Thursday, November 10, 2011

टिक्न सकेनन् विद्युत प्राधिकरणमा शर्मा - Nagariknews

काठमाडौं, कात्तिक २५ (नागरिक) - खुला प्रतिस्पर्धाबाट छानिएका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीपेन्द्रनाथ शर्माले चौतर्फी असहयोगपछि टिक्न नसकेर राजीनामा दिएका छन्।
बुधबार अपराह्न उनले ऊर्जा मन्त्रालयका सचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष बालानन्द पौडेललाई राजीनामा बुझाएको स्रोतले बतायो। राजीनामा लगत्तै उनी दुई दिनदेखि आफन्त एवं सञ्चारकर्मीहरुसँग सम्पर्क बाहिर छन्।

गत साउन १५ गतेबाट प्राधिकरणको कार्यकारी निर्देशक पद वहाली गरेका शर्मालाई प्राधिकरणकै माथिल्लादेखि लिएर तल्ला तहका अधिकारीहरु, ऊर्जा मन्त्रालयबाट अधिकारीहरुबाट असहयोग थियो। केही दिनयता आधिकारिक ट्रेड युनियनको निर्वाचनको विषयमा कर्मचारीहरुको दबाब थेग्न नसकेपछि उनले राजीनामा दिएको स्रोतले बतायो।

अघिल्ला ऊर्जामन्त्री गोकर्ण विष्टको कार्यकालमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भएका शर्मा केही दिनदेखि निकै तनावमा थिए। बुधबार युनियनको निर्वाचनको विषयलाई लिएर कर्मचारी संगठनहरुबीच तनाव भएपछि उनले ऊर्जा मन्त्रालयका सचिव एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष बालानन्द पौडेललाई राजिनामा बुझाएका हुन्।

राजीनामा बुझाएलगत्तै उनी सम्पर्कबाहिर छन्। प्राधिकरणमा नियुक्त हुनुअघि शान्ति मन्त्रालयको सहसचिवसमेत रहेका शर्माले प्राधिकरण सुधारको लागि मन्त्री र प्राधिकरणभित्रैबाट समेत सहयोग नभएको भन्दै निकटहरुसँग जुनसुकै बेला समेत छाड्न सक्ने बताइरहेका थिए।

कर्मचारीको दबाब थेग्न नसकेपछि उनले बुधबार बिहान ऊर्जामन्त्री पोष्टबहादुर बोगटीलाई भेटेका थिए। 'त्यतिखेर उहाँ निकै तनावमा हुनुहुन्थ्यो,' मन्त्री निकट स्रोतले भन्यो। मन्त्रीको दल निकट प्राधिकरणको कर्मचारी संगठनले आधिकारिक ट्रेड युनियनको चुनाव नगर्न दबाब दिएको थियो। तर कांग्रेस र एमाले निकट कर्मचारी संगठनहरुले चुनाव नगराएमा कडा विरोधका कार्यक्रम ल्याउने भन्दै ज्ञापनपत्र बुझाएका थिए।
प्राधिकरणमा सरुवा, बढुवाको लागिसमेत ठूलै दवाव उनलाई परेको थियो। प्राधिकरणकै माथिल्ला कर्मचारीको असहयोग, तल्लो तहका कर्मचारीमा युनियनको निर्वाचनलाई दिएर दबाब र मन्त्रालयबाट समेत आशाअनुसार सहयोग नभएपछि राजीनामा दिन उनी बाध्य भएका हुन्। शर्मा नियुक्त भएर आएपछि नै प्राधिकरणका उच्च अधिकारीहरुले सुधार कार्यक्रम, चुहावट नियन्त्रण, खर्च नियन्त्रणमा असहयोग गर्दै आएका थिए।
स्रोतका अनुसार शर्माको राजीनामालाई सचिव पौडेलले समेत अप्रत्याशित रुपमा लिँदै पुनरबिचार गर्न आग्रह गरेका छन्। सचिव पौडेलले भने आफूले बिदामा बस्न भनेको बताए। 'तनाव भएको भए केही दिन बिदामा बसेर आराम गर्न भनेको हुँ,' उनले भने। तर ऊर्जा मन्त्रालयकै वरिष्ठ अधिकारीहरुले भने राजीनामा दिइसकेकाले उनी प्राधिकरणमा फर्कने सम्भावना नभएको बताएका छन्। राजीनामापछि प्राधिकरणको दैनिक काम कारबाही गर्न महाप्रबन्धक रामेश्वर यादवलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ।