तीन दिनको लगातार बिदापछि सोमबार खुलेका
सरकारी कार्यालय मंगलबार फेरि बन्द भएका छन् । सरकारले नै सार्वजनिक बिदा
दिएका कारण कार्यालय बन्द भएका हुन् । ग्याल्बो ल्होसार भन्दै सार्वजनिक
बिदा दिएपनि यो पर्व भने महिना दिनअघि नै मनाइएको बल्ल थाहा भएको छ ।
पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र बिभिन्न राजनीतिक
दलले शुभकामना सन्देश पनि आजै दिएका छन् ।
दोष कसको ?
पञ्चांग निर्णायक समितिले चाडपर्व र तिथि
निर्धारण गरेर सार्वजनिक बिदाको सूची सहित गृहमन्त्रालयलाई सिफारिस गर्छ ।
मन्त्रालयले समितिको सिफारिसकै आधारमा सार्वजनिक बिदाको निर्णय गर्ने गरेको
छ । ‘हामीलाई पञ्चांगले जे दियो, त्यही आधारमा सार्वजनिक बिदा घोषणा गर्ने
हो’ मन्त्रालयका सहसचिव भोला शिवाकोटीले अनलाइनखबरसित भन्नुभयो-’सरकारले
सबै ल्होसारमा सार्वजनिक बिदा दिन्छ, त्यही आधारमा आज पनि बिदा दिइएको हो
।’ तर ग्याल्बो ल्होसार मनाउने शेर्पा समुदायले भने मंगलबार कुनै पर्व
मनाउने कार्यक्रम नभएको बताएका छन् । ‘यसपटक सोनाम ल्होसारसँगै हाम्रो पर्व
पनि परेकाले ग्याल्बो ल्होसार माघमै मनाइसक्यौं’ आचार्य नुर्बु शेर्पाले
भन्नुभयो-’पञ्चांग निर्णायक समितिले हाम्रो समुदायसित कुनै परामर्श नलिई
निर्णय गरेकाले यस्तो भएको हो ।’
शेर्पा समुदायले पञ्चांग निर्णायक
समितिलाई दोष दिएको छ । तर समितिका पदाधिकारी भने आफूहरुको गल्ती नभएको
बताउँछन् । ‘ग्याल्बो ल्होसार फाल्गुन शुल्क प्रतिपदाका दिन मनाउने परम्परा
अनुसार नै हामीले एक वर्षअघि आजको दिनलाई पर्व तोकेका हौं’ पञ्चांग
निर्णायक समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले अनलाइनखबरसित
भन्नुभयो-’यदि गल्ती भएको भए त पहिल्यै भन्नुपथ्र्यो, सच्याउन सकिन्थ्यो ।’
समितिले २०६९ सालको पात्रो वर्ष दिन पहिले नै निकालेको हो ।
गल्ती भएको कुरा थाहा पाउन ढिलाई
ग्याल्बो ल्होसार आज हैन भन्ने कुरा समयमै
थाहा भएको भए आजको बिदा सच्याउन सकिने सरकारले जनाएको छ । ‘पञ्चांग
निणर्ायक समितिले पहिले नै हामीलाई गल्ती सच्याएर आजको बिदा कटौति गर्ने
सिफारिस गरेको भए आज बिदा हुन्नथियो’ मन्त्रालयका सहसचिव शिवाकोटीले
भन्नुभयो । त्यसो त समितिले पनि समयमै शेर्पा समुदायले गल्ती औंल्याएको भए
सच्याउन सकिने जनाएको छ । ‘उहाँहरुले अहिले आएर बिरोध गर्नुभयो, पात्रो
निस्केको त वर्ष दिन पहिले हो’ समितिका सदस्यसचिव ढुंगेलले भन्नुभयो-’समयमै
भनेको भए हामी सच्याउन सक्थ्यौं ।’