Wednesday, May 25, 2011

फोरम फुटले के फरक पर्ला ? - onlinekhabar

समाचार टिप्पणी  । संविधानसभाको निर्वाचनमा सवैभन्दा ठूलो क्षेत्रीय शक्ति र चौथो ठूलो दलका रुपमा उदाएको मधेसी जनअधिकार फोरम चौथो पटक फुटेको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले कम्युनिष्ट एजेण्डा बोकेको भन्दै सुरुदेखिनै असन्तुष्ट रहँदै आएका सहअध्यक्ष जयप्रकाशप्रसाद गुप्ताले अन्य १२ सभासदलाई लिएर सोमबार मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) नामक नयाँ पार्टी गठन गरेका छन् ।
नयाँ पार्टी दर्ताका लागि संविधानसभामा दिइएको निवेदनमा गुप्ता सहित १६ सभासद रहेको दावी गरिएपनि रम्भादेवी यादव, शिवपुजन यादव र मधुसुदन अग्रवालको हस्ताक्षर छैन् । यस्तै रातो पासपोर्ट बेचेको आरोप लागेर निलम्बनमा परेका वीपी यादव पनि गुप्ता पक्षमै छन् । फोरमको संस्थापन पक्षसँग अब १२ सभासद मात्र बाँकी छन् ।
पार्टी फुटाएपटि आफ्नै निवास सिनामंगलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै गुप्ताले पार्टी अध्यक्ष उपेन्द्र यादव एकलौटी रुपमा अघि बढेको, पार्टीमा मनोनानी गरेको, मधेसका मुद्धालाई छाडेर सरकारमा गएकोले नयाँ पार्टी गठन गर्नु परेको बताए ।
को हुन जेपी गुप्ता ?
फोरमलाई दोस्रोपटक फुटाउने जेपी गुप्ता एक पूर्व पत्रकार र महत्वकांक्षी मधेसी नेताका रुपमा चिनिन्छन् । नेपाली कांग्रेसबाट राजनीति थालेका गुप्ता कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र थिए । सप्तरी र काठमाडौंमा रहेका पत्रकारिता गरेका जेपी कोइराला परिवारसँग निकट रहेकी सरस्वती पुरीसँग बिवाह गरेपछि कोइराला परिवारसँग निकट हुन पुगेका हुन् । त्यसताका कोइरालाका विश्वसपात्र बनेका गुप्ताले २०४८ सालमा कांग्रेसबाट सप्तरी चुनाव लडेपनि पराजित भए । त्यसपछि ५१ सम्म तत्कालिन प्रधानमन्त्री कोइरालाको प्रेस सल्लाहकारका रुपमा काम गरे । २०५१ र ५६ को संसदीय निर्वाचनमा विजयी भएका गुप्ताले पटक-पटक सञ्चारमन्त्री र कृषिमन्त्रीको जिम्मेबारी सम्हाले । कांग्रेस बिभाजनका बेला देउवालाई साथ दिएका गुप्ता ५९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अरोपमा पक्राउ गरेपछि केही सयम जेल पनि बसे । उनीसँगै पक्राउ पर्नेमा थिए खुमबहादुर खड्का, गोविन्दराज जोशी र चिरञ्जीवी वाग्ले ।
बिशेष अदालतबाट सफाई पाएपनि उनी कांग्रेसमा फर्केर जम्न सकेनन र बिस्तारै मधेसी राजनीतिमा तानिन थाले । जेलबाट छुटेपछि उपेन्द्र यादवको नेतृत्वमा रहेको मधेसी जनअधिकार फोरमतिर आकषिर्त भएका गुप्ता यादवको विश्वास जित्दै महासचिव र सहअध्यक्षसम्म बने । मधेसका जानकारहरु भने मधेस आन्दोलनमा उनको सक्रिय भूमिका नभएको बताउँछन् । फोरममा रहँदा अध्यक्षसँग पटक-पटक रुष्ट भएका गुप्ताले धेरै अघिदेखि नै अलगिने योजना बनाएका थिए । तराई मधेस लोकतान्त्रिक पार्टी गठन गर्न समेत सक्रिय रहेका गुप्ता, हृदयेश त्रिपाठीको आगमनपछि पुनः फोरममै सक्रिय थिए । चुनावअघि बिजयकुमार गच्छदार र सरतसिंह भण्डारीलाई पार्टीमा भित्राउन मुख्य भूमिका खेलेका थिए गुप्ताले ।
कस्ता-कस्ता अनुहार ?
