Monday, March 11, 2013

रुस, युरोप, अफ्रिका, एशिया र नेपालसम्म लगानी गरेका उपेन्द्र आखिर किन छैनन् फब्र्सको सूचीमा - bizmandu

फब्र्सको अर्वपती सूचीमा विनोद चौधरी र परिवार पहिलोपटक एक अर्ब डलर(८८ अर्ब रुपैयाँ)को सम्पत्तीसहित परेका छन्, के नेपालमा चौधरी मात्रै अर्ब डलरका मालिक हुन् ?
तथ्यांक र सूचनालाई केलाउने हो भने अर्वपतीको सूचीमा गैरआवासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो पनि पर्छन् । चौधरीले सिंगापुरलाई केन्द्रविन्दु बनाएर भारत, श्रीलंका, मालदिभ्स, मलेसिया, दुवई, अमेरिका, अफ्रिकामा लगानी विस्तार गरे झैं महतोको लगानी पनि बेलारुसलाई केन्द्रविन्दु बनाएर रुस, युरोप, अफ्रिका, एशिया र नेपालसम्म लगानी विस्तार गरेका छन् ।
महतो नेपालको दोस्रो ठूलो कर तिर्ने र नेपालमा सबैभन्दा बढी मुनाफा गर्ने कम्पनी एनसेलका २० प्रतिशतका साझेदार हुन् । एनसेलमा अहिलेसम्म झण्डै ५० अर्ब रुपैयाँको लगानी भैसकेको छ । कम्पनीले सन् २०१२ मा ३६ अर्ब रुपैयाँको कारोवार गरेको थियो ।
त्यसबाहेक महतोको बेलारुसमा ठूलो लगानी छ, उनले सिन्थेसिस विकास इन्भेष्टमेन्ट कम्पनी र बिएनके होल्डिङ्गसबाट ज्वाइन्ट स्टक कम्पनी(जेएससी) एम्काडोरमा लगानी गरेका छन् । एम्काडोर बेलारुसमा सबैभन्दा बढी रोजगारी दिने, सबैभन्दा बढी रकमको कारोवार गर्ने कम्पनी हो । यो कम्पनीले सन् २०११ मा मात्रै २६ अर्ब डलरको कारोवार गरेको थियो । यो कम्पनीमा उपेन्द्र महतो एक्लैको ६० प्रतिशत सेयर लगानी छ ।
डोजर, क्रेनजस्ता ८० मोडलका हेभी इक्युपमेन्ट उत्पादन गर्ने कम्पनी एम्कोडरका बेलारुसलगायत रुस र युरोपमा गरी १६ वटा ठूला/ठूला प्लान्ट छन्, यो कम्पनीका उत्पादन ३० देशमा विक्री हुन्छन्, कम्पनीमा सात हजार कर्मचारीले काम गर्छन् ।
यसबाहेक रुसमा उपेन्द्रले एमटिजेड (मस्को टेलिभिजन प्लान्ट) रुविनमा लगानी गरेका छन्, यो रुसको सबैभन्दा पुरानो टेलिभिजन सेट उत्पादन गर्ने कम्पनी हो । त्यसबाहेक रियलस्टेट कम्पनी रुविनमा पनि उपेन्द्र महतोको लगानी छ । रुविनले मस्कोमा ‘बिजनेस सेन्टर रुविन’ निर्माण गरेको छ, रेस्टुरेन्ट, सम्मेलन केन्द्र, व्यापारिक स्थल भएको यो सेन्टर मस्कोको व्यापारिक केन्द्र पनि हो । त्यसैगरी, बुहउद्देश्यीय व्यापारिक कम्प्लेक्स फिलीओनमा पनि रुविनको स्वामित्व छ । तीन दशमलव ४७ हेक्टर क्षेत्रफलमा फैलिएको यो कम्प्लेक्समा चारतले सपिङ मल, रेस्टुरेन्ट, मनोरञ्जन हललगायत १५ सय गाडी अट्ने पार्किङ सुविधा छ ।
