Monday, May 16, 2011

पासपोर्ट बेच्ने सभासदलाई १५ लाख धरौटी माग - mysansar

रातो पासपोर्ट बेचेको अभियोगमा अख्तियारले मुद्दा चलाएका दुई सभासद बीपी यादव र गायत्री साहलाई विशेष अदालतले १५ लाख धरौटी तिरे जेल बाहिरै बसेर मुद्दा लड्न छुट दिएको छ। उनीहरुको नाममा अर्कै व्यक्तिलाई विदेश पठाउन सहयोग गरेको अभियोग लागेका विमानस्थलका अध्यागमन कर्मचारी भूमिनन्द भण्डारीलाई भने १० लाख धरौटी माग गरिएको छ।
यादवका तर्फबाट चार, साहका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापासहित चार र भण्डारीका तर्फबाट दुई वकीलले बहस गरेका थिए। उनीहरुले संवैधानिक हकको उल्लंघन गरी मुद्दा लगाइएको, मुद्दा छिटो पेश गरी षडयन्त्र गरी संविधान बनाउन नदिने उदेश्यले मुद्दा लगाइएको, अख्तियारले संसदीय स्वतन्त्रताको अपहरण गरेको, समावेशी महिलालाई प्रोत्साहन दिनु पर्नेमा वादी पक्षले ज्यादती गरी मुद्दा चलाएको, सेलिब्रेटीको लागि अख्तियारले मुद्दा लगाएको, पत्रिकाले उचालेको भरमा मुद्दा लगाइएको, सांसदहरुले अपराध गरेका होइनन्, धरौटी माग्न समेत हुँदैन, आदि आदि तर्क गरेका थिए।


मुद्दामा के बहस भयो र के फैसला भयो हेर्नुस् पूर्ण विवरण विशेष अदालतको विज्ञप्तिबाट-
मुद्दाः रकम लेनदेन गरी सरकारी कागजात (कूटनैतिक राहदानी) सच्याई हेरफेर गरी भ्रष्टाचार गरेको।
मुद्दा दायर मिति : २०६८।१।२८
आज मिति २०६८।२।१।१ का दिन थुनछेक आदेश भएको।
बहस गर्ने कानून व्यवसायीहरु
वादी नेपाल सरकार तर्फबाट
महान्यायाधिवक्ताको कार्यालयका शाखा अधिकृत श्री यामबहादुर बानिया, श्री विदुरकुमार कार्की र उपन्यायाधिवक्ता श्री तेजनारायण पौडेल
प्रतिवादी श्री विश्वनाथ प्रसाद यादवको तर्फबाटः
अधिवक्ता श्री सुरेशकुमार कार्की, अधिवक्ता श्री सुरेन्द्र महतो, अधिवक्ता श्री सीताराम अग्रवाल, अधिवक्ता श्री मिथिलेश कुमार सिंह
प्रतिवादी गायत्री साहको तर्फबाटः
वरिष्ठ अधिवक्ता श्री शम्भु थापा, अधिवक्ता श्री रामकृष्ण निराला, अधिवक्ता श्री मनोज दवाडी, वरिष्ठ अधिवक्ता श्री किशोरकुमार अधिकारी
प्रतिवादी भूमिनन्द भण्डारीको तर्फबाटः
अधिवक्ता श्री टीकाराम भट्टराई, अधिवक्ता श्री टीकाराम रिजाल
प्रतिवादी पक्षका कानून व्यवसायीहरुको बहसको मुख्य मुख्य बुँदाः
राहदानी ऐन अनुसार एक पटक काठमाडौं जिल्ला अदालतमा मुद्दा चलि दशहजार रुपैयाँ धरौटीमा छुटेकाले, एउटै कसूरमा अर्को भ्रष्टाचार मुद्दा अर्थात् दुइवटा मुद्दा लगाउन नमिल्ने, मुद्दा लाग्दै नलाग्ने। मुद्दा नै खारेज गरिनु पर्दछ। संवैधानिक हकको उल्लंघन गरी मुद्दा लगाइएको।
मुद्दा छिटो पेश गरी षडयन्त्र गरी संविधान बनाउन नदिने उदेश्यले मुद्दा लगाइएको। अख्तियारले संसदीय स्वतन्त्रताको अपहरण गरेको।
ओहदाको नाताले घूस खाएको भनी अभियोग पत्रले भन्न नसकेको।
समावेशी महिलालाई प्रोत्साहन दिनु पर्नेमा वादी पक्षले ज्यादती गरी मुद्दा चलाएको। सेलिबे्रटीको लागि अख्तियारले मुद्दा लगाएको। पत्रिकाले उचालेको भरमा मुद्दा लगाइएको। सांसदहरुले अपराध गरेका होइनन्, धरौटी माग्न समेत हुँदैन, आदि आदि।