गुप्ताको पक्षमा रहेका अधिकाशं सभासद नयाँ अनुहारका छन् । नन्दनकुमार दत्त र राजलाल यादव जिल्लास्तरका पुराना नेता हुन् । तर, अन्य अधिकाशं मधेस आन्दोलनसँगै उदाएका नयाँ अनुहार छन् । उनीहरुमध्ये धेरै कांग्रेसबाट राजनीतिमा आएका छन् भने केही एमाले त केही राप्रपाका । गुप्ता, राजलाल यादव, राजकिसोर यादव र ओमप्रकाश यादव मधेस आन्दोलनसँग उदाएको फोरमबाट संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थिए भने अन्य मनोनित हुन् । नयाँ पार्टीको अध्यक्ष तथा संसदीय दलको नेता गुप्ता हुन भने सहअध्यक्ष राजकिशोर यादव। यसैगरी संसदीय दलका उपनेता नन्दनकुमार दत्त, प्रमुख सचेतक चन्दि्रका यादव र सचेतक सविता यादव चयन भएका छन् । यसैगरी गुप्ता पक्षमा अन्य सभासद्हरु राजलाल यादव, सुरिताकुमार साह, सलमा खातुन, ओमप्रकाश यादव, सन्ध्यादेवी, मोहमद अकबाल अहमद, आत्मारामप्रसाद साह र विश्वनाथ प्रसाद साह पनि रहेका छन् ।
सरकार र संबिधानसभाको भबिष्य
फोरमको विभाजनसँगै एमाले-माओवादी गठवन्धनलाई ठुलो धक्का लागेको छ । सरकारका लागि आवश्यक पर्ने सामान्य बहुमत भएपछि प्रधानमन्त्रीको राजीनामा माग्दै आएको अघोषित प्रजातान्त्रिक गठवन्धन बलियो बन्दै गएको छ । विश्लेशक तुलानारायण साहको बुझाईमा फोरमको विभाजन एमाले-माओवादी गठवन्धनलाई झापड सावित भएको छ । ‘यो विभाजनले दुई तिहाईको बलमा संविधानसाभाको म्याद थप्ने सरकारको तयारीलाई तुहाई दिएको छ’ उनी भन्छन्-’अघोषित प्रजातान्त्रिक गठवन्धनलाई सशक्त बनाउँदै प्रधानमन्त्रीको राजीनामालाई अपरिहार्य सिद्ध गरेको छ ।’ फोरममा आएको विभाजनले राष्ट्रिय राजनीतिमा मधेसको प्रभावलाई कमजोर बनाएको छ भने क्षेत्रिय राजनीतिमा राष्ट्रिय दलहरुलाई आफ्नो प्रभाव विस्तार गर्न केही सहज हुनेछ ।
झलनाथ खनालको सरकारलाई राजीनामा गराउन तयार देखिएको एमाले र त्यसलाई सघाउने कांग्रेसलाई नयाँ सरकार गठनका लागि गणितीयरुपमा निकै सहयोग पुग्ने छ । जसले गर्दा पुनः सहमतीय सरकारको सम्भावना घटेर लोकतान्त्रिक गठवन्धनको बहुमतीय सरकारलाई मार्ग प्रसस्त हुने छ ।
दुई तिहाईको बलमा संविधानसभाको म्याद थप्ने प्रधानमन्त्री झलनाथ खनालको योजनामा अध्यक्ष यादवले सहमति जनाएपछि रातारात पार्टी बिभाजन गरिएको बिश्वस्त सूत्रको भनाई छ । पहिलेदेखिनै दल बिभाजनका लागि मानसिकरुपमा तयार रहेका गुप्ता आइतबारको पार्टी बैठकमा सहभागी थिए । त्यहाँ अध्यक्ष यादवले संविधानसभा जोगाउन दुईतिहाई पुराएरै भएपनि अघि बढ्नुपर्ने