ओखलढुंगाको
पोकलीमा ०२७ सालमा जन्मेका पूर्वसभासद् बालकृष्ण ढुंगेल विद्यार्थी जीवनमै
०४२ सालदेखि मोटो मशाल हुँदै माओवादीमा लागेको बताउँछन् । बुबा २ वर्षअघि र
आमा आफू जेलमा छँदा दमको रागले बितेको उनको भनाइ छ । ओखलढुंगाका निर्वाचित
पूर्वसभासद् रहेका ढुंगेलका दुई छोरीहरु राजधानीमै कक्षा १० मा अध्ययनरत्
छन् ।
यो साता प्रधानमन्त्री डा. बाबुराम
भट्टराई पूर्वसभासद् ढुंगेलसँगै एउटा विद्यालयको कार्यक्रममा सहभागी भएको
विषयले मिडियामा निकै ठूलो चर्चा पायो । आखिर को हुन् बालकृष्ण ढुंगेल ?
किन उनी चर्चाको पात्र बनिरहेका छन् ? यस विषयमा अनलाइनखबरले गरेको सम्वाद:
बालकृष्ण ढुंगेललाई अपराधीका
रुपमा प्रस्तुत गर्दै पोष्टरसमेत बनाई प्रदर्शन भैरहेको छ । तपाईचाहिँ
भूमिगत हुनुहन्छ कि खुल्लै हिँडिरहनुभएको छ ?
-म भूमिगत छैन, सडकमै डुलिराखेको छु ।
भर्खरै सिंहदरबार पुगेर आएको छु । काठमाडौं र जिल्ला (ओखलढुंगा) बराबर
आवत-जावत गरिरहेको छु । चार दिनअघि काठमाडौंदेखि प्रधानमन्त्री सँगै जिल्ला
गएको थिएँ । त्यहाँ एउटा उच्च माविको स्वर्ण महोत्सव थियो । क्याम्पस र
उमाविको पुनर्मिलन कार्यक्रम थियो । निर्वाचन क्षेत्र नम्बर २ मा रहेको
उच्चमाविको विज्ञान शंकाय कसरी बचाउने होला भनेर अक्षयकोष स्थापना गर्ने र
शिक्षाप्रतिको लगानी आफैंबाट शुरु गरौं र शिक्षामा योगदान गरौं भन्ने
कार्यक्रम अन्तरगत प्रधानमन्त्री जिल्ला जानुभएको थियो ।
तपाईको विरोधमा महिलाअधिकारकर्मी,
वकिल र मानव अधिकारकर्मीहरुले सडकमा नारा लगाएको धेरै भैसक्यो । अकुपाई
बालुवाटार अभियानले पनि तपाईलाई ‘अपराधी’ भनिरहेको छ । यसबारे तपाईको
विचारचाँहि के छ ?
-वर्गीय पक्षधरताभित्रको स्वाभाविक
आन्दोलन हो यो । जनयुद्धको प्रारम्भदेखि उत्कर्षसम्म आइपुग्दा विभिन्न आरोह
र अवरोह ब्यहोर्नुपर्यो । त्यसबेला पनि आन्दोलनका समर्थक र विरोधीहरु थिए,
अहिले पनि आन्दोलन विरोधीहरु विभिन्न शीर्षकमा बदलिएका मोर्चा बोकेर
आइराखेका छन् ।
मेरो व्यक्तिगत अनुभूति कस्तो छ भने अहिले
अकुपाइ बालुवाटार वा जेजे भनिए पनि उनै सुबोध प्याकुरेल, कनकमणि दीक्षित,
मन्दिरा शर्माको सामुहिक हण्डी संगठन हो भन्ने लागेको छ यो अकुपाई
बालुवाटार । हिजो यिनीहरु शान्तिको नारा फ्याँकेर डलर कमाउँथे, आज द्वन्द्व
व्यवस्थापन गर्ने बेलामा युद्ध भड्काउने गरी घाऊहरु कोट्याउनु
साम्राज्यवादीहरुको युद्धनीति अन्तरगत पर्दछ । त्यो बाहेक यो अभियान केही
होइन ।
तपाई मान्छे मारेको अभियोगमा अहिलेसम्म जेल पर्नुभएको छैन नि हैन ?