मुद्दाको संक्षिप्त तथ्यः
१६ जनवरी २०११ मा अष्टे्रलियाको सिड्नीको लागि इत्तेहाद एअर लाइन्सबाट सांसद विश्वनाथ प्रसाद यादवको कुटनीतिक पासपोर्टमा उडेका पृथ्वी छन्त्याल र सांसद गायत्री साहको पासपोर्टबाट उडेकी सीता साहलाई अबुधाबी विमानस्थलमा जाँचबुझ गर्दा पासपोर्टमा आफ्नो फोटो टाँसी फ्रड गरेको भनी १८ जनवरीको उडानबाट नेपाल फर्काइएको।
त्रिभुवन विमानस्थलमा उत्रेपछि फिर्ता ल्याउने इत्तिहाद विमान कम्पनीले ती दुईको फ्रड गरेको राहदानी र ती दुई व्यक्तिलाई चिट्ठीसाथ अध्यागमन कार्यालयमा बुझाएकोमा अध्यागमन कार्यालयले कानूनी कारबाही नगरी भगाएको।
अबुधाबीबाट फिर्ता भएका सासंसदको कूटनीतिक रातो पासपोर्ट प्रयोग गर्ने दुई व्यक्तिलाई भगाएको कुरामा पक्राउ परेका अध्यागमन कार्यालयका शाखा अधिकृत भूमिनन्द भण्डारीले स्वीकार गरी अदालतमा समेत बयान गरेका।
सभासद्द्वयको कुटनीतिक राहदानी दुरुपयोग गरी अन्य व्यक्तिलाई विदेश जान उडाई रु. १,६२,००,०००। (एक करोड बैसठ्ठी लाख रुपैयाँ आपसमा बाँडफाँट गरी लिनु खानु गरी भ्रष्टाचार गरेको आरोप प्रतिवादीहरु माथी लगाई अभियोग पत्र दायर हुन आएको।
२०६८ बैशाख २८ गते दायर भएको कुटनीतिक अर्थात् रातो पासपोर्ट दुरुपयोग गरी भ्रष्टाचार गरेको मुद्दामा, दुवै पक्षका कानून व्यवसायीहरुको बहस सकिएपछि मिसिलसाथ उपस्थित गराइएका प्रतिवादीहरु
सांसदहरु विश्वनाथ प्रसाद यादव
गायत्री साह र
अध्यागमन कार्यालयका शाखा अधिकृत भूमिनन्द भण्डारीको हकमा तीन दिनको बहसपछि आज थुनछेक आदेश भएको।
थुनछेक सम्बन्धमा भएको आदेशः
सम्वत् २०६८ सालको स.फौ.न. ९३–०६७–०००८३
नेपाल सरकार…………………………………………………………………………….१ वादी
विरुद्ध
विश्वनाथ प्रसाद यादव समेत ……………………………………………………………१ प्रतिवादी
यसमा आरोपपत्रसाथ उपस्थित भई बयान गर्ने प्रतिवादी त्रय विश्वनाथ प्रसाद यादव, गायत्री साह र भूमिनन्द भण्डारीको बयान कार्य सम्पन्न भई निज प्रतिवादी त्रयले गरेको बयान तथा मिसिल संलग्न कागजातहरुको अध्ययन गरी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान् उपन्यायाधिवक्ता श्री तेजनारायण पौडेल, शाखा अधिकृत द्वय श्री याम बहादुर वानिया तथा श्री विदुर कुमार कार्कीले र प्रतिवादी गायत्री साहको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ताद्वय श्री किशोरकुमार अधिकारी, श्री शम्भु थापा, विद्वान अधिवक्ताहरु श्री रामकृष्ण निराला, श्री मनोज दुवाडी, प्रतिवादी विश्वनाथ प्रसाद यादवको तर्फबाट श्री मिथिलेश कुमार सिंह, श्री सीताराम अग्रवाल, श्री सुरेन्द्र कुमार महतो, श्री सुरेश कुमार कार्की, र प्रतिवादी भूमिनन्द भण्डारीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री टीकाराम भट्टराई तथा श्री टीकाराम रिजालले गर्नु भएको वहस समेत सुनियो।
