ओसामा बिन लादेनले सन् २००१ सेप्टेम्बर ११
मा अमेरिकाको टि्वनटावर ध्वस्त बनाए । लादेनको आक्रमण एक्काइशौं शताब्दीको
पहिलो दशकमा भएको विश्वप्रभावी घटना थियो । अहिले एक्काइशौं शताब्दीको
पहिलो दशक समाप्त भएर दोस्रो दशकमा अमेरिकाका लागि थप दुईजना ‘बिन
लादेन’हरु नयाँ शैलीमा जन्मिएका छन् ।
ओबामा प्रशासन यतिबेला नयाँ शताब्दीको
दोस्रो दशकमा दुईजना व्यक्तिसँग लडाइँ लडिरहेको छ । अफगानिस्तानमा
अमेरिकाले यति हाराबारा खेल्नु परेन, इराकमा पनि उसले यतिठूलो भुक्तमान
खेप्नु परेन । तर, केवल दुई व्यक्तिले यतिबेला अमेरिकालाई हाराबारा
खेलाइरहेका छन् । ओहो ! कति वलवान हुँदोरहेछ एक्काइशौं शताब्दीको मान्छे !
शायद
बिन लादेनले एक दशकमात्रै धैर्य गरेका भए उनले अमेरिकामाथि कुनै भौतिक
आक्रमण गर्ने थिएनन् र यस्तै नयाँ प्राविधिक लडाइँको सहारा लिने थिए । आखिर
सूचना प्रविधिको विकाससँगै एक्काइशौं शताब्दीको दोस्रो दशकले के
देखाइदिएको छ भने अब दुनियाँमा उपद्रो गर्न, देश-देशवीचको सम्बन्धलाई
परिवर्तन गर्न अनि कुनै पनि देशविरुद्ध संघर्ष गर्न सय किलोग्राम भन्दा कम
तौलको एउटै मान्छे नै पर्याप्त छ । र, यसैका प्रमाण हुन् जुलियस असान्ज र
३० वर्षे अमेरिकी ठिटो एडवार्ड स्नोडेन । यी दुई व्यक्तिहरु यो शताब्दीको
दोस्रो दशकका सबैभन्दा शक्तिशाली बनेर निस्किएका छन् । हेरौं, आगामी दशकमा
संसारमा अझै के-के देख्न पाइने हो !
एडवार्ड स्नोडेनको शक्ति
अमेरिकाको राष्ट्रिय प्रतिरक्षासम्बन्धी
सूचना अनधिकृतरुपले चोरेर बाहिर ल्याएको आरोप लागेका ३० वर्षीय अमेरिकी
मूलका एडवार्ड स्नोडेन यतिबेला रुसमा छन् । ३० वर्षे ठीटो यतिबेला
अमेरिकाका लागि यति ठूलो शत्रु बनेका छन् कि अमेरिकी राष्ट्रपति ओबामाको
आशन्न रुस भ्रमणको महत्वपूर्ण एजेन्डा यिनै एक व्यक्ति बन्नेवाला छन् ।
यतिमात्रै होइन यिनै एक व्यक्तिले बेलायत, अमेरिका, रुस र अन्य युरोपेली
मुलुकका साथै भेनेजुएलालाई समेत हल्लाएका छन् ।
अमेरिका र बेलायतले गरेको जन
निगरानीसम्बन्धी कार्यक्रमको वर्गीकृत सूचना स्नोडेनले चुहाएपछि बेलायतमा
रातारात हाउस बोलाउनुपरेको छ । अमेरिकाको विरोधमा रहेको भेनेजुएलाले
स्नोडेनलाई शरण दिने घोषणा गरिसकेको छ भने रुसको एयरपोर्टमा कयौं हप्ता
अन्तरराष्ट्रिय प्रभाव क्षेत्रमा रहेर उनले रुस र अमेरिकाको सम्बन्धमा समेत
तरंग ल्याइरहेका छन् । हालै उनलाई रुसले एक वर्षका लागि अस्थायी शरण दिने
निर्णय गरेको छ । अमेरिका र बेवालयवीचको गोप्य सूचना चुहाएपछि उनी हङकङबाट
रुस गएका हुन् ।
अमेरिकाको नेशनल सेक्युरिटी एजेन्सीको
प्राविधिक कर्मचारी रहेका स्नोडेनले त्योभन्दा पहिले सीआइएमा समेत जागिर
खाएका थिए । गत मेमा अमेरिका छाडेका उनलाई अमेरिकी सरकारले जासुसी एवं
सूचना चोरीको आरोप लगाएको छ ।
स्नोडेनको सूचनाका आधारमा लण्डनबाट
गार्जियन पत्रिकाले श्रंखलावद्धरुपमा जननिगरानी कार्यक्रमबारे समाचार
प्रकाशन गरेको थियो । स्नोडेनलाई कसैले गद्दार मानेका छन् त कसैले महान
व्यक्ति भनेका छन् । तर, उनले गरेको खुलासाले अमेरिका र विश्वका विभिन्न
मुलुकको सम्बन्ध बिगि्रएको छ । यो घटनापछि सरकारी गोपनीयता, जननिगरानी एवं
नागरिकको गोपनीयताको हकका सम्बन्धमा विश्वभरि बहस सिर्जना भएको छ ।
के हो जननिगरानी ?
मास सर्भिलियन्स (जन निगरानी) यतिबेला
विश्वव्यापी बहसको विषय बनेको छ । शान्ति सुरक्षा एवं आतंकवाद नियन्त्रण
गर्ने नाममा व्यक्तिका गतिविधिमाथि राज्यले प्रत्यक्ष निगरानी र हस्तक्षेप
गर्न पाउँछ कि पाउँदैन भन्ने विवादको आगोमा स्नोडेनले घिऊ हालिदिएका छन् ।
स्नोडेनको सूचनाकै कारण अष्ट्रेलिया र अमेरिकाको सम्बन्धमा पनि असर परेको छ
।
अमेरिकालगायत विभन्न देशमा जननिगरानीका
अनेकन तरिका अपनाउने गरिएका छन् । व्यक्तिको टेलिफोन ट्यापिङ गर्ने,
सार्वजनिक ठाउँमा जासुसी क्यामेरा फिट गर्ने, अवैधानिक र गोप्य रुपमा
गाडीहरुमा एरियल एवं विभिन्न उपकरणहरु फिट गर्ने फिंगर पि्रन्ट र डीएनएस
रेकर्ड गर्ने, कम्प्युटरमार्फत गोप्य सूचना लिने एवं इन्टरनेटको माध्यमबाट
सूचना लिने जस्ता कार्यहरुमार्फत राज्यले जननिगरानी बढाएर व्यीक्तको अधिकार
र स्वतन्त्रतामाथि हस्तक्षेप गरेको भन्दै एक्काइशौं शताब्दीको दोस्रो
दशकमा नयाँखालको बहस जन्मिएको छ । यसैक्रममा अमेरिकाले बेलायतलगायतका
मुलुकसँग गोप्यरुपमा सम्झौता गरेर निगरानीसम्बन्धी गोप्य दस्तावेज
गार्जियनले उजागर गरेको छ ।
नेपालमा पनि जननिगरानीसम्बन्धी विवाद
नभएको होइन । व्यक्तिको टेलिफोनको ‘कल डिटेल’ लिने लगायन्तका विषयमा
नेपालमा पनि बहस हुने गरेको छ । ‘मोबाइल ट्यापिङ’ पनि नेपालको समस्या हो
भन्ने कुरा गतसाल कृष्णबहादुर महराको फोन सम्वाद भारतीय दूतावासले
सार्वजनिक गरेबाट स्पष्ट हुन्छ । गणतन्त्र आइसकेपछि नेपाल सरकारले गोप्य
राख्नुपर्ने सूचनाको वर्गीकरण गर्ने प्रयास गरेको थियो, तर त्यो
पत्रकारहरुको विरोधका कारण सफल हुन पाएन । अहिले विश्वमा भइरहेको
‘क्लासिफाइड इन्फरमेशन’को मुद्दा पनि यही हो । तर, राज्यको आन्तरिक
सुरक्षामा ‘क्लासिफाइड इन्फरमेशन’को जरुरी हुने राज्यपक्षको दाबी रहँदै
आएको छ । एक्काइशौं शताब्दीमा यस्ता प्रविधिक विषयले राज्य र व्यक्तिको
गोपनीयतामा कसरी असर पार्छ भन्ने कुरा यसबाट प्रस्ट हुन्छ ।
असान्जे अर्का अत्याधुनिक मान्छे
अष्ट्रेलियाका ४२ वर्षीय जुलियन असान्जे
पनि एक्काइशौं शताब्दीका खतरनाक मान्छे हुन्, जसले अमेरिकालाई विन लादेनले
भन्दा कम दुःख दिएनन् । ‘विकिलिक्स’ वेभसाइटका नाममा अमेरिका र संसारभरिका
विभिन्न देशसँगको सम्बन्धबारे आश्चार्यजनक रुपमा सूचना बाहिर ल्याएर
असान्जेले के प्रमाणित गरिदिएका छन् भने यो युगको एउटा मान्छेले सानो
कोठामा बसेर विश्वयुद्ध मच्चाइदिन सक्छ । आज नेपाल भारत सम्बन्ध,
बाह्रबुँदे सम्झौता वा संसारका जुनसुकै मुलुकको सूचनाको आधार विकिलिक्स
बन्न पुगेको छ भने असान्जेले अष्ट्रेलियामा यही नाममा नयाँ पार्टी खोल्ने
निर्णय गरेका छन् ।
सन् २०१० जुलाइमा आफगान युद्धको डायरी उजागर गरेका असान्जेको विकिलिक्सकै कारण कतिपय देशमा आन्दोलनसमेत भए ।
अन्त्यमा,
असान्जे र स्नोडेन राम्रा मान्छे हुन् या
खराब, उनीहरुले सही गरे या गलत, यो बेग्लै विश्लेषणको विषय हो । तर,
विश्वमा प्रभुत्व जमाइरहेको मुलुकका लागि एक्काइशौं शताब्दीको दोस्रो दशकको
एकजना सामान्य व्यक्ति यतिसाह्रो खतरनाक हुन सक्छ भन्ने शिक्षा चाँहि यी
अत्याधुनिक दुई व्यक्तिले दिएका छन् । हुनत अघिल्ला शताब्दीमा पनि जासुसहरु
हुन्थे, अमेरिका र रुसमा सूचनाबाहकहरु शरण लिने गर्थे । कतिपय मारिन्थे
पनि । तर, अघिल्लो शताब्दीको मान्छेसँग एक्लैले एकैदिनमा यसरी संसारै
हल्लाउने ताकत थिएन । थाहा छैन, अघिल्लो दशकमा सिंगै राज्यका लागि सामान्य
५०/६० किलोको मान्छे कति खतरनाक भएर उदाउने हो ! हामीचाहिँ मान्छेभित्रको
बेजोड तागत देख्न पाउने एक्काइशौं शताब्दीका ‘भाग्यमानी’ सावित भैरहेका छौं
।
अमेरिकी नागरिक स्नोडेनले एउटा खतरानाक
उदघाटन गरेका छन् : तपाई माइक्रोसफ्ट, गुगल, याहु, फेसबुक इत्यादि
चलाइरहनुभएको छ ? तपाईका कुनै पनि सूचनाहरु सीआइएका सामु गोप्य छैनन् ।
व्यक्ति वा राज्यको गोपनीयताको हकमाथि अमेरिकाको सबैभन्दा ठूलो आक्रमण हो
यो ।