-म यही शीर्षकमा साढे ८ वर्ष जेल बसें ।
शुरुमा ओखलढुंगा जिल्ला कारागारमा राखियो । दुईमहिना जति हिरासतमै प्रहरीले
मलाई बेपत्ताजस्तै बनायो । त्यसपछि काठमाडौंको केन्द्रीय कारागारमा राखियो
। ०६२/०६३ को जनआन्दोलनपछि पुनरावेदन अदालतले सफाइ दिएर म छुटेको हुँ ।
पुर्पक्षका लागिमात्रै ६ वर्षसम्म जेल
बसेको मान्छे हुँ म । कानून अनुसार २ महिनादेखि ३ वर्षसम्म मुद्दा फैसला
गरिसक्नुपर्छ । तर, अदालतले मलाई माओवादी हुनुको नाताले पूर्वाग्रही ढंगले
साढे ६ वर्षसम्म पुर्पक्षका लागि थुनामा राख्यो ।
भुवनकुमार (उज्जन) श्रेष्ठलाई जनयुद्धकालमा तपाईले मार्नुभएको हो कि हैन ?
-म व्यक्तिगतरुपमा त्यो घटनामा संलग्न
रहौं या नरहौं, त्यो दोस्रो पाटो हो । त्यतिबेला माओवादीबाट सञ्चालित
जनयुद्धका विरुद्ध सुराकी गरेवापत भुवनकुमार श्रेष्ठलाई सफाया गरिएको थियो ।
अहिले भुवनका दाजु गणेशकुमारलाई पनि बालकृष्ण ढुंगेलले नै मारेको भनेर
ब्यानर बनाइएको छ । तर, केन्द्रीय कारागारभित्र थुनिएका बेला त्यो घटना
भएको छ । गणेशकुमारकी छोरीले अन्य कतैको अवैधानिक सम्बन्धका कारणले
आत्महत्या गरेको भन्ने बजारमा सुनिन्छ । त्यो पनि बालकृष्ण ढुंगेलकै कारणले
मारिएकी भनिँदैछ । हुँदाहुँदा यो देशमा मरेका सबै मान्छे बालकृष्ण
ढुंगेलबाटै मारिएको भन्नेजस्तो उनीहरुका तर्फबाट प्रचार गरिँदैछ ।
वास्तविकता भन्ने हो भने त्यो घटनामा व्यक्तिगतरुपमा म संलग्न थिइँन ।
त्यतिबेला राज्यपक्षबाट दमन गर्ने क्रममा मलाई राज्यले गिरफ्तार गर्यो र
यस्तो मुद्दा लगायो ।
तर, सर्वोच्च अदालतले त तपाईलाई जेल हाल्न आदेश दिएको र तपाईले त्यसलाई नमानेको होइन ?
-सर्वोच्चले शान्ति सम्झौता र अन्तरिम
संविधानको मर्म विपरीत फैसला गर्यो । अदालतले यसलाई पुनर्मूल्यांकन
गर्नुपर्छ । नियतवस त्यस्तो फैसला गरिएको हो भने सर्वोच्च अदालत द्वन्द्व
व्यवस्थापनको पक्षमा छ कि भड्काउने पक्षमा छ भन्ने प्रश्न उठ्छ । म आफू
कानूनले पीडित बनाइएको व्यक्ति हुँ भने मैले सर्वोच्च अदालतसँग यो दाबा किन
नगर्ने ? मेरो प्रश्न यहाँनेर छ ।
सभासद् भैसकेको मान्छे, अदालतले नै आदेश दिइसकेपछि त त्यसलाई मान्नुपर्यो नि हैन र ? जेल जान, गिरफ्तार हुन तयार हुनुपर्यो……
-अदालतले अन्याय गर्यो भने न्याय माग्ने
कि नमाग्ने ? मलाई अन्याय भयो भन्ने कि नभन्ने ? अदालत भनेको त्रिकालदर्शी
हो र ? के अदलातले अन्याय गर्दैन ? अपराधलाई सबैभन्दा बढी बैधानिकता
कहाँबाट दिइन्छ ? यो विषयमा बहस गर्न पाउने कि नपाउने ? यो २०५४ साल असारको
घटना हो । म ०५५ साल मंसिरमा गिरफ्तार भएँ । म लगभग साढे ८ वर्ष यो
मुद्दामा जेल बसें । यातनाबाट मेरो किड्नी ड्यामेज बनाइएको छ । हिटरमा
पिसाब फेराएर । अहिले पनि मलाई छामेर हेर्नुभयो भने शरीर सुन्निएको छ । म
चरम यातनाबाट गुजि्रँदा मेरो मानवअधिकार कहाँ थियो ? मैले यो अधिकार खोज्न
पाउने कि नपाउने ?
