२०५८ जेठ १९ गते शुक्रबार तत्कालिन नारायणहिटी राजदरबारमा प्रजाबत्सल राजा बीरेन्द्रको वंश विनास गरिएपछिको आजसम्मको नेपालको समय चक्रलाई एक जुग मानिदिने हो भने, यस जुगका एक अभागी नागरिक हुन् पारस शाह। संसारमा, जीवनमा पारसले तत्कालिन युवराज दीपेन्द्र वीरविक्रम शाहलाई मात्रै पिता, इश्वर, दोस्त, मान्थे तर उनकै आँखा सामु दीपेन्द्रमाथि वंशविनासकको दाग मात्रै लागेन, दीपेन्द्र स्वयंको जीवनलिला सदाका लागि समाप्त भयो। त्यो त्रु्कर, नाटकीय र विभत्स हत्याकाण्डको प्रत्यक्षदर्शी र भुक्तभोगी भैरहदा शाहज्यादा रहेका पारसले दीपेन्द्रपछिको जीवनमा सर्वाधिक एक्लोपनाको अनुभूति गर्दथे। त्रु्कर इतिहासको जीवित साक्षी पारसले पाएको युवराजको उपाधि दीपेन्द्रको अपुतालि थिएन न त त्यो उनको इच्छित प्राप्ति नै थियो। तत्कालिन सरकार प्रमुख गिरिजाप्रसाद कोइराला र तत्कालिन शाहवंशीय राजपरम्पराको निरन्तरता धानिदिनुपर्ने निरीह पात्रका रुपमा पारस बनाइएका थिए– युवराज। संविधानसभाको प्रथम बैठकले उनलाई बनाएको पूर्व युवराज पनि त्यस्तै एक कागताली परिणाम थियो अस्थिर नेपाली राजनीतिको।
खासमा पारस एक विन्दास नवयुवक हुन्। उनी एक आम मानिस मात्रै हुन्। उनले जीवनमा पाएका भनिएका सबै उपमाहरु समयका अकल्पनीय उदाहरणहरु मात्रै थिए। वडो विचित्र इमेजमा चित्रित गरिए पारस। यस मानेमा पनि उनी निकै अभागी हुन्। राजखान्दानको युवकलाई हत्यारा समेतको रुपमा प्रस्तुत गरियो। खासगरी संगीतकार प्रविण गुरुङको मृत्युमा उनलाई हत्यारा प्रमाणित गर्न तत्कालिन प्रेस, राजनीतिक दल, विद्यार्थी संगठनहरुले जो जो, जे जे, जसो जसो गरे त्यो सब अभागी पुर्पुरोको परिणाम थियो– पारसको जीवनमा। पासरले गल्ती त स्वीकारेकै हुन्, दर सबै दुर्घटनामा, तर दुर्घटनाहरु भवितव्य हुन्थे, नियतबस हुदैनथे। तथापी एकांकी रुपमा पारसलाई उडाउन मात्रै हाम्रा मिडियाहरु लाग्थे। मानवीय संवेदना, कमजोरी वा भावनाहरुबाट पारस पनि अछुतो छैन नि भन्ने कोणबाट कुनै खबरहरु नआउँदा पारस साँच्चै बढी विछिप्त बन्थे, तथापि प्रतिबादको साटो मौनता र बैकल्पिक खुशीमा चल्थे। एउटा कठोर सत्य के हो भने कसैले पारसलाई भेट्ने, बुझ्नेसम्म जाँगर नगरी उनीमाथि अन्याय गरे। तथापि अभागी पारस बाँची नै रहे आफ्नै शैलीमा।
जीवनमा धेरै आलोचकहरुसँग बरु सहमत भए तर आफ्ना पिताको शासकीय महत्वाकांक्षा र त्यसको कार्यान्वयन प्रक्रियामा सदैब विमति राखे पारुसले। २०६१ माघ १९ गते उनले डा. तुलसी गिरीलाई अस्वीकार गरेथे। एउटा अविश्वसनीय कटु इतिहास हो– आफ्ना पिता सक्रिय शासक राजा बन्दा युवराज पारस नै पिताको शासनशैलीका कटु आलोचक रहे। तर यो पक्षमा पारसको ख्याल गर्ने न त मिडिया रहे न त अन्य अन्य पक्षहरु नै। सक्रिय सत्ताका निस्त्रि्कय युवराजको विमति केबल पुरानापात्रले हुँदैन भन्ने थियो पितासँग। भलै त्यो हारेको सत्ता इतिहास भैसकेपनि पारसको हकमा दुर्भाग्यपूर्ण घडी रह्यो। सायद शासकीय सत्ताको अभागी पात्र उनी शिवाय अरु विरलै होलान् कम्तीमा हामी कहाँ।
