Sunday, August 4, 2013

कृषि व्यापारमा किन छैन् नाफा ?, साढे चार अर्बको कारोवार गर्ने निम्बस एमडी बगरियाको अन्र्तवार्ता - bizmandu



मुलुकमा लगानीका सम्भावना धेरै छन् । परम्परागत व्यवसायलाई नै मियो मानेर हिड्नेहरुको संख्या अधिक छ । जसले नयाँ क्षेत्र पहिल्याउन सक्छ, उसले लाभ पनि बढी पाउँछ, अगुवा पनि बन्छ । नयाँ सोचसहित लगानीको जोखिम उठाउन हिम्मत गर्नेले नविनतम क्षेत्रको नेतृत्व पनि गर्छ, आनन्द बगरिया, त्यस्तै नविनत्तम सोंचलाई नेतृत्व गर्ने एक युवा उद्यमी हुन् । नेपालको मारवाडी समुदायमा पारदर्शीतालाई प्राथमिकतामा राख्ने बगारियाको सोंचले कृषिलाई व्यवसायिकरण गरेको छ । त्यसैले त बगरिया भन्छन्, हाम्रो कम्पनीले गतवर्ष साढे चार सय करोडको कारोवार गर्यो, तीन चार प्रतिशत मार्जिन बस् । बगरियासँग बिजमाण्डू सम्पादक सरोज काफ्लेले लिएको विशेष अन्र्तवार्ता ।


नेपालको व्यवसायिक समूह, अझ विशेष गरेर मारवाडी समूह नेपालमा आयात व्यापार गर्ने, त्यो सामान वेचेर नाफा कमाउने, त्यसभन्दा माथि गएपछि सिमेन्ट उद्योग खोल्ने, रड उद्योग खोल्ने, धेरै भयो भने जलविद्युतको हावामा बग्ने तर तपाईंहरुको प्राथमिकता संधै फरक रह्यो ?

त्यो कुनै समुदाय केन्द्रित हुनुभन्दा पनि ‘एट्ट्यिुड’को कुरा हो, पैसा कमाउँ भन्ने त दशौं उपाय हुन सक्छ, तर व्यापारमा सन्तुष्टि चाहिन्छ, हामीले देखासिखीको व्यापारमा कहिल्यै पनि सन्तुष्टि पाएनौं, हामीलाई के लाग्यो भने, ‘क्रियटिभिटी’, ‘इनोभेसन’, पुरै क्रियटिभिटी नभए ‘इम्प्रोभाइजेशन’, गरेर कुनै ‘भ्यालु एडिशन’ गर्न सकिन्छ भने त्यो गर्ने, सिमेन्ट उद्योग खोल्ने नै हो भने, अहिले सबैले सिमेन्ट उद्योग खोल्ने परिपाटी चलेको छ, हामी पनि त्यहाँ जान सक्छौं, तर त्यो हाम्रो सन्तुष्टिको विषय होइन्, हामीलाई त्यहाँबाट ‘एक्साइटेमेन्ट’ हुँदन्, हामी संधै नयाँ गरौं भन्ने सोंचमा हुन्छौं, त्यो नयाँ गर्ने क्रममा कहिले काहीं नेपालको परिप्रक्षेयमा अलि छिटो पनि हात हालिन्छ, तर त्यो फरक कुरा हो । व्यापार गर्नु ‘एक्साइटेमन्ट’ हो, ‘क्रियटिभिटी’ हो, ‘इनोभेसन’ हो, त्यसमा मज्जा आउँछ । आफूले गरेको काममा मज्जा आउन थालेन भने, त्यो के बिजनेश ? एउटा विन्दु हुन्छ जहाँसम्म तपाई आफ्नो ‘लिगेसी’का लागि काम गर्नुहुन्छ, त्यसपछि त मज्जा आउनु पर्यो नी ।

मान्छेहरु कृषि पेशालाई दुखिया पेशा भन्छन्, कृषिको व्यापार पनि त्यही हो भन्ने सोंच्छन्, तर तपाईहरुले त्यसलाई यो दुखको पेशा मात्र होइन, आम्दानीको बाटो हो, मुनाफा कमाउने ठाउँ हो भनेर देख्नुभयो होइन् ?
कृषिलाई जहिले पनि भोटको राजनीतिसँग जोडियो, यसलाई कसैले नि व्यवसायको रुपमा  हेर्न चाहेन्, आज पेशागत रुपमा हेर्ने हो भने दुनियाँमा पहिलो वा दोस्रोमा कृषि पेशा हुन्छ । व्यापार भनेको के हो ?, केही उत्पादन हुनुपर्यो, त्यसलाई ‘इम्प्रोभाइज’ गर्नुपर्यो, त्यसलाई बेच्नुपर्यो । यहाँ पनि त उत्पादन गरिरहनुभएको छ, बेचिरहनुभएको छ, यो पनि उद्योगभन्दा कसरी बाहिरको भयो । हामीसँग कृषि नीति छ तर त्यो उद्योगसँग जोडिएको छैन् । कृषिको नीतिलाई वेग्लै राख्ने किन ?, उद्योग भनेको उत्पादन भन्ने हो भने कृषि पनि उत्पादन र व्यापार हो । हामीलाई के लाग्यो भने कृषिमा सम्भावना छ , कृषि र उद्योगवीचको दुरीलाई कम गरौं र मिलाउने प्रयास गरौं । यहाँ ठूलो विकृती पनि छ, तर त्यति कै सम्भावना पनि छ ।

