Thursday, March 14, 2013

यस्तो रह्यो मेरो विपश्यना अनुभव - mysansar

-मधुसूदन आचार्य, क्यानडा -
विपश्यना अति प्राचिन ध्यानगर्ने बिधि हो । यो बिधि भगवान् बुद्धले आजभन्दा पचिससय बर्ष अघि पत्तालगाउनु भएको थियो। बुद्ध आफैंले विपश्यना ध्यान गर्नु भयो। पछि ४५ बर्ष सम्म त्यसवेलाका मानिसहरुलाई यसको शिक्षा दिनु भयो। बुद्धको समयमा मानिसहरुले विपश्यना ध्यानगरी विभिन्न किशिमका दुःख क्लेसबाट मुक्तिपाई जिवनका हरेक क्षेत्रमा राम्रो सफलता प्राप्त गर्न सफल भएका थिए। विपश्यनाको बिधि नेपाल, भारत, श्रीलंका आदि विश्वका सबै मुलुकमा लोप भएछ तर बर्मामा भने यसलाई राम्ररी जोगाएर राखिएको रहेछ। बर्मामा राखिएको अनमोल विपश्यना बिधि नै अहिले विश्वभरमा अभ्यास गरिंदै छ।
विपश्यना ध्यान एक सरल प्रयोगात्मक तरिकाले गरिने ध्यान हो। यस ध्यानबाट मानिसहरु शान्ति प्राप्त गर्दछन् र सुखी र आनन्दको जिवन निर्वाह गर्न मद्दत गर्दछ। विपश्यनाको शाब्दिक अर्थ हो, प्राकृतिक रुपमा जे जस्तो अवस्थामा चिजहरु छन् तिनीहरुको अवलोकन गर्नु। विपश्यनाको ध्यानबाट आन्तरिक शान्ति महसुस गर्न सकिन्छ, दिमाग, मस्तिष्क शुद्धिकरण गर्दछ र विभिन्न विकारहरुलाई फाल्न मद्दत गर्दछ। यसले गर्दा यो मानव जिवन सुखी, आनन्दमयी हुन्छ र वरपर संसर्गमा आउनेहरुलाई पनि शान्तिमय जिवन ज्ञापन गर्न उत्प्रेरणा दिन्छ।
विपश्यना ध्यान गर्न कम्तिमा पनि १० दिने कक्षा लिनु पर्दछ र उक्त अबधिभर ध्यानकेन्द्रमा नै बस्नु पर्दछ। विपश्यना १० दिने कक्षामा सहभागि हुन बडो दृढ संकल्प चाहिन्छ। १० दिन परिवार, आफन्तसंग विछोड सम्पर्क विहिन भएर बस्नुपर्ने, आफ्नो दैनिक ब्यस्त जिवनको १० दिन यसमा खर्च गनु एउटा बहुत कठिन निर्णय हो। १० दिन सम्म शाकाहारी खाना मात्र खानपाइने मांसाहारीका लागि अर्को चूनौतिको बिषय हो। त्यस्तै मदिरा खान नपाइने, शिक्षक वा व्यवस्थापनका पदाधिकारीहरुसंग बाहेक अन्य कोहिसंग पनि ९ दिनसम्म बोल्न नपाइने, अहिलेको संचार माध्यमको युगमा टेलिभिजन, फोन, कम्प्यूटर आदि कुनैपनि सामान प्रयोगगर्न नपाईने, लेख्न र पढन समेत प्रतिबन्ध हुनु सांच्चिकै कडा नियम हो। १० दिनसम्म ध्यानकेन्द्रको वपिरि तोकिएको क्षेत्र भित्रमात्र विश्रामको समयमा हिंडडुल गर्न पाईने, आफुले मानि आएको देवी देवताको माला जप्न, स्तोत्र किताव आदि वाचन गर्न नपाईने वा नित्यकर्म गर्न पनि निशेष गरिएको हुन्छ जुन यस्ता कर्मगर्नेहरुका लागि गाह्रो बिषय हो।
विपश्यनाका यि नियमहरु सरसरी हेर्दा सबै गृहस्थी नेाकरी गर्ने वा पढने, त्यसमा पनि शहरमा बस्ने ब्यक्तिहरुको लागि “यस्तो गाह्रो नियम पनि पालना गर्न सकिन्छ र?” भन्ने लाग्न सक्नु स्वभाविक हो। यस्तै विचारहरु पनि मेरो मनमा नआएको हैन।
आजभन्दा करिव २५ बर्ष अघि नै विपश्यना ध्यानकेन्द्र काठमाण्डौमा छ भन्ने कुरा साथीबाट थाहा भएको थियो। तर त्यसबखत मनमा रत्तीभर पनि ध्यानगर्न जाने इच्छा, चाहना रुची भएन। तर, समय बलबान हुंदो रहेछ। मलाई पनि १०, १० दिनसम्म कहां त्यस्तो गाह्रो नियम पालना गर्न सकिन्छ, फूर्सद मिलाउन सकिन्छ जस्तो लागेर १ दिने कक्षाको खोजी गर्न थालें। १० दिने कक्षा लिइसकेकाले मात्र १ दिने अभ्यास कक्षा संचालन हुंदो रहेछ भन्ने थाहा भयो। त्यस्तै एकजना साथीले भन्नु भएको थियो कि उहांको बुबा काठमाण्डौमा विपश्यना कक्षा संचालन भएको तेस्रोदिन ब्यबस्थापन पक्षसंग झगडा गरी कक्षा छोडि बाहिर निस्किनु भएको थियो भनेर। यो सुन्दा त झनै मलाई पनि कतै म पनि कक्षा पुरा गर्न नसकि बिचमै छोडनु पर्ने त हैन भन्ने मनमा शंका उब्जेको पनि थियो। के गरौं भन्दै केहि महिना विताएपछि, जेसुकैहोस एकचोटि १० दिने कक्षामा नै नाम लेखाउनु पर्यो भनी मनमा दृढ निश्चय गरी फेव्रुअरी १४, २०१३ मा संचालन हुने १० दिने कक्षाकालागि डिसेम्बर १५, २०१२ का दिन दर्ता गर्दा सिट नपाएर प्रतिक्षा सूचिमा थिए, पछि जनवरी १९, २०१३ का दिन बल्ल नाम दर्ता भयो भनेर इमेल आयो।
कक्षा संचालन हुने दिन भन्दा एक दिन अघि नै ध्यानकेन्द्र पुग्नुपर्ने नियम अनुसार फेब्रुअरी १३ का दिन पुगें। त्यहां फेरि नाम लेखाई आफ्नो सुत्ने कोठाको नम्बर लिई समान राखें। बेलुकि ७ बजेदेखि नै सबै नियम लागु भयो र कक्षा शुरु भयो। १० दिने कक्षा पुरागरी अहिले घर फर्केपछि आफ्ना अनुभवहरु सबैसंग बांडौ भनी यो लेख लेख्न उत्प्रेरित भएं।
विपश्यना भनेको प्रयोगात्मक, वैज्ञानिक तरिकाको दिमागको व्यायाम रहेछ। शरिर तन्दरुस्त राख्न जिम वा स्विमिड.पुल गए जस्तै १० दिने विपश्यना गरेमा दिमागको व्यायाम भई दिमाग एकाग्रता गर्न सजिलो हुंदो रहेछ भन्ने थाहा भयो। धर्ममा आस्था हुने वा नहुने, जुनसुकै धर्म, वर्ण, भाषा, देशका मानिसकालागि यो उपयोगीहुने प्रयोगात्मक तरिकाले गरिने ध्यान रहेछ। ध्यान गर्दा कुनै पनि देवी देवताको आकृतिलाई संम्झनु पर्दैन, त्यस्तै कुनै पनि मन्त्रहरुको उच्चारण गर्नु पदैन। कुनैपनि शब्दहरुलाई दोहर्याउनु पर्दैन। पहिले प्राकृतिक तरिकाले दिमागलाई केन्द्रित गर्न अभ्यास गराइन्छ। धेरै बोलेमा, धेरै सूचनाहरु प्रवाहभएमा दिमाग अस्थिर हुन्छ, चन्चल हुन्छ, एकाग्र हुन गाह्रो हुन्छ, त्यसैले ति सबै नियमहरु पालना गर्नुपर्ने रहेछ।
