Thursday, May 26, 2011

त्रिविले पालेका ज्वाइँहरुलाई ठीक पार्ने बेला भो - mysansar -दीपक बस्याल

मातृभूमिलाई सेवा गर्ने झुटो वाचा बाँधेर विदेशमा अलप भएका डाक्टर साबहरुको कथा माइसंसारमा पढिसकेपछि लाग्यो कि यसरी मातृभूमिप्रति झुटो वाचा गर्ने ती सुई घोच्ने डाक्टरहरु मात्र होइनन्, अर्का थरि सुई नघोच्ने खालका डाक्टरहरु पनि प्रशस्तै छन्। भन्नाले विद्यावारिधी (पीएचडी) गर्न भनेर परदेश छिरेका डाक्टर साबहरु। कथा त यिनको पनि भनि सक्नुको छ , भलै तिनै सुइ घोच्ने डाक्टर साबहरुले जत्ति नै चाहिँ रकम यिनले निलेका चाहिँ नहोलान्। तर पनि मातृभूमिप्रति झुटा कसम खाने यी फरक बेइमान डाक्टरहरुको कर्तुतको कथा पनि सार्वजनिक गर्न जरुरी छ।
चलनचल्तीको भाषामा यिनलाई त्रिविले पालेका ज्वाईँ भनिन्छ। यी ज्वाईँ सापहरु ससुरालीले दिएको दक्षिणा यसरी क्वाप्प पारिरहेका छन् कि मानौँ यो उनीहरुको पुर्ख्यौली सम्पति हो। देशमा भस्टाचार, लुटतन्त्र र अराजकता भएको कुराको वकालत गर्ने दिग्गजहरुमा यिनै डाक्टरसाबहरु पहिलो सूचीमा पर्दछन्। शुक्रबारे जाँड पार्टी होस् या शनिबारे बैठक, यिनकै भस्टाचारविरोधी विद्वता व्याप्त हुन्छ जताततै। तर, त्यो लुटतन्त्र भन्ने चलचित्रको सह-खलनायकहरुको भीडमा एक आफू पनि पर्छु भन्ने कुरा हाम्रा कथित बौद्धिक जमातहरु या त पर्वाह गर्दैनन् या त ठूला-ठूला चोरहरुको माझमा आफूले गरेको सानो चोरी नगन्य देखेका पनि हुन सक्छन्। तर सियो चोरे पनि चोर, सय चोरे पनि चोर, आखिर चोर त चोर नै हो नि!
माइसंसारमा “तिम्ले पराई ठानेपछि” भन्ने ब्लग पढिसकेपछि मैले पन्ध्र वर्षदेखि अमेरिका बस्दै आएका प्रोफेसर पोख्रेल (थर परिवर्तन) लाई फोन गरेर ठट्टयौली पारामा सोधेँ, “प्रोफेसर काका, दिन त हजुरका पनि सकिए जस्तो छ है , अब लिस्टमा नाम अनि घैँटोमा घाम लाग्ने दिन हजुरको पनि आए जस्तो छ। भोलि हाम्रो काकालाई पनि पत्रिकामा तीन पुस्तेसहित देख्ने दिन कस्तो होला? ”
सँधै रमाइलो पारामा गफ हाँक्ने प्रोफेसर काकाले आज मलिन स्वरमा बोले-
“उ बेलामा फितलो कानुनको उपहास गर्दै क्वाप्प पारियो पाउने जति सबै, अब पो समस्या पर्ला जस्तो छ त बाब्बै। अरु भन्दा पनि यदि सरकारी स्तरबाटै अहिले काम गरिरहेको विश्वविद्यालयमा मेरो त्यो कर्तुतको रिपोर्ट गरियो भने जागिरबाट पनि हात धुने स्थिति बन्न सक्छ, बरु कानुन अनुसार सबै क्षतिपूर्ति तिर्न परे जति पनि तयार छु, तर फोटो छाप्ने काम चाहिँ नगरे हुन्थ्यो। ”
प्रोफेसर काका निकै बहकिए भावनामा। लाग्दैथ्यो पर्नु पीर यिनलाई परेको छ आज।
सुरुवात मै यो भन्न चाहन्छु कि तिनै प्रोफेसर पोख्रेलसँग भएको त्यो डेढ घन्टे संवाद र मेरो त्रिवि सेवाको आफ्नै अनुभव घोलेर यो ब्लग तयार पारिएको हो।
कसरी ठगेका छन् विश्वविद्यालयलाई ?