कृषिमा आम्दानी वा मुनाफा गर्ने सम्भावना ?
दश वर्ष पहिले कृषिले सही मूल्य पाएको हो वा होइन मैले भन्न सक्दिन तर पछिल्लो दश वर्षमा कृषिले राम्रो मूल्य प्राप्त गरेको छ, आजको दिनमा कृषिलाई मुनाफामुखी नभन्नु गलतै होला, म त यहाँसम्म भन्छुकी अब कृषिलाई कुनै अनुदानको जरुरत नै छैन् । कृषिलाई अहिले अनुदान होइन्, सहजिकरणको आवश्यकता । ऋण सहज ढंगले पाउने, पूर्वाधार तयार गर्ने हो भने यहाँ आम्दानी  पनि हुन्छ, मुनाफा पनि हुन्छ । सन् २००० मा मकै छ रुपैयाँ किलो पाउँथ्यो, अहिले सिजनको सुरुमा १८ रुपैयाँ पाउँछ, यो वर्षमा लागत के बढ्यो ? पानी हो, भूमि हो, विउ, विजन हो र किटनाशक हो । बिउ, मल र किटनाशकको मूल्य दश वर्षको तुलनामा दोब्बर÷तेब्बर नै बढेको छ भने हो भने पनि त्यो मकैको कुल मूल्यको २५ प्रतिशत मात्रै हिस्सा हो, तर मकैको मूल्य तेब्बर बढेको छ । साधारण गणित के हो भने, कृषिमा मुनाफा बढेको छ । मात्र हामीले किसानलाई संधै दयाको पात्रका रुपमा हेर्यौं, जबकी उ दयाको पात्र होइन्, नाफाको भागिदार हो ।


...
दश वर्ष पहिले कृषिले सही मूल्य पाएको हो वा होइन मैले भन्न सक्दिन तर पछिल्लो दश वर्षमा कृषिले राम्रो मूल्य प्राप्त गरेको छ, आजको दिनमा कृषिलाई मुनाफामुखी नभन्नु गलतै होला, म त यहाँसम्म भन्छुकी अब कृषिलाई कुनै अनुदानको जरुरत नै छैन् । कृषिलाई अहिले अनुदान होइन्, सहजिकरणको आवश्यकता
...


यही प्रसङ्गमा जोड्दा, तपाईंका हिसावमा कृषि पेशा मुनाफामुखी बन्यो भन्ने हो भने, अझै पनि किसान किन कृषि पेशा छोड्न चाहन्छ, त्यहाँबाट बाहिर निस्किन किन चाहन्छ ?
मेरो आफ्नो सोंचाईमा धेरैले मुनाफाको हिस्सा पाएका छैनन्, त्यसका पनि विभिन्न कारण होलान्, बिचौलियाले खाइदिनु, पूवाधार नुहुनु, खरिद गर्ने नहुनु, खरिदार हुँदा गुणस्तरीय उत्पादन नुहुनु, तर हरेक कृषि उत्पादन विक्री गर्न सकिन्छ र त्यसमा मुनाफा बसाउन सकिन्छ । व्यापारमा कहिं न कहिं मुनाफा हुनै पर्छ, सबै घाटा व्योहोर्ने त सरकार मात्रै हो, व्यापारमा नाफा हुनै पर्दछ, कहिले तपाईलाई होला, कहिले मलाई होला तर नाफा हुनै पर्दछ, भएन भने त्यो व्यापार नै होइन्, त्यो निरन्तर चल्न सक्दैन् । किसानलाई नाफा छैन् तर व्यापारीलाई नाफा छ, उद्योगलाई नाफा छ भने त्यसको आधारभूतमै समस्या छ । त्यो हो भने,  तपाईं कति दिन नोक्सान खाएर मलाई नाफा गराई राख्नुहुन्छ, त्यो त सरकारले बेच्ने पेट्रोल त होइन्, नेपाल आयल निगमले घाटा बढाएको बढाई छ, डिलर र उद्योगले पैसा कमाएको कमाई छ ।

निम्बसलाई उदाहरण मान्ने हो भने, तपाईलाई उदाहरण मान्ने हो भने नेपालमा कृषिको व्यवसायीकरण सम्भव छ, यसबाट मुनाफा कमाउन सकिन्छ भन्दा हुन्छ ?
सफल हुन सकिन्छभन्दा हुन्छ, सफल भैसक्यो भन्दा चाँडो हुन्छ कि ? हामी एउटा उदाहरण मात्रै प्रयाप्त होइनौं, यति ठूलो क्षेत्र छ कि, धेरै सम्भावना छ, निम्बस मात्रै होइन, जति धेरै कम्पनी आए त्यति धेरै राम्रो छ । यो केवल व्यवसायिकरणभन्दा पनि सहजिकरण भन्छु म, जति जाना आयौं, हामी केही न केही नयाँ लिएर आउँछौं । मैले प्लेट दानाको एक सेट ल्याएँ भने अर्कोले अर्को सेट ल्याउला, अस्तीसम्म सिमेन्ट उद्योग थिएन, तर अहिले यति धेरै लगानी लगाएर सिमेन्ट उद्योग आइरहेको छ, सबैले ‘सस्टेन’ पनि गरिरहेको छ । हामीले कृषिलाई अझ बढी संगठित बनायौं भने, मुनाफाको केन्द्र बनाउन सक्छौं । त्यसो भएमा फेरी पनि किसान दयाको पात्र होइन, व्यवसायीका रुपमा अघि आउने छन् । त्यसबाहेक कृषि नीति र उद्योग नीतिलाई संयोजन गर्न आवश्यक छ, आज कृषि उत्पादन गरेर मात्रै ‘भ्यालु एडिशन’ आउँदैन्, त्यसका लागि कृषि उत्पादनलाई ‘प्रोसेसिङ्ग’ गर्नुपर्यो, ‘प्रोसेसिङ्ग’ भनेको उद्योग हो, उद्योग भनेको चाहे जुस बनाउने, तेल बनाउने, फिड बनाउने, त्यो उद्योग नै हो । सिमेन्ट, डण्डी उद्योगलाई एक किसिमको नीति, कृषिका उद्योगलाई अर्को किसिमको नीति, यो तालमेल नमिलेपछि राम्रो गर्न सकिंदैन् ।



...

निम्बस त ‘किचन’ भैसक्यो, हामीले सन्तुलित भोजन बनाउने हो, हामीले सिकेको नै इनर्जी र प्रोटिनको बीचमा व्यलेन्स गर्न हो, नाम चाहे जे होस्, नेपाल प्रोटिन ‘डेफिसिट’ मुलुक हो । त्यसमा हामीले लगानी थप्दैछौं, हामीले भट्टमासबाट उत्पादन हुने खाने तेलमा लगानी थप्दै छौं, त्यसका लागि मात्रै हामी झण्डै झण्डै ५० करोड रुपैयाँको लगानी थप्छौं
...


त्यै पनि तपाईंलाई एउटा उदाहरणका रुपमा लिन सकिन्छ, उदाहरणका रुपमा लिंदा तपाईले बिजनेश कहाँबाट कहाँ ग्रो गर्नुपर्यो । मुनाफा कति कमाउनु भयो ?
नेपालको परिप्रक्ष्यमा बिजनेश राम्रै गरियो, हामीले पछिल्लो वर्ष करिव करिव साढे चार सय करोडको कारोवार गर्यौं, यो बढी मुनाफादायी व्यापार होइन्, यो उच्च कारोवार हुने व्यापार हो । मलाई लाग्छ, कारोवारको तीन÷चार प्रतिशत मुनाफा बस्यो होला । यो पनि सिजनअनुसार हुन्छ, कहिले उच्च कहिले कम । मलाई के लाग्छ भने ‘एनिमल फिड’ एउटा क्षेत्र हो भने त्यस्तो क्षेत्र नेपालमा सयौं अरु छन् । म आफै तीन चार वटा क्षेत्रमा काम गर्न खोजिरहेको छु । नेपालमा खाने तेल पूण आयात हुन्छ, क्रुड आयल भनेर आयात हुन्छ, सेमी प्रोसेस भनेर आयात हुन्छ, तर पूरै आयात हुन्छ । तर हामीकहाँ भट्टमास छ भने आयल सिड छ । मलाई वर्षमा ५० हजार टन भट्टमास आवश्यक छ, त्यही हो मलाई एकतित्र गरेर  दिनेवाला छैन् । त्यसलाई एकतित्र गर्न सकियो भने, त्यसलाई व्यवसायिक बनाउन सकियो भने तेल पनि एउटा सम्भावनाको क्षेत्र हो । कुखुराको मासुबाहेक सबै मासु आयात भैरहेको छ, त्यो उत्पादनलाई हामीले यहाँ उत्पादन गर्न नसक्ने कारण के ? यहाँ मौसम, वातावरण र भूमी पनि उपलब्ध छ भने कारण के ?

केही मान्छेलाई कृषि पेशासँग वितृष्णा छ, तर विदेशमा काम गरेर फकिएका केही युवा छन्, जसले कृषिलाई ‘ग्ल्यामरस’ पेशाका रुपमा विकास गर्न खोजिरहेका छन्, हामी के देख्छौं भने तपाईले पनि यसलाई ‘ग्ल्यामरस’ नै बनाउनु भयो ?
नेपाली परिवारमा कोही न कोही विदेश गएको छ, त्यहाँ बसेर आएपछि हामी तुलना उताको गर्छौं, र यहाँ एक रातमै पूरा परिवर्तनको अपेक्षा गर्छौं, त्यो नपाउँदा केही असन्तुष्टि छ । तर आजभोली विदेशबाट फर्किएका नेपालीले बंगुरपालनादेखि गाई पालनसम्म नेपालमै धेरै राम्रो काम गरिरहेको खबर आइरहेका छन् । हाम्रो प्रयास के छ भने कृषि पेशा मुनाफादायी छ भने सन्देश जाओस्, अहिले केही युवाले कृषि पेशालाई फेरी ग्ल्यामरस बनाउँदै लगेका छन्,  कृषिलाई ग्ल्यामरस कसरी बनाउने मलाई आएन तर मुनाफामुखी छ भन्ने हामीले प्रमाणित गर्यौं । हामी त्यसका लागि भने उदाहरण हौं, हामीले त्यससम्वन्धी सोंचहरु पनि बाँडिरहेका छौं । अरुलाई कृषिमा काम गर्न प्रोत्साहित पनि गरिरहेका छौं, तपाई सुरु गर्नुस हामी प्राविधिक, वित्तीय साथ दिन्छौं भनिरहेका छौं । तर हामीले दिएको साथबाट हामीसँग ‘सिनर्जी’ आउनुपर्यो । आजका दिनमा मैले आफ्नो लगानी ‘लाइभस्टक’, कृषिको ‘प्रोसेसिङ्ग’मा बढाइरहेको छु, ‘एफएमसिजि’ वितरणको नेटवर्कमा छिर्ने प्रयास गरिरहेको छु ।


तपाईले भन्नुभयो, यो मुनाफादायी व्यपार हो, मान्छेलाई थाहा छ, कृषि तुलनात्मक लाभको क्षेत्र पनि हो, नेपालका उद्योगपतीहरु त्यहाँ किन स्वीच गर्न सकिरहेका छैनन् ?
नेपालको परिप्रेक्ष्यमा अन्य क्षेत्रमा हेर्दा लगानीको समस्या देखिएन्, तर कृषिमा  प्राविधिक ज्ञान र प्राविधिक आत्मविश्वासको कमि देखियो, हामी पनि यो व्यापारमा छिर्दा के लागेको थियो भने जानेको छैन्, बुझेको छैन्, त्यति ठूलो कारोवार छ । हामी कृषिमा छिर्दा भाग्यवश यस्तै काम गर्ने भारतीय कम्पनीसँग आवद्ध हुने अवसर प्राप्त भयो । उनीहरुसँग सिक्दै गएपछि बल्ल आज आत्मविश्वास आयो । कृषि व्यवसायमा नेपालका ‘कन्भेन्सनल विजनेश हाउसेस’ या लगानी गर्ने क्षमता भएका व्यवसायिक घरानालाई आत्मविश्वासको कमी हो । सिमेन्ट, औषधी उद्योगको उदाहरण लियो भने त्यसको कच्चा पदार्थ विदेशबाट मगायो, या खानीबाट झिक्यो, त्यसलाई प्रोसेसिङ्ग गरेर बजारमा पठायो, धेरै जनासँग तालमेल मिलाउन नपर्ने, तर कृषिमा थप के छ भने कलेक्सन नेटवर्क पनि तयार गर्नुपर्दछ । त्यो गर्न प्राविधिक आत्मविश्वासको कमि हो वा त्यो गर्न नचाहनु हो ? अर्को कृषि भनेको छिट्टै खराव हुने सामाग्री हो, आज स्टिल मगायो भने जता राखे पनि भयो, तर गहुँ मगायो भने जथाभावी छोडेर त भएन, यसलाई अतिरिक्त पूर्वाधार चाहियो भनौं वा अतिरिक्त झण्झट उठाउनुपर्यो । जसले गर्दा सायद आँट नबढेको हो, कि ? दुई चार जना अरु आयो भने आँट आउँछ । हाम्रो देखासिकि गर्ने वानी छ, अहिलेसम्म सायद कृषिको औद्योगिकीकरण देखासिकीमा परेको छैन् । दुई चारवटा अरु कम्पनी आउने हो भने यो व्यापार बढेर जान्छ ।

राज्यले कृषिलाई प्राथमिकतामा राखेको छ, अनुदानको व्यवस्था गरेको छ, केन्द्रिय बैंकले कृषिलाई प्रवाह गर्ने कर्जामा विशेष सहुलियत दिएको छ, उद्योगीहरुलाई के लाग्छ, यो अझ सहुलियतपूर्ण भएन ?
राष्ट्र बैंकले लघुवित्त लगायतको काम गराईरहेको छ, कस्तो हुन्छ भने बलजफ्ती काम गराउनु र एउटा ‘रियल बिजनेश’ अवसर तयार गर्नुमा फरक हुन्छ । मन लागेर गर्दा दश दिनमा काम सक्नुहुन्छ, तपाईलाई बलजफ्ती काम थुपारिदियो भने जेनतेन सकाउनुहुन्छ । सरकारले ऋण दिन्छु भनेर मात्रै भएन, त्यो ऋण किसानसम्म, किसानले उत्पादन गरेका सामानलाई ‘प्रोसेसिङ्ग’ गर्ने उद्योगसम्म पुग्नुपर्यो । त्यो पुगेपछि त्यसको उपयोग हुनुपर्यो, त्यो उपयोग भएपछि मुनाफा सिर्जना गर्नुपर्यो । म त किसानलाई पनि व्यापारी भन्छु, अहिले ए क्लास बैंकले  किसानलाई ऋण दिन बाटो खोजिरहेको छ, तर बाणिज्य बैंकले एक किसानलाई दुई लाख रुपैयाँ ऋण दिएर त्यसलाई पछ्याइ रहन सम्भव त छैन् । त्यसका लागि उनीहरुले मध्यस्थकर्ता खोजिरहेका छन्, तर मध्यस्थकर्ता कसलाई खोजेका छन् भने आफूभन्दा सानो बैंक, लघु वित्त खोज्छन्, त्यसले बीचमा बिचौलिया राखेपछि  त ‘कस्ट’ बढ्दै गइरहेको छ । राष्ट्र बैंकले पनि सरकारले पनि ‘एग्रो प्रोसेसिङ्ग’ उद्योगका वारेमा कहिं पनि केही कुरा गरेको छैन् । ‘एग्रो प्रोसेसिङ्ग’ कसले गर्ने ?, दश किसानले पनि गर्न सक्छ, एउटा उद्योगीले पनि गर्न सक्छ ।  अर्थात त्यो लिंकेज पूरा भएन भने मैले ऋण पाइन् भने, मैले किसानलाइ दिन सक्दिन्, किसानलाई बैंकले सिधै ऋण दिन सक्दैन् । नियत ठिक हुँदा पनि कहिं न कहिं के नमिलेको के नमिलेको देखिएको छ । यसको मुख्य कारण नीति बनाउँदा त्यसको सही साझेदारहरुलाई बोलाएकै छैन् ।

सरकारलाई राष्ट्र बैंकलाई के लाग्छे भने, उद्योगलाई÷उद्योगीलाइ ऋण दियो भने चोरी होला, बदमासी होला, किसानले ऋण नपाउला ?
नीति बनाउँदा यहाँ चोरी होला, त्यहाँ बदमासी होला भनेर नीति बनायो भने त्यो पुलिस नीति भयो, हो सुविधाको चोरी होला, त्यसलाई बन्द गराउने प्रयास गर्नुपर्दछ, सिस्टमलाई अझ बलियो बनाउनुपर्दछ,  दुई जनाले चोरी गर्ला भनेर ९८ जनालाई सँजाय दिने ? पुरै देशलाई सजाय दिने, किसान राम्रो हुँदा, टोल राम्रो हुन्छ, छिमेकी राम्रो हुन्छ, देशले फाइदा पाउँछ । बजेट आउँदा बजारमा पैसा आउँछ भने किसानको घरमा पैसा पुगेपछि बजारमा आउँदैन ? पक्कै पनि आउँछ । तर त्यसको ‘लिंकेज’ को ? त्यो लघुवित्तभन्दा बढी प्रभावकारी उद्योगी हुन सक्छ, व्यवसायिक घराना हुन सक्छ ।


निम्बसले यहाँका किसानलाई प्राथमिकता दिएको छैन्, तपाईंहरु आयात गर्नुहुन्छ भन्ने आरोप छ ?
हाम्रो ७० देखि ८० प्रतिशत कच्चा पदार्थ ‘ग्रेन’ हो, र तीन चार प्रतिशत फाइन केमिकल होला, त्यो केमिकल नेपालमा पाउँदै पाउँदैन, त्यसको उद्योग लगाउनु नेपालमा सम्भव पनि छैन् । हाम्रो कच्चा पदार्थ भनेको मकै, गहुँ, भट्टमास, तोरी, धान हो । हामीसँग ५० वटा कच्चा पदार्थ छन्, यसमा भट्टमास बाहेक अधिकांश कच्चा पदार्थ नेपालमा हुन्छ । भट्टमास पनि नेपालमा हुन्छ तर कृषि ‘साइकल’मा के हुन्छ भने कुनै वर्ष कुनै फसल राम्रो हुने, कुनै वर्ष कमसल हुने । जस्तो यो वर्ष बर्डफ्लुका कारण मकैको माग कम हुन्छ, तर मौसम राम्रो छ त्यसैले त्यसको उत्पादन राम्रो हुन्छ । त्यो स्टकको अभाव भयो भने आयातमा भर पुर्न पर्दछ । नेपालमा उत्पादन भएपछि पनि ‘फ्रेट’को व्यवस्थापन कठिन हुन्छ । नेपालको लामो खुला सिमाना छ, कतिपटक कस्तो हुन्छ भने पश्चिमको मकै भारतमा गैरहेको हुन्छ, भारतबाट पूर्वमा मकै आइरहेको हुन्छ । त्यसलाई आयात भन्ने कि निर्यात भन्ने ? त्यस्तो अवस्थामा हाम्रो उत्पादन कति, हाम्रो खपत कति भनेर हेर्नुपर्दछ । त्यसैका कारण समय समयमा आयात पनि हुन्छ, समय समयमा आन्तरिक बजारबाटै पूरा पनि हुन्छ । फिड बनाउँदा मुख्य गरी दुई चिज हुन्छ, इनर्जी र प्रोटिन, स्वादलाई छाड्ने हो भने कृषि भनेको इनर्जी, प्रोटिन, भिटामिन र मिनरल्सको व्यवस्थापन गर्ने नै हो । पशु आहारमा पनि त्यही कुरा हो । अहिले हामी ‘प्रोटिन’को सोर्समा कमजोर छौं, त्यो उत्पादनमा हामी लाग्दैछौं । भट्टमास घरघरमा खाने चलन छ, तर पनि सोयाविन तेल आयात भैरहेको छ, भट्टमासको उत्पादन छरिएको छ, मलाई वर्षमा ४० हजार टन भट्टमास आवश्यक पर्ने भयो भने सय टन दैनिक चाहियो, अब एक किलो भट्टमास पुर्याउन कति गाह«ो हुन्छ भने अब भन्नुस मलाई कसले दैनिक सय टन भट्टमास कसले दिने ? मेरो मान्छे गाउँ÷गाउँमा कुदाएर दश/दश, बीस/बीस किलो उठाएर जम्मा गर्न त सक्दिन, समस्या त्यहाँ छ । जबकी हामीले आजदेखि राम्रोसँग काम गर्यौं भने अर्को तीन/चार वर्षमा भट्टमासको आयात ४० प्रतिशत घटाउन सक्छौं ।

निम्बसले विशेष गरेर दुई तीन क्षेत्रमा लगानी थप्दैछ, जस्तो खाने तेल उत्पादन गर्ने, मासुको प्रोसेसिङ्ग उद्योग खडा गर्ने, यो कस्तो लगानी हो ?
हामीले ‘ह्युमन प्रोटिन’, ‘ह्युमन न्युट्रिशन’मा लगानी गर्न थालेका हौं, निम्बस त ‘किचन’ भैसक्यो, हामीले सन्तुलित भोजन बनाउने हो, हामीले सिकेको नै इनर्जी र प्रोटिनको बीचमा व्यलेन्स गर्न हो, नाम चाहे जे होस्, नेपाल प्रोटिन ‘डेफिसिट’ मुलुक हो । त्यसमा हामीले लगानी थप्दैछौं, हामीले भट्टमासबाट उत्पादन हुने खाने तेलमा लगानी थप्दै छौं, त्यो क्यालोरी हो, हामी छिट्टै बजारमा जाँदै छौं ।

खानेतेलमा कति लगानी गर्दै हुनुहुन्छ ?
हामीले राम्रो गुणस्तरको खानेतेल उत्पादन गर्ने हो, त्यो सबैका लागि हो, हामीले त्यसको प्लान्ट अर्डर गरिसकेका छौं, आगामी एक वर्षमा बजारमा हाम्रो तेल हुन्छ । यो ‘कम्पोजिट’ परियोजना हो, यहाँ भट्टमास प्रोसेसिङ्ग हुन्छ त्यसबाट ‘फोर्टिफाइड’ आटा उत्पादन हुन्छ, हामी त्यो पीठोको बजारीकरण अहिले सोंचेका छैनौं, पिठोको जसले बजारीकरण गरिरहेको छ, त्यसैलाई हामीले पीठो दिन्छौं, भट्टमासको मस्यौरा लगायत अन्य उत्पादन पनि हुन्छ, त्यसका लागि मात्रै हामी झण्डै झण्डै ५० करोड रुपैयाँको लगानी थप्छौं । हामीले भट्टमास आयात गरिरहेका छौं, त्यही भट्टमासलाई हामीले ‘भ्यालु एड’ गरेर नयाँ उत्पादन ल्याउने हो । दश रुपैयाँमा मकै वेच्नुभन्दा २५ रुपैयाँमा पिठ्ठो बेच्नु फाइदाजनक हुन्छ ।

तपाईहरु सँगसँगै मासुको प्रोसेसिङ्ग उद्योगमा पनि जाने भन्ने थियो ?
मासुको उद्योगमा जाने भन्ने थियो, तर अहिलेका लागि हामीले त्यो परियोजना सप्लायर, डिलरसँग मिलेर गर्न खोजरहेका छौं,  यो एउटा क्षेत्रीय परियोजना हो, पोखराको कुखुरा काठमाडौं ल्याएर काट्ने होइन् । सप्लायर, डिलरलाई हामी प्रविधि दिन्छौं, तीन/चार स्थानमा मासु प्रोसेसिङ्ग उद्योग चल्यो भने त्यसलाई हामी एक ठाउँमा ल्याएर एउटा सिंगल ब्राण्डमा बेच्छौं । यो परियोजना पनि सुरुवात हुन-हुन लागेको छ । यो सबै गरेर हाम्रो एक वर्षे लगान कार्यतालिका छ, त्यो डेढ वर्षसम्म पनि जान सक्छ, त्यसमा मात्रै पनि सय करोड जति लगानी थपिन सक्छ ।

तपाईहरु एक सयम वल्र्ड बैंक समूहको आईएफसीसँग सहुलियतपूर्ण कर्जा ल्याउने प्रक्रियामा पनि हुनुहुन्थ्यो, त्यो प्रक्रिया कहाँ अल्झियो, कहाँ अड्कियो ?
प्रक्रिया कहिं अल्झिएको पनि छैन्, अड्किएको पनि छैन् । आईएफसि मात्रै होइन्, हाम्रो प्रयास नेपालको कृषिमा अन्तराष्ट्रिय लगानी ल्याउने हो । नेपालमा त्यस्तो लगानी अहिलेसम्म आउने चलन छैन्, त्यसको आफ्नै प्रक्रिया हुन्छ, आवश्यकता हुन्छ । हामी नेपाली ‘बिजनेशम्यान’ त्यो तयारीका साथ बस्दैनौं, त्यसमा हामीले काम गरिरहेका छौ, दुई/चार वटा संस्थासँग कुराकानी गरिरहेका छौं, हाम्रो चाहना इक्वीटीमा आओस भन्ने हो ।

कृषिबाट सुरु भएको निम्बसले व्यवसायिक विविधिकरण सुरु गरेको छ, तपाईहरु नेपाल ग्यास किनेर खाना पकाउने ग्यास उद्योगमा हात हाल्नुभयो, इन्भेष्टमेन्ट कम्पनी खोल्नुभएको छ ?
निम्बसको फिलोसोपि के हो भने केही नयाँ गरौं, केही नयाँ गर्ने सोंचमा हामी नयाँ बिजनेशमा हात हाल्छौं । इन्भेष्टमेन्ट कम्पनी गर्दा पनि त्यही हो, नेपाल ग्यास किन्दा पनि त्यही हो । नेपाल ग्यासको आफ्नो ब्राण्ड इमेज छ र त्यसको राम्रो नेटवर्क पनि छ । त्यसलाई के ‘बेटर युटिलाइज’ गर्न सकिन्छ भन्ने हो । तर कृषिमा हामी सिमित छौं भन्ने छैन्, पक्कै पनि कृषि हाम्रो केन्द्र विन्दुमा छ । कृषिबाहेक केही नगर्ने भन्ने होइन्, कृषिमा हामीले धेरै सम्भावना देखेका छौं ।


तर तपाईहरुका दुई वटै कम्पनी सुरुवाती समस्यामा देखिए, नेपाल ग्यासको स्वामित्व हस्तान्त्रणमा ढिलाई भयो, यसले सोंचेको लक्ष्य पूरा गर्न सकिन्छ ?
हो हामीले नेपाल ग्यास छ महिनामा स्वामित्व हस्तान्त्रण हुन्छ भन्ने सोंचेका थियौं, तर दुई वर्ष लाग्यो । नेपाल ग्यासमा हामीले बनाएको योजना अहिले ‘एक्जक्युट’ भैसक्नुपर्दथ्यो, तर दुई वर्षपछि बल्ल हाम्रो डे वान आयो । त्यसैले त्यस विषयमा केही प्रतिक्रिया दिनु ठीक हुँदैन् ।

तै पनि नेपाल ग्यासमा तत्काल नयाँ के हुन्छ ?
नेपाल ग्यासमा तत्काल ‘इफिसेन्सी’का कुरा छन्, ब्राण्डका हिसावमा, वितरण प्रणालीका हिसावमा, ‘ब्राण्डभ्यालु’ झन् बढाउने काम सुरु हुन्छ, हामीले व्यवस्थापन लिएको एक डेढ महिना मात्रै भएको छ । नेपाल ग्यास धेरै व्यवस्थित कम्पनी हो, यसलाई अझ बढाउने ठूलो सम्भावना छ ।

जस्तो तपाईहरुले इन्भेष्टमेन्ट कम्पनी खोल्नुभएको थियो, त्यसबाट सुनको कारोवार गर्न खोज्नुभएको थियो, इन्भेष्टमेन्ट बैंकिङ्ग पनि गर्न खोज्नुभएको थियो, त्यो क्षेत्रमा पनि राम्रो  प्रगति देखिएन है ?
मैले अघि पनि भनें, कुनै कुनै काममा समयभन्दा पहिले हात हालिन्छ भनेर नेपालमा इन्भेष्टमेन्ट बैंकिङ्गको विषय त्यही रह्यो, अहिले पनि हामी कोसिश गरिरहेका छौं, अहिलेसम्म ठूलो काम हुन सकेको छैन् । दुनियाँमा त्यो सेवा चाहिन्छ भने नेपालमा चाहिंदैन् ? जब नेपाल त्यसका लागि तयार हुन्छ, हामी सेवाका लागि तयार रहेका हुन्छौं ।

तपाईहरुले ग्रिन इन्भेष्टमेन्ट अन्र्तगत नै सुनको कारोवार गर्ने अर्को सब्सिडरी पनि खोल्नभएको थियो, होइन् ?
सुनको कारोवारमा पनि हामीले काम गरिरहेका छौं । यसमा नेपाल राष्ट्र बैंक पनि संवदेनशील छ । सुनको व्यापार संधै ‘ट्रिकी विजनेश’ रहने गरेको छ, त्यसको अघिपछि विवाद आउने गरेको छ, त्यसलाई हामीले सफा राखेर साना निक्षेपकर्तालाई सुन खरिदमा सहभागी बनाउने योजना हो । आज कसैको खल्तीमा पाँच सय रुपैयाँ छ भने सुन किन्न सक्दैन, हामीले सुनको व्यापार त्यो स्तरमा ल्याउनका लागि प्रयास गरिरहेका छौ । सुन परमपरागत हिसावले सेभिङ्गको साधन हो, अर्को तिर सुनको कारोवार नेपालमा आफैमा विश्वसनीय पनि छैन् । सही सुन पाउने हो कि होइन्, यो दुई वटा समस्यालाई समाधान गर्न संयुक्त प्योकजका लागि हाम्रो प्रयास हो । एकातर्फ राम्रो सुन चाहियो र अर्कोतफ कम हैसियतवालाले पनि सुन किन्न पाउनुपर्यो । त्यो दुरीलाई हामीले भत्काउन  खोजिरहेका छौं । हामीले यो सेवा सुरु गरेपछि सुनको कारोवार राम्रो हुनेछ । यहाँ त अहिले दुई किलो सुन किन्नेको पत्तो ठेगान हुँदैन् तर पाँच सय रुपैयाँ किन्नेको पत्तो ठेगान हुन्छ । त्यसलाई लुकाउनुपर्ने केही छैन् । सरकारले पनि चाहेको त्यही हो । हाम्रो तयारी पूरा भैसकेको छ, अधिकारीहरुलाई विश्वासमा लिएर मात्र सुरु गर्ने भन्ने हो । कहिलेकाहीं हुन्छ नि चिया र औंठवीचको दुरी भैरहेको छ, हामी र हाम्रो कारोवार त्यही दुरीमा छ ।