
मध्य काठमाडौँको आकाशमा हिजो दिउँसो दुई वटा हेलिकप्टर फनफनी घुमिरह्यो। देख्नेहरु के हो यो भन्दै छक्क परिरहेका थिए। जुन हौवा फैलाउन हेलिकप्टर प्रयोग गरिएको थियो, त्यो असफल भइसकेको शायद हेलिकप्टरमा बस्नेहरुले आकाशैबाट देखिसकेका थिए। किन उडेको थियो त हेलिकप्टर ? थाहा पाउन भित्र आउनुस्।

यी दुई वटा हेलिकप्टरले टुँडिखेलमा यसरी कागज पनि खसाएका थिए।

विमानस्थलबाट उडेको हेलिकप्टर धुलो उडाउँदै अवतरण भयो टुँडिखेलमा। को थिए त त्यो हेलिकप्टरमा ?
सबका सब चर्चित कलाकारहरु नेपालका। पुरानामा सुक्मित गुरुङ, ओमविक्रम विष्ट। अलि अगाडिका चर्चित पप गायकहरु निमा रुम्बा, नवीन के भट्टराई, आफूलाई नेपालको माइकल ज्याक्सन भन्दै हिँड्ने धीरज राई, योगेश्वर अमात्य, सबिन राई, सुगम पोखरेल, अनिल सिंहदेखि अहिलेका रोबिन तामाङ, सिने गुरुङ, एड्रियन प्रधान, दिव्य सुब्बा र इन्दिरा जोशीसम्म सबै थिए त्यही हेलिकप्टरमा।
हेलिकप्टर ‘नेपालको पप इतिहास मै पहिलो पटकको ग्रान्ड म्युजिकल फेस्टिभल’ भन्दै प्रचार गरिएको कार्यक्रमका लागि नेपालका भएभरका सबै प्रख्यात गायकगायिका ओसार्न प्रयोग गरिएको थियो।
तर, कार्यक्रममा दर्शकको उपस्थिति हेर्नुस् त-

फोटोको दायाँ छेउमा मञ्च देखिन्छ। केही मानिस हेलिकप्टर नजिकै भेला भएका छन्। ग्रान्ड भनिएको म्युजिक फेस्टिभलको यो हालत किन त ? के टिकट महँगो भएको हो ?
हैन ? टिकटको मूल्य अस्ति नै रंगशालामा अंग्रेजी गीत गाउने गायक र सोल्टी होटलमा आउने भारतीय गायक कैलाश खेरको कन्सर्टको जस्तो हजारौँ थिएन। १५० रुपैयाँ थियो मूल्य। त्यसमा पनि प्रत्येक टिकटसँगै एउटा चाउचाउ, एउटा जुस र नेपाल टेलिकमले ५० रुपैयाँको डिस्काउन्ट सित्तैमा दिएको थियो।
तर देखिहाल्नुभयो मान्छे कति सहभागी थिए। झुर साउन्ड सिस्टम, झुर म्यानेजमेन्ट र हुल्याहा दर्शकका कारण फोटोमा देखिएभन्दा पनि कार्यक्रम कमजोर भयो। दर्शकले पानीका बोतल, चाउचाउ आदि स्टेजमा फाले। दिक्क भएका गायक गायिका गाउँदागाउँदै फनक्क फर्किएर गए। इन्दिरा जोशीले आफूले गाइरहँदा पानीका बोतलले हान्न थालेपछि भागिन्। त्यसपछि आएका रविन तामाङले कार्यक्रम नै स्थगित गर्ने चेतावनी दिँदा पनि स्टेजमा हानेर हुल्याहा दर्शकले आफ्नो पौरख देखाइरहे।
किन यस्तो भयो ? के अब हामीलाई नेपाली गायक गायिकाको गीतमा रुचि हुन छाडेको हो ? अब विदेशी गायक गायिकाले मात्रै काठमाडौँमा भीड तान्न सक्ने अवस्था आएको हो ? तपाईँलाई के लाग्छ ?