साहित्यकारको खोल ओढेका एकजना कर्मचारी अहिले नाकमुख देखाउन लाज हुने गरी लुकेर बस्न बाध्य छन् । रातो पासपोर्ट काण्डको लहरोले पहरो थर्किन थालेपछि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख षडानन्द ढकाल उर्फ नियात्राकार प्रतिक ढकाल केही दिनदेखि फरार छन् । अख्तियारले दायर गरेको मुद्दामा उनै साहित्यकारलाई ५० हजार जरिवाना र २ बर्ष कैदको माग दावी गरिएको छ ।
पक्राउ परेका बीपी यादव र गायत्री शाहले पोल लगाएपछि अख्तियार ढकालको पछि लाग्यो । जेलको चिसो छिँडी र अहिलेसम्मका ईज्जत खरानी हुने डरले ढकाल लुकीछिपी हिंड्न बाध्य छन् । कर्मचारी भन्दा बढी साहित्यिक क्षेत्रमा परिचित खडानन्दलाई ‘प्रतीक ढकाल’को नामले बढी चिनिन्छन् ।
अहिले बदनामी कमाउनुअघि ढकालको चुरीफुरी निकै थियो । नयाँ वर्षको शुरुवातकै दिन एउटा पत्रिकामा उनलाई बधाई र शुभकामना दिंदै ठूला अक्षरमा विज्ञापन पनि छापिएको थियो । जसमा एमाले नेता केपी शर्मा ओलीले उनलाई सम्मान गर्दै गरेको तस्वीर छापिएको थियो । उनले लेखेका नियात्रा कीर्तिमानी कायम राखेको भन्दै वाहीवाही पनि भयो । सबैले उनको गुनगान गाए । लेखेरै बाच्न सक्ने भनेर उनको प्रशंसा गर्ने धेरै प्रकट भए । कीर्तिमानी लेखकको दर्जामा दरिए ।
तर तिनै कीर्तिमानी लेखक प्रतीक उर्फ षडानन्द अहिले पतित भएका छन् । षडानन्दको सरकारी जागिर त गुमिसक्यो, उनको साहित्यीक छविमा पनि नमेटिने दाग लागेको छ ।
साहित्यकार ?

आफूलाई सधैं इमान्दारी र राष्ट्रसेवक मान्ने षडानन्द उर्फ प्रतीक ढकाल अहिले नराम्ररी पासपोर्ट काण्डमा मुछिएका छन् । साहित्यिक खोल ओढेर सरकारी सेवामा भित्रभित्रै अनैतिक कृयाकलाप गर्दाको परिणाम उनी अहिले भोग्दैछन् । उनी षडानन्द सरकारी र प्रतीक चाहिं साहित्यिक मान्छे भनेर षडानन्दको ईज्जत गएपनि प्रतीकलाई केही नहुने तर्क गर्न पछि पर्दैनन् । आफ्नो पुस्तक आफैँले किनेर चर्चित बन्ने कोशिश गरेको भन्ने आरोप लागेको षडानन्द तत्कालिन गृहमन्त्री वामदेब गौतमका पि्रय पात्र हुन् ।
बामदेवको अंग्रेजी सम्बन्धी सबै काम उनले नै गरेका थिए । सरकारी जागिर खाएर किताब लेखनकै लागि विभिन्न जिल्ला भ्रमण गरे प्रतीकले । चर्चामा आउनकै लागि पत्रकारहरुलाई पटक-पटक भोज खुवाउने प्रतीकले कहाँबाट पैसा कमाउने रैछन भन्ने कुराको पत्तो बल्ल लागेको छ ।