प्रस्ताव गरेका थिए । सो योजनालाई तुहाउन गुप्ताले रातभरमै पार्टी बिभाजनको खाका कोरेर सोमबार बिहान त्यसलाई कार्यान्वयन गरेका थिए । तर, अध्यक्ष यादवले मन्त्री नबनाएको झोंकमा गुप्तालाई साथ दिएर पार्टी फुटाएका फोरमका १२ सभासद्लाई मन्त्री नबनाएसम्म उनीहरुलाई जोगाइराख्न गुप्तालाई पनि हम्मे पर्ने छ । सैद्धान्तिकरुपमा कांग्रेस एजेण्डासँग नजिक देखिएका गुप्तालाई म्याद थपमा सहमति जनाएर नयाँ सरकारमा आफुलाई साथ दिनेहरुलाई मन्त्री नबनाई राख्न त्यती सहछ छैन् ।
फोरममा फुटको शिलशिला
संविधानसभामा ५२ सभासदसहित संसदको चौथो शक्तिका रुपमा स्थापित फोरम यसअघि नै तीन पटक फुटिसकेको थियो । सुरुमा भाग्यनाथ गुप्ता, किशोर विश्वास सहित का नेताहरु फोरमबाट बाहिरिए । त्यसपछि वीरगञ्ज महाधिवेशनस लगतै अमर यादव सहितका नेताहरुहरुको सानो समूह अलगियो । त्यसैगरी माधव नेपाल नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने भन्नेमा विवाद हुँदा विजयकुमार गच्छदारले २९ सभासदको साथ लिएर पार्टी फुटाए ।
दलहरुमा फूटको श्रृँखला
दलहरुको ध्यान संविधानभन्दा सत्ता राजनीतिमा केन्दि्रत भएकै कारण दलहरुमा टुटफूटको श्रृँखला लम्बिदै गयो । सत्ताको तानातानले छिन्नभिन्न हुने क्रममा २५ दल रहेको संविधानसभामा अब यो संख्या बढेर २९ पुगेको छ । संविधानको पाना नथपिएपनि दलहरुको संख्या भने संविधानसभामा बढ्दै गएको छ ।
सबैभन्दा ठूलो दल माओवादीभित्रै मातृका यादवको समूह चोईटिएर फूटको शुरुवात भएको थियो । यो रोग मधेसी दलहरुमा बढी बल्भिmयो । संविधानसभा चुनाव आउनै लाग्दा कांग्रेस, एमाले लगायत दलहरुबाट छुट्टएिर बनेका मुख्य तीन मधेसवादी दल अहिले सत्ताकै कारण टुक्रिएर छरपस्ट भएका छन् ।
मधेसी जनअधिकार फोरम
उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल
विजय गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिक
जेपी गुप्ता नेतृत्वको फोरम गणतान्त्रिक
तराई मधेस लोकतान्त्रिक पार्टी
महन्थ ठाकुर नेतृत्वको संस्थापन पक्ष
महेन्द्र यादव नेतृत्वको तमलोपा नेपाल
नेकपा माले
सीपी मैनाली नेतृत्वको संस्थापन पक्ष
जगतबहादुर बोगटी नेतृत्वको माले समाजवादी
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि टुक्रिएर त्यसमा रुक्मिणी चौधरी मात्र एक्ली बाँकी छिन् ।
राष्ट्रिय जनमोर्चामा महासचिव डिलाराम आचार्य नेतृत्वको समूह माओवादीमा विलिन भयो ।
विश्वनाथ शाहको नेपाल समाजवादी दल भौतिकरुपमा नफुटेपनि स्पष्ट दुईधार छन् ।