Wednesday, November 2, 2011

सामन्तहरुका दुस्वप्न ध्वस्त पार्छौं : माओवादी महासचिव - nagariknews

काठमाडौं, कात्तिक १६ (नागरिक)- माओवादी महासचिव तथा असन्तुष्ट पक्षका नेता रामबहादुर थापाले शान्ति प्रक्रिया र संविधान निर्माण सम्बन्धमा प्रमुख ठूला दलबीच सहमति भएको दिन कात्तिक १५ लाई ऐतिहासिक कालो रात भनेका छन्। उनले यो दिन भएको सहमतिमाथि धावा बोल्ने धम्की पनि दिए। 
शान्ति प्रक्रिया र संविधान निर्माण सम्बन्धमा मङ्गलबार प्रमुख ठूला दलबीच भएको सहमतिबारे आफ्नो पक्षको धारणा सार्वजनिक गर्न  राष्ट्रिय सभागृहमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो धारणा राखेका हुन।

पत्रकार तथा कार्यकर्ताले खचाखच भरिएको हलसामु उनले भने- यो दिन सामन्तहरुका लागि हर्षोल्लासको दिन भयो, उनीहरुले यो दिन दुस्वप्न देखे तर हामी त्यसलाई ध्वस्त पार्ने प्रतिबद्धता व्यक्त गर्छौं।

हिजोको सहमतिसँगै जनमुक्ति सेनाको बलिदानलाई खरानी पारिएको बताउँदै उनले भने- अब त्यही खरानीबाट लाखौं जनमुक्ति सेनाको निर्माण हुनेछ। हामी जनयुद्धका पीडित, बेपत्ता नागरिक, शहीद सबैको सपना साकार पार्नेछौं भन्दै उनले थपे- हामीलाई कुनै पनि शक्तिले रोक्न सक्ने छैन।

उनले आफ्नो 'विचार समूह' ले तयार पारेको प्रेस विज्ञप्ति पनि पढेर सुनाएका थिए । जसमा उनले कात्तिक १५ को सम्झौतालाई देश र जनताप्रतिको धोका बताएका छन्। उनले सम्झौता अन्तरिम संविधानको समेत विपरित भएको भन्दै जनमुक्ति सेनाको हतियार राज्यलाई बुझाउने कुराप्रति असहमति व्यक्त गरे। त्यसैगरी जनमुक्ति सेना चौकिदार र वन रक्षकका रुपमा रहने बुँदा आफ्नै पार्टीको निर्णयविपरित भन्दै त्यसको पनि उनले विरोध गरे।

यसरी नै उनले समायोजनअघि नै राष्ट्रिय सुरक्षा नीति स्पष्ट गरिनुपर्ने माग पनि दोहोर्‍याए। बेपत्ता नागरिक खोजबिनसम्बन्धी आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगबारे अमूर्तरुपमा उल्लेख भएकाले त्यसलाई स्पष्ट पार्नुपर्ने माग पनि उनले राखे। कब्जा सम्पत्ति फिर्ता गरिने उल्लेख गरिए पनि महान् जनयुद्धका क्रममा हली, गोठाला, कमैया आदिले कमाइरहेका त्यस्ता जग्गा दिएपछि उनीहरुको जीविकाका लागि वैकल्पिक उपाय उल्लेख नभएको भन्दै उनले त्यसको पनि विरोध गरे।

नयाँ संविधान निर्माण गर्ने कामबाट पन्छिएर यो सम्झौता जनमुक्ति सेनाको समायोजनमा मात्र केन्द्रित रहेको भन्दै उनले यसप्रति गम्भीर आपत्ति जनाए ।