थुनछेक तर्फ आदेश गर्ने क्रममा विचार गर्दा प्रतिवादी विश्वनाथ प्रसाद यादव र गायत्री साहले सभासदको हैसियतले नेपाल सरकार परराष्ट्र मन्त्रालयबाट क्रमशः ०१९८९३ र ०१९८२७ नं. को कुटनैतिक राहदानी (रातो पासपोर्ट) प्राप्त गर्नु भएकोमा विवाद छैन। प्रतिवादी विश्वनाथ प्रसाद यादव तथा प्रतिवादी गायत्री साहको नाममा जारी भएको उपरोक्त नम्बरको राहदानी क्रमशः पृथ्वी छन्त्याल र सीता साहले प्रयोग गरी काठमाडौंको त्रिभुवन विमानस्थलबाट १६।१।२०११ मा अष्ट्रेलिया जाने क्रममा आबुधाबी विमानस्थलमा पक्राउ परी १८।१।२०११ मा काठमाडौं फिर्ता भएकाले निजहरुले सो राहदानीहरु रकम तिरी खरीद गरी प्रयोग गरेको कुरा अभियोगपत्रमा उल्लेख भएको पाइन्छ।
१६ जनवरीमा २०११ म अबुधाबी गएको छैन, राहदानी सम्बन्धी समाचार पत्रिकामा प्रकाशित भएपछि आफ्नो राहदानी हेर्नका लागी संसद सचिवालयका महासचिव मनोहर भट्टराईज्यूलाई दिएको हो, अरु कसैलाई दिएको होइन भनी प्रतिवादी विश्वनाथ प्रसाद यादवले अधिकार प्राप्त अधिकारी समक्ष र यस अदालतमा आरोपित कसूरमा ईन्कारी भै बयान गरेको पाइन्छ। त्यसै गरी मैले आफ्नो कुटनैतिक राहदानी सन्तोष राज उप्रेतीलाई क्यानाडाको भिसा लगाउन दिएको हुँ र दुरुपयोग भयो भन्ने कुरा थाहा पाउनासाथ प्रहरी कार्यालयमा उजुर दिएको हुँ भनी प्रतिवादी गायत्री साहले अधिकार प्राप्त अधिकारी समक्ष र यस अदालतमा समेत कसूरमा ईन्कारी भै बयान गरेको पाइन्छ। प्रतिवादीहरु विश्वनाथ प्रसाद यादव र गायत्री साह आरोपित कसूरमा ईन्कार रही बयान गरेपनि निजहरुको राहदानीमा भएको फोटो उप्काई परिवर्तन गरी पृथ्वी छन्त्याल र सीता साहले इत्तिहाद एअरवेजबाट प्रस्थान गरेको र आबुधाबी विमानस्थलबाट काठमाडौं फिर्ता पठाएको कुरा मिसिल संलग्न प्रतिवादीहरुको राहदानीको रंगीन फोटो कपी समेतका कागजातबाट देखिन्छ। यी प्रतिवादीहरुको राहदानी भएको फोटो उप्काई हेरफेर गरी टाँसिएको साथै प्रतिवादी विश्वनाथ प्रसाद यादवको राहदानीको पाना नं. ३३ मा रहेको Departure स्टिकर उप्काई पाना ३२ मा टाँस भएको र उक्त भीसा स्टिकर पाना नं. ३२ मा लगाइएको अध्यागमन रबर स्टाम्पलाई छोपिएको। त्यसैगरी सोही ३२ नं. पानामा रहेको Departure स्टिकर उप्काई हटाइएको साथै पाना नंं १२, १७ र ३७ मा रहेको भीसा स्टिकरहरु समेत उप्काई पछि सोही ठाउँमा टाँस (रिपेस्टेड) भएको साथै प्रतिवादी गायत्री साहको राहदानीको पाना नं. १६ मा रहेको स्टिकर उप्काएको पाना नंं ३० मा रहेको भीसा स्टिकर उप्काएको पाना नं. ३१ मा रहेको भीसा स्टिकर उप्काई पुनः सोही ठाउँमा टाँस भएको कुरा केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाका विशेषज्ञको मिसिल संलग्न परीक्षण प्रतिवेदन समेतका कागजातबाट देखिएकोले प्रतिवादीहरुको राहदानी अरु नै व्यक्तिहरुले प्रयोग गरी विदेश प्रस्थान गरेकोमा आबुधाबी विमानस्थलबाट पक्राउ परी नेपाल फिर्ता पठाएको तथ्यको पुष्ट्याँई भएको समेतका तत्काल प्राप्त प्रमाणबाट कसूरमा प्रतिवादीहरु विश्वनाथ प्रसाद यादव तथा गायत्री साहको संलग्नता नरहेको भन्न मिलेन। अभियोगपत्रमा १,६२,००,०००।