना नपुग्दै भण्डारीको रहस्यमय हत्या भएपछि एमाले त्यस पछि बिस्तारै
बिस्तारै कमजोर बन्दै गयो । त्यसको पछाडीको कारण हामी नेतृत्व तहमा
बस्नेहरुले दुरगामी सोच र मदन जत्तिकै प्रभावकारी नेतृत्व दिन सकिएन ।
मदनजी नेपालको एक प्रतिभाशाली नेता
हुनुहुन्थ्यो । मैले बुझेको मदनमा नेतृत्व क्षमतासँगसँगै सोचाई पनि बढो
प्रष्ट हुन्थ्यो । २०४७ सालको संविधान बनाउने कमिटिमा बाममोर्चाको तर्फबाट
माधव नेपाल, निर्मल लामा र म थियौ ।
उहाँ त्यो कमिटिमा हुनुहुन्थेन तर संविधान
निर्माणका क्रममा उहाँले पनि निकै भुमिका खेल्नु भएको थियो । नेतामा हुनु
पर्ने गुण त्यस बेला थप बुझ्ने मौका पाइयो । बहुत प्रष्ट लक्ष्य र बिचार ।
कडा कहाँ हुने, लचिलो कहाँ हुने, उहाँले त्यो सम्पूर्ण जान्नु भएको थियो ।
त्यस बेला उहाँले अलिकति लचिलो हुनु परे पनि हुनु पर्छ तर कुनै पनि हालतमा
संविधान बन्नै पर्छ भन्नु हुन्थ्यो ।
त्यतिबेला माधव नेपालको कुपन्डोलमा डेरा
थियो । हामी साँझ भेट्थ्यौ । मदन कमरेड पनि आउनु हुन्थ्यो हामी संविधानका
विषयमा कुराकानी गथ्र्यौ । यो विषयमा अडान राख्नु यसमा यसो गरौ भन्नेकुरा
हुन्थ्यो ।
उहाँको भाषण जति कडा हुन्थ्यो त्यतिनै
व्यवहारिक पनि हुनुहुन्थ्यो । त्यसैले मैले बुझेको मदन भनेको कुशल वक्ता,
लेखक र सबैभन्दा बढी त विचारमा स्पष्ट । हो, मदन दृढ माक्र्सवादी
लेलिनवादी हो । तर त्यसलाई मुठ्ठीमा लिएर राख्ने भन्दा पनि नेपालको वाताबरण
अनुसार प्रयोग गर्नुपर्छ भन्ने मान्यतामा उहाँमा थियो । त्यसैले जबज को
प्रतिपादन गर्नुभएको हो ।
यो सिद्धान्त आज यस्तो व्यापक भयो कि
वास्तवमा जनताको विकासको लागि जबजको विकल्प छैन । जसले कम्युनिष्ट
आन्दोलनलाई प्रजातान्त्रिक बनायो । अरु मात्रै होइन घुमिफेरी माओवादी पनि
यहि आयो । त्यसैले यो २० वर्ष पछि पनि उहाँको कार्यनीतिनै ठिक छ भन्ने थप
पुष्टि हुदै गएको छ ।
जवजको मुल मर्म भनेकै शान्तिपूर्ण आन्दोलन
हो । जनताको अभिमत लिनुस, बहुमत आउछ सरकार चलाउनुस, आउदैन शान्तिपूर्ण
रुपमा प्रतिपक्षको भुमिका निर्वाह गर्नुस् र संघर्षमा जानुस । त्यसैले
नेपालको अहिलेको युग नै जबजको हो । २०३६ सालमा जनमत संग्रह हुदाँ नेकपा
मालेका जुनजुन साथिहरुले बहुदलका बिपक्षमा हुनुहुथ्यो ०४६ सालसम्म आउदा
उहाँहरु नै बहुदलमा लाग्ने मोर्चामा अगाडि लाग्ने अवस्था बन्यो । उहाँको
प्रयासमा वाममोर्चाको गठन भयो र त्यहि मोर्चाबाट हामीले काँग्रेस सँग
