२०४९ साल असार १५ गते चारवषिर्या छोरी निशाले जम्मदिन मनाउन निकै कर गरिन् । त्योबेलासम्म विद्याको परिवारमा जन्मदिन मनाउने फुर्सद र चलन दुवै थिएन । त्यही दिन पहिलोपटक खुशीयालीपूर्वक कान्छी छोरीको जन्मदिन मनाईयो । ‘हिजो मेरो पनि त जन्मदिन थियो नि ! तिमीहरुले मेरो चाहिं मनाएनौ छोरीको मात्रै’ मदनले ठट्टा गर्दै भन्नुभयो । मदनको कुरा सुनेर विद्या झसँग हुनुभयो । मदनको जन्मदिन असार १४ गते हो भन्ने कुरा उहाँलाई त्योबेलासम्म थाहा थिएन । ‘अब अर्को सालदेखि हजुरको जन्मदिन पनि सँगै मनाउने । अघिल्लो दिन तपाईंको, भोलिपल्ट कान्छी छोरीको’ विद्याको वचन सुनेर मदन मुसुक्क हाँस्नुभयो ।
तर अर्को वर्ष त्यो दिन नै आउन पाएन । ‘जेठ ३ मा उहाँ कहिल्यै नर्फकने गरी जानुभयो’ आँखा पुछ्दै विद्याले भन्नुभयो । त्यो साल असार १४ गते उहाँले मदनको सम्झनामा बिरुवा रोप्नुभयो । केही वर्षपछि उहाँले आˆनै पहलमा मदन जयन्ती मनाउन थाल्नुभयो । पहिले पार्टीले मानेको थिएन । तर उहाँले निकै कर गरेपछि पार्टी पनि मान्न वाध्य भयो । अहिले पनि हरेक वर्ष असार १४ गते मदनको जन्मदिनमा विद्याले पतिको सम्झनामा मुलुकको राजनीतिक अवस्थालाई केन्दि्रत गरेर विचार गोष्ठी कार्यक्रम गर्ने गर्नुभएको छ । मदन भण्डारीको निधन भएको १८ बर्ष पुगिसक्दा पनि एमाले एउटा ठोस निष्र्कषमा पुग्न सकेको छैन, त्यो हत्या थियो वा दुर्घटना । यसबिचमा बिद्या भण्डारीले पनि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नुभयो । तर किन उहाँले आफ्ना पतिको निधनबारे अनुसन्धान गर्न सक्नुभएन ? यसै सन्र्दभमा गरिएको कुराकानीको संक्षेप
- १८ वर्ष भैसक्यो है श्रीमान विनाको जिन्दगी कटाउन थाल्नुभएको ?
हो………। श्रीमान श्रीमती भनेको अभिन्न अंग हो । श्रीमान नहुँदा अभाव खड्किने, पीडा हुने त भैहाल्छ । तर कति देखाईन्छ त्यसलाई भन्ने कुरा चाहिं मुख्य हो । संसारमा अरु परिवारलाई पनि यस्तो परिरहेको हुन्छ । जसलाई यस्तो परेको हुन्छ, उसको भावनामा पक्कै पनि चोट परेको हुन्छ । म पनि आम त्यो परिवार भन्दा पृथक छैन । राजनीतिक र सामाजिक कामले गर्दा त्यही चिन्ता मात्रै मानेर बस्न त सक्दिन । तर परिवारमा अरु जस्तै मलाई पनि सधैं उहाँको अभाव खड्किरहेको हुन्छ ।
- बाहिर नदेखिएपनि भित्री पीडा ठूलो छ ?
अँ ………..। सधैंभरी पीडामै रुमल्लिएर त बस्न सकिन्न । गहिरो पीडा भएपनि यात्रालाई अगाडि बढाउनुपर्ने बाध्यता सबैमा हुन्छ । मैले पनि त्यसै गरिरहेको छु । अभाव र पीडाबोध त सँधै भैरहन्छ ।
- १८ वर्ष भैसक्यो, तैपनि दुर्घटना हो की हत्या अझै दुविधा भैरहेको किन होला ?
दुविधा छैन । यो हत्या नै हो ।
- तर त्यहीबेला गठन भएको सरकारी आयोगले दुर्घटना भन्यो । अरुले हत्या भने । अहिले पनि दुवैथरी भनाई आईरहन्छन् क्या ?
यस्ता राजनीतिक षडयन्त्रहरु प्रमाण पुष्टी हुनेगरी गर्दैनन् । यो पत्ता लगाउन पनि गाह्रो हुँदो रैछ । यसको लागि राज्यका सबै संयन्त्र नै परिचालित हुनुपर्छ । राज्यको ध्यान पनि त्यतातिर केन्दि्रत हुनुपर्छ । मलाई के लाग्छ भने यो हत्या नै हो । हाम्रो पार्टीले पनि भनेको छ । यो षडयन्त्रपूर्ण हत्या नै हो ।
- कसले गरेको होला त, तपाईंलाई के लाग्छ ?
