Monday, May 2, 2011

झक्कुले खाए झापड - mysansar

सँगैको फोटो माओवादी सभासद् झक्कुप्रसाद सुवेदीको हो। तीन वर्षअघि संविधान सभाको पहिलो बैठक हुन लागेको बेला खिचिएको यो फोटोमा उनी दङ्ग देखिन्छन्। हुने पनि भए। त्यतिबेला सभासदहरुको कति शान, कति मान थियो। अझ उनी त ‘जायन्ट किलर’ भनी मिडियाले उचालेका सभासद। उनैले त हो नि काठमाडौँको क्षेत्र नम्बर २ मा तत्कालीन एमाले महासचिव माधवकुमार नेपाललाई हराएको !
तर आज उनी फेरि एक पटक समाचारमा छाए- कारण फरक थियो। उनले झापड खाएका थिए एक सर्वसाधारणबाट। अहिले सभासदहरुको त्यसै पनि इज्जत छैन। कोही रातो पासपोर्ट दुरुपयोग गरेर, कोही घुस खाएर, कोही विद्युत चोरेर बदनामी थपिरहेका छन्। त्यहाँमाथि संविधान नबनाई म्यादमात्र थप गर्न खोज्ने। सबैको रिस उनीहरुमाथि नै खनिएको छ।

सुरुवात गरेका थिए सुनसरी भरौलका देवीप्रसाद रेग्मीले झलनाथ खनाललाई झापड हानेर। रातारात चर्चामा आए उनी। उनको समर्थनमा इन्टरनेटमा अभियान चल्यो। झापडको झङ्कार संसदसम्म सुनियो। झापड लक्की भयो, खाने प्रधानमन्त्री भए भन्दै झापड खान रेग्मीको घरमा लाइन लागेको समाचार पनि आयो। त्यस्तै चर्चाको लोभले हो कि साँच्चै सभासदहरुको चर्तिकला देखेर दिक्क भएर हो, अर्का झापडवाला प्रेमराज देवकोटा निस्किए ! दन्काइदिए उनले झापड, साहसै गरी, माओवादी सभासदलाई।
झक्कुलाई झापड हान्ने देवकोटा।


यसरी हानेका थिए झापड
साना दलले होहल्ला गरी व्यवस्थापिका संसदको बजेट अधिवेशन स्थगित गराएपछि झक्कु सुवेदी निवास फर्कँदै थिए हिँड्दै। गोरखाको गाईखुर- ८ मा घर भएका र द्वन्द्वकालमा काठमाडौँ आएका ५० वर्षीय प्रेमराज देवकोटाले आफ्नो कफिसपमा उनलाई बोलाए। सोधे- संविधान बन्छ कि बन्दैन ? झक्कुले जवाफ दिए- बनाउँदैछौँ, बन्छ, धैर्य गर्नुस्। रिसको पारो चढिहाल्यो उनको, अनि दिए दुवै गालामा एक एक झापड। झापडपछि पनि उनले जनतालाई दुःख दिने तिमीहरु भन्दै भक्कु गाली गरे। झापड हान्ने देवकोटालाई नयाँ बानेश्वर प्रहरी प्रभागले नियन्त्रणमा लियो। मिडियासामु देवकोटा झन् चिच्याउँदै कराउँदै थिए- संविधान नबनाउने, सुरक्षा नदिने, मेरो व्यक्तिगत आक्रोशले पनि हो हानेको।
देवीप्रसाद रेग्मीले झापड हान्दा नेताहरु गम्भीर भएको देखिएको थियो संसदमा भाषण गर्दा। यस पटक संविधानको मस्यौदामात्र जारी गरेर लाज नबचाए यस्ता धेरै देवी र प्रेमहरु जन्मने छन् भनी चिन्ता मात्र नेताहरुले लिए पनि आधा समस्या त आफै कम हुन्थ्यो। बाँकी आधा त बसेर मिलाउन सकिहालिन्थ्यो।