त्रिभुवन विश्वविद्यालयमा उप-प्राध्यापकको रुपमा अथवा कुनै स्तरको स्थायी अध्यापकको रुपमा नियुक्ति भैसकेपछि मास्टरसाबहरुलाई अनुसन्धान गर्न सहयोग पुगोस् भनेर त्रिविले हप्तामा निकै कम समय अध्यापनको लागि छुट्टयाइ दिएको हुन्छ (१२-१५ घण्टा)।
विद्यार्थी गाह्रोसाह्रो पर्दा कक्षाकोठा बाहिर नै प्रश्न सोध्न वातावरण बनोस् (अफिस आवर भन्छ क्यारे) भनेर पनि प्राध्यापनको समय कम गरिएको हुन्छ। वर्ष दिनमा विदाकै हिसाब गर्ने हो भने माड्साबहरुले वास्तवमा काम गर्ने भनेको पुग नपुग साढे तीन महिना होला। दशैँ बिदा, बर्खे बिदा, जाडो बिदा अनि तिहार बिदा, यो दिवस बिदा, त्यो दिवस बिदा, अनि ह्यान् बिदा अनि त्यान् बिदा , बिदैबिदाको लामो लर्को हुन्छ। आकस्मिक रुपमा आउने बन्द हड्तालबाट पर्ने बिदाको चिट्ठाको त के हिसाब गराइ भो र।
त्यसो त हाम्रा विद्यार्थीलाई प्रश्न सोध्नु पनि पर्दैन अथवा सोध्नको लागि उपयुक्त वातावरण हुँदैन, त्यो अर्कै पाटो हो, यो कथा पनि कही नसक्नुकै छ। त्यसको बारेमा कुनै दिन कुनै अर्को ब्लगमा लेखौँला। तर यहाँ कुरा हाम्रा प्राध्यापकहरुको अनुसन्धानको लागि छुट्टयाएको समय र सम्पतिको गर्न जरुरी छ।
देशका विभिन्न समस्याले गर्दा अथवा श्रोत र साधनको अभावले गर्दा, आपतकालीन परिस्थितिले गर्दा अनुसन्धान गर्न सकिएन होला, त्यो पनि मान्न सकिन्छ। तर त्यो अनुसन्धानको लागि छुट्याएको भनिएको समयलाई प्लस टु मा लगानी गरेर व्यापारी बन्नु भनेर चाहिँ पक्कै पनि छुट्टयाएको हुँदै होइन, । तर हुन चै त्यही नै भइराखेको छ।
खैर, स्वास्नी छोराछोरी पाल्नै पर्‍यो, त्यो पुग नपुग १५ हजारले के हुन्छ र बाबै भन्लान् हाम्रा गुरुबाहरु, त्यो कुरामा पनि दम छ, जाबो १५ हजारले गतिलो घरमा महिनाको भाडा तिर्न त पुग्दैन। अनि खाने के ले, लाउने केले भन्लान्, त्यो कुरा पनि नाजायज मानी नहालौँ। लु ठीकै छ देशमा अरुले त ब्रम्हलुट गरेर भएकै छ भने बडो दुःख गरेर लामो लर्कोमा आठ घण्टा बिताएर बल्ल तल्ल भरेको पेट्रोलले भटभटे हुत्याउँदै दसतिर दौडधुप गरेर विसुद्ध सामाजिक सेवा अथवा उत्तम मानवीय धर्म अध्यापन गरिखान पनि किन नपाउनु भनेर भन्लान्, त्यो कुरा पनि मनासिब नै मान्नु नै पर्ला। गुणस्तरीय शिक्षा सरकारी विश्वविद्यालयले दिन सक्दैनन्, त्यसैले शिक्षाको गुणस्तरको लागि निजी विद्यालयमा लागेको भन्लान्, लु त्यो पनि ठिकै छ नि त, अहिलेलाई त्यो पनि मानिलिउँ।
अवसरवादी गद्दार भगौडाहरुको कर्तुत-
यस्ता धेरै अमान्य कुराहरु मानिरहँदा यो कुरा चाहिँ मेरो ब्रह्मले पटक्कै मान्न सकिरहेको छैन, हर हालतमा मान्न तयार छैन। त्यो कुन चाहिँ कुरा हो भन्नुभन्दा पहिले मातृभूमिको सेवामा मातृभूमि मै रगत र पसिना बगाउन तल्लीन ती साहसी गुरुहरुलाई साधुबाद टक्र्याउनु जरुरी छ। हाम्रा ती गुरुहरुप्रति जति नै सम्मानका भाषा बोले पनि कमै हुन्छ। भोलिको नयाँ नेपालको गोरेटो कोर्ने अनि गोरेटोमा सबैलाई मार्गनिर्देश गर्ने पात्रहरु तिनै हुन्।