अर्कोतिर माओवादी पार्टीको सुराकी गरेका
कारण तत्कालीन माओवादी नेता पुस्कर गौतम र बालकृष्ण ढुंगेलसमेतले गोली
हानेर मारेको भन्ने जाहेरी छ । म कुन दिनबाट माओवादीमा लागेर भनेर लाइसेन्स
दिने लाइसेन्स कर्ताजस्तो कनकमणिजीहरु देखिनुभएको छ । मलाई त अचम्म
लागिराखेको छ । रामेछाप, सोलु, ओखलढुंगाको सबैभन्दा पुरानो कार्यकर्ताभित्र
म पर्छु । म पार्टीमा ०४२ सालदेखि सामेल भएको हो । उज्जन भन्ने भुवन
श्रेष्ठ मारेर म यो आन्दोलनमा आएको मान्छे होइन । त्यसैले सत्य चिज के हो,
त्यो हेर्नुपर्यो । के मेरो मुद्दाको मिसिल हेर्ने कनकमणि दीक्षितलाई
फुर्सद छ ? विदेशी डलर गन्दैमा उनलाई फुर्सद छैन होला । तर, म कनकमणि,
सुवोध प्याकुरेल र मन्दिरा शर्मालाई अनुरोध गर्छु, एकचोटि बालकृष्ण
ढुंगेलको मिसिल अध्ययन गर्नोस् र मात्रै बोल्नोस् । नबुझिकन बोल्नु र
सुन्निएर मोटाउनु एकै हो ।
के छ त्यो मिसिलमा ?
-पहिले ०५५ सालको ‘किलोसेरा टु’को अध्ययन
गर्न जरुरी छ । त्यसबेला राज्यले के गरेको थियो, त्यो अध्ययन गर्न जरुरी छ ।
जहाँसम्म मेरो मुद्दाको कुरा छ, त्यसमा के भनिएको छ भने राति तीन कान्ला
माथि मकैबारीको भित्तामा लुकेर कोही मान्छेले हेर्यो, भुवन भनिने उज्जन
श्रेष्ठ बाटामा जाँदै थियो, त्यहाँ म उसलाई मार्नका निम्ति बसिराखेको थिएँ
रे । यो कुरा उसले कसरी थाहा पायो र हेर्न आयो ? भुवनलाई मैले नचिनेर टर्च
बालें रे । पुस्कर गौतमले टर्च देखायो र बालकृष्ण ढुंगेलले गोली ठोक्यो रे ।
हामीले चाँहि नजिकै रहेको भुवनलाई चिन्न टर्च बाल्नुपर्ने, अनि
तीनकान्लामाथि मकैबारीको भित्तामा लुकेको मान्छेले अँध्यारोमा हामी नै हो
भनेर चिन्ने कसरी सम्भव छ ? त्यो मान्छेले यहीँनेर केहीबेरमा गोली हान्छन्
भनेर कसरी थाहा पायो र मकैबारीमा लुकेर बस्यो ? यसैबाट प्रष्ट हुन्छ, यो
बनिबनाऊ मिसिल हो । उनीहरुलाई बालकृष्ण ढुंगेललाई कहीँबाट पनि निस्कन नदिने
सोचेर यस्तो नक्कली मिसिल बनाएका हुन् । यो डिजाइनमा बनाइएको मिसिल हो ।
जाहेरीमा मेरो भाइ उज्जननलाई सुराकी गरेको
कारणले गोली हानेर मारे भनेर गणेशकुमार श्रेष्ठको जाहेरी लेखिएको छ । अनि
यो जाखेरीसम्म नहेरी बालकृष्ण माओवादी नै थिएन, पारिवारिक इबीको कारणले
मान्छे मारेपछि माओवादीमा गएको भनेर दिग्भ्रमित पार्ने काम गरिँदैछ । म
यसलाई औंसाहा पार्ने प्रवृत्ति भन्छु ।
नेपाली समाजको रुपान्तरणको एजेन्डामा
कनकमणिजीहरु औंसाहा पार्ने काम गरिरहनुभएको छ । उहाँहरु हरियो झिँगालेजसरी
फ्यात फ्यात औंसाहा पार्दै हिँडिरहनुभएको छ । तर, अहिले पनि अदालतले फैसला
गरोस् या कनकमणिले फोटो प्रदर्शन गरुन्, ओखलढुंगाका आम जनताले मलाई अंकमालै
गरिराखेका छन् । म जनताको प्यारो प्रतिनिधि नै छु । तपाई ओखलढुंगामा गएर
हेर्न सक्नुहुन्छ ।
तपाईले यहाँ जसको आलोचना गरिरहनुभएको छ, उहाँहरुसँग भेटघाट र कुराकानी पनि भएको छ कि ?
