नवराज ढकाल
काठमाडौं : सेयर बजारले पछिल्ला दिनमा नयाँ उचाइ लिन थालेको छ। विगतमा दैनिक सरदर सात करोड रुपैयाँको सेयर कारोबार हुने गरेकामा यो साता सरदर दैनिक कारोबार ११ देखि १५ करोड रुपैयाँसम्म पुग्यो। बुधबार यो ट्रेन्डलाई समेत तोड्दै कारोबार रकम २० करोड १६ लाख रुपैयाँ नाघेको छ। कारोबार रकम ह्वात्तै बढ्दा बजारमा लगानीकर्ताको आकर्षण बढेको बुझिन्छ।
कारोबार रकमसँगै नेप्से परिसूचकसमेत बढेको छ। परिसूचक र कारोबार रकम दुवैको वृद्धिले दिगो वृद्धिको संकेत गर्छ। साताको पहिलो दिन आइतबारबाट लगातार बढेको बजार बुधबारसम्म जारी छ। बजार विश्लेषकले बुधबार नेप्से परिसूचकमा सामान्य गिरावट आउने अनुमान गरे पनि त्यो गलत साबित भयो। बिहीबार पनि बजार बढे नेप्सेले नयाँ उचाइ लिने विश्लेषकहरू बताउँछन्। यसअघि सेयर बजार मापक नेप्से परिसूचक पाँच सय ५५ अंक पुगेर फर्किएको थियो। यसपटक पनि त्यो विन्दुमा पुगेर एक धक्का लाग्न सक्ने कतिपयको विश्लेषण छ। यो अवरोधलाई पार गरेमा भने नेप्से पुन: नयाँ उचाइमा पुग्ने छ। यसपछि पाँच सय ९१ र ६ सय ५१ मा अवरोध रहेको सेयर विश्लेषण रवीन्द्र भट्टराईको आकलन छ। उनले चालू आवको अन्त्यसम्ममा नेप्से ६ सय ६३ सम्म पुग्न सक्ने विश्लेषण गरेका छन्।
सेयर बजार बढोत्तरीमा केही बलिया प्राविधिक र सैद्धान्तिक आधार देखिएका छन्। अहिले लगानीकर्ता निकै सचेत भएका छन्। यसअघिको बुलिस ट्रेन्डमा नेप्से र कारोबार रकम बढ्दा सूचीकृत अधिकांश कम्पनीको सेयर मूल्य बढ्ने गरेको थियो तर अहिले लगानीकर्ताले आकर्षक मुनाफा दिने, वित्तीय रूपमा सबल र व्यवस्थापन राम्रो रहेका कम्पनीको सेयरमात्र किनिरहेका छन्। ‘डेढ सय अंकभन्दा बढीले बजार माथि आउँदासमेत कमसल कम्पनीको सेयर भाउ सुरुकै अवस्थामा छ। यसबाट लगानीकर्ता सचेत भएको प्रस्ट हुन्छ’, स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नन्दकिशोर मुन्दडा भन्छन्।
सूचीकृत कम्पनीको मुनाफा (विशेष गरी वाणिज्य बैंकहरू) ले सेयर बजारलाई माथि तानिरहेको छ। हाल वित्तीय विवरण सार्वजनिक गरिरहेका संस्थाले मनग्ये नाफा कमाएको देखिएको छ। अधिकांश वाणिज्य बैंकको नाफा बढेको विवरण आउने संकेत तेस्रो त्रैमासिक विवरणले गरिसकेको छ। हाम्रो सेयर बजारमा वित्तीय संस्थाको वर्चस्व छ। यसबाहेक समयमै वार्षिक बजेट आएकाले आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने धेरैको विश्वास छ। बैंक तथा वित्तीय संस्थामा पछिल्लो समय तरलता ह्वात्तै बढेको छ। तरलता बढेपछि बैंकले ब्याजदर घटाउन सुरु गरिसकेका छन्।