रुविनको स्वामित्वमा होटल एन्ड बिजनेस सेन्टर पनि निर्माणधिन छ, यो सेन्टरमा २५ तला, १३ तला र ६ तलाको तीन होटल रहनेछ भने तीनतले भूमिगत पार्किङ पनि हुनेछ । त्यस्तै रुविनको स्वामित्वमा मस्कोमै वेस्ट साइड  र इजोमरुद नाम गरेका दुइटा आवासीय कम्प्लेक्स पनि छन् । २४ तलाको वेस्ट साइड आवासीय कम्प्लेक्समा २ सय १९ अपार्टमेन्ट छन् भने इजोमरुदमा एक सय अपार्टमेन्ट छन् । रुविनसँग मस्कोको ‘टिसी गोर्वुस्किन द्भार’ सपिङ मलको स्वामित्व पनि छ । युरोपको सम्भवत सबैभन्दा ठूलो विद्युतीय तथा घरायसी सामग्री बिक्री गर्ने यो मलमा ६० हजार स्क्वायर मिटरको क्षेत्रफल छ । यो मलमा महिनामा १५ देखि २० लाख उपभोक्ता पुग्ने गर्छन् । महतो परिवारले बेलारुसमा सात सय सैयाको क्राभिरा अस्पताल पनि सञ्चालन गर्छ । क्राभिराले बेलारुसमा औषधि उत्पादन तथा बजारीकरणका लागि पनि काम गर्न खोजिरहेको छ ।
यसैगरी, उपेन्द्रको लगानी बेलारुसको सबैभन्दा ठूलो बैंक अल्फा बैंकमा पनि छ । त्यसबाहेक उपेन्द्रको लगानी पेट्रोलियम पदार्थ उत्खनन तथा बिक्री गर्ने कम्पनीमा पनि छ । उपेन्द्रसँग साइप्रसको टाइमटर्न होल्डिङ्गस् कम्पनी छ, यही कम्पनीले कम्बोडियामा लाटेलज, बुरुण्डीमा लासेल सु, सेरालिओनमा इन्टरग्रुप टेलिकम, तान्जानियामा बेनसन इन्फोम्याटिकस, युगाण्डामा स्योर टेलिकम र कंगोमा योज्मा टाइमटर्न एसपिआर कम्पनी चलाइरहेका छ । नेपालमा पनि एनसेल मात्र होइन, सानिमा बैंक, माछापुच्छ्रे बैंक, सानिमा हाइड्रो लगायतका दर्जनौं परियोजनामा उपेन्द्रको लगानी छ ।
किन परेनन् उपेन्द्र
फब्र्सको विलिनियर लिस्टमा प्रवेश गर्न दुईवटा बाटा छन्, एउटा हो, उनीहरुको रडारमा पर्नु, दोस्रो हो, मसँग यति सम्पत्ती छ भनेर विवरण बुझाउनु । चौधरीले फब्र्सको सूचीमा पर्नका लागि मसँग एक अर्ब डलरको सम्पत्ती छ भन्ने विवरण बुझाएका थिए, जुन विषयलाई उनले मंगलवार विभिन्न पत्रिकालाई दिएको अन्र्तवार्तामा पनि समावेश छ । चौधरीजस्तै सन् १९९९ को सूचीमा पर्न साउदी अरवका राजकुमार अलवादिन विन तलालले पनि विवरण बुझाएका थिए । फब्र्सलाई चुनौती दिंदै पत्र लेखेपछि यो तथ्यालाई फब्र्सले मंगलवार सार्वजनिक गरेको थियो ।
उपेन्द्रले कहिल्यै पनि आफूसँगको सम्पत्तीका विषयमा खुलेर कुरा गर्दैनन्, दुई वर्ष अघिको एउटा अन्र्तवार्तामा तपाईंसँग कति छ सम्पत्ती भन्ने प्रश्नमा उनी खुलेनन्, उनले मुस्काउँदै भन्न थाले, ‘सबैभन्दा धनी भनिएपछि सम्पत्तिका बारेमा चासो राखिनु स्वाभाविक हो । तर, एउटा उद्यमीको सम्पत्ति ऊसँग भएको नगद होइन, उसको लगानीको बजार मूल्य हो, म आफ्नो सम्पत्ति यतिउति छ भन्न चाहन्न“ । तर, राम्रै अवस्थामा छु, धेरै धनी हुने इच्छा छैन, तर मनले निक्कै धनी छु ।’ उपेन्द्रले अर्वपतीको सूचीमा आउनका लागि अहिलेसम्म आफ्नो लगानी, प्रतिफल र ऋणको विवरण फब्र्सलाई बुझाएका छैनन्, फब्र्सको सूचीमा पर्ने दोस्रो बाटो अन्र्तगत उनी अहिलेसम्म फब्र्सको रडारमा पनि परेका छैनन् । यही कारण उनी फब्र्सको सूचीमा छैनन् ।