-संयोग नै मान्नुपर्छ, मलाई वेपत्ता
पारेका बेला मेरो जीवन रक्षाको निम्ति मन्दिरा जी ओखलढुंगा पुग्नुभएको थियो
। म केन्द्रीय कारागारमा बस्दा उहाँ मेरो स्वास्थ्यस्थिति सोध्न आउनुभएको
थियो । तर, आज मन्दिराको आँखा र दिमागमा कसले पट्टी बाँध्यो मलाई थाहा छैन ।
बालकृष्ण ढुंगेल एक दिन पनि जेल बसेको छैन भन्दै अहिले उहाँ मेरै फोटो
बोकेर बालुवाटार घेरिराख्नुभएको छ । म यही मुद्दामा साढे ८ वर्ष जेल बसें
भन्ने कुरा मन्दिराजीलाई थाहा छ । अहिले उहाँले त्यही बालकृष्ण हो कि अर्कै
हो भन्ने थाहा नपाएर हो कि किन हो, यस्तो कार्य गरिरहनुभएको छ ।
सुबोधजीसँग यो मुद्दा उचाल्न शुरु गरेपछि भेट भएको छैन, पहिले भेट भएको हो ।
जनयुद्ध शुरु हुनुअघि म काठमाडौंमा जनमोर्चाको केन्द्रीय कार्यालयमा
बस्थें ।
अब चुनाव लड्नुभयो भने त नराम्रोसँग हार्नुहुने भो हैन ? सिंगै देशमा तपाईको विरोध भैरहेको छ ।
-जनताको मन जितेको भए चुनाव जित्छु, मन जितिन भने हार्छु ।
मन जितेको भए यसरी काठमाडौंमा
तपाईविरुद्ध जुलुस निस्कन्छ र भन्या ? मान्छेहरु तपाईको विरोधमा ब्यानर
बोकेर सडकमा उत्रिइराखेका छन् ….
-यो त द्वन्द्व व्यवस्थापन गर्न चाहने र
नचाहनेवीचको द्वन्द्व हो । हण्डी खुवाएर ल्याइएका दश जनाले फोटाहरु बोकेका
भरमा र चुल्थे मुन्द्रे जम्मा पारेका भरमा ओखलढुंगाको अभिमतै यही हो भनेर
बालुवाटारमा उभिएका मान्छेलाई राखियो भने यो बेठीक हुन्छ । अस्तिमात्रै म
गाम्नाङटार गाविसको कार्यक्रममा गएका बेला १० औं हजार मान्छेको उपस्थिति
थियो । आवश्यक पर्यो भने म त्यसको भिजुअल नै देखाइदिन सक्छु ।
घरमा श्रीमती र छोरीले टीभी हेर्दा तपाईको फोटो बोकेर जुलुस निस्केको देख्नुहुन्छ होला हैन ?
