बैंक तथा वित्तीय
संस्थासहित नेपाल स्टक एक्सचेञ्जमा सेयर सूचीकरण भएका पब्लिक कम्पनीहरुले
गत आर्थिक वर्ष २०६९/७० को अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरिरहेका छन् ।
यी वित्तीय विवरण अन्य सरोकारवालाका अतिरिक्त कम्पनीहरुको सेयरमा लगानी
गर्न चाहने व्यक्तिका लागि उपयोगी हुन्छन् । वित्तीय विवरणबाट कुन कम्पनीको
सेयर कति मूल्यमा किन्दा उपयुक्त हुन्छ भनेर विश्लेषण गर्न तलका विषयमा
ध्यान दिनुपर्छ ।
खुद मुनाफा
खुद मुनाफा (Net Profit)
कम्पनीहरुको परफरमेन्स नाप्ने मुख्य सूचक हो । कम्पनीले गरेको आम्दानीबाट
विभिन्न खर्च र अन्त्यमा सरकारलाई करसमेत तिरेपछि बाँकी रहेको रकम खुद
मुनाफा हो । यही रकमबाट सेयरधनीलाई लाभांश वितरण गरिन्छ । बढी मुनाफा गरेको
कम्पनीले नै बढी लाभांश दिने सम्भावना हुन्छ ।
प्रतिसेयर आम्दानी
खुद मुनाफा बढी हुँदैमा कम्पनीले बढी
प्रतिफल दिन्छ भन्न सकिंदैन । त्यसैले कम्पनीको चुक्ता पुँजी र नाफाको
अनुपात हेर्नुपर्छ । कम्पनीको सेयर कित्ता संख्याले कम्पनीले एक आर्थिक
वर्षमा गरेको खुद मुनाफालाई भाग गरेर प्रतिसेयर आम्दानी (EPS) निकालिन्छ ।
१ करोड चुक्ता पुँजी भएको कम्पनीले १ करोड
खुद मुनाफा गर्नु र ५ करोड रुपैयाँ चुक्ता पुँजी भएको २ करोड खुद मुनाफा
गर्नुमा सेयरधनीका लागि १ करोड नाफा गर्ने कम्पनी उपयुक्त हुन्छ । १ करोड
नाफा गर्ने कम्पनीको प्रतिसेयर आम्दानी १०० प्रतिशत हुन्छ भने २ करोड नाफा
गर्ने कम्पनीको प्रतिसेयर आम्दानी ४० प्रतिशत मात्र हुन्छ ।
खुद सम्पत्ति
प्रतिसेयर आम्दानीले कम्पनीको सोही वर्षको
स्थिति मात्र जानकारी दिन्छ । कम्पनीमा सेयरधनीले गरेको लगानी अर्थात
चुक्तापुँजी र कम्पनीले हरेक वर्ष नाफा गर्दै बचत गरेको संचित रकमको जोडलाई
कम्पनीको सेयर कित्ताले भाग गरेपछि प्रतिसेयर खुद सम्पत्ति वा सेयरको
किताबी मूल्य (Net worth per share) आउँछ ।
पछिल्लो एक आर्थिक वर्षमा थोरै प्रतिसेयर
आम्दानी गरेको कम्पनी भए पनि यदि उसको प्रतिसेयर खुद सम्पत्ति उच्च छ भने
सगम्रमा त्यो कम्पनी राम्रो छ भन्ने बुझ्न सकिन्छ । किताबी मूल्य बढी भएको
कम्पनीले त्यो वर्ष कम नाफा गरे पनि अघिल्लो वर्षको नाफाबाट संचित गरेको
रकम सेयरधनीलाई लाभांश दिन सक्छ ।
जगेडा कोष