वार्ता ग¥यौ । अनि फागुनबाट संयूक्त आन्दोलन भयो ।
विराटनगरमा भएको पाँचौ महाधिवेसनका बेला
जबज आयो । झलनाथ र सिपि यसको विरुद्धमा हुनुहुन्थ्यो । मदनले मलाई जबज
महाधिवेसनमा पेश गर्न भन्नुभो । मेलै तपाइको कार्यक्रम हो तपाई नै पेश
गर्नु भने । आफ्ना विरोधी झलनाथलाई पनि महाधिवेशनमा फरक मत राख्न दिनुभो ।
यो कम्युनिष्ट पार्टीको इतिहासमा पहिलो घटना थियो बिरोधी बिचार पनि
सार्वजनिक रुपमा राख्न पाउने ।
०४९ सालको सोही महाधिवेशनले जबज पारित भयो
एक बर्ष पछि २०५० सालमा मदनको रहस्यमय मृत्यु भयो । उहाँले आफ्नो
सिद्धान्तलाई आफैले कार्यन्वयन गर्न पाएको भए देशको मुहार अर्कै हुन्थ्यो ।
त्यसैको परिणाम थियो त्यस पछिको आम निर्वाचनमा एमालेको बहुमत । सरकार
राम्रो सँग चलाइयो । सरकार संचालनगर्दा सम्म हामीले मदनको सिद्धान्त भन्दा
यताउता भएनौँ । त्यसैले हामीले साँच्चै जनताको समर्थन पायौँ ।
तर एमालेलाई सरकारबाट हटाइयो । त्यससँगै
हामीले क्रमस मदनको बाटोलाई निरन्रता दिनबाट चुक्दै गयौँ भन्ने मलाइ लाग्छ ।
मदनले हामीलाई सिकाएको कुरा के थियो भने सरकारमा टिक्न नदिए जनतामा जाउँ
भन्ने थियो । तर हामीले त्यसो गरेनौँ बरु संसद र काठमाण्डौँमै बसेर सरकार
परिवर्तनको खेलो फड्को गर्न थालेऊ ।
गाउँमा गएर जनताको वीचमा आफ्नो पार्टीको
बारेमा माहाले बनाउने त्यस्तो गतिलो अवसरलाई छोडेर हामी पैसा कमाउन पट्टि
लागेउँ । सरकार बनाउने र गिराउने खेलमा लाग्यो एमाले । पँजेरो देखि सांसद
थुन्ने सम्मका गम्भिर गल्ती त्यसैक्रममा हुदै गए ।
अर्को तर्फ ‘जवज’जवज जस्तो राम्रो
सिद्धान्त हुदाँहुँदै माओवादीले हतियार उठाउन तीर लागे । देश बिग्रिँदै
गयो । एमाले पनि जबजबाट पटक पटक चिप्लीयो । हामीले जबजलाई सहि तरिकाले
अगाडी बढाउन सकेनौ । नेताहरु पार्टी भन्दा पनि पदमा लालयित भए । वामदेवलाई त
सिंहदरबार जाँदा प्रधानमन्त्री हुन मन लाग्ने बल्खु जाँदा महासचिव हुन मन
लाग्ने हुन थाल्यो उहाँले पार्टी फुटाउनु भयो । हामी सुविधा भोगी भयौ ।
शेरबहादुरले दिएको पजेरोको कुरा स्विकादै त्यतै लाग्यौ ।
हत्यारा पत्ता लगाउन हामी गम्भिर भएनौँ
मदनको हत्या भएकै हो पार्टीको धारणा रह्यो
। मेरो ब्यक्तिगत भनाई पनि त्यो सुनियोजित हत्या थियो दुर्घटना थिएन भन्ने
नै हो । जसरी दरबार हत्याकाण्ड भयो । दिपेन्द्रले नै मारेको भएपनि त्यो
कसैबाट सञ्चालित वा प्रभावित थियो । त्यसरीनै मदन भण्डारीको हत्या पनि हो
तर त्यसको राम्रो छानविन भएन उहाँको प्रभावशाली व्यक्तित्व हत्याको कारण
बन्यो ।
हाम्रो जस्तो देशमा के हुन्छ भने एउटा
नेतालाई चर्चामा आउन दियो अनि मारिदियो । फेरि अर्को ल्यायोे । किन भने
हाम्रो जस्तो देशमा व्यक्तिको ज्यादै महत्व हुदो रहेछ । मदनको हत्या एमाले र
यो देशको दुर्भाग्यो हो ।
छानविनका लागि अनिल आयोग, तुलाधर आयोग देखि
हामीले आन्तरिक रुपमा नै केपि आयोग लतायतका आयोग हरु बनाऔ ।
गृहमन्त्रालयले राणा आयोग बनायो । तर बास्तविक रुपमा छानविन गरेर सत्यतथ्य
बाहिर ल्याउन हामी गम्भिर रुपमा लाग्न सकेनौँ । किनभने त्यस काण्डका एक
मात्रै साक्षि ड्राइभर अमर लामालाई पक्राउ पनि गरियो, हाम्रो सरकार पनि
बन्यो । पछि त्यहि प्रमाणको रुपमा रहेका लामाको पनि हत्या भयो । हामी
गम्भिर नभएकैले प्रमाणहरु नष्ट गरिएको हो ।
अरु त होइन पार्टीको छानविन समितिले तयार
गरेको प्रतिवेदन कहाँ गयो मलाई पनि थाहा छैन । छानविन आयोगको संयोजक बन्नु
भएका केपि ओली नै गृहमन्त्री नै बन्नु भयो । एक ताका ओलीले गृह
मन्त्रालयमा हत्या छानविनको लागि एउटा सेल बनाएको छु भन्नुहुन्थ्यो पछि के
के गर्नुभयो थाहा दिनुभएन । त्यसको अर्थ मलाई हत्याराको चाहाना अनुसार
पार्टीले काम ग¥यो भन्ने लाग्दैन । किनभने मदनको हत्यारालाई पत्ता लगाउदा
कुनै नेतालाई हानी हुन्थ्यो जस्तो लाग्दैन । यसमा पार्टीले किन यसो ग¥यो
भन्ने कुरा त्यतिबेलाका गृह मन्त्री (पार्टी सरकारमा आएपछि) केपि ओलीलाई
थाहा होला ।
तर मेरो बुझाई के हो भने हामीले यसको लागि
जति लाग्नु पर्ने थियो त्यति नलागेको चाँही पक्कै हो । घटनाक्रमले त्यो
बिषयमा केन्द्रित नभइ हामी अन्तै लाग्यौ । हत्या एमाले बाहिरकै मान्छेले
गरेको हो । त्यसैले एमालेका नेताहरु कसैलाई यो छानविन रोक्नुपर्ने कुनै
कारण देखिदैन । मलाई, छानविन नहुनुको कारण नेपालको राजनीतिक दलको
आत्मविश्वासको अभाव पनि एक हो जस्तो लाग्छ ।
भारतको चाहना पुरा गर्दिँदा पनि भएन
प्रत्येक परिवर्तन पछि छिमेकी भारतको
भुमिका सहयोगि देखिदैन । जस्तो ०४६ सालमा आन्दोलन गरियो । उनीहरुलाईनै मन
पर्ने काँग्रेस थियो, गणेशमान हुनुहुन्थ्या नेतृत्वमा । कांग्रेसकै बहुमत
आयो । हामीले संविधानमा दिर्घकालिन प्रभावपार्ने धारालाई दुई तिहाइ बहुमतले
परिवर्तन गर्न सकिने बनाउ भनेकाथियौ ।
त्यसमा भारत र गणेशमानजी मान्नुभएन । यो त
जनताको माग थियो आन्दोलनमा । प्रजातन्त्र आएको भनियो तर समान्य त त्यो पनि
बुर्जवा प्रकार थियो । उनीहरुले भने अनुसारनै गर्दा पनि हुदैन रहे छ नी त