कसले गरेको हो भन्ने थाहा भएको भए म कार्वाहीमा लागिहाल्थे नि । फलानो नै हो भनेर प्रमाण सहित जान त त्यो जुटसकेको छैन । यसबीचमा राजनीतिक अस्थिरता र संक्रमणकालले पनि प्रमाण खोज्ने काममा कसैको ध्यान जान सकेन । ध्यान पुर्याउन सकिएन । द्वन्द्वका कारण पनि राज्य संयन्त्र पुरै यसमा लाग्न पाएन । हत्यारा जो भएपनि त्यसलाई न्यायको कठघरामा ल्याउने दृढ निश्चय भएको राजनीतिक नेतृत्व हुनुपर्यो । पार्टीले पनि आँटेको हो । नौ महिने सरकार पनि बन्यो आफ्नो मात्रैको ।
- किन सकेन त नौ महिने सरकार भएको बेला एमालेले ?
त्यही त म भन्दैछु । सरकार बन्दैमा सबै राज्य संयन्त्र कमान्डमा आईसकेको हुँदैन । यसमा बिभिन्न आफ्नै खाले परिवेश हुन्छन् । यो बाहेक पनि पटकपटक पार्टी सरकारमा गएको हो । अहिले पनि छ । तर त्यो विषय जति फोकस हुनुपर्ने नि त्यो हुन सकेन । किनभने समग्र ध्यान नै अन्ततिर लगाउनुपर्ने भो । ०५१ सालपछि नै मुलुक अन्योल र अस्थिरतमा गैरहृयो । एजेण्डा त्यही दासढुंगा काण्ड मात्रै हुन सकेन । अर्को कुरा मुलुक अन्योल र अस्थिरतामा बढी गयो । यसले गर्दा अरु द्वन्द्व व्यवस्थापन गर्ने कुरामा पनि नेताहरुको ध्यान गयो । त्यसमा फोकस हुन सकेन । फोकस हुन नसक्नु कमजोरी पनि हो । तर सरकारमा जाँदैमा राज्य संयन्त्र आफ्नो नियन्त्रणमा हुन्छ भन्ने चाहिं हुँदैन ।
- तर आलोचकहरु भन्छन्, एमालेले साँच्चै चाहने हो भने यथार्थ कुरा पत्ता लाग्न सक्थ्यो, लहरो तान्दा पहरो थर्किने डरले अग्रसरता देखाएन ।
यस्तो मलाई लाग्दैन । किनभने एउटा देशको नेताको हत्याको कुरालाई ओझेलमा पार्न हुँदैन । अहिले पनि हामी यो मुद्दालाई मर्न दिंदैनौं । यसको न्यायिक छानवीन हुनुपर्छ भन्ने कुरा अहिले पनि जीवितै छ । हत्यारा न्यायको कठघरामा आउनुपर्छ ।
- पार्टी भित्रै कसैलाई डर भएर यो मुद्दा ओझेलमा परेको त होईन ?
मलाई त्यस्तो लाग्दैन । यो कुरा नै गलत हो । जहाँ शोक परेको छ, त्यसको घाऊमा झन् नूनचुक छर्कने कुरा जस्तो हो यो । त्यसमाथि छानविन गर्दा त जो पनि कठघरामा आउन सक्छ नि । अरु के हेरेर बसे त ? मदन भण्डारी त एमालेको मात्रै होईन, देशकै नेता हो । अरु पार्टी सरकारमा हुँदा पनि त गर्न सक्थे नि ।
- दोषी पत्ता लगाएर कार्वाही भएको हेर्न पाएको भए पीडा पनि केही कम हुन्थ्यो होला नि है ?
हो, गुमाउनुपरेको पीडा आफ्नो ठाउँमा छ । घटना रहस्यमय भएको पीडा अर्को ठाउँमा छ । दोषी पत्ता लगाएर सजायँ गर्न नसकिएको त्यो आफ्नो ठाउँमा छ । तर एउटा कुरा के सत्य हो भने मदन भण्डारीलाई हामीले गुमायौं । जे गरेपनि उहाँलाई फिर्ता ल्याउन सकिन्न । तर यस्ता घटना भविष्यमा दोहोरिन नदिन दोषी पत्ता लगाएर कार्वाही हुनुपर्छ ।
- तपाईंलाई के लाग्छ यथार्थ कुरा कहिलेसम्म बाहिर आउला ?
म एकदमै अन्योलमा छु यसमा । तर मेरो मनमा एउटा झिनो आशा के छ भने सत्ता सम्पूर्ण रुपमा हाम्रै पार्टी या हाम्रो जस्तै विचार राख्ने क्रान्तिकारी छवी राख्ने कसैको भयो भने तथा त्यस्तो काम गर्न सक्नेको सरकार बन्यो र उसले राज्यका सबै संयन्त्र परिचालन गर्न सक्ने भयो भने चाहिं पत्ता लगाउन सकिन्छ की भन्ने मेरो एउटा झिनो आशा छ । किनभने पार्टी सरकारमा पटकपटक भएपनि राज्य संयन्त्रमा आफ्नो नहुँदा काम गर्न सकिएन । गृह र रक्षा मन्त्रालय आफ्नो हुँदा पनि अरु नै मुद्दाका कारण यसमा ध्यान दिन नै पाईएन । त्यसैले यो मुद्दा जीवित भएकाले भावी दिनमा परिस्थिति आफ्नो अनुकूल भयो भने पत्ता लाग्छ की । यो झिनो आशा चाहिं मलाई छ ।