कम्पनीहरुले गरेको खुद मुनाफाबाट केही रकम सेयरधनीलाई लाभांश बाँड्छन् भने केही रकम कम्पनीमा भैपरी आउने खर्च गर्नको लागि जगेडा कोष (Reserve Fund)
मा जम्मा गर्दछन् । जगेडा कोषमा रकम नभएको कम्पनी भोली नसोचेको ठाउँमा
खर्च बढाउनुपर्दा समस्यामा पर्न सक्छ । तर, जगेडा कोषमा पर्याप्त रकम छ भने
कम्पनीलाई भविष्यमा पैसा अभावको समस्या हुँदैन ।
जगेडा कोष बढेपछि प्रतिसेयर नेटवर्थ पनि
बढ्दै जान्छ । यदि कम्पनी बन्द गरियो भने जगेडा कोषमा भएको रकम सेयरधनीले
सेयरको अनुपातमा बाँडेर लिन सकिन्छ । पब्लिक कम्पनीहरुले तीन/तीन महिनामा
प्रकाशन गर्ने वित्तीय विवरणमा उल्लेख गर्ने जगेडा कोषभित्र नदेखिने गरी
विभिन्न उपशीर्षक लुकेका हुन्छन् । रिटेण्ड अर्निङ शीर्षकमा राखिएको रकम
आगामी वर्षमा सेयरधनीलाई लाभांश बाँड्न सकिन्छ ।
मूल्य आम्दानी अनुपात
पर्याप्त नाफा गर्ने, नेटवर्थ उच्च भएको
वा जगेडा कोष पर्याप्त भएको कम्पनीको सेयर किन्नु फाइदाजनक त हुन्छ । तर,
त्यस्तो कम्पनीको सेयर जति महँगो भए पनि किन्नु फाइदाजनक हुँदैन । सेयर
किन्दा कम्पनीले आगामी वर्ष दिनसक्ने लाभांशले सेयर किन्दा तिरेको रकम कति
वर्षमा उठ्छ भनेर हेर्नु महत्वपूर्ण हुन्छ ।
कम्पनीको सेयर मूल्यलाई एक आर्थिक वर्षको प्रतिसेयर आम्दानीले भाग गर्दा आउने अंक मूल्य आम्दानी अनुपात (PE Ratio)
हो । यस्तो अनुपात १० भन्दा कम भएका कम्पनीको सेयर किन्दा डुब्ने सम्भावना
न्यून हुन्छ भने २० भन्दा बढी भएका कम्पनीको सेयर किन्दा डुब्ने सम्भावना
अधिक हुन्छ ।
कुनै पनि सम्पत्तिमा गरिएको लगानी त्यो
सम्पत्तिबाट हुने आर्जनले कति वर्षमा पूर्ति गर्न सक्छ भन्ने कुरा
महत्वपूर्ण हुन्छ । मानौं, वाषिर्क ५० प्रतिशत लाभांश दिने कम्पनीको सेयर
मूल्य १ हजार छ तर ३० प्रतिशत लाभांश दिने कम्पनीको मूल्य ५ सय छ भने
दोस्रो कम्पनीको सेयर किन्नु बढी लाभदायक हुन्छ ।
सेयर मूल्य र प्रतिसेयर आम्दानीको
अनुपातको साथै प्रतिसेयर किताबी मूल्यको अनुपात पनि महत्वपूर्ण हुन्छ ।
कुनै कम्पनीको एक आर्थिक वर्षमा आकस्मिक कारणले मुनाफा न्यून हुनसक्छ ।
त्यस्तो अवस्थामा पिई रेसियो उच्च देखिन सक्छ । यद्यपि त्यो कम्पनीले
विगतमा राम्रै नाफा गर्दै आएको र अर्को आर्थिक वर्षमा पनि राम्रो नाफा गर्न
सक्छ ।
नाफाको स्रोत
सामान्यतयाः खुद मुनाफा बढी गर्न सक्ने
कम्पनी राम्रो मानिन्छ । तर, त्यो नाफाको स्रोत दिगो हो कि एक वर्षपछि नष्ट
