Wednesday, May 25, 2011

नयाँ नयाँ नौटंकी हेर्नुस् - mysansar

संविधान सभाको म्याद सकिन केही दिनमात्र बाँकी छँदा देशमा गजब गजबका नौटंकी हुन थालेका छन्। आज दिनभरका नौटंकी क्रमशः यसमा अपडेट गरौँ है त।
  • बिहान बिहानै भारतीय राजदूत राकेश सुद नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई भेट्न उनकै घर पुगे। बिचरा सुशील दा उठ्नु भा पो थ्यो कि थिएन, सुद २२ सीडी १ नम्बरको कुटनीतिक नीलो नम्बर प्लेट भएको गाडी चढेर के भन्न गा’ होलान्। भन्न गा होलान् कि दबाब दिन ?
  • हिजो फोरम फुटाएर नयाँ पार्टी फोरम गणतान्त्रिक बनाएका जेपी गुप्ताले हिजै राति एउटै गाडीमा भेडाबाख्रा सरह पार्टी फुटाउन हस्ताक्षर गर्ने सभासदहरुलाई कोच्याएर धुलिखेलको होटल पुर्‍याएछन्। आज पनि उनीहरु त्यहीँ छन्।
    हस्ताक्षर गरे नि मन्त्रीको लोभ दियो भने फेरि उपेन्द्रतिरै लाग्लान् भनेर टाढा धुलिखेलमा उनीहरुलाई थुन्न लगेको हुनुपर्छ।
  • फोरम फुटेपछि  दुई तिहाई नहुने भएर अलमल्ल परेको माओवादीले भोलि प्रचण्डसहितका केन्द्रीय नेताले भाषण गर्ने भनेको आमसभाको कार्यक्रम स्थगित गरेको छ। माओवादी पनि अब नयाँ रणनीति बनाउँदैछ।
  • अब वार्ताको लहरः संविधान सभाको म्याद अब नियमित प्रक्रियाबाट संविधान संशोधन गरी थप्‍न सकिने स्थिति रहेन। पोहोर जस्तै मध्यरातमा सहमति हुने छाँट देखियो। वार्ताको लहर भने सुरु भएको छ। कांग्रेस र माओवादीबीच ३ घण्टा बैठक बस्दा पनि दुवै मेरो गोरुको बाह्रै टकामा अडिग भए। कांग्रेस- प्रम राजीनामा दे, १० बूँदे पूरा गर। माओवादी- राजीनामा दिन्नन् प्रमले। अब एभरेस्ट होटलमा ४ बजे एमाले-कांग्रेस अनि ६ बजे माओवादी-एमाले बैठक हुने रे। सहमति नभए आज डाकिएको स‌ंसदको बैठक पनि बिथोलिने निश्चित।