२२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज आफ्नो नेतृत्वको मन्त्रिपरिषद् छैठौँपटक विस्तार गर्नुभएको छ । माओवादी उपाध्यक्षसमेत रहेका प्रधानमन्त्री भट्टराईले आफ्नै पार्टीका ६ र साना दलका तर्फबाट १ गरी सात मन्त्री र १९ राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । प्रधानमन्त्रीले पहिले मन्त्रीहरुको राष्ट्रपतिको उपश्थितिमा राष्ट्रपति भवन शीतलनिवासमा र राज्यमन्त्रीहरुको आफ्नै कार्याकक्ष सिंहदरबारमा पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।
प्रधानमन्त्री भट्टराईले माओवादीबाट शिक्षामा स्थायी समिति सदस्य एवं प्रवक्ता दीनानाथ शर्मा, पोलिट्ब्युरो सदस्यद्वय लोकेन्द्र विष्ट मगर र भीमप्रसाद गौतमलाई क्रमशः पर्यटन र भूमिसुधार, सामान्य प्रशासनमा केन्द्रीय सदस्य रामकुमार यादव, शान्तिमा सत्या पहाडी र विज्ञान तथा प्रविधिमा कल्पना धमलालाई नियुक्त गर्नुभएको हो । साना दलका तर्फबाट भने सदभावना आनन्दीदेवीकी नेतृ सरिता गिरीलाई श्रम मन्त्री बनाइएको छ । शरतसिह भण्डारीले विवादमा परेर राजीनामा दिएपछि खाली रहेको फोरम लोकतान्त्रिकको भागमा परेको रक्षा मन्त्रालयमा पनि मन्त्री नियुक्त गर्न बताइएको थियो । तर, सो पार्टीबाट नाम नआएकाले आज सपथ नगराइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
माओवादीबाट राज्यमन्त्रीको सपथ लिनेमा सूर्यमान दोङ उर्जा, लीला भण्डारी शिक्षा, धनश्याम यादव स्थानीय विकास, दिलिप महर्जन पर्यटन, गोपी अछामी युवा तथा खेलकुद, हरि खेवा लिम्बु अर्थ, ज्वाला साह भूमिसुधार तथा व्यवस्था, सुनिता महतो सामान्य प्रशासन, सुषमा शर्मा संघीय मामिला, संविधानसभा तथा संस्कृति र विष्णुप्रसाद चौधरी वाणिज्य छन् ।
अन्य राज्यमन्त्रीहरुमा भीमराज चौधरी गृह, रामवच्चन अहिर यादव रक्षा, लक्ष्मण महतो वन, दुर्गादेवी महतो वातावरण, काशीदेवी झा कानुन, ईश्वरदयाल मिश्र भौतिक योजना तथा निर्माण, अरविन्द्र साह महिला बालबालिका तथा समाजकल्याण र रमणि राम सिञ्चाई छन् । अरविन्द्र साह विदेश भ्रमणमा रहेकाले उनीबाहेक सबैले आज सपथ लिएको प्रधानमन्त्रीका प्रस सल्लाहकार रामरिझन यादवले जानकारी दिनुभयो । यसैबीच युवा तथा खेलकुद राज्यमन्त्रीमा नियुक्त गोपी अछामीले असन्तुष्टि जनाएका छन् । आफूलाई पहिला शिक्षा राज्यमन्त्री भनिए पनि खेलकुदमा सपथ खुवाइएको भन्दै अछामीले असन्तुष्टि जनाएका हुन् । पार्टीका अर्का उपाध्यक्ष मोहन बैद्य पक्षका लागि छुट्याएको मन्त्रालयमा अध्यक्ष प्रचण्ड र आफू पक्षका नेताहरुलाई प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्नुभएको हो । बैद्य पक्षले भने सरकार गठनका क्रममा मधेसी मोर्चासँग भएको चारबुँदे सहमति खारेज नभएसम्म सरकारमा नजाने अडान लिँदै आएको छ ।
कस्ता छन् नयाँ मन्त्री