। अहिले थाहा भो भारतनै रहिछ यो प्रजातन्त्रको खिलापमा माओवादीलाई उचाल्ने
पनि । दुनियाँमा हतियार सहितको तालिमलाई विरोध गर्ने तर यहाँ भर्खर
प्रजातन्त्र आएको छ त्यहाँको प्रजातन्त्रको विरोधमा आफ्नो देशमा माओवादीलाई
हतियार सहितको तालिम दिने ? यस्तो कहि हुन्छ ? माओवादी आन्दोलन पूर्ण त
भारतीयको निर्देशन र समर्थनमा भएको हो भन्ने कुरा त बिभिन्न डकुमेन्टबाटै
प्रष्ट भयो नी ।
अर्को परिवर्तनको क्रममा ६२ –६३ को आन्दोलन
चल्दै थियो । भारतीय नेता करनसिंह आए । माधव नेपाल थुनामा हुनुहुन्थ्यो ।
अमृत (अमृत बोहोरा) र मलाई उनले भेट्ने बताए । हामी पार्टी कार्यलयमा
भेट्दै थियौ उनले भने “राजाले ८ गते सम्बोधन गर्छन् तपाईहरुले समर्थन
गर्नुप¥यो ।” “ त्यस सम्बोधनमा राजाले के भन्छन् ?” हामीले सोध्यौ ।
“जनताको नासो जनतालाई दिन्छु भन्छन र । तपाई पार्टीहरुलाई प्रधानमन्त्रीको
नाम दिन भन्छन्” भने । हमीले त्यो स्विकार्ने कुरा थिएन । तर उनले भनेझै
गरेर ८ गते दरबारको सम्बोधन आयो ।
त्यस बेला भारतीय पक्षको साँच्चै सकृता
थियो । तर अन्तिममा दरवारका सचिव पशुपति भक्त महर्जनले ल्याएको प्रस्तावमा
गिराजाबाबु, माधव नेपाल लगायत हामी बसेर जे जे राख्न भन्यौँ त्यसै अनुसार
११ बैसाखमा सम्बोधन आयो । खै त्यस बेला मैले भारतीय पक्षको दवाव महसुस गरिन
। यसको अर्थ के हो भने हामी दलहरु भित्री रुपमा मिलेर साँच्चै मुलुकको
एजेण्डमा सहमत हुने हो भने भारतीय पक्षले केही गर्न सक्दैन ।
अहिले पछिल्लो घटना क्रममा पनि प्रष्ट
देखियो नी खिलराज रेग्मी देखि लोकमान सिंह सम्मको नियुक्तीमा भारतीय पक्षको
चाहना अनुसार भएको हो । कती अचम्म छ नी, भारत जस्तो बिश्वमा उदयमान
देशलाई हामी जस्तो सानो देशमा एउटा अफिसर नियुक्ती पनि आफैले भनेको ब्यक्ति
हुनै पर्ने किन चाहियो ? यसले हामीले बुझ्नु पर्छ हामी कहाँ पुग्दै छौँ ।
यसमा म अरुलाई दोस दिन्न हाम्रै समस्या हो ।
आन्तरिक रुपमा नै हामी साँच्चै लोभि र अरुको समर्थन बिना कुने पद पाईदैन
पद पाईएन भने हामी राजनीति नै गर्न सक्दैनौँ भन्ने भ्रम हामीलाई भयो । त्यो
स्वार्थबाट मुक्त नहुदा सम्म मदन भण्डारीले ल्याएको जवजलाई न हामीले सहि
ढंगले लागु गर्न सक्छौँ न त एमाले बलियो हुन्छ । न त मुलुक समृद्धीको
बाटोमा जान्छ ।
अहिले पनि नेपालका दलको आत्मविश्वास छैन् । लोकमान देखि खिलाराज सम्मका घटनामा त्यसैको श्रृखंला हो । चुनावको ग्यारेण्टी अझै छैन् ।