Monday, March 11, 2013

पशुपतिमा यसरी गनियो १० लाख मान्छे - onlinekhabar

पशुपति क्षेत्र विकास कोषले जे अनुमान गरेको थियो, त्यही भयो । शुक्रबार पत्रकार सम्मेलनमा कोषले शिवरात्रीका बेला १० लाख दर्शनार्थी आउने बताएको थियो । शिवरात्री सकिएपछि कोषका पदाधिकारीले संख्या अनुमान गरेजस्तै भएको बताएका छन् ।
‘आइतबार दिनभरि ८ लाखले दर्शन गरेका थिए’-कोषका कोषाध्यक्ष नरोत्तम बैद्यले अनलाइनखबरसँग भन्नुभयो- ‘आइतबार रातिदेखि सोमबार बिहानसम्म झण्डै दुई लाखले दर्शन गरेका छन् ।’ यसपटक दर्शनार्थीको संख्या दोब्बर बढेको कोषको भनाइ छ । ‘यसपटक लाइन, सुरक्षा, स्वास्थ्यशिविर लगायतका दर्शनार्थीलाई आवश्यक हरेक क्षेत्रमा प्रभावकारी व्यवस्था मिलाईएको थियो’ वैद्यले भन्नुभयो-’विश्वसनीयता बढेपछि दर्शनार्थीको संख्या बढेको हो ।’ कोषका अनुसार दर्शनार्थीमध्ये झण्डै ५ हजार साधुबाबा थिए ।
कसरी गरियो गणना ?
पशुपति क्षेत्रमा देखिएको भीडलाई एक, दुई, तीन…. भनेर गन्न सकिने अवस्था थिएन । दर्शनका लागि लाइनमा उभिएका दर्शनार्थीलाई भने छुट्टै मान्छे खटाएर गणना गर्न सकिन्थ्यो होला । तर, यसो गर्न जनशक्ति धेरै चाहिने भएकाले कोषले त्यसरी मान्छे गन्ने व्यवस्था पनि गरेन । तैपनि १० लाख दर्शनार्थी आएको कोषले अनुमान गरेको छ । यो अनुमान हचुवाका भरमा गरिएको त होइन ? ‘होइन, हामीले आधारसहित अनुमान लगाएका हौं’ कोषाध्यक्ष वैद्यले भन्नुभयो-’दर्शन गरिसकेपछि दर्शनार्थीलाई चन्दन वितरण गरिएको थियो र त्यही चन्दन कति गयो भन्ने आधारमा हामीले यो अनुमान गरेका हौं ।’
दर्शन गरेर र्फकंदा मन्दिरको मूलढोकामा पातमा राखेर चन्दन लैजान सकिने व्यवस्था गरिएको थियो । कोषले चन्दन खपत भयो भन्ने आधारमा दर्शनार्थीको संख्या १० लाख अनुमान गरेको हो । तर, चन्दन नलानेहरु गणना भन्दा बाहिर परेका छन् ।
त्यसो त सुरक्षाका लागि मेटल वाक थु्र अर्थात सुरक्षा जाँच गरिने ढोकाको व्यवस्था पनि गरिएको थियो । यो ढोकाबाट प्रवेश गर्दा मेशिनले संख्या पनि गणना गर्न सक्छ । तर पशुपतिमा आइतबार राखिएको मेशिनले जम्मा १० हजार मात्र गन्न सक्ने क्षमता थियो । ‘प्रहरीले राम्रो मेशिन ल्याएको भए यसका आधारमा अझ सही गणना गर्न सकिन्थ्यो ।’-वैद्यले भन्नुभयो ।
रमिते पनि उस्तै
शिवरात्रीका लागि पशुपति जाने सबै दर्शनार्थी थिएनन् । रमितेहरुको संख्या पनि उत्तिकै थियो । कति गाँजाको तलतल मेटाउन त कति रमाइलो हेर्नकै लागि पशुपति पुगेका थिए । मन्दिर पारिको वनकाली, एयरपोर्ट, गौशाला र चाबहिलमा आइतबार खुट्टा राख्ने ठाउँ थिएन । उनीहरुको संख्या भने पशुपति विकास कोषले निकाल्ने कुनै आधार रहेन ।