अधिकांश वाणिज्य बैंकको ब्याजदर सात प्रतिशतभन्दा तल छ। राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत अनिवार्य नगद मौज्दात (सीआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर) दर घटाएकाले वित्तीय संस्थामा लगानी गर्न सक्ने रकम थपिएको छ। दिगो लगानीका अन्य क्षेत्र नहुँदा बैंकहरू पनि सेयर धितो कर्जा उपलब्ध गराउन चाहन्छन्। अहिले लगानीकर्ताले सेयर धितोकर्जा सहजै पाइरहेका छन्। सेयर किन्नकै लागि समेत वित्तीय संस्थाले सजिलै ऋण उपलब्ध गराइरहेका छन्। यसले पनि लगानीकर्ताको क्षमता बढेको छ।
बजारमा रकमको आपूर्ति बढेको अनि अमेरिकी डलरको भाउसमेत बढ्दा यस वर्ष महँगी बढ्ने अर्थशास्त्रीहरू बताउँछन्। महँगी बढ्दा सेयर भाउसमेत बढेको विगतको अनुभव छ। डलरको भाउ बढेकाले रेमिट्यान्स आयसमेत बढ्नेछ। गत आर्थिक वर्षको ११ महिनामै तीन खर्ब ८८ अर्ब ४६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिसकेको छ। यो वर्ष रेमिट्यान्स आय अझ बढ्ने अनुमान छ। कामको खोजीमा बिदेसिने युवा गत आवमा थप बढेका छन्। डलरको भाउ बढ्दा उनीहरूले पठाउने रेमिट्यान्स रकम स्वत: बढ्न जान्छ। रेमिट्यान्सको थोरै हिस्सामात्र सेयर बजारमा लगानी भए पनि समग्र बजार बढाउन त्यसले सहयोग पुर्‍याउनेछ।
यो चुनावी वर्ष पनि हो। ‘चुनावी वर्षमा बजारमा पैसाको आपूर्ति निकै बढ्न जान्छ। उपभोग्य वस्तुको सामानको खपत बढ्छ। यसले समग्र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्छ। जसबाट सेयर बजारमा सकारात्मक प्रभाव पर्छ’, सेयर बजार विश्लेषक रवीन्द्र भट्टराई भन्छन्। यो वर्ष कृषि क्षेत्रले समेत राम्रै साथ दिने संकेत दिएको छ। ८५ प्रतिशतभन्दा बढी खेतमा रोपाइँ भइसकेको छ। समयमा मनसुन हुँदा धान उत्पादन राम्रो हुन्छ। धान धेरै फल्दा आर्थिक वृद्धिदर राम्रो हुने गरेको छ। आर्थिक वृद्धिदर राम्रो भएको वर्ष सेयर बजार बढेको विगतको उदाहरण छ। कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३४ प्रतिशत छ।
सेयर बजारका लागि यो वर्ष सबैभन्दा जोखिम भने राजनीति नै हुने भएको छ। मंसिरमा चुनावको मिति घोषणा गरिए पनि तोकिएको समयमा चुनाव हुनेमा अझै आशंका जारी छ। नेकपा माओवादीसहित अन्य केही साना दलले कुनै पनि हालतमा चुनाव हुन नदिने बताइरहेका छन्। ‘चुनाव हुन सकेन भने चाहिँ त्यसले सेयर बजारमा नकारात्मक असर पार्नेछ। राजनीतिक अस्थिरताले सेयरलाई माथि जानबाट रोक्छ।
नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष एवं इक्रा नेपालका प्रमुख कार्यकारी अधिकृत दीपकराज काफ्ले लगानीकर्ताले सैद्धान्तिक र प्राविधिक दुवै विश्लेषण गरेर लगानी गर्नुपर्ने बेला भइसकेको बताउँछन्। ‘बजार निरन्तर बढिरहेको छ, आवेगमा आएर लगानी गर्नुहुँदैन’, उनले भने।
सेयर किन्दा ध्यान दिनुपर्ने पक्ष
-कम्पनीको खुद मुनाफा
-प्रतिसेयर आम्दानी
-मूल्यआम्दानी अनुपात
-कम्पनी व्यवस्थापन तथा सञ्चालक
-कम्पनीको भावी योजना
-निक्षेप तथा ऋण प्रवाहको अवस्था
-जगेडा कोष
-खराब कर्जा अनुपात