हुने हो भन्ने कुरामा ध्यान दिनुपर्छ । कम्पनीको सञ्चालन नाफा वा मूल
बिजनेशबाट भएको नाफालाई दिगो मानिन्छ । कम्पनीको सम्पत्ति बेचेको रकम जोडेर
नाफा गरेको रहेछ भने अर्को वर्ष त्यस्तो आम्दानी हुँदैन ।
त्यस्तै, पहिलेदेखि उठाउन बाँकी रहेको रकम
त्यही वर्ष एकै पटक उठेर नाफा देखिएको छ भने दिगो नाफा हुँदैन । बैंकहरुको
हकमा त्यो आर्थिक वर्षमा सञ्चालन मुनाफा नगरे पनि पहिलेदेखि फसेको ऋण
त्यही वर्ष असुली भएर नाफा बढेको हुनसक्छ ।
जोखिम व्यवस्था
कम्पनीकहरुको मुनाफामा सम्भावित जोखिम व्यवस्था (provision for possible losses)
शीर्षक महत्वपूर्ण हुन्छ । सामान्यतया आउने निश्चित भएको रकमलाई कम्पनीको
सम्पत्ति मानिन्छ । तर, कुनै सम्पत्ति उच्च जोखिममा पर्यो भने त्यसलाई
सम्पत्तिमा गणना नगरेर त्यो बराबरको रकम सम्भावित जोखिम व्यवस्था गरिन्छ ।
यदि त्यो वर्ष कम्पनीले राम्रै सञ्चालन
मुनाफा गरेको भए पनि प्रोभिजन गर्नुपर्यो भने प्रोभिजन रकम बराबर नाफा
घट्न जान्छ । त्यस्तै, आगामी कुनै वर्ष यदि त्यो सम्पत्ति असुल भयो भने
प्रोभिजनमा राखेको रकम नाफामा गणना हुन्छ । त्यसैले खुद मुनाफाको साथै
सञ्चालन मुनाफा पनि हेर्नुपर्छ ।
एक वर्ष अपर्याप्त
एक आर्थिक वर्षको वित्तीय विवरण हेरेर
कम्पनीको सेयर किन्ने वा नकिन्ने र कति मूल्यसम्ममा पाए किन्ने भनी सही
निर्णयमा पुग्न गाह्रो हुन्छ । कम्तीमा तीन आर्थिक वर्षको वित्तीय विवरण
हेर्ने हो भने खुद मुनाफा, प्रतिसेयर आम्दानी र मूल्य आम्दानी अनुपात मात्र
हेरेर सेयर किन्ने निर्णय गर्न सकिन्छ ।
एक आर्थिक वर्षको कुनै सूचक मात्र हेरेर
निर्णय गर्दा गलत संकेत गर्न सक्छ । विगतदेखि कमजोर हुँदै आएको सूचक त्यो
वर्षमात्रै सुध्रेको हुनसक्छ । यदि त्यस्तो हो भने अर्को वर्ष पुनः कमजोर
हुने सम्भावना रहन्छ । यदि कम्पनीहरुले गलत विवरण नै बनाएका रहेछन् भने पनि
लगातार तीन/चार वर्ष नियामक निकायलाई छलेर त्यस्तो गर्न सक्दैनन् ।
यसको साथै अखबारमा छापिने लेखापरीक्षण
हुनुअघिको वित्तीय विवरणमा मात्रै पूरै भर नपरी कम्पनीहरुले लेखापीक्षणपछि
प्रकाशन गर्ने वित्तीय प्रतिवेदनलाई पनि आधार लिनुपर्छ । विगतदेखि कम्पनीको
लेखापरीक्षण प्रतिवेदन अध्ययन गर्दै आएका व्यक्तिलाई त्रैमासिक अपरिस्कृत
विवरण कम्पनीको प्रवृत्ति बुझ्न उपयोगी हुन्छ ।