चौधरीलाई किन चाहियो फब्र्स
विनोद चौधरी एकातर्फ गुलेली हान्छन्, दोस्रोतर्फ सिकार हुन्छ । उनले यही रणनीति अनुसार फब्र्समा आफ्नो नाम राख्न लगाएका हुन् । फब्र्सको सुचीमा नाम आएपछि नक्कली भ्याट विलको दागलाई मेटाउन सहज हुनेछ, अन्तराष्ट्रिय व्यापार विस्तारका लागि बाटो खुल्नेछ । तर सूचीमा आउनु व्यवसायिकभन्दा पारिवारिक कारण प्रमुख रहेको स्रोतको दावी छ ।
अरु पनि सम्भावित छन्
प्रभाकर राणासँग पनि कम सम्पत्ती छैन्, ४५ मेगावाटको विद्युत उत्पादन गर्ने भोटेकोसी राणाको कम्पनी हो । पान्डा इनर्जीसँग ७५ प्रतिशत सेयर किनेर आफ्नो स्वामित्वमा लिएको भोटेकोसीले मात्रै प्रभाकर परिवारलाई वर्षमा अर्ब रुपैयाँभन्दा बढीको लाभांस दिन्छ । भोटेकोसीको प्रवद्र्धक हिमाल इन्टरनेटशनल इनर्जी, हिमाल इन्टनरेशनल पावर कर्पोरेशन र तारा फण्ड राणाका कम्पनी हुन् । देशको सबैभन्दा ठूलो कारोवार गर्ने निजी क्षेत्रको कम्पनी सिप्रदी टे«डिङ्ग राणाकै कम्पनी हो भने वार्षिक सात अर्बभन्दा बढी राजस्व बुझाउने सूर्य नेपालमा पनि राणाको २० प्रतिशतभन्दा बढी सेयर हिस्सा छ, उनीसँग अमरावती इन्टरनेशनल, अमरावती ट्राभल्स, मर्यस्क नेपाल, सूर्य फण्ड प्रा.लीको पनि सेयर छ ।



अमेरिकी म्यागेजिन फोर्ब्सले एक अर्ब डलर सम्पति हुने विश्वका सबैभन्दा धनीहरुको सूचिमा नेपालका विनोद चौधरीको नाम पनि समेटेपछि उनको चर्चा यतिखेर चुलिएको छ। यो सूचिमा अहिलेसम्म कुनै पनि नेपाली परेका थिएनन्। तर किन ? के अरु कुनै नेपाली विनोद चौधरी जत्तिको धनी छैनन् ? एकै पटकमा करोडौँ रुपियाँ दान दिने उपेन्द्र महतो चाहिँ चौधरीभन्दा ‘गरिब’ हुन् र ? रुसमा मल्टिबिलिनियरका रुपमा चिनिने महतो फोर्ब्सको धनीको सूचिमा चाहिँ किन छैनन् ? एक अर्ब डलर बराबरको सम्पति नभएरै हो त ? जसरी मिस वर्ल्डमा भाग लिने र जित्ने मात्र विश्वका सबैभन्दा राम्रा सुन्दरी हुँदैनन्, त्यसमा सहभागी नहुने उनीहरुभन्दा राम्री राम्री सुन्दरीहरु पनि यो संसारमा हुन्छन्, त्यसरी नै फोर्ब्सको सूचिमा नभएर पनि उनीहरु जस्तै र उनीहरुभन्दा धनी मान्छे संसारमा छन्।
------------------------------------------------------------------------


विनोद चौधरीभन्दा उपेन्द्र महतो गरिब ? - mysansar



कति सम्पति छ महतोसित ?