तर ती अवसरवादी, गद्दार भगौडाहरुको कथा सार्वजनिक गर्नुपर्दा आफैलाई ग्लानीको महसुस हुँदैछ। ‘मेरो ज्ञान भण्डारलाई बढाउन लगानी गरिदेऊ, यो मुलुकमा मलाई पुग्ने ज्ञान आर्जन गर्न सकिनँ, म मेरो अध्ययनपछि आएर मुलुकको सेवा गर्नेछु’ भनेर झुटा कसम खाने तथाकथित गुरुहरुको लाम अब पररास्ट्रमा एमआरपीको लागि लाग्ने लाम भन्दा छोटो छैन, बरु लामै होला। सरकारी पैसा हजम गरेर विदेशी भूमिमा डकार्दै हिँड्ने माड्साबहरुको कथा अब सार्वजनिक हुन जरुरी छ।
गरेकै वाचा अनुसार फर्कने पनि छन्, तर एकदमै नगन्य, अर्को साधुवाद छ ती गुरुहरुलाई, जो मातृभूमि फर्केर देशको सेवामा मरिमेटेर लागिरहनु भएको छ। तर तलबी होस् या बेतलबी, अमेरिका होस् या क्यानाडा, भारत होस् या युरोप को कुनै अन्य मुलुकमा लुकेर बसेका हाम्रा भगौडा तथाकथित गुरुहरु आजको देशको अराजक स्थितिको धेरथोर भागीदार चाहिँ पक्कै हुन्। त्यसैले यी भगुवाहरुको कथा यसकारण पनि भन्न जरुरी छ कि मातृभूमिप्रति झुटा कसम खाएका सुविधाभोगी हरुले परदेशमै फेरि अर्को तानाबाना बुनेर अरुलाई जालझेल गर्न नसकुन्। यहाँनिर यो भन्नै पर्छ प्रवासमा खुलेका अधिकांस नेपाली संस्थाहरुमा प्रमुख पदीय जिम्मेवारी पनि यिनै भगौडाहरुको पोल्टामा पर्ने गरेको छ।
कान्छा ज्वाइँहरु यस्ता हुन्छन्-
तलबी बिदामा बसेर ससुरालीको दक्षिणासरी खुरुखुरु त्रिविको पैसा हजम गर्नेहरु त अस्ति कै डाक्टर साब हरु जस्तै पत्रिकामा तीन पुस्ते निकाल्नु पर्ने समूहमा पर्दछन्। बेतलबी बिदामा बस्ने गुरुबाहरुलाई चाहिँ कान्छा ज्वाईँ भनौँ होला। कान्छा ज्वाईँहरु पनि ठूलो अपराधी नै नभए पनि सानोतिनो भ्रस्टाचारीमै पर्दछन्। वर्षौवर्षसम्म हुँदाखाँदाको स्थान ओगट्ने अनि ‘लास्टमा त्यही’ भन्या जस्तो काममा नफर्किनेहरुको पनि अपराध सानो पक्कै छैन। वर्षौसम्म आफ्नो भविष्य सुरक्षा खातिर स्थान ओगट्दा एउटा नेपाली युवालाई बेरोजगार हुन बाध्य पारिएको यिनीहरुको कर्म पक्कै पनि सत्कर्म हुन सक्दैन। यी कान्छा ज्वाईँहरुलाई पनि सजायको भागीदार त बनाउनै पर्छ। उनीहरुको अनुपस्थितिमा त्रिविलाई पर्न गएको घाटाको हिसाब किताब गरिनु पर्छ ताकि भविष्यमा त्यही किसिमको काइते काम गर्नु अगाडि अर्को पात्रले कम्तिमा दस पटक सोचोस्।

ठूला ज्वाइँसापहरुको कर्तुत यस्तो हुन्छ-