भगवान् बुद्धले त्यतिबेलाका सम्पूर्ण धार्मिक ग्रन्थहरुको अध्ययन गरी विभिन्न गुरुहरुबाट शिक्षा लिंदा पनि ज्ञान प्राप्त नभएपछि रुखमुनि शान्त वातावरणमा बसी आफ्नो शरिरभित्र केन्द्रित भई ध्यान गर्दा ज्ञान प्राप्त भएको थियो। सोहि ज्ञानका आधारमा नै विपश्यना ध्यान सिकाइँदो रहेछ।
कक्षा सुरुभएको एक दुईदिन अलि गाह्रो जस्तो चाहिं लाग्दो रहेछ। तर ध्यानगर्दा पद्यमासनमा नै बस्नु पर्ने भन्ने नियम रहेनछ। टुक्रुक्क बसेपनि, घुंडाघसेर बसेपनि पाइने रहेछ, बेलाबखतमा बस्ने पोजिसन बदलिन पाइने भएकोले गाह्रो हुंदो रहेनछ, बानी पर्ने रहेछ।
१० दिने कक्षा सकिएपछि जिउ फुर्तिलो भएको छ, मस्तिष्क चंगा भएको छ। मनमा नयां जोश, जांगर भरिएर आएको छ। मानव जिवनका बारेमा मना रहेका अनुत्तरित धेरै प्रश्नहरुको जवाफ मिलेको छ। जिन्दगीमा गर्नुपर्ने एउटा राम्रो काम गरिएछ जस्तो लागेको छ, ठूलो उपलब्धि प्राप्त भएको लागि रहेको छ। मनमा शान्ति मिलेको छ। जिवनका लागि मनमा एउटा राम्रो मार्ग दर्शन मिलेको छ। मैले यो कक्षा किन अगाडि लिइन हेाला जस्तो पनि लाग्यो एक पटक त।
राजा असोकले बुद्धको ज्ञानबाट बढी भन्दा बढी मानीसहरु लाभान्वित हुन भनेर बुद्धका सन्देश, ज्ञान भारतबर्ष लगायत एशियाका देशहरु, खाडी राट्र र यूरोपसम्म पनि प्रचारगर्न भिक्षुहरु एवं ज्ञानप्राप्त गरेका ब्यक्तिहरु पठाएका थिए। यहि क्रममा बर्मामा पनि दुई भिक्षुहरु सोना र उत्तरा पुगेका थिए। बुद्धको ज्ञान, सन्देशका धार्मिक ग्रन्थहरु सबैतिर जगेर्नागरी राखिएपनि विपश्यना ध्यानकाबारे भने बर्मामा बाहेक अन्य देशमा लोप भएको रहेछ। बर्माको गुम्बामा भने भावी सन्ततीका लागि आवश्यक पर्छ भनी विपासना लगायतका सम्पूर्ण बुद्धकाज्ञानहरु राम्रो जतनकासाथ राखिएको रहेछ।
सन् १९२४ मा बर्मामा जन्म भएका भारतीयमूलका एक नागरिक सत्यनारायाण गोएन्का बर्माको हिन्दुसंघका पनि अध्यक्ष थिए। उनी एक सफल व्यापारी थिए जसको ब्यापार जापान, सिंगापुर सम्म फैलिएको थियो। उनी अचानक एक प्रकारको माइग्रेन टाउको दुख्ने रोगबाट पिडित भएछन्। एशियाका उपचार नभएपछि यूरोप तिरपनि उपचार गराउन गएछन् तर त्यो रोगको कुनै उपचार नभएपछि डक्टरहरुले उनलाई मर्फिन दिन थालेछन्। उनलाई झण्डै मर्फिनको लत नै