रुस र बेलारुसलाई केन्द्र बनाएर महतोले युरोप, अफ्रिका, एसिया र नेपालसम्म लगानी गरेका छन्। नेपालमा सबैभन्दा धेरै कर तिर्नेमा दोस्रो र सबैभन्दा बढी नाफा कमाउने कम्पनी एनसेलको २० प्रतिशतको साझेदार हुन् महतो। खासमा एनसेलको पुरानो नाम मेरो मोबाइल छँदा उपेन्द्र महतो कै नेतृत्वमा सञ्चालन भएको थियो। पछि युरोपको टेलियासोनेरालाई उनले ८० प्रतिशत शेयर बेचेका थिए। पछि फेरि उनले निरजगोविन्द श्रेष्ठलाई २० प्रतिशत सेयर हस्तान्तरण गरेका थिए। टेलियासोनेराका अनुसार त्यो २० प्रतिशत सेयर पनि उसले किनिसकेको छ।
त्यसैगरी हेलो नेपाल ब्रान्डको नेपाल स्याटेलाइटमा पनि उपेन्द्र महतोको साइप्रसी कम्पनी एअरवेलले ७५ प्रतिशत लगानी गरेको थियो। गत मे २०१२ मा टेलियासोनेराले एअरवेलको नाममा रहेको १०० प्रतिशत सेयर किनिसकेको छ। २८ मिलियन डलरभन्दा बढी त यो हेलो नेपालको सेयर बेचेर मात्रै उनले कमाएका छन्। एनसेल जस्तो चलेको कम्पनीको सेयर झन् कतिमा बिक्री भयो होला, आफै अनुमान लगाउनुस्। एनसेल र नेपाल स्याटेलाइटको सेयर बेचेर मात्रै २४ अर्ब रुपियाँ महतोले लगेको एउटा हचुवा अनुमान छ। एनसेलको सेयर बेचेवापत् करमात्रै उनले ६० करोड रुपियाँ तिरेका छन्।
यो त भयो उनको लगानी र सम्पतिको एक सानो पाटोमात्रै। नेपालमा त्यसबाहेक सानिमा विकास बैंक, सानिमा हाइड्रोपावर, स्टेन्डर्ड फाइनान्स, एक्मी कलेज अफ इन्जिनियरिङ, कान्तिपुर टेलिभिजन, शिखर इन्सुरेन्स, मेडिकेयर हस्पिटल आदिमा उनको लगानी छ।
नयाँ पत्रिकामा उनको विदेशमा लगानी बारे फेहरिस्त नै छापिएको थियो केही वर्षअगाडि। त्यस अनुसार मस्कोमा उनले सबैभन्दा ठूलो लगानी रियलस्टेट र विद्युतीय उपकरण उत्पादन कम्पनीमा गरेका छन्। बेलारुसमा उनले हेभी इक्युपमेन्ट उत्पादन, स्वास्थ्य, बैंक, कृषि, वन र तेल उत्खनन्मा लगानी गरेका छन्।
रुसमा लगानी-
रुसको एमटिजेड (मस्को टेलिभिजन प्लान्ट) रुविनमा, यो टेलिभिजन सेट उत्पादन गर्ने कम्पनी हो।
रियलस्टेट कम्पनी रुविनमा लगानी। रुविनले मस्कोमा ‘बिजनेस सेन्टर रुविन’ निर्माण गरेको छ, रेस्टुरेन्ट, सम्मेलन केन्द्र, व्यापारिक स्थल भएको यो सेन्टर मस्कोको व्यापारिक केन्द्र पनि हो। बहुउद्देश्यीय व्यापारिक कम्प्लेक्स फिलीओनमा पनि रुविनको स्वामित्व। तीन दशमलव ४७ हेक्टर क्षेत्रफलमा फैलिएको यो कम्प्लेक्समा चारतले सपिङ मल, रेस्टुरेन्ट, मनोरञ्जन हललगायत १५ सय गाडी अट्ने पार्किङ सुविधा।