-म जेलमा बस्दा पनि घरमा प्रहरी र सेनाहरु
जान्थे । कन्तुर-सन्तुर फुटाल्ने र मेरा फोटोहरु खोज्ने गर्थे ।
बच्चाहरुलाई हायल-कायल बनाउँथे । हिजो मेरो फोटो खोज्न जान्थे, आज मेरो
फोटो देखाइरहेका छन्, फरक यत्ति हो । त्यसैले उनीहरुले यसलाई धेरै
अस्वाभाविकरुपमा लिएका छैनन् ।
भनेपछि, भुवनको हत्यामा आफू संलग्न छैन भन्ने तपाईको दाबी हो ?
-म संलग्न थिइँन । कागजमा मलाई दोषी देखाइयो र ८ वर्ष यसमा जेल हालियो ।
गल्ती नगरेको भने पनि अदालतले भनेपछि त मान्नैपर्यो नि हैन ? नत्र लोकतन्त्र र कानुनको शासन कसुरी बच्छ ?
-म जेल बस्ने कि नबस्ने, जीवित रहने कि मर्ने भन्ने कुरा मापन गर्ने मान्छे कनकमणि दीक्षित होइन ।
अदालतले नै गरेको छ नि निर्णय ?
-यी पाखण्डीहरुले अदालतको निर्णय
बालकृष्णले मानेन भनेर उचालिराखेका छन् । क्याबिनेटले द्वन्द्वकालको घटना
भएकाले आम माफी दिनुपर्छ भनेर राष्ट्रपतिसमक्ष सिफारिस गर्यो । त्यसपछि
सर्वोच्च फेरि स्टे अर्डर गर्यो र यथास्थितिमा राख्नू भन्यो । यिनीहरुले
बालकृष्ण ढुंगेललाई गिरफ्तार गरेर जेल हालियोस् भनेर सर्वोच्चमा रिट हालेका
थिए । टीकाराम भट्टराई, भीमार्जुन आचार्यजस्ता स्वघोषित संविधानविदहरुले
हालेको मुद्दामा सर्वोच्चले यो मुद्दालाई यथास्थितिमा राख्नू भनेको हो ।
यथास्थिति भनेको के हो ? यथास्थिति भनेको जो जहाँ छ, त्यहीँ रहने हो ।
औंसाहा पार्ने क्ष्मता छ भन्दैमा सर्वोच्च अदालतमा औंसाहा पार्न मिल्छ ?
अदालतको पहिलो निर्णय चाँहि यिनीहरुलाई त्यति धेरै प्यारो लाग्ने ? सरकारले
बालकृष्णलाई माफी दिने भन्यो, तर अदालतले बालकृष्णलाई समातेर जेल
हालिहाल्नू भनेन । अदालतले बालकृष्ण सडकमा छ भने त्यहीँ छाडिदिनू भन्यो ।
माफीको सिफारिस जहाँ पुगेको छ, त्यही छाडिदिनू, राष्ट्रपतिले कलम समातेको
भए समातिराख्नू तर तोक नलगाउनू । अदालतले भनेको यही हो । अदालतले मलाई
सडकमा छ भने त्यहीँ यथास्थितिमा राख्नु भनेको छ, त्यसैले अहिले म सडकमै छु ।
तपाई पनि स्वार्थी हुनुहुँदोरहछ, जेल जा भन्दा चाँहि नजाने, यथास्थितिमै बस्नुभन्दा चाहिँ अदालतको निर्णय मान्ने ?
-म द्वन्द्वरत् पक्षको एउटा सदस्य हो । वृहत् शान्ति सम्झौता सर्वोच्च अदालतले मान्ने कि नमान्ने ?
प्रधानन्यायाधीश रेग्मीलाई
प्रधानमन्त्री बनाएपछि उनले बालकृष्ण ढुंगेललाई थुन्न सक्छन् कि सक्दैनन्
भन्ने मान्छेले प्रश्न उठाइरहेका छन्, यसमा तपाईको व्यक्तिगत भनाइ के छ ?