लाग्न थालेछ। त्यसै बिचमा उनका एकजना साथीले उनलाई औषधिबाट तिम्रो उपचार भएन, एकचोटि गुम्बामा गएर १० दिनको विपश्यना ध्यानगरी हेरन, के बिग्रन्छ र? भनेछन्। सोही सल्लाह अनुसार उनी बर्माका ख्यातिप्राप्त विपश्यना शिक्षक स्यागयी उ वा किन बाट १० दिने ध्यानको कक्षा लिएछन्। त्यसबाट उनको रोग निको हुनुको साथै उनमा बुद्धका विभिन्न ज्ञान तथा सन्देशमा रुचीबढेछ र त्यसको राम्रो अध्ययन गरेछन् र यसैमा लिप्त भएछन्। त्यसपछि उनी आफै बर्मामै पिश्यनाको अध्यापन गराउन थालेछन्। सन् १९६९ देखि भारतमा विपश्यना कक्षा संचालन गर्न शुरुगरेछन् र त्यसको दशबर्ष पछि भारतबाहिर विश्वका अन्य मूलुकमा पनि अध्यापन गराउन शुरुगरेछन्।
आज विश्वभर ९० भन्दा बढी देशहरु विपश्यना ध्यान सिकाइन्छ। ध्यानकेन्द्रमा गुरु गोएन्काबाट शिक्षा पाएका स्वयंसेवी सहायक शिक्षकहरु हुन्छन्। गुरु गोएन्काबाट सिकाइएको ध्यानका विधिहरुको अडियो बजाई प्रशिक्षाथीहरुलाई ध्यान सिकाइन्छ। त्यस्तै गोएन्काको प्रवचनको भिडियो हरेक दिन सांझ सुनाइन्छ। केहि प्रश्नहरु भएमा सहायक शिक्षकलाई सोध्न सकिन्छ। हरेक ध्यान केन्द्रमा पुरुषहरुका लागि एक पुरुष सहायक शिक्षक र महिलाहरुकालागि एक महिला सहायक शिक्षिका ध्यानको समयमा बस्नु हुन्छ। खाना पकाउने र ध्यान व्यवस्थापन गर्ने सबै स्वयंसेवीहरुबाट हुन्छ। ध्यानगर्न १० दिने कक्षामादर्ता गर्दा वा ध्यानका लागि कुनै शुल्क तिर्नु पर्दैन। बस्ने, खाने सबै निःशुल्क छ। ध्यानको १० दिने कक्षा सकिएपछि आफ्नो गच्छे अनुसारको दान रकम दिए हुन्छ। अरुले दिएका दानबाट आफुले ध्यान गर्दा बस्न खान पाइयो त्यसरी नै पछि अरु आउनेहरुले पनि आफुले दिएको दानबाट त्यसरी नै लाभ उठाउन सकुन भनेर दान संकलन गरिन्छ।
हरेक दिन सांझ ७ वजे देखि करिव एक घण्टाको प्रवचनको भिडियो बजाइन्छ। गुरु गोएन्काले प्रवचनका क्रममा बुद्ध धर्मका उपदेश, बुद्धका समयमा भएका घटनाहरुको कथा आदि सुनाउनु हुन्छ। १० दिन सम्म वेग्ला वेग्लै प्रवचनको भिडियो बजाइन्छ। अति प्रष्ट, राम्रो उदाहरणहरु दिएर भनिएको प्रवचन सुनीरहुं जस्तो लाग्दछ। दिनमा पनि कतिवेला सांझपर्ला र फेरी प्रवचन सुन्न पाइएला जस्तो हुन्छ। प्रवचनको सार कुरा, मानिसमा अहंपन र माया मोह (एट्याचमेन्ट) नै दुःखको मुख्य कारण हो। त्यस्तै भौतिक चिजहरु संग्रह गर्ने, प्रँप्तगर्ने अभिलाषा, आफु सधै ठिक आफु वाहेक अरु सबै गलत भन्ने सोचाई पनि दुःखको अर्को कारण हो। कुनै सुखदकुरा भएमा त्यसमा