रुविनको स्वामित्वमा होटल एन्ड बिजनेस सेन्टर, सेन्टरमा २५ तला, १३ तला र ६ तलाको होटल रहनेछ भने तीनतले भूमिगत पार्किङ। त्यस्तै रुविनको स्वामित्वमा मस्कोमै ‘वेस्ट साइड’ र ‘इजोमरुद’ नाम गरेका दुइटा आवासीय कम्प्लेक्स। २४ तलाको वेस्ट साइड आवासीय कम्प्लेक्समा २ सय १९ अपार्टमेन्ट छन् भने इजोमरुदमा एक सय अपार्टमेन्ट।
रुविनसँग मस्कोको ‘टिसी गोर्वुस्किन द्भोर’ सपिङ मलको स्वामित्व। युरोपको सम्भवत सबैभन्दा ठूलो विद्युतीय तथा घरायसी सामग्री बिक्री गर्ने यो मलमा ६० हजार स्क्वायर मिटरको क्षेत्रफल छ। यो मलमा महिनामा १५ देखि २० लाख उपभोक्ता पुग्ने गर्छन्।
बेलारुसमा लगानी
डोजर, क्रेनजस्ता हेभी इक्युपमेन्ट उत्पादन गर्ने कम्पनी ‘अम्कोडर। अम्कोडरका उत्पादन भने ३५ मुलुकमा बिक्री हुन्छन्। यो बेलारुसको सबैभन्दा बढी रोजगारी दिने, सबैभन्दा बढी रकमको कारोवार गर्ने कम्पनी हो। यो कम्पनीले सन् २०११ मा मात्रै २६ अर्ब डलरको कारोवार गरेको थियो। यसमा उपेन्द्र महतो एक्लैको ६० प्रतिशत सेयर लगानी छ।
क्राभिरा अस्पताल। क्राभिराले बेलारुसमा औषधि उत्पादन तथा बजारीकरणका लागि पनि काम गर्न खोजिरहेको छ।
बेलारुसको सबैभन्दा ठूलो बैंक अल्फा बैंकमा पनि लगानी।
पेट्रोलियम पदार्थ उत्खनन तथा बिक्री गर्ने, युरेनियम उत्खनन् गर्ने कम्पनीमा लगानी।
बिजमान्डुका अनुसार उपेन्द्रसँग साइप्रसको टाइमटर्न होल्डिङ्गस् कम्पनी छ, यही कम्पनीले कम्बोडियामा लाटेलज, बुरुण्डीमा लासेल सु, सेरालिओनमा इन्टरग्रुप टेलिकम, तान्जानियामा बेनसन इन्फोम्याटिकस, युगाण्डामा स्योर टेलिकम र कंगोमा योज्मा टाइमटर्न एसपिआर कम्पनी चलाइरहेको छ।

फोर्ब्सले सूचि यसरी बनाउँछ

कसैले भन्लान्, उनी त एनआरएन पो त। एनआरएन भनेको पनि ‘मान्छे’ नै हुन्। त्यो सूचि विश्वका धनी मान्छेको नै हो। उपेन्द्र महतोले रुस र बेलारुसलाई केन्द्र बनाएर विश्वका विभिन्न ठाउँमा व्यापार गरिरहे पनि उनी नेपाली मूलका विदेशी नागरिक नभएर अझै पनि नेपाली पासपोर्ट प्रयोग गर्ने नेपाली नागरिक नै हुन्। फोर्ब्सले धनीको सूचिमा राख्न कुनै एक देशमा मात्र गरेको व्यवसायलाई हेर्दैन। स्वयं चौधरीले पनि आफ्नो अधिकांश सम्पति नेपाल बाहिरको व्यवसायबाट कमाएको फोर्ब्सले उल्लेख गरेको छ। त्यसो भए महतो चाहिँ किन छैनन् त सूचिमा ?
यो थाहा पाउन फोर्ब्सले अर्बपतिहरुको सूचि कसरी बनाउँछ, त्यो थाहा पाउन जरुरी हुन्छ। फोर्ब्सले संसारभरका अर्बपतिहरुको सूचि बनाउन दुई वटा उपाय अपनाउँछ। या त कसैले मेरो अर्ब डलर सम्पति छ है भनी विवरण फोर्ब्समा बुझाउन आउनु पर्‍यो, या फोर्ब्सको नजरमा योसँग चाहिँ अर्ब डलर सम्पति छ है भनी पर्नुपर्‍यो। कसैले विवरण बुझाउन आए पनि वा फोर्ब्सकै नजरमा परे पनि त्यसलाई पुष्टि गर्न उसले प्रमाणहरु संकलन गर्छ र विभिन्न अनुसन्धान गर्छ। स्टक प्राइस र एक्सचेन्ज रेटका आधारमा उसले सम्पति गणना गर्छ।

चौधरीलाई प्रचार चाहिन्छ, महतोलाई आवश्यकै छैन

चौधरी प्रचारमुखी व्यक्ति हुन्। उनलाई नेपालको सबैभन्दा ठूलो धनी कहलाउन निकै रहर छ। त्यसैले उनले आफ्नो एक अर्ब डलर सम्पति रहेको कागजातसहितको प्रमाण आफै फोर्ब्समा बुझाएका हुन्। यसलाई उनले नेपाली मिडियाहरुसँगको अन्तर्वार्तामा पनि खुलाएका छन्। पाँच वर्ष अघि पनि हाफ बिलिनियर्स (५०० मिलियन डलर सम्पति) का मालिकका रुपमा फोर्ब्सले उनको प्रोफाइल छापेको थियो। सिंगापुरलाई केन्द्र बनाएर खोलेको कम्पनीमार्फत् विदेशमा गरिएका लगानी, मेहनत र चातुर्यले उनले पाँच वर्षमा थप ५०० मिलियन डलर कमाए, प्रमाण दिए र नेपालको पहिलो बिलिनियर्स सूचिमा रहने व्यक्ति भए। उनको यो व्यक्तिगत उपलब्धिलाई कसैले नकार्न सक्दैन। त्यो सूचिमा रहेपछि उनले आफूमाथि परेको भ्याट छलीको कालो दाग छोप्ने प्रयास गर्नेछन्। (स्मरण रहोस्, यो भ्याट छली अरु जस्तो कर नतिरेको नभई उपभोक्ताले तिरेको कर सरकारी ढुकुटीमा राख्नुपर्नेमा नक्कली बिल बिजक बनाई तिर्दैनतिरी तिरिसकेको भन्दै ठगी गरेको केस थियो। यसलाई पूर्व अर्थ सचिव रामेश्वर खनालले नक्कली नोट छापेसरहको अपराधको संज्ञा दिएका थिए)
फोर्ब्समा सूचिकृत अर्बपतिको रुपमा उनले नेपालको राजनीति र अर्थनीतिमा धाक र प्रभाव जमाउन गर्ने प्रयास हेर्न लायक हुनेछ। प्रचार र प्रभाव चाहिएकै भएर उनी विघटित संविधान सभामा एमाले सभासद पनि भए। उता महतोलाई यो सब आवश्यक छैन। उनी अगाडि नदेखिएरै सब कुराको सेटिङ मिलाउँछन्। कृष्णबहादुर महरा सञ्चारमन्त्री हुँदा सुमार्गीको नाममा लगानी गर्न लगाएर पछि आफैले हेलो नेपालको सेयर किन्दै टेलियासोनेरालाई बेचेकोसम्मका कुरा पर्दापछाडि सेटिङ मिलाएर भएका हुन्। यसो गर्न उनलाई कुनै दलको सभासद भइराख्न पनि परेन। सभासद भएवापतको घरभाडा रकम लिइराख्न पनि परेन। एनआरएनमा जोसुकै अध्यक्ष निर्वाचित होउन्, उनी जतिको बोली बिक्ने र नेतृत्व क्षमता कसैसँग भएन। रामदेवलाई काठमाडौँ ल्याउन होस् कि भारतको तिरुपति बालाजीको मूर्तिलाई नेपाल घुमाउन होस्, महतो सक्रिय भइरहन्छन्। सभासद किन हुनुपर्‍यो, रामदेवलाई नेपाल बोलाएर उनको कार्यक्रममा राष्ट्रपतिदेखि शीर्ष नेतासम्म सबैलाई उपस्थित गराउने हैसियत राख्छन् उनी।
महतोले झण्डै साढे दुई करोड रुपियाँ तराई क्षेत्रमा ६ वटा स्कूल खोल्न दान दिइरहँदा चौधरी भने चार विद्यार्थीलाई जनही पाँच हजार रुपियाँको छात्रवृत्ति दिएको खबर तस्बिरसहित पत्रिकाहरुमा छपाउन लालायित भइरहन्छन्। (सन्दर्भः बायाँ छापिएको कान्तिपुरको समाचार) प्रचारमुखी चौधरीको अर्को अस्त्रमात्रै हो फोर्ब्सको सूचि, जुन महतोलाई नभए पनि हुन्छ। त्यसैले उनी आफ्नो सम्पति कति छ खुलाउन चाहँदैनन्। अन्तर्वार्ताहरुमा भन्छन्- ‘एउटा उद्यमीको सम्पत्ति ऊसँग भएको नगद होइन, उसको लगानीको बजार मूल्य हो, म आफ्नो सम्पत्ति यतिउति छ भन्न चाहन्नँ । तर, राम्रै अवस्थामा छु, धेरै धनी हुने इच्छा छैन, तर मनले निक्कै धनी छु।’ धन देखाएरै धाक जमाउन आवश्यक नभएकोले उनी फोर्ब्स धाउँदैनन्। अरबौँको भिडमा फोर्ब्सको नजरमा पनि उनी परेका छैनन्।

समाजका लागि के दिए?