– विगो भनी दावी गरेको भएतापनि सो अंकको पुष्ट्याँई तत्काल भई नसकेको समेतको अवस्थामा पछि प्रमाण बुझदै जाँदा ठहरे बमोजिम हुने गरी हाल प्रतिवादीहरु विश्वनाथ प्रसाद यादव र गायत्री साहले जनही रु १५,००,०००।–(पन्ध्र लाख) नगदै वा सो रकम खाम्ने जेथा वा बैंक ग्यारेन्टी दिए लिई तारेखमा राखी मुद्दामा पुर्पक्ष गर्न दिनु र नगद धरौट, बैंक ग्यारेन्टी वा जेथा जमानत दिन नसके कानून बमोजिम सिधा खान पाउने गरी थुनुवा पुर्जि दिई थुनामा राखी मुद्दामा पुर्पक्ष गर्नु।
प्रतिवादी भूमिनन्द भण्डारीको हकमा विचार गर्दा निज प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष भएको पहिलो बयानमा आफू कसूरमा ईन्कारी रहेको भन्ने कुरा लेखाएपनि सत्य तथ्य उजागर गर्ने मौका पाउँ भनी निवेदन दिई गरेको दोश्रो बयानमा प्रतिवादी सभासदद्वयको कुटनैतिक राहदानी प्रयोग गर्ने पृथ्वी छन्त्याल र सीता साहलाई त्रिभुवन विमानस्थलबाट उडाउने कार्यमा आफ्नो संलग्ना नरहेपनि फिर्ता आएका उल्लेखित व्यक्तिहरुलाई आफू समेत भै बुझी लिए पछि कानूनी कारवाही नगरी भगाउने कार्य गरेको तथ्यलाई स्वीकार गरेको र सोही व्यहोराको बयान यस अदालतमा समेत गरेको देखिन्छ। पृथ्वी छन्त्याल र सीता साह त्रिभुवन विमानस्थलबाट प्रस्थान गर्दा यी प्रतिवादी जिम्मामा रहेको म्भउबचतगचभ कतष्अपभच प्रयोग भएको र फर्केर आएपछि आफूसमेत भै बुझी लिई कानूनी कारवाही नगरी भगाउने कार्यमा सहभागी भै कसूरमा संलग्न रहेको देखिँदा पछि प्रमाण बुझदै जाँदा ठहरे बमोजिम हुने गरी हाल प्रतिवादी भूमिनन्द भण्डारीले रु १०,००,०००।–(दश लाख) नगदै वा सो रकम खाम्ने जेथा वा बैंक ग्यारेन्टी दिए लिई तारेखमा राखी मुद्दामा पुर्पक्ष गर्न दिनु र नगद धरौट, बैंक ग्यारेन्टी वा जेथा जमानत दिन नसके कानून बमोजिम सिधा खान पाउने गरी अ.वं १२१ नं. बमोजिम थुनुवा पुर्जि दिई थुनामा राखी मुद्दामा पुर्पक्ष गर्नु भनी विशेष अदालत ऐन, २०५९ को दफा ७ (घ) र मुलुकी ऐन अ.वं ११८ को देहाय १० अनुसार यो आदेश पर्चा गरी दिएको छ।
साथै प्रतिवादीहरु खडानन्द ढकाल, श्यामवावु भण्डारी, देवीदत्त खत्री, ईन्द्रकुमार सुनुवार, सन्तोषराज उप्रेती र हरिचरण साहको नाममा आरोपपत्रमा उल्लेखित ठेगानामा विशेष अदालत ऐन, २०५९ को दफा १०(१) बमोजिम समाह्वान जारी गरी म्याद भित्र प्रतिवादीहरु हाजिर भए वा सो अवधि व्यतित भएपछि नियमानुसार पेश गर्नु।
आदेश गर्ने इजलास : अध्यक्ष गौरीबहादुर कार्की
सदस्य ओमप्रकाश मिश्र
सदस्य केदारप्रसाद चालिसे
विशेष अदालत काठमाडौं
२०६८ जेठ १ गते आइतबार
पद वा ओहदाबाट स्वतः निलम्बन हुने कानूनी व्यवस्थाः
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३: कुनै राष्ट्रसेवक अनुसन्धान तहकिकातको लागि दफा ३१ बमोजिम थुनामा रहेकोमा त्यसरी थुनमा रहेको अवधिभर र निजउपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ।