mehendi
साउन महिनामा मेहन्दी लगाउने प्रचलन विगत केही वर्षयता बढ्दो छ। अहिले महिलाहरूले हातमा मेहन्दीबिना आफ्नो शृंगार नै अधुरो मान्न थालिसकेका छन्। कलेज पढ्ने युवतीका लागि त यसले फेसनकै रूप लिएको छ। हातको अगाडि र पछाडि कुइनासम्म मेहन्दीका विभिन्न बुट्टा सजिएको हेर्दा निकै सुन्दर देखिन्छ। विशेषत: भारतीय संस्कृतिबाट भित्रिएको मेहन्दीको चलन अहिले विवाहमा मात्रै नभई साउनमा पनि बढ्दो छ।
मेहन्दीले सुन्दरता बढाउने हुनाले अहिले हातगोडामा मात्रै नभई पिठ्यूँ, स्तन, कम्मरलगायतका भागमा पनि मेहन्दी लगाउने फेसन बढेको छ। मेहन्दीको गाढा रङसँगै पति वा प्रेमीसँगको मायापिरती पनि प्रगाढ हुने कतिपयको विश्वास छ। त्यसैले यसप्रति सबैको आक र्षण बढेको हो। पहिले घरमा पातलाई पिसेर बनाइने मेहन्दीले अहिले व्यावसायिक रूप लिएको छ। साउन सुरु भएदेखि नै बाटोघाटो, मठमन्दिर र पार्लरहरूमा मेहन्दी लगाउने र लगाइदिनेको भीड लाग्ने गर्छ।
मेहन्दीले सौन्दर्य त अवश्य नै बढाउँछ। गाढापन ल्याउन मेहन्दीमा प्रयोग गरिएको विभिन्न रसायनले छालामा इन्फेक्सन हुने चिकित्सकहरूको भनाइ छ। उनीहरूका अनुसार मेहन्दीले छालामा पोल्ने र चिलाउने समस्या उत्पन्न हुन सक्छ। त्यसैले कृत्रिमभन्दा प्राकृतिक मेहन्दी नै प्रयोग गर्नु राम्रो मानिन्छ।
मेहन्दीको पेस्ट
-सबैभन्दा पहिले मेहन्दीको धूलोलाई मलमलको कपडाले दुई/तीन पटकसम्म चाल्ने।
-चियापत्तीको पानीमा मेहन्दीलाई करिब पाँच घन्टाजति भिजाउने।
-उपलब्ध भएमा मेहन्दीको तेल पनि केही थोपा मिसाएमा मेहन्दी गाढा हुन्छ।
कोन बनाउने तरिका
-कोनका लागि आवश्यक प्लास्टिक तयार पार्ने।
-प्लास्टिकलाई चारकुने आकारमा काट्ने ।
-प्लास्टिकको एउटा कुना समातेर अर्को कुनातिर बटार्दै लैजाने।
-कोन बनेपछि बाहिरपट्टि सेलोटेपले टाँसिदिने।
-आवश्यकताअनुसार कोनमा मेहन्दी भर्ने।
-माथिपट्टिबाट रबर ब्यान्ड वा सेलोटेपले कोनको मुख बन्द गर्ने।
लगाउने तरिका
-मेहन्दी लगाउन जानेको छैन भने पहिले सिसामा अभ्यास गर्नु उत्तम हुन्छ।
-आफूलाई मन पर्ने कुनै डिजाइनलाई टेबुलमा राखेर त्यसको माथिपट्टि सादा सिसा राख्ने र त्यही बुट्टामा मेहन्दीले कोर्दै जाने।
-मेहन्दीलाई सही ढंगले समातिएन भने डिजाइन बिग्रने सम्भावना भएकाले निचर्न सजिलो हुने गरी मेहन्दी समात्ने।
-मेहन्दी लगाउनुअघि कोनको टुप्पोमा रहेको मेहन्दीलाई पुछ्नुपर्छ। सुरुमा आउने मेहन्दी केही बाक्लो र कालो हुने भएकाले यसलाई पुछ्नुपर्छ।
-मेहन्दी लगाउँदै जाँदा पनि बेलाबेलामा कोनको टुप्पोमा मेहन्दी थुप्रने भएकाले टिस्यु पेपरले पुछ्दै लगाउनुपर्छ।
-मेहन्दी लगाउनुअघि हात डिटोल पानीले धोएर राम्रोसँग पुछ्नुपर्छ।
-मेहन्दी राम्रोसँग सुकेपछि पहिले नै तयार पारेर राखिएको कागती र चिनीको रसले मेहन्दीलाई भिजाउने र केही बेरपछि सादा पानीले हात धुने।
ध्यान दिनुपर्ने पक्ष
हिजोआज विभिन्न रसायन मिसाएर मेहन्दी बनाइने भएकाले यसले छालामा एलर्जी हुनसक्छ। त्यसैले पूरै हातमा मेहन्दी लगाउनुअघि थोरै लगाएर जाँच्नु पर्छ। यदि चिलाउने, पोल्ने भएन भने पूरै भागमा लगाउन सकिन्छ। कहिलेकाहीँ म्याद सकिएका मेहन्दी प्रयोग गर्दा पनि यस्तो समस्या देखिनसक्छ। त्यसैले मेहन्दी किन्नुअघि प्याकिङ गरिएको मिति हेर्नुपर्छ। पाखुरा वा घुँडामुनिको भागमा भर्खरै वाक्सिङ गरिएको छ भने त्यस्तो भागमा मेहन्दी लगाउनु राम्रो हुँदैन।
वाक्सिङगर्दा छालामा भएका मसिना प्वाल खुलै हुने भएकाले मेहन्दीको रसायनले हानि पुर्‍याउन सक्छ। त्यसैले एक/दुई दिनपछि मात्रै मेहन्दी लगाउँदा बेस हुन्छ। सकेसम्म आफैं मेहन्दीको घोल तयार गरी घरमै बनाइएको कोनबाट लगाउँदा बढी सुरक्षित हुन्छ।