आनन्द कृष्णनलाई चिन्नुहुन्छ ? बुलात उटेमुराटोमलाई नि ? पंकज पटेललाई चिन्नुहुन्छ त ? तपाईँहरु मध्ये धेरैले पक्कै चिन्नुभएन। पहिलो नाम मलेसियाका ११.७ बिलियनका धनी, दोस्रो कजाखस्तानका २.२ बिलियन धनी र तेस्रो छिमेकी देश भारतका २.१ बिलियन धनी व्यक्ति हुन्। तपाईँले यिनीहरुको नामै चिन्नुभएन भने उनीहरुले देशको नाम राखे कसरी भन्नु ! विनोद चौधरी पनि त्यस्तै सूचिमा हराउने नाम हो। फोर्ब्सको सूचिमा नाम पर्नु व्यक्तिगत उपलब्धि पक्कै हो तर उनले अन्तर्वार्ताहरुमा भने जस्तो बुद्ध र सगरमाथाको कोटीमा राखेर देशले गर्व गर्नुपर्ने विषय हैन। जसरी आनन्द, बुलात र पंकजलाई हामी चिन्दैनौँ, चौधरीलाई अरुले चिन्दैनन्। व्यक्तिगत उपलब्धिलाई थोरै समाजका लागि योगदान दिने हो भने समाज र देशले गर्व गर्ने मौका पाउनेछ। चौधरीभन्दा महतो यो मामिलामा धेरै अगाडि छन्। उनी करोडौँको दान एकै पटकमा दिन्छन्। पशुपतिमा क्रियापुत्री भवन बनाउन उनले चार करोड दान दिए। आमा फुलकुमारी महतोको नाममा खोलिएको ट्रस्टबाट करिब २२ करोड रुपैयाँ सामाजिक परोपकारी काममा उनले दान दिएका छन्। आफू जन्मेको स्थानमा अस्पताल बनाउन होस् कि देवघाटमा वृद्धाश्रम बनाउन करोडौँ रुपैयाँ दान दिएका छन्। ५० लाख रुपियाँ व्यक्तिगत लगानीमा बाटो बनाउँछन् र मन्त्रीलाई उद्‌घाटन गर्न लगाउँछन्। फोर्ब्सको सूचिका आधारमा चौधरीभन्दा महतो गरिबै देखिए पनि समाजलाई दिने मामिलामा भने चौधरी निकै गरिब देखिन्छन्। नेपालका पहिलो अर्बपतिका रुपमा आफ्नै कर्मचारीहरुले सम्मान गरेको फोटो आजका पत्रिकाहरुमा छापिएको देखियो। अर्बपतिका रुपमा हैन समाजलाई योगदान गरेवापत उनलाई समाज र देशले पनि सम्मान गर्ने वातावरण बनोस्, चौधरीलाई शुभकामना! हैन, सूचिमा नै रहने रहर गर्ने हो भने अर्को विश्वप्रख्यात सूचि ब्लुमबर्ग बिलिनियर्समा पनि नाम छाप्ने सुरसार कस्नोस्, त्यसका लागि पनि शुभकामना !