Wednesday, August 7, 2013

ज्वानो र मेथीका फाइदै फाइदा - onlinekhabar

अचार-तरकारी पकाउँदा तेल तातेपछि ज्वानो-मेथी फुराउने चलन धेरै गृहिणीको छ । अझ सुत्केरीलाई त ज्वानाको झोल उत्तम मानिन्छ । सुत्केरी भएको बेला पोषिलो खानेकुराको रुपमा ज्वानाको उपभोग गर्ने गरिएपनि अरुबेला ज्वानो-मेथीको प्रयोग स्वादको हिसाबले मात्र गरिन्छ । तर ज्वानो-मेथीमा स्वाद मात्रै नभएर निकै तागतिलो र पौष्टिक पदार्थ पाइने विशेषज्ञहरु बताउँछन् ।
पोषणविद डा. अरुणा उप्रेतीका अनुसार ज्वानोको सबैभन्दा ठूलो विशेषता यसमा रहेको क्याल्सियम हो । एक चिया चम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ । ’कुपोषण भएका र, लामो बिमारीपछि उठेका बालबालिका, वृद्धा, गर्भवती महिला सबैलाई ज्वानोको प्रयोगले ˚ाइदा पुर्‍याउँछ । किनकि घरमा पाइने ज्वानो सबैभन्दा बढी क्यालसियम भएको वस्तु हो । सुत्केरी अवस्थामा ज्वानोको विशेष प्रयोग गर्नुको कारण ज्वानोले शरीरलाई चाहिने आवश्यक क्याल्सियमको परिपूर्ति गर्छ, साथै आमाको दूध बढाउँछ । आमाको दूधबाट बच्चालाई पनि क्याल्सियम प्राप्त हुन्छ । ज्वानोलाई झोलको रूपमा प्रयोग गर्नु बाहेक तरकारीमा भुटनको रूपमा पनि प्रयोग गर्ने चलन छ । क्वाँटी वा गेडागुडी पकाएपछि ज्वानोले झान्ने चलनको पनि वैज्ञानिक कारण छ’ डा. उप्रेती भन्नुहुन्छ ।
क्वाँटी वा गेडागुडी खानाले कसैकसैलाई पेटमा ग्यास -वायु) हुने गर्छ र पेट डम्म फुलेजस्तो हुने अनि कर्‍याङ्कुर्लुङ् गरेर कराउने हुन्छ । ज्वानोले वायु हुनबाट रोक्छ । त्यसैले ज्वानोलाई भुटनको रूपमा प्रयोग गरिएको हो । घाँटी दुखेको बेलामा पानीमा ज्वानो राखेर उमाली त्यसमा अलिकता नून मिसाई कुल्ला गर्नाले फाइदा गर्छ । ज्वानो, नून र ल्वाङलाई मुखमा हालेर बिस्तारै रस चुस्नाले खोकी लागेको पनि कम हुन्छ । त्यसरी नै नाक टम्म बन्द भएको बेला दिनमा दुई-तीन चोटि ज्वानो पानीको बाफ लिनाले नाक खुल्छ ।
ज्वानोजस्तै मेथी पनि उस्तै उपयोगी र औषधीय गुण भएको खाद्य पदार्थ हो । भिजाएर टुसा उमारेको मेथीलाई तरकारी वा अचार बनाएर खानाले यो स्वादिष्ट मात्र होइन, अत्यन्त पौष्टिक पनि हुन्छ । टुसा उमारेको मेथीमा विभिन्न खनिज पदार्थहरूका साथै भिटामिन ए पनि पर्याप्त मात्रामा पाइन्छ । त्यसैले सुत्केरी महिलाहरूलाई मेथीको खीर बनाएर खान दिने चलन छ । मेथीले पौष्टिकता दिनुका साथै आमाको स्तनमा दूधको मात्रा पनि बढाउँछ ।मेथीमा भोजनलाई पचाउने गुण पनि हुन्छ । पेट दुखेको बेलामा लशुन र मेथीको जाउलो ख्वाउने चलन हाम्रा हजुरआमाहरूको पालादेखि नै थियो । त्यसैगरी मेथीको धूलोमा दही मिसाएर पखाला लागेको तथा अपच भएको बेलामा दिने चलन छ । मेथीको प्रयोग मधुमेहका रोगीहरूका लागि पनि उपयुक्त मानिएको डा. उप्रेतीले बताउनुभयो ।