-बोकाको काम बोकालाई र गोरुको काम गोरुलाई
दियो भनेमात्रै समस्या समाधान हुन्छ । गोरुको काम गाईलाई र गाईको काम
गोरुलाई दिएर समस्या समाधान हुँदैन । यो मेरो व्यक्तिगत धारणा हो । तर,
मुलुकको आवश्यकताले गर्दा बोकाले पनि दाइँ गर्नुपर्ने स्थिति आउन सक्छ ।
जहाँसम्म रेग्मी प्रधानमन्त्री भएपछि मलाई
जेल हाल्ने कुरा छ, त्यो एमालेका युवा नेता रवीन्द्र अधिकारीले उठाउनुभएको
प्रश्न हो । तर, रेग्मी प्रधानमन्त्री बन्ने द्वन्द्व समाधानका लागि हो या
भड्काउनका लागि हो ? रवीन्द्रजी संविधानसभामा मसँग नजिकको सम्बन्ध भएको
मान्छे हो । सवोर्ृच्च अदालतले कानूनको शिरानी हालेर मलाई बलात्कार गर्यो
भन्ने उहाँले मान्नुहुन्थ्यो । तर, अहिले राजनीति गर्ने मान्छेहरु साँच्चै
बेइमान हुन्छन् कि क्या हो, भन्ने अनूभूति मलाई रवीन्द्रजीले गराउनुभएको छ ।
राजनीतिज्ञमा इमान्दारिता खोज्नु मुसाको सिङ खोज्नु सरह हुन्छ कि भन्ने
मलाई लागेको छ । तर, रेग्मीलाई द्वन्द्व समाधानका लागि प्रधानमन्त्री बनाउन
खोजिएको हुनुपर्छ । अदालतमा हुँदा मिसिल हेर्नुपर्ने चापले शान्ति सम्झौता
हेर्न भ्याउनुभएको थिएन भने अब उहाँले त्यसको अध्ययन पक्कै गर्नुहोला ।
तपाईलाई जेल पठाउँदा देशमा द्वन्द्व भड्किने र सडकमा छाडिदिँदा शान्ति स्थापना हुने हो र ?
-म प्रतिनिधि पात्र हुँ । यो आन्दोलनसँग
जोडिएको विषय हो । के बालकृष्ण ढंगेललाई चाहिँ न्याय दिनुपर्दैन ? कानूनको
शिरानी छ भन्दैमा बालकृष्ण ढुंगेललाई चाँहि जे गर्दा पनि हुन्छ ? बालकृष्ण
ढुंगेलले पनि न्याय पाउनुपर्छ । मलाई यो राज्यले साढे ८ वर्ष विनाकारण जेल
हालेको छ, हिटरमा पिसाब फेराएर किड्नी ड्यामेज गराइदिएको छ । यसमा मलाई
क्षतिपूर्ति दिनुपर्छ ।
मेरो अनुरोध छ, आम पत्रकार मित्रहरु, एक
प्याक रक्सीको भरमा समाचार बनाएर नहिँड्नोस् । पत्रकार मित्रहरुलाई अन्यथा
अर्थ नलागोस्, सही सूचना अन्तर्यबाट निकाल्नोस् । तपाईहरुभित्रको विवेकशील
मान्छे निकाल्नोस् । आफूभित्रको मान्छे मारेर समाचार नलेख्नोस् ।
प्रधानमन्त्री अपराधीसँग गाम्नाङ गयो भनेर समाचार लेखियो । तर, गाम्नाङमा
ढुंगेलले गरेको अभियानको पनि समाचार बनाउँदा हुन्छ । बालकृष्णले चलाएको एक
घर एक लिची, एक परिवार एक बगैंचा, सन्तान जन्मेपछि लिची रोपौं, लिची बढेर
फल्न थाल्दा सन्तान बढेर पढ्न थाल्छ भन्ने नाराका साथ म लाहानदेखि लिचीका
बिरुवा लिएर ओखलढुंगे जनताको मझेरी-मझेरीमा पुगेको छु । ‘जनताको कुँडार
कुँडारमा अनार’ भन्दै पुगिराखेको बालकृष्ण ढुंगेललाई पनि देखिदिन म आम
पत्रकारहरुसँग अनुरोध गर्छु । बालकृष्ण ढुंगेल बिन लादेनजस्तो हो भनेर
नबनाउनोस् । यत्रो जनयुद्धकालमा मैले कसैलाई मार्नु त परै जाओस्, कसैलाई एक
थप्पडसम्म पिटेको छैन । तर, मैले जिन्दगीभरि कुटाइ खाएको छु । मैले
अहिलेसम्म मान्छे त के, कुखुरासम्म काटेको छैन ।