Friday, November 30, 2012

मुम्बईका नेपाली ‘डन’ - onlinekhabar

भारतको प्रशिद्ध शहर मुम्बईबाट एकजना खाइलाग्दा मान्छे यतिबेला काठमाडौं आइपुगेका छन् । गेरु रंगको स्वीटर लगाएका, खजुरो जस्तै जुँगा पालेका र पश्चिमाहरुको उचाइ भएका यी व्यक्ति मुम्बईका चल्तापूर्ता ‘डन’ मानिन्छन् । तर, उनी भारतीय नभएर नेपाली हुन् । उनी काठमाडौं आउनुको उद्देश्य हो, भारतीय शिवसेना प्रमुख बाल ठाकरेको अस्तु सेलाउने ।
बाल ठाकरेको अस्तु मुस्ताङको मुक्तिनाथमा सेलाएर राजधानी आएका यी नेपालीको कथा बडो रोचक रहेछ । यिनको नाम हो, मास्टर थापा । उनी आफूलाई राज ठाकुर पनि भन्छन् । उनको जन्मघर स्याङजा हो । तर, उनले मुम्बईको जेलमा रहेका बेला आफ्नो नाम परिवर्तन गरेका हुन् । उनी कतिपटक जेल परे, गणना छैन । डनहरुका लागि यो त सामान्य घटना हो । ठाकरेनिकट ‘भारतीय कामगार सेना महासंघ’मा आवद्ध ‘नेपाली श्रमिक मजदुर युनियन’ का अध्यक्ष रहेका यिनी मुम्बईमा बस्न थालेको ३१ वर्ष भयो भने ठाकरेको संगत गरेको २८ वर्ष ।
आसामको गुहाटीमा केही समय भिनाजुसँग वाल्यकाल बिताएका यिनी त्यहाँ काफ्ले महाजनकहाँ बस्थे । काफ्ले महाजनले १४ सय भैंसी पालेका थिए भनेपछि उनले गर्ने काम सहजै अनुमान लगाउन सकिन्छ । त्यहीँबाट भागेर उनी दिल्ली र त्यसपछि मुम्वई भासिएका हुन् ।
मुम्बईमा होटलमा भाँडा माझ्नेदेखि लिएर चौकीदारी गर्नेसम्मको बाध्यताले गर्दा यिनले ३ कक्षाभन्दा माथिसम्म पढ्न पाएनन् । तर, चौकीदारी गर्दागर्दै मुम्बईका डनसित भौतिक झगडा परेपछि यिनी जेल गए । र, त्यहीँबाट शुरु भयो यिनको ‘डन’ संसारको आजीवन यात्रा ।
नेपालका दीपक मनांगे र चक्रे मिलनहरु यिनका अगाडि सामान्य हुन् । किनभने मनांगे र मिलनले नेपालका राष्ट्र प्रमुखहरुसित तस्विर खिचाउने मौका पाएका छैनन् । तर, यिनले महाराष्ट्रका मनोहर जोशीदेखि लिएर प्रहरीका हाकिमहरुसित धेरैपटक फोटो खिचाएका छन्, अवार्डहरु थापेका छन् । बाल ठाकरेसँग उनले खिचेका तस्