२८ वैशाख, काठमाडौं । जतिसुकै सम्पत्ति कमाएपनि आरिसे बुद्धि छाड्न नसकेपछि कसको के लाग्दो रैछ र ? ऊबेला पेट्रोलियम डिलर्स एसोसियनका अध्यक्ष समेत रहेका तेल व्यापारी सुनसरीका शिवप्रसाद घिमिरेलाई अहिले सबैले नामूद ठगको रुपमा चिन्न थालेका छन् । अरु कम्पनीको नाममा रहेको सिलिण्डर ल्याउँदै पिंध काटेर आफ्नो नाममा बनाउँदै बजारमा पुर्याउने गरेको अवस्थामा घिमिरेको सबै पोल खुलेको हो ।सुनसरीको खनारमा रहेको घिमिरेको ग्यास कम्पनीमा अनुगमन गर्दा झण्डै २० हजार जोखिमयुक्त सिलिण्डर फेला परेको थियो । यसरी अरु कम्पनीको सिलिण्डरको पिंध काटेर आफ्नो नामको बनाउँदा अरु कम्पनीका सिलिण्डर बजारमा रित्तिँदै जान्छन् र एउटा कम्पनीको मात्र जताततै छ्याप्पछ्याप्ती देखिन्छ । उपभोक्ता पनि धेरै देखिने ग्यास सिलिण्डरमा मात्र आकषिर्त हुन्छन् । घिमिरेले यही चोर शैली अपनाएर बजारमा आफ्नो कम्पनी सुगम ग्यासको मात्र लहर ल्याउने कुचेष्टा गरेका थिए । तर पाप धूरीबाट कराए झैं उनको सब कर्तुत सार्वजनिक भयो ।
उनको यो कर्तुत गैरकानुनी काम मात्र होईन, मान्छे मार्ने खेल पनि हो । जानकारहरुका अनुसार यसरी पिंध काटेर टाँसिएको सिलिण्डर निकै खतरनाक हुन्छन् । जुनसुकै बेला पनि पड्किन सक्छन् । यो हिसाबले घिमिरेले घरघरमा ‘ग्यास बम’ बाँडिरहने गरेको प्रष्ट हुन्छ । सिलिण्डरमा कुनै पनि प्राविधिक फेरबदल भएमा यो निकै खतरनाक हुन्छ ।
को हुन् घिमिरे ?
घिमिरे पेट्रोलियम व्यवसायीसँगै सञ्चार उद्यमी समेत हुन् । उनी म्ाकवानपुरको भैसेपाटीबाट २०५० सालमा इटहरी पुगेका हुन् । भैंसेपाटीमा रहँदा उनी पञ्चायतकालको प्रधानपञ्च समेत भएका थिए । पहिले उनले कमल थापासँग निकट रहेर काम गरेका थिए । इटहरीमा गएपछि राजनीति छाडेर व्यपारमा संलग्न रहे । पछि उनले नेपाली सेना पुर्वी पृतना हेडक्वाटरमा रासन ठेक्काको काम पनि गरे । पेट्रोलियम पदार्थ बिक्री बितरण गर्न निजी क्षेत्रलाई पनि संलग्न गराइने भनेपछि आयल निगमको प्रतिस्पर्धी संस्था बनाउन उनले सुनसरीको खनारमा नेपाः पेट्रोलियम ट्रेड लिङ्को स्थापना गरेका हुन् । उनले पहिले नेपाल एफएममा लगानी गरे । सप्तकोशी एफएम ईटहरीमा पनि उनको लगानी छ । ईटहरीमा मकालु टेलिभिजनमा शेयर हालेर अहिले उनी त्यसको अध्यक्ष भएका छन् ।
राजनीतिक संम्लग्नता
पञ्चायतकालमा घिमिरे कमल थापका सहयोगी थिए । २०४६ सालको जनआन्दोलन पछि उनले एमाले नजिक भएर धेरै काम गरे । उच्च राजनीतिक तहमा राम्रै लिंक भएका कारण उनले गरेका तमाम अपराधलाई लुकाउने गरिएको भएपनि यसपटक उनी नराम्ररी फसे ।
घिमिरेको लगानी कहाँ ?
खास काम तेल व्यापार भएपनि घिमिरेले थुप्रै काममा हात हालेका छन् । पहिले उनले काठमाडौंको नेपाल एफएममा लगानी गरेका थिए । अहिले उनी सुनसरी ईटहरीमा रहेको मकालु टेलिभिजनको अध्यक्ष समेत हुन् । उनका लगानीका उद्योग प्रतिष्ठान यस प्रकार छन् ः
· देशभर दुई दर्जनभन्दा बढी पेट्रोलपम्प
· सुनसरीमा दुईवटा आफ्नै निजी पेट्रोलपम्प
· धादिङको नौबिसेमा सुगम ग्यासको उद्योग
· सुनसरी खनारमा नेपाः पेट्रोलियम कम्पनी
· सुनसरीमै कत्था उद्योग
· ईटहरीको मकालु टेलिभिजन
· पोल्ट्री र्फम
यसरी बिभिन्न ठाउँमा करोडौंको कारोबार गर्न पल्केका घिमिरे प्रतिष्ठित उद्योगीको रुपमा चिनिन्थे । तर उनी अहिले ठग व्यापारीको रुपमा परिचित भएका छन् । अरु कम्पनीको सिलिण्डरको पिंध काटी आफ्नो नामको बनाएर अवैध धन्दा गरे बापत उनलाई कालोबजारी ऐन र गुणस्तरीय ऐन अनुसार कार्वाही हुने प्रावधान भएपनि अझै भएको छैन । प्रकृयागत ढिलाईले कार्वाही हुन नसकेको प्रशासनको भनाई छ ।