Sunil Sharma
यम विरही
काठमाडौं: ‘तँ को होस्, तेरो के हैसियत छ? तैंले ममाथि छानबिन गर्ने? तैं भ्रष्टाचारी…!’ आफूलाई चिकित्सक बताउने विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्‍चालक सुनिल शर्माले सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतलाई यसरी तथानाम गाली गरे कि जुन सुन्न पनि गाह्रो पर्‍यो।

बयानका लागि अख्तियारमा डाकिएका शर्माले अनुसन्धान अधिकृतलाई मुखमा आएजति गाली गरेपछि उनी प्रहरी हिरासतमा जानुपरेको छ। उनले सञ्‍चालन गरेको मेडिकल कलेजको सम्बन्धन र उनको डाक्टर उपाधिबारे बयान लिन अख्तियारमा डाकिएको थियो। बयानका लागि आइतबार तारिख तोकिए पनि उनी अटेर गरेर सोमबारमात्र हाजिर भएका थिए।
शर्माले आफ्नो नामअगाडि डाक्टर उपाधि लेखे पनि शंकास्पद रहेकाले उनको प्रमाणपत्र र कलेजको सम्बन्धनमाथि छानबिन भइरहेको अख्तियारका एक अधिकारीले अन्नपूर्णलाई बताए। आइतबार बयान दिन नआएपछि शर्मालाई सोमबार बिहान १० बजे डाकिएको थियो। तर उनी दिउँसो २ बजेपछि मात्र अख्तियार पुगेका थिए।
‘मुस्किलले बयानमा हाजिर भएका शर्माले उल्टै अनुसन्धान अधिकृत र कर्मचारीलाई मुखमा आएजति गाली गरे’, ती अधिकारीले शर्माको गाली जस्ताको तस्तै सुनाउँदै भने, ‘मलाई तैंले के नाप्छस्। लौ नापेर देखा, म को हुँ चिन्या’छस्। तैंले भनेको समयमा म किन आउने? तँलाई पनि म देखाइदिन सक्छु, बुझिस्।’
अनाहकमा दु:ख दिन बयानमा पुर्जी काटेको भन्दै शर्मा अख्तियारमाथि खनिएका थिए। अनुसन्धान अधिकृतमाथि तथानाम गाली र टेबुल ठोकेर जाइलागेपछि बयान अवरुद्ध भएको छ। बयान दिन नमानेपछि अनुसन्धान अधिकृतले अवाक् हुँदै पुन: मंगलबार हाजिर हुन आउने गरी शर्मालाई म्याद थमाए। त्यसपछि फेरि शर्मा खनिए र भने, ‘तैंले बोलाएको समयमा आउनुपर्छ भन्ने छ? फुर्सद मिलाएर २१ तारिखमा आउँछु। बुझिस्!’ उनले यस्तै हो भने अख्तियारमा आगो लगाउने धम्की पनि दिएका थिए।
यसरी गाली गरेपछि अनुसन्धानमा अटेर गरेको, बयानमा असहयोग गरेको, कर्मचारीमाथि लाञ्छना लगाएर गालीगलौज गरेको, अभद्र व्यवहार गरेको, तोकिएको तारिखमा हाजिर नभएको जस्ता आरोपसहित शर्मालाई प्रहरीसाथ लगाएर महानगरीय प्रहरी परिसर हनुमानढोका चलान गरिएको छ।
शर्माले काठमाडौं विश्वविद्यालयबाट मेडिकल कलेज सञ्‍चालन गर्न लिएको सम्बन्धनका विषयमा अख्तियारमा उजुरी परेको थियो। अख्तियारको हिरासत खचाखच भएका कारण उनलाई हनुमानढोका पठाइएको हो।
यसैबीच ट्रान्सफर्मर खरिद भ्रष्टाचार प्रकरणमा आइतबार पक्राउ परेका नेपाल विद्युत् प्राधिकरणका पाँचजना कर्मचारीमाथि अनुसन्धानका लागि विशेष अदालतबाट १० दिनको म्याद थपिएको छ।