पछिल्लो पटक सुजाता ज्वाई रुबेल चौधरीमाथिको बन्दुक फायरिङ मामलामा सार्वजनिक मुद्दा खेपेका पारसले आफ्नै बुतामा आफूलाई जोगाएका थिए। आकाशतिर थुक्दा आफ्नै मुखमा परे झैं भएको थियो सुजाता एण्ड रुबेल कम्पनी कमाण्डलाई। दिन नै बिग्रेका पारसका बारेमा बीरलै राम्रा खबर आए, छाए। तर वास्तवमै पारस निकै मिलनसार भद्र र आटिला शाही परिवारका एक सदस्य, अझ भनौं एक आम नेपाली हुन्। उनले पत्नि, छोराछोरी वा परिवारजनप्रति देखाउने स्नेह, प्यार वा दायित्वप्रति जोकोही बेमतलब रहे, तर पारस हिमानी पारपाचुकेका कहानीहरु धेरै मिथक बने। जो देखाइयो त्यो होइन, पारस। कुरो साँच्चो हो पितासँग भने उनको कहिल्यै ठ्याक मिलेन। तर, असल मान्छेका रुपमा पारसलाई हेर्ने दृष्टिकोण नै नराखी खुइल्याउने हाम्रो नेपाली चलनका शिकार हुनबाट कहिल्यै छुटाइएनन् पारस।
देशभर लालपूर्जा वा बैंक व्यालेसरहित जीवन बाँचेका पारसको जीवनशैली आम नकारात्मक इमेज बनाइएजस्तो कुलिन र सौखिन रहेन। सम्पत्ति नै उनका शुभेच्छुक रहे। उनका लागि बन्दुक, सन्दुक, सम्पत्ति, प्यार दिने लाखौं शुभेच्छुक अद्यापी छन्– देशभर, देशबाहिर पनि। यही उनको ताकत रह्यो कम्तिमा विरामीको यो गम्भीर अवस्थासम्म।
पारस पछिल्लो दिनमा असुरक्षित थिए भन्ने मिडियाहरुको खबरप्रति कम्तिमा डा. बाबुराम जस्ता क्रान्तिकारी सरकार प्रमुखको प्राथमिकतामा नपर्नु अस्वाभाविक थिएन। तर, कहिले अन्तर्राष्ट्रिय आपराधिक गिरोहसँग जोडेर, कहिले छिमेकी दक्षिणका खुफिया एजेन्सीहरुको मनगढन्ते रिपोटहरुलाई आधार मानेर गणतन्त्र नेपालमा उदाउँदो छवि बनाउँदै गरेका पारसलाई खुइल्याउने क्रममा पूर्णविराम लगाइएन। अरु कसैलाई हानी नोक्सानी नपुर्याेइकन आफ्नो मर्जीमा मात्रै हैन हाम्रो प्रवृत्तिबाट पारसले पाठ सिक्दै थिए। जीवन संघर्ष एउटा नागरिकका रुपमा गर्दागर्दै हर्टअट्याकमा परेका पारस बाँच्दैमा वा नबाच्दैमा नेपालमा ठूलो परिवर्तन आउने वा रोकिने होइन। तर, शाहवंशीय सत्ताका हिमायतीहरुका हकमा उनको पुर्नजीवन उर्जा बन्नसक्ला। एउटा सिक्काका दुईपाटा झै पारसका जीवनका असल पक्षहरुलाई पनि आत्मसात गर्ने कोशिस गर्ने हो भने नेपाली युवा पुस्ताका लागि दुस्प्रचार गरिएभन्दा धेरै प्रेरक युवाप्रवृत्तिका पात्र हुन् पारस। खेल्न, पिउन, डुल्न, घुम्न र नजिककाहरुसँग अन्तरंग हुन रुचाउने पारसले खासगरी राष्ट्रिय खेलकुद परिषद्को संरक्षकका रुपमा खेलेको भूमिका अहिलेका शासकको भन्दा अब्बल छ। पारसले मृत्युसँगको अन्तिम लडाई जिते भने निश्चय नै उनी नेपालका एक असंगठित राष्ट्रवादी मन मस्तिष्कहरुमा स्वतः नायक हुनेछन्। त्यो नेतृत्व छवि नबन्दै स्वर्गलोक लान खोज्ने यमराज हारुन् उनीसँग। स्वास्थ्यलाभ गरी फर्कन सक अभागी पूर्वयुवराज पारस, कम्तीमा अब त तिम्रा दुर्भाग्यहरु सकिएलान कि !