
काठमाडौं, मंसिर ७ (नागरिक) - अभिनेता भुवन केसीले छोरी काजललाई अन्माएका छन्। काजललाई बिदाइ गर्नुपर्दाको भावुकता भुवनले यसरी प्रकट गरे, 'छोरीलाई अन्माउँदैछु भन्दा नरमाइलो लाग्दो रहेछ। नयाँ नाता जोडिएको, भूमिका बढेको निकै फरक अनुभूति हुँदो रहेछ।' काजलकै नामबाट आफ्नो कम्पनीको नामाकरण गरी भुवनले १५ वर्षदेखि फिल्म निर्माण गर्दै आएका छन्। तिनै एक्ली छोरी काजलको बिहेमा मंगलबार भुवन भावुक देखिए।
भुवनकी छोरी काजोलको अमेरिका निवासी भारतीय नागरिक पुनित रायसँग सोमबार बिहे भएको हो। बिहेको भोज भने मंगलबार केसी निवास सिनामंगलमा गरिएको थियो। अमेरिकामा सँगै काम गर्ने पुनितसँग छोरीको इच्छा बमोजिम लगनगाँठो कसिदिएको भुवनले बताए।
भुवनकी जेठी श्रीमती विजया, छोरी काजोल र छोरा विवेक अमेरिकामा बस्दै आएका छन्। 'विवाह चाहिँ नेपालबाटै गर्ने परिवारको सल्लाह भएको थियो,' यसका लागि दसैंअघि नै छोराछोरीका साथ विजया नेपाल आएकी थिइन्।
अरू पाहुनालाई भोजको लागि साँझ ६ बजे निम्त्याइए पनि पूर्वराजा ज्ञानेन्द्र शाह ५ बजे नै केसी निवास पुगेका थिए। उनी करिब १० मिनेट कार्यक्रम स्थलमा रहे। 'वरवधुलाई शुभकामना दिनुभयो, एक कप कालो चिया खानुभयो र मेरो आगामी प्रोजेक्टबारे जानकारी लिएर हिँड्नुभयो,' भुवनले बताए।
भोजमा कलाकर्मी र राजनीतिक व्यक्तित्वको ठूलो जमघट थियो। पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, माधवकुमार नेपाल उपस्थित थिए। सभामुख सुवास नेमवाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणा, कांग्रेस नेता रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, एमाले नेता वामदेव गौतम, भरतमोहन अधिकारी, ईश्वर पोखरेललगायत भोजमा देखिए।
भुवनका समकालीन अभिनेता शिव श्रेष्ठका साथै राजेश हमाल, करिश्मा मानन्धर, रेखा थापा, राजवल्लभ कोइराला, सुनिल थापा, रेजिना उप्रेती, ऋचा घिमिरे, युना उप्रेती लगायतका कलाकार उपस्थित थिए।
बिहेपछि राजधानीको सोल्टी होटलमा बसेका काजल र पुनित बुधबार पुर्ख्यौली घर दिल्ली जानेछन्। त्यहाँ बिहेको औपचारिक कार्यक्रम सकेर अमेरिका जाने उनीहरुको योजना छ।
काजललाई बधाई दिन मञ्चमा अभिनेत्री करिश्मा मानन्धरले हल्का नृत्य गरिन् भने सुष्मा कार्कीले गाइन्। शिव परियारले पनि गीत गाएर माहोललाई सांगीतिक बनाए। मञ्चमा उक्लिएर नवविवाहित जोडीलाई
बधाई दिनेमा रेखा थापा र राजवल्लभ पनि थिए।