अर्काथरी ठूला ज्वाईँसापहरु जो छन् उनीहरु त्रिविको तलबलाई ससुराको श्राद्धपछि फोकटमा आउने दक्षिणा सम्झन्छन्। तलब आउँदासम्म कुकुरले बिस्टॉ हाम पारे जस्तो पारी नै रहन्छन्, तलब आउन बन्द भएसी चाहिँ म फर्केर आउन सक्दिनँ भनेर भन्नु पनि नैतिक दायित्वसम्म पनि ठान्दैनन्। हदै सम्मको गैर जिम्मेवार काम गर्नेहरु यता गफ चाहिँ त्रिविका आंगिक क्याम्पसहरुमा यस्तो पढाएँ अनि उस्तो पढाएँ भनेर भाको नभाको खोकेर बायोडाटा बनाएर राम्रो ठाउँमा जागिर हत्याउने कर्म चाहिँ गरि नै रहन्छन, र हत्याएका पनि छन।
प्रशासन पनि दोषी-
दोषी माड्साबहरु मात्रै पनि होइनन्, त्रिवि प्रशासन पनि पक्कै छ। अनि देशमा ब्याप्त फितलो कानुन पनि उत्तिकै सहयोगी छ पलायनवादीहरुको लागि। त्रिवि कर्मचारीकै मिलेमतोमा यी ज्वाईँसापहरुले सुविधाको भोग गरेका पनि सुन्न टन्नै पाइएका छन्। त्रिवि प्रशासनले कुरा मात्रै अगाडि ल्याउनु पर्छ, त्यस्ता भगुवाहरुको खोजी गर्ने जिम्मा हाम्रो भयो, तीन पुस्ते त के सात पुस्ते निकाल्न सकिन्छ। यो कुरा त त्रिविलाई हामीलाई भन्दा धेरै नै थाहा छ। उसले कुन-कुन मितिमा कहाँ-कहाँ कुन-कुन ज्वाईँलाई पठाएको छ अनि कति कति सुविधाले पोसेको छ भन्ने कुराको लगत त धमिरा लागेर कुनै कुनामा मिल्किएको ठेलीमा त्रिविसँग छ नै होला। त्रिविले चाहने हो भने आजको यो सूचनाको युगमा यी भगुवाहरुको खोजी गर्नु ठूलो कुरा पक्कै पनि होइन। त्यसो त देशमा विद्यमान कस्ता-कस्ता समस्याहरु समाधान गर्न सकिएको छैन कता ती माड्साबको पछि लाग्नु भन्ने कुरा पनि होला।
तर यदि त्रिविले आफ्ना हिसाब किताब चाहन्न भने पनि हामीले हाम्रो मातृभूमिलाई लात हान्ने भगुवाहरुलाई छोड्नु चाहिँ पक्कै हुँदैन। सुको-सुको हिसाब गरेर उठाउनु पर्छ र त्यो सम्भव पनि छ। धेरै टाढा जानु पर्दैन, अमेरिका र क्यानाडा मै प्रशस्तै ज्वाईँसाब हरु भेट्न सकिन्छ, भौतिक शास्त्र कै मात्रै कुरा गर्ने हो भने पनि दर्जनौ पुर्‍याउन सकिने बताउँछन् अमेरिकामा साउथ फ्लोरिडा स्टेट युनिभर्सिटी मा भौतिक शास्त्र मा विद्यावारिधि गर्दै गरेका जगन्नाथ देवकोटा। रसायन शास्त्र, जीव विज्ञान, गणितशास्त्रमा पनि यस्ता व्यक्ति दर्जनौँ छन्।
विदेशतिर भने नियम कडा छ-
जबसम्म नेपाल सरकारले जोर्डनी, भियतनामी र चाइनिज सरकारको जस्तो कडा कानुन लागू गर्दैन, तबसम्म त्रिविले यस्ता थुप्रै ज्वाईँहरुलाई बिना टिकाको दक्षिणा दिँदै गर्नुपर्ने छ। एउटा चाइनिज अथवा भियतनामी यदि सरकारी धन मा पढ्न आएको छ भने ऊ हर हालत मा देश फर्कनै पर्छ, र फर्कन्छन् पनि, अथवा सरकारी धनमा आएको होइन भने पनि गर्मी विदाको पूरै तीन महिना स्वदेश फर्केर अनुसन्धान तथा अध्यापनमा लागेका चाइनिजहरु प्रशस्तै छन्।
जोर्डनका विद्यार्थी सोझै देश फर्कन्छन् नत्र सरकार बाबुआमाकै उठिबास लगाउन पछि पर्दैन। देशप्रेम होस् या कडा कारबाहीको त्रास , जोर्डनीहरु देश फर्कन्छन्। तर हाम्रा सुविधाभोगी पलायनवादी हरु फर्कन चाहन्नन्। नफर्कने हो भने नफर्कुन् त्यो पनि ठीकै छ, सुरक्षित भविष्यको चाहना गर्नु मानवीय स्वभाव हो भनेर त्यो पनि मानौँला तर ऋण खाएपछि साँवा ब्याजसहित तिर्नुपर्ने सामाजिक मूल्यमान्यता भए जस्तै मातृभूमिले उसलाई त्यो अवस्थासम्म पुर्‍याउन गरेको त्यो लगानीलाई चुक्ता गर्नु जरुरी छ एउटा असल मानवले। फोकटमा हाम् पारेको हाम्रो हरहिसाबको कुरा त बेग्लै छँदैछ।
आउनुस् कर्तुत सार्वजनिक गरौँ-
आउनुस यी ठगहरुको कर्तुतको सार्वजनिक गरौ ताकी कम्तिमा भावी पिढीले यहि किसिमको ठगी गर्ने दुस्साहस नगरोस्।
मलाई लागेका केही सुझावहरु :
१. अहिलेसम्मको फितलो कानुनको उपहास गर्दै घर फर्किन अटेर गरिरहेकाहरुलाई एक पटक मौका दिएर स-सम्मान घर फर्किनको लागि अनुरोध गर्ने।
२. ग्रीष्मकालीन विदा अथवा हिउँदे विदामै भए पनि देशको सेवा गर्छु भन्नेहरुलाई त्यो किसिमको वातावरण बनाई ससम्मान काममा पुनर्नियुक्ति अथवा कुनै त्यस्तै मिल्दो किसिमको व्यवस्था गर्ने।
३. बुँदा १ र २ को ताकेताले काम नगरेमा खाईपाई आएको तलबको पाँच गुणा र उसको अनुपस्थितिमा त्रिविलाई पर्न गएको हिसाबको एक मुस्ठ रकम जरिवानाको ताकेता गर्ने, यदि ताकेता गर्दा पनि सो सम्भव नभएमा नेपालमा भएको उसको चल-अचल सम्पतिको छानबिन गरी लिलाम गरेर असुल उपर गरिलिने।
४. नेपालमा उसको सम्पति नभएको खण्डमा विदेश मै ताकेता गर्ने (अहिले त सजिलो छ, यस्ता माडसापहरुको गुगलले नाम, थर, घर ठेगाना र काम गर्ने संस्थासहितको विवरण उपलब्ध गराइदिन्छ)
५. यो समस्या आउनै नदिन माड्साबहरुलाई फर्किने/नफर्किने कुराको पहिले नै फैसला गर्न लगाउने। बेतलबी बिदामा बस्नेलाई फर्किएर नआएमा त्यसबाट त्रिविलाई मार पर्ने हरहिसाब यति हुनेछ छ, त्यति तिर्नेछु भनेर कबुलियतनामा सही गराउने र त्यसको लागि केही बिगो राख्ने व्यवस्था गर्ने।
६. तलबी बिदामा बस्नेलाई बिदामा बसेको दिनदेखि नै तलब बन्द गरिदिने र ऊ फर्किएको भोलिपल्टदेखि नै महिनावारी तीन गुणा तलब दिने (तलबी विदामा बस्दाको र अहिले काम गर्दाको र ब्याज र साँवा र सम्मान कूल मिलाएर, र यो प्रक्रिया तलबी बिदा बस्दाको समय बराबरसम्म जारी राख्ने)
७. माथि उल्लेखित सबै कुराहरुले काम नगर्दाको दिनमा माइसंसार वा नेपालीलिक्स जस्ता वेबसाइटमा यस्ता व्यक्तिका काम गर्ने ठाउँ, ठेगाना, इमेल, आदि-आदि सहित उपलब्ध गराउने, सम्बधित निकायबाट माड्सापहरुले काम गर्ने थलोमा प्रत्यक्ष सम्पर्क गर्ने (फोन, इमेल अनि स्क्याइप बाट अनि उसका कर्तु को जानकारी सम्बन्धित संस्थालाई गराई अप्ठेरो स्थितिको सृजना गर्ने)। र उक्त रकम त्रिविमा अथवा सम्बन्धित निकायमा पुगेको जानकारी नहुँदासम्म त्यो लिस्ट वेबसाइटमा राखिरहने र बारम्बार सार्वजनिक गरिरहने।