१५ कात्तिक, काठमाडौं । नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले नेपालकै कारण प्रधानमन्त्री डा बाबुराम भट्टराईको भारत भ्रमणको क्रममा दोहोरो कर अन्त्य सम्बन्धी सम्झौतामा हस्ताक्षर हुन नसकेको बताउनु भएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा राजदूत प्रसादले दोहोरो कर अन्त्य सम्बन्धी सम्झौताबाट हटाईएको धारा ३० को अनुच्छेद ४ लाई सम्बोधन हुने गरी छुट्टै विनियमय पत्रमा हस्ताक्षर गर्नु पर्ने नेपलको अडानका कारण सम्झौता हुन नसकेको प्रष्टपार्नुभयो ।
छुट्टै विनिमय पत्रमा हस्ताक्षर गरे अदालतमा चुनौति दिने सम्भावना देखेर अर्थमन्त्री प्रणव मुखर्जीले हस्ताक्षर नगरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो-’ भारतीय जनताहरु अमेरिकनहरु जस्तै आफ्नो शिरको टोपी खस्ने वित्तिकै पनि मुद्दा हाल्न जान्छन् । त्यसैले अर्थमन्त्रीले कुनै जोखिम मोल्न नचाहेर विनिमयपत्रमा हस्ताक्षर नगर्नु भएको हो ।’ दोहोरो कर अन्त्य सम्बन्धी सम्झौतामा हस्ताक्षर भए दुबै मुलुकमा स्रोत र साधनको गैरकानूनी एवम आतंककारी कार्यका लागि हुने लगानी लैजान रोक्ने भन्दै राजदूत प्रसादले छिट्टै त्यसमा छलफल गरेर सम्झौता हुने विश्वास ब्यक्त गर्नुभयो ।
उहाँले प्रधानमन्त्री भट्टराईको भारत भ्रमणले नेपाल र भारत सम्बन्धलाई अझ सुदृढ बनाउन सहयोग पुगेको बताउनुभयो । उहाँले भन्नुभयो-’दुई देशबीच असल छिमेकीको सम्बन्धलाई अझ विकसित गर्न भ्रमण अत्यन्त सफल रहृयो ।’ प्रधानमन्त्री डा भट्टराईले यही कात्तिक ३ गतेदेखि ६ गतेसम्म भारतको चारदिने सद्भावना भ्रमण गर्नुभएको थियो ।
नेपाल र भारतबीचको सन् १९५० को सन्धि पुनरावलोकन हुन लागेको हो भन्ने सञ्चारकर्मीको जिज्ञासाका राजदूत प्रसादले दुवै देशका प्रधानमन्त्रीहरु १९५० को सन्धिलगायतका सम्झौताहरुको अध्ययन, पुनरावलोकन तथा अद्यावधिक गर्न सहमति जनाएको जानकारी दिनुभयो । नेपाल राजनीतिक तरलताबाट गुजि्ररहेकोले विगतमा भएका सन्धी सम्झौता पुनरावलोकन हुन नसकेको भन्दै उहाँले भन्नुभयो-’सन्धी सम्झौता पुनरावलकोन गर्न राजनीतिक दृढता चाहिन्छ त्यस्तो भए जुनसुकै कुरा गर्न सकिन्छ । राजनीतिक समझदारी भए १९५० को सन्धी पनि पुनरावलोकन हुन सक्छ ।’
नेपालका राजनीतिक दलहरु शान्ति प्रक्रिया कसरी टुङग्याउने भन्ने विषयमा केन्द्रीत रहेको उल्लेख गर्दै शान्ति प्रक्रिया टुङग्यार दिगो शान्ति स्थापना गरी दु्रत विकासमा लाग्न थालेको बेला भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण उपयूक्त हुने बताउनुभयो । उहाँले भन्नुभयो-’त्यो बेला भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाई कसैले अस्विकार गर्न सक्दैन ।’ उहाँले विगत ४८ घण्टमा दलहरुको छलफल सकारात्मक रहेको भन्दै बाँकी रहेको १ महिनाभित्रमा शान्ति प्रक्रिया टुङ्गनिे अपेक्षा समेत ब्यक्त गर्नुभयो । शान्ति र संविधान निर्माण कार्य नेपालको आन्तरिक मामिला भएको भन्दै भारतीय राजदूत प्रसादमा त्यसमा भारतको सदभाव मात्रै रहेको प्रष्ट पार्नुभयो ।
भारतको भारत र माओवादी पार्टीको सम्बन्धको विषयमा सन्चारकर्मीले राखेको जिज्ञासामा भारतीय राजदूत प्रसादले नेपालका कुनैपनि राजनीतिक दलसँग राम्रो वा नराम्रो सम्बन्ध नरहेको भन्दै नेपाल सरकारसँग भारतको राम्रो सम्बन्ध रहेको बताउनुभयो । ‘भारतले पार्टीसँग भन्दापनि सरकारसँग सम्बन्ध राख्छ । नेपाल सरकारसँग राम्रो सम्बन्ध छ’ उहाँले भन्नुभयो-’भारत सरकारको यहाँका सबै राजनीतिक दलसँग सम्बन्ध छ । सम्बन्ध समान छ, कसैसँग आग्रह र पुर्वाग्रह छैन ।’