
भारतीय पासपोर्ट लिन नक्कली कागजात पेश गरेको अभियोग लागेका बालकृष्णको राष्ट्रियताको विषयमा विवरण प्राप्त गर्न भारतको केन्दि्रय अनुसन्धान ब्युरोले नेपाललाई पत्र पठाउन लागेको सीबीआई श्रोतलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । ब्युरो अहिले नेपाललाई पठाउने पत्रलाई अन्तिम रुप दिने प्रक्रियामा रहेको बताइएको छ ।
यसअघि बयानका क्रममा आफूमाथि लागेका अभियोगबारे बालकृष्णले पेश गरेका दाबीको सत्यताको जाँच गर्न सिबिआइले नेपालसँग आवश्यक सामाग्री उपलब्ध गराउन पत्रमा अनुरोध गर्नेछ ।
केन्दि्रय अनुसन्धान ब्युरोले बालकृष्णमाथि नक्कली शैक्षिक प्रमाणपत्र लिएको तथा भारतीय पासपोर्ट लिन नक्कली कागजात पेश गरी राहादानी कानुनको उल्लंघन गरेको भन्दै भारतीय दण्ड संहिताको भाग ४ सय २० अन्तरगत धोकाधडी तथा १ सय २० बी अन्तरगत आपराधिक षड्यन्त्रको अभियोगमा मुद्धा दर्ता गरेको छ । बालकृष्णले पेश गरेका शैक्षिक प्रमाणपत्र नक्कली ठहर भइसकेको छ । उनीले सम्पुर्णानन्द संस्कृति विश्वविद्यालयबाट पूर्व मध्यमा तथा शास्त्री तह उत्तीर्ण गरेको भनी बनाएका शैक्षिक योग्यताको प्रमाणपत्र विश्वविद्यालयले नक्कली रहेको बताइसकेको छ । विश्वविद्यालयका रजिस्टार रजनिश शुक्लाले शैक्षिक प्रमाणपत्रमा बालकृष्णले उल्लेख गरेको नम्बर विश्वविद्यालयको रेकर्डमा नरहेको स्पष्ट पारेका छन् ।
बाबा रामदेवको पतञ्जली योगपिठ कोषले भने आचार्य बालकृष्ण माथि लागेका सबै आरोपको खण्डन गरेको छ । बालकृष्णको राहादानी मान्य छ , कोषका प्रवक्ता भन्छन् उहाँले राहादानी लिएको १२-१३ वर्ष भैसकेको अवस्थामा सरकारले अहिले किन यसमाथि प्रश्न उठाएको छ ?
यसअघि आचार्य बालकृष्णले सिबिआइले आफुमाथि लगाएको आरोप विरुद्ध उत्तराखण्ड उच्च अदालतमा मुद्धा हालेपछि अदालतले तत्काल उनलाई नपक्रन सिबिआइका नाममा अन्तरिम आदेश दिएको थियो । बालकृष्णको मुद्धामा पर्सी उत्तराखण्ड अदालतमा सुनुवाई हुने कार्यक्रम छ ।