नवनियुक्त शिक्षामन्त्री दीनानाथ शर्मा बागलुङ बलुवाका स्थायी बासिन्दा हुन् । उनी माओवादीका स्थायी समिति सदस्य र प्रवक्तासमेत छन् । शर्मा पहिलोपटक मन्त्री भएका हुन् । लामो समय बागलुङमा शिक्षण पेशामा बिताएका शर्मा माओवादीभित्र जारी अन्तसंघर्षमा पछिल्लो समय अध्यक्ष प्रचण्ड निकट मान्छिन् । शर्मा समानुपातिक तर्फका सभासद् हुन् । माओवादीले जनयुद्ध सुरु गर्दा मोहनविक्रम सिंहले नेतृत्वको मसालमा रहेका शर्मा सिंहबाट अलग्गिएर आफ्ना केही समर्थक र कार्यकर्तासहित २०५६ सालमा जनयुद्धरत माओवादीसँग एकता गर्न पुगेका थिए ।
नवनियुक्त पर्यटमनन्त्री लोकन्द्र विष्ट मगर माओवादीको उदगम स्थल मानिने रोल्पाका स्थायी बासिन्दा हुन् । रुकुमको विकट मुरु गाविस-१ धौवालाङ घर भएका विष्ट समानुपातिकतर्फका साभासद् हुन् । विष्ट मगर यसअघि झलनाथ खनाल नेतृत्वको सरकारमा पनि केही समय स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका थिए । हाल माओवादीको पोलिट्ब्युरो सदस्य रहेका उनी पुनस्र्थापित व्यवस्थापिका संसदमा पनि सदस्य थिए । विष्ट मगर अध्यक्ष प्रचण्ड निकट मानिन्छन् । उनी जनयुद्धका समयमा माओवादीको केन्द्रीय समितिमा रहेका नेतामध्ये सबैभन्दा बढी समय जेल जीवन बिताएका व्यक्ति हुन् । पञ्चायतविरोधी आन्दोलनमा सक्रिय रहेका विष्टले २०४५ सालमा केही महिना, जनयुद्ध सुरु भएपछि २०५२ देखि २०५८ सम्म ८ वर्ष र भारतमा २०६१ देखि २०६३ सालसम्म गरी १० वर्षभन्दा बढी समय जेलमा बिताएका छन् ।
तनहुँका स्थायी बासिन्दा नवनियुक्त भूमिसुधार तथा व्यवस्थामन्त्री भीमप्रसाद गौतम माओवादी पोलिट्ब्युरो सदस्य हुन् । उनी पनि समानुपातिकतर्फकै सभासद् हुन् । गौतम माओवादी शान्तिप्रक्रियामा आएपछि नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको तत्कालीन एकताकेन्द्र-मसालबाट पार्टी एकीकरण गरी माओवादीमा आएका हुन् । गौतम हाल माओवादी उपाध्यक्ष र उपप्रधान तथा परराष्ट्रन्त्रीसमेत रहेका श्रेष्ठका विश्वासपात्र मानिन्छन् ।
सामान्य प्रशासनमन्त्री रामकुमार यादव पनि एकताकेन्द्र मसालबाटै माओवादीमा एकता गरी आएका हुन् । उनी माओवादीको केन्द्रीय सदस्य र सिरहाबाट समानुपातिक सभासद् छन् । यादव पनि हालका माओवादी उपाध्यक्ष र उपप्रधान तथा परराष्ट्रन्त्रीसमेत नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् । सुदूरपश्चिमको डोल्पा जिल्लास्थित लिखु गाविसमा जन्मिएकी नवनियुक्त शान्ति तथा पुनर्निमाणमन्त्री सत्या पहाडी माओवादीकी राज्य समित सदस्य हुन् । तत्कालीन अन्तरिम व्यवस्थापि संसदमा समेत सदस्य रहेकी पहाडी अहिले पनि समानुपातिक समभासद् छिन् । उनी माओवादी पोलिटब्युरो सदस्य शक्तिबहादुर बस्नेतकी श्रीमतीसमेत हुन् । माओवादी आन्तरिक राजनीतिमा पहाडीले अध्यक्ष प्रचण्डलाई साथ दिँदै आएकी छन् ।
वननियुक्त विज्ञान तथा प्रविधिमन्त्री कल्पना धमला धादिङ ज्यामरुङकी स्थायी बासिन्दा हुन् । उपाध्यक्ष बाबुराम भट्टराई निकट रहेकी धमला माओवादीको ताम्शालीङ राज्य समिति सदस्य छिन् । उनी संविधानसभा निर्वाचनमा एमाले नेता गंगालाल तुलाधरलाई पराजित गर्दै धादिङ निर्वाचन क्षेत्र नम्बर दुईबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । धमला लमजुङ स्थायी घर भएका तत्कालीन अखिल क्रान्तिकारीका अध्यक्ष देवेन्द्र पराजुलीकी श्रीमती हुन् ।