Thursday, August 15, 2013

रुघा लागेको छ ? यसो गर्नुहोस् - onlinekhabar

रुघा सामान्य रोग भएपनि यसले सताएपछि कस्तो हैरानी व्यहोर्नुपर्छ भन्ने कुरा रुघा लागेको बेलामा मात्रै थाहा हुन्छ ।संसारमा शायदै त्यस्तो व्यक्ति होला जसलाई जिन्दगीको कुनै न कुनै बेला रुघा नलागेको होस् ।जनस्वास्थ्य सम्बन्धी डा. अरणा उप्रेतीका अनुसार रुघाको लागि झण्डै २ शय प्रकारका जीवाणुहरू (भाइरस) जिम्मेवार हुन्छन् ।common cold
घरमा वा स्कूलको कक्षामा एक विद्यार्थीलाई रुघा लाग्यो भने उसले हाच्छ्युँ गर्दा उडेका स-साना जीवाणुहरू स्वस्थ व्यक्तिको शरीरमा पसेपछि रुघा लाग्ने सम्भावना हुन्छ । अझ प्रतिरोधात्मक शक्ति कम भएको, थाकेको, नखाएको बेलामा रुघा लाग्ने सम्भावना बढी हुन्छ ।  रुघा लागेको व्यक्ति कोठाका झ्याल-ढोका लगाएर बस्दा जीवाणुहरू त्यहीँ रहन्छन् र रोग कोठामा बस्ने सबैलाई सर्छ । कहिले कुनै त कहिले कुनै प्रकारको जीवाणुको कारणले रुघा फैलिने भएकाले यसको विरुद्ध खोप तयार पार्न पनि गाह्रो छ । संसारका सबैलाई कुनै न कुनै बेला यो रोगले समाते पनि चट्टै निको हुनेगरी कुनै औषधि बनाउन सकिएको छैन । कतिले एण्टिबायोटिक खान्छन्, कतिले विज्ञापनमा देखाएजस्तो चक्की खान्छन् । तर, रुघा निको पार्ने औषधि छैन ।
 त्यसो भए रुघा लागेको बेला के गर्ने त ? डा. उप्रेतीको सल्लाह यस्तो छ :
रुघा लागेको व्यक्तिको संसर्ग नगर्ने
रुघा लागेका व्यक्तिको नजीक वा मुखामुख हुने गरी बस्नु हुँदैन । यदि बस्नु परेमा मुख र नाक छोप्ने मास्क लगाउनु ठीक हुन्छ । यसै गरी रुघा संक्रमित व्यक्तिले प्रयोग गर्ने सरसामान र लुगा प्रयोग गर्नुहुँदैन ।
भिटामिन सी
अमला, कागतीजस्ता भिटामिन सी भएका र मौसमी फलफूलहरूको प्रयोगले शरीरमा भिटामिन सीको आपूर्ति हुन सक्छ । भिटामिन सीले शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ ।
 आराम र पानी
रुघा लाग्नुभन्दा अघि धेरै जना नाक र घाँटीमा के-के खसखस भएजस्तो हुन्छ भन्ने गर्छन् । यस्तो किसिमको अनुभव हुनेबित्तिकै आराम गरेर पर्याप्त मात्रामा पानी (विशेष गरी कागती हालेर) पिउनुपर्छ । पानीको पर्याप्त प्रयोगले जीवाणुहरू पिशाबबाट चाँडै बाहिर निस्कन्छन् । पानी पिउन मन नलागे तरकारीको तातो सूप प्रशस्त मात्रामा पिउनुपर्छ । रुघा लाग्दा प्रायः खानामा रुचि घट्ने हुनाले सूपको प्रयोग गर्नाले शरीरलाई चाहिने केहि पोषण तत्त्व पनि प्राप्त गर्न सकिन्छ । यस्तो बेलामा शारीरिक रूपमा धेरै थाक्ने काम चाहिँ गर्नुहुन्न ।
घाँटीमा खसखस भएको बेलामा मनतातो पानीमा नून हालेर घाँटीमा गारगल (कुल्ला) गरेमा दुखाइ निकै कम हुन्छ । सम्भव भए दिनमा ५-६ चोटि, त्यो नभए दुखेको र थुक निल्न गाह्रो भएको बेला कुल्ला गर्नुपर्छ । यसले घाँटीको दुखाइ र सङ्क्रमण पनि कम गर्छ । पानीमा अलिकति ज्वानो हालेर कुल्ला गर्दा पनि फाइदा गर्छ ।
मह र कागती
घाँटी दुखेका बेला मनतातो पानीमा मह र कागती मिसाएर पिउनाले तीनओटा फाइदा हुन्छ । शरीरलाई पानीको मात्रा पुग्छ, कागतीले भिटामिन सी दिन्छ । महले थोरै भएपनि क्यालोरी दिन्छ र घाँटीको दुखाइ पनि केहि कम गर्छ । धेरैले यसमा अदुवाको टुक्रा पनि हाल्छन् । अदुवा पानीको भिन्नै काँढा बनाएर पनि प्रयोग गर्न सकिन्छ ।
तातो पानीको वाफ
सम्भव भएमा त पूरा जीउ नै तातो पानीको वाफमा राख्न सके वा तातो पानीमा बस्न सके शरीरले आनन्द पाउने मात्र होइन, रुघा लाग्दा सूक्ष्म जीवाणुहरूको विषको कारणले दुखेको मासंपेशीलाई पनि धेरै फाइदा हुन्छ । पानी उमालेर वाफ लिन पनि सकिन्छ । कतिपयले पानीमा बास्ना आउने सञ्चो या टिञ्चर बेञ्जिन पनि हाल्छन् । यसरी वाफ लिँदा नाकमा बास्ना आई सुँघ्न आनन्द आउने र वाफले नाक खोल्ने हुँदा सास लिन सजिलो हुन्छ ।
औषधि
रुघा लाग्दा प्रयोग गर्ने खासै औषधि त छैन, तर टाउको दुखेको, जीउ दुखेको, ज्वरो आएको कम गर्न सिटामोल जस्ता औषधिहरू प्रयोग गर्न सकिन्छ । यसले आराम पुर्‍याएर राम्ररी सुत्न सकियो भने पनि भोलिपल्ट जीउलाई धेरै आराम हुन्छ ।
 घरेलु औषधि
तुलसीको पात र दानालाई २-३ गिलास पानीमा उमालेर आधा गिलास भएपछि पिउनाले धेरै फाइदा गर्छ । घरैमा पाइने तुलसीको पात आजकल चियाका रूपमा पनि बजारमा आउन थालेको छ ।