अति नै रमाई रहने र दुःख भएमा चिन्तित हुनु पनि दुःखको कारण हो। सुख दुःख सबै अवस्थामा समान दृष्टि, समान व्यवहार गर्न सके जिवन उत्तम हुन्छ। नियम पूर्वक आय आर्जन गर्नु, परिवार पाल्नु, अलिकति सहयोग समाजमा पनि गर्नु, झुठो नबोल्नु, सबै प्राणीमा दया माया गर्नु, कुनै कुरामा तुरुन्त प्रतिक्रिया नदिइहाल्नु, सोचेर सम्झेर विचार गरेर मात्र केहि बोल्नु आदि गरेमा जिवन सुखमय बन्छ र समाज पनि राम्रो बन्छ भनी प्रवचनमा भनिएको छ।
नेपाल, भारत, अमेरिका, ब्रिटेन, न्यूजिल्याण्ड र ताइवान देशका कारागारका बन्दी तथा कर्मचारीहरुलाई विपश्यनाको १० दिने कक्षा दिइएको थियो। दिल्लीको पुलिस भर्नाकेन्द्रमा हजारौं पुलिसहरुले तालिम स्वरुप १० दिने विपश्यना कक्षा लिएका छन्। भारतको दुईवटा कारागारमा स्थायी विपश्यना केन्द्र छन् जसबाट दशहजार भन्दा बढी कैदीहरुले तालिम लिईसकेकाछन्। विपश्यनाको १० दिने ध्यान बर्माको एउटा सरकारी मन्त्रालयले सबै कर्मचारीहरुलाई लिन लगाएको थियो जसबाट उक्त मन्त्रालयम अनिमियतता पूर्णरुपमा निर्मूल भयो। सन् २००० मा, नेशनल इन्स्टिच्यूट अफ हेल्थ ले यूनिभर्सिटि अफ वासिड.गटन, अमेरिका लाई ३ बर्ष सम्म विपश्यना ध्यान पछिको दिर्घकालिन प्रभावको अध्ययन गर्न रकम दिएको थियो। त्यस्तै अलवामा र सनफ्रान्सीस्को जेलमा पनि विपश्यना ध्यानको कक्षा संचालन गरिएको थियो। सन् १९९६ मा, महाराष्ट्र भारतमा कर्मचारीहरुलाई तनावबाट मुक्तिपाउन भनेर हरेक तीन बर्षमा १० दिने विपश्यना कक्षामा सहभागीहुन तलवी विदा दिने व्यवस्था गरिएको थियो।
विपश्यना ध्यानको आज पश्चिमि मुलुकमा व्यापक प्रचार भएको छ। यसको उपयोगीता र तुरुन्त प्रभाव पार्ने भएकाले पश्चिमिदेशमा ध्यानगर्न मानिसहरुको संख्या बढदो छ। भर्खरका विद्यार्थी, कर्मचारी सबै उमेरका मानिसहरुको यसप्रति रुची बढी रहेको।
बुझ्नेलाई यो श्रीखण्ड हो, नबुझ्नेलाई खुर्पाको बिंड भने जस्तै हो। विपश्यना श्रीखण्ड हो भनेर यहांहरु सबैलाई जानकारी गराउन र तपाईहरुका अनुभव पनि पढनका लागि यो लेख लेखेको छु। तसर्थ जिवनमा एक पटक गर्नुपर्ने एउटा महत्वपूर्णकाम विपश्यना ध्यान हो भनेर नोट गरी आफ्नो व्यस्त जिवनबाट १० दिन निकाल्नु हुनेछ र नजिकको विपश्यना ध्यानकेन्द्रबाट १० दिने कक्षा लिनुहोला भन्ने आश गरेको छु, यसलाई खुर्पाको बिंड भनेर नफाल्नु होला। धन्यवाद ।
थप जानकारी र विश्वका विभिन्न देशमा हुन लागेको १० दिने शिविरबारे जानकारी लिन यहाँ क्लिक गर्नुस्