Sunday, November 20, 2011

कहाँ गए भ्रष्टाचारीलाई किरा पार्न चाहनेहरु ? - mysansar


‘भ्रष्टाचारीलाई किरा परोस्’ यो नारा केही अघि निकै हिट थियो। यो छापिएको गन्जी लगाएर मान्छेहरुले फोटो सेसन गरेका थिए। भ्रष्टाचारसम्बन्धी छानबिन गर्ने जिम्मा पाएको अख्तियारका अधिकारीहरु समेत यो छापिएको गन्जी लगाएर फोटो खिचाउँदै थिए। प्रधानमन्त्री अनि सचिवहरु सबैले यही नारा छापिएको गन्जी लगाएर पत्रपत्रिकामा फोटो छपाए। यत्रो होहल्ला गर्नेहरु भ्याट कान्डमा नक्कली बिल छापेर देशको राजस्व लुटेर भ्रष्टाचार गर्ने ठूल्ठूला व्यापारीको नाम सार्वजनिक भएको खबरले देश तातिँदा कता गायब भो कता। साहसी डिचेन डोल्मा शेर्पाले आफूबाट घुस असुल्ने अध्यागमनका कर्मचारीको भिडियो सार्वजनिक गर्दा पनि बेपत्तै भयो। कारबाहीका लागि दबाब दिन यो समूहले केही गर्ला कि भन्ने आशा पाठकहरुले निकै गरे। उनीहरुको आशा अझसम्म पूरा हुन सकेन। आखिर कहाँ गए त भ्रष्टाचारीलाई किरा पार्न चाहने यो समूह? के यस्ता नाराले भ्रष्टाचार अन्त्य हुन्छ त ? अथवा भ्रष्टाचार कम गर्न सघाउ पुर्‍याउँछ त ? भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा लामो समयदेखि कार्यरत डा. नारायण मानन्धरसँग मैले यस विषयमा केही जिज्ञासा राखेको थिएँ। एन्टि करप्सन एक्सपर्ट डा. मानन्धरका विचारको सारसंक्षेप पढ्न भित्र आउनुस्।

