Friday, November 18, 2011

सुन मन्त्रीका सुनौला गफ - onlinekhabar

मिलन तिमिल्सिना
२ मंसिर, काठमाडौं । हाम्रा मन्त्रीहरुले आफूसँग भएका थानका थान सुनका हरहिसाब दिन दिनै सार्वजनिक गर्दैछन् । भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले सबैभन्दा बढी १ सय ९४ तोला सुन भएको विवरण सार्वजनिक गरेका छन् । यस्तै अधिकाशं मधेसी मन्त्रीहरुको सम्पक्ति विवरणमा तोलाका तोला सुन भएको उल्लेख छ ।
· मन्त्रीफुलका -४९ जना बस्ने ठाउँलाई कसरी क्वाटर मात्र भन्ने) सबैभन्दा धनी मन्त्री हृदयश त्रिपाठीले अब आफ्नो नाम ‘आभुषेक तीनपाथी’ राख्नेछन् । भकारीमा समेत नअटाउने सुनचाँदी, हिरामोती जस्ता आभुषण भएका मान्छेले सुहाउँदो नाम त राख्नै पर्यो नि ।
· त्रिपाठी त हाम्रा गाउँमा पनि थुप्रै छन् । तर उनीहरुमध्ये धेरैका घरमा तीनटा पाठी पनि छैनन् । यता मन्त्री गाउँका त्रिपाठीसित सुनै तीनपाथी ।
· हाम्रा गाउँघरमा धानमकैमा घून लागेर हैरान । भकारीबाट अन्न झिक्दा घुन पहिले निस्कन्छ । मन्त्रीका भकारीबाट अन्न झिक्दा चाहिं सुनका टुक्रा छान्दाछान्दै हैरान हुनुपर्ने होला । ‘यी सुनले पनि हैरान पार्यो, कहाँ मात्रै राख्ने होला धानमकै’ भनेर मन्त्रीकी जहान फत्फताउँदिहुन् ।
· हामीले खाने धेरै खानेकुरामा फोहोर र कीरा भेटिन्छ । मन्त्रीका खानेकुरामा मोहोर र हिरा भेटिँदोहोला । हामीले भागबाट कीरा झिकेर थालको छेउमा राखेजस्तो हाम्रा सुनौला मन्त्रीले भागमा मिसिएको हिरा टिपेर छेऊमा राख्दा हुन् । कहिलेकाहीं चाहिं हामीले कीरा, ढुंगा टोकेझैं उनले किरिक्क हिरा टोक्दा हुन् । अनि ‘राम्रोसित हेरेर पकाउनुपर्छ नि’ भन्दै जहानलाई झपर्दा हुन् ।
· मन्त्रीका जहानले साडीभन्दा गाडी बढी फेर्दिहुन् । जीप, कार, टोयोटा, ट्रयाक्टर, होण्डा स्कूटर भाका मन्त्रीका श्रीमतीले यतिका गाडी हुँदाहुँदै किन साडी लाउनु । ठूलाबडाका लाज त साडीले होइन, गाडीले पो छेक्छ त ।
· प्रधानमन्त्री भट्टराईले मुस्ताङ रोजेपछि मन्त्री तीनपाथीले उनलाई समेत उछिन्ने गरी सरकारी गाडी नै चढ्ने घोषणा गरे । प्राडो जीप, बेगनकार, टोयटा हाइलक्स, ट्रयाक्टर, होन्डा स्कुटर भाका मन्त्रीलाई नाथे सरकारी गाडी किन चाहियो ?
· कुनै दिन आफ्नो ट्रयाक्टर समेत बिग्रेएकाले मन्त्री तीनपाथी सार्वजनिक गाडी चढेभने ‘आज पैसा बोक्न बिर्सेछु लौ भाडा यो राख’ भनेर गोजीबाट मुठीभरी सुनका पाता झिकेर गाडीवालालाई दिन्छन् होला । अनि गाडीवालाले ‘यो सुन के काम पैसा नै दिनुस्’ भनेर किच्किच् पनि गर्ला ।
· भैंसीपाटीको घडेरीमा भैंसी पाल्नुपर्यो भने मन्त्री तीनपाथीले दाम्लो र किलो पनि सुनकै बनाउँदा हुन् । अनि बाँसबारीको जग्गामा सुनकै घाँस रोप्दा हुन् । घाँस बोकेर र्फकंदा घरको आँगनमा सुनकै ढुंगोमा ठेस लागेर लड्दा हुन् । ‘आइया खै खै माथिबाट त्यो पट्टी लेउ त’ भनेर घाउ लागेको टाउकोमा सुनकै पातोको पट्टी बाँध्दा हुन् ।
· सुन र हिरा थुपार्दै जाँदा एक दिन यिनले ऐना हेर्दै अनुहारमा पनि सुनकै लेप लाउने विचार गर्दा हुन् ।
· ‘उसको मात्रै म पनि के कम’ भनेर दानबहादुर मन्त्रीले झैं अरुले पनि सुनका हरहिसाब देखाउँदा हुन् । हुँदाहुँदा सबैले पहेंला चिज जति सबै सुन भनेर मोलमोलाई गर्दा हुन् । अनि कृषिमन्त्रीले लसुन खेती हैन, सुन खेती गर्नु पर्छ भन्दै सुनको विउ बाँड्दा हुन् ।
· हेर्दाहेर्दै हाम्रा सबैमन्त्री जण्डिस लागेका मान्छे झैं पहेंलपुर देखिंदा हुन् । अनि हामीले पुरानो रुढीवादी उखान ‘ल्हासामा सुन छ कान मेरो बुच्चै’ भन्ने उखान फेरेर ‘मन्त्रीका सुन् छन् ल्हासा चाहिं बुच्चै’ भन्ने उखान बनाउँछौं ।