भ्रष्टाचारीलाई किरा परोस्! भ्रष्टाचारको विरोधमा समयसमयमा बनाइने नाराहरुको यो एउटा रुप हो। विगतमा पनि अख्तियार र प्रो पब्लिकले यस्ता नारा लेखिएका स्टिकरहरु बनाएका थिए-
• भ्रष्टाचारीलाई प्रवेश निषेध
• भ्रष्टाचारमुक्त क्षेत्र
• भ्रष्टाचारीलाई सामाजिक बहिस्कार गरौँ
• भ्रष्टाचारीलाई चुला बारौँ
सुरुमा त यी नाराहरु निकै प्रभावकारी लागेका थिए। तर बिस्तारै यत्तिकै हराएर गए। सं‍भवतः त्यो छाप्न आउने विदेशी पैसा सकिएर। सुरुमा त यो निकै प्रभावकारी भएको थियो। प्रो पब्लिकले त यस्ता स्टिकर १० रुपैयाँमा बेचेको समेत थियो। भ्रष्टाचारविरोधी स्टिकर टाँस्न चाहनेले १० रुपैयाँ तिरेर स्टिकर किन्नुपर्थ्यो। यो अलग कुरा हो कि एउटा स्टिकरलाई १० रुपैयाँ लिनु नै भ्रष्टाचार भएको गाइँगुइँ त्यतिबेलै सुनिएको थियो। किनभने यी स्टिकर पैसा लिएर बेच्न हैन, निःशुल्क बाँड्न बनाइएका थिए।
ट्रान्सपरेन्सी इन्टरन्यासनल नेपालले पनि वार्षिक क्यालेन्डरमा यस्ता भ्रष्टाचारविरोधी सन्देशहरु छाप्ने गर्छ। यसले केही ठाउँमा होर्डिङ बोर्डसमेत राखेको थियो।
यी प्रचार सामाग्रीहरुले निश्चय पनि जनचेतना फैलाउँछ। भ्रष्टाचार जस्तो विषयलाई खुला बहस र छलफलको विषय बनाउँछ। तर जनचेतना जगाउने गतिविधिहरुको समस्या के हुन्छ भने भ्रष्टाचारको समस्या नियन्त्रण गर्न प्रभावकारी समाधानको अभावमा यसले अन्ततः झन् बढी निराशा जन्माउँछ। जनआन्दोलन ०६२/६३ पछि गरिएका आशा र त्यसपछिको राजनीतिले ल्याएको निराशालाई हामी योसित दाँज्न सक्छौँ।
भ्रष्टाचार सामना गर्नुपर्ने मानिसहरुले सामान्यतया यस्तो प्रतिक्रिया जनाउँछन्:
• भ्रष्टाचार सहने ४४%,
• रिसाउने ३५%
• निराश हुने २२%
(यो तथ्याङ्क पूर्वी युरोपमा कसैले तपाईँलाई घुस माग्यो भने कस्तो महसूस गर्नुहुन्छ भनी सोधिएको एउटा प्रश्नको जवाफमा आधारित छन्)
यसमा रोचक पक्ष के छ भने पूर्वी युरोप जहाँ सोभियत संघबाट टुक्रिएपछि बनेका देशहरु छन्, त्यहाँ भ्रष्टाचार बढ्दो छ। त्यहाँका ४४ प्रतिशत जनताले भ्रष्टाचार सहन्छु भनेका छन्। संभवतः उनीहरुले सार्वजनिक ओहोदामा बसेका अधिकारीहरुलाई घुस दिने बाहेक अन्य उपाय देखेनन्।
थप रोचक दुई विकल्प रहे- रिसाउने र निराश हुने। रिसाउने र निराश हुने काम भ्रष्टाचारको समाधान हैन। किन ?
भ्रष्टाचार एउटा फरक किसिमको व्यवहार हो। अरु अपराधहरु जस्तै हत्या, चोरी जस्तो यो हैन। कुनै सार्वजनिक ओहोदामा रहेका अधिकारीले घुस माग्दा आफूले त्यसो गरेको थाहा नहुने वा थाहा भए पनि सजाय नहुने कुरामा ऊ विश्वस्त हुन्छ (यसलाई हामी दण्डहीनता भन्छौँ) अथवा सजाय यति कम हुन्छ कि उसले खुसीका साथ स्वीकार गर्छ (जस्तै चिरन्जीवी वाग्ले र रामाज्ञ चतुर्वेदीको केसमा हेर्नुभयो होला, उनीहरु हाँसीहाँसी जेल गएको फोटो छापिएका थिए)
भ्रष्टाचारीलाई किरा परोस् वा यही समूहले एक महिनाअघि बनाएको नयाँ नारा भ्रष्टाचारी जेल परुनले काम गर्दैन। किनभने यो नारा irrational छ, रिसको उपज हो यो नारा, निराशाको उपज हो। तपाईँले rational व्यवहार (भ्रष्टाचार) लाई irrational समाधान (बेइज्जतिपूर्ण नारा) ले चुनौति दिन सक्नुहुन्न। नैतिकता नै प्रभावकारी उपाय भइदिँदो हो त सुरुमा भ्रष्टाचार भन्ने कुरै हुँदैन थियो।
अनि यो लगनपछिको पोते अर्थात् बितिसकेपछिको समाधान हो- यहाँ मान्छेले भ्रष्टाचार गरिसक्यो अनि तपाईँ चाहिँ सराप दिने र यो होस् वा त्यो होस् भनी कामना गर्दै हुनुहुन्छ!
त्यसो भए के गर्नुपर्छ त भ्रष्टाचार नियन्त्रणका लागि ?
मानिसहरुले अक्सर कडा सजाय हुनुपर्ने भन्छन्, जस्तै टुँडिखेलमा झुण्ड्याउने। भियतनाम र चीनमा भ्रष्टाचार गर्नेहरुलाई मृत्युदण्ड दिने कानुन छ। तर पनि यी दुई देश विश्वका सबैभन्दा भ्रष्ट देशहरुको सूचिमा आउँछ। किन कडा सजायले पनि काम गरेन त ? फेरि पनि, अघि भने जस्तै कुरा, यो भनेको बिरामी मान्छेलाई अस्पताल लानु जस्तैमात्र हो। सही समाधान त त्यसलाई रोक्‌नु हो। कडा घातक रोगहरु जस्तै क्यान्सरलाई भने शल्यक्रिया र किमोथेरापी नै आवश्यक हुन्छ। भ्रष्टाचार पनि क्यान्सर रोग जस्तै हो।
हालैका दिनमा भ्रष्टाचारविरोधी अभियानमा संलग्न रहेकाहरुले के देखेका छन् भने भ्रष्ट मानिसहरु हाँसीखुशी जेल जान राजी भइरहेका छन्। अझ मर्न पनि तयार भइरहेका छन्। तर उनीहरु आफ्नो सम्पति सरकारले खोस्ला कि भन्ने डरमा भने रहन्छन्।
हो, यदि भ्रष्टाचार सम्पतिसँग जोडिन्छ भने हामीले त्यस्तो सजायँ प्रणाली बनाउनु पर्‍यो जसमा लामो जेल सजाय हैन, भारी जरिवाना तिर्नुपरोस्, ताकि दोषीको परिवारका सबै सदस्यको समेत सम्पतिले त्यसलाई चुक्ता गर्नुपरोस्। चोरिएका सामान र सम्पति फिर्ता गर्दा यही उपाय अन्तर्राष्ट्रिय रुपमा अपाइन्छ। गैरकानुनी रुपमा आर्जित सम्पतिलाई विश्वका सबै देशका सरकारले जफत् गर्ने कोशिश गर्छन्।
चिरन्जीवी वाग्ले कै उदाहरण लिनुस्- उनीमाथि १० वर्षको राजनीतिक जीवनमा २.८ करोड भ्रष्टाचार गरेको अभियोग लाग्यो। यसलाई तपाईँले १० ले भाग गर्नुभयो भने २८ लाख प्रति वर्ष हुन आउँछ। यसलाई पनि १२ महिनाले भाग गर्नुभयो भने प्रति महिना २.३ लाख हुन आउँछ। अब भन्नुस्, के तपाईँलाई लाग्छ वाग्लेले प्रति महिना २.३ लाख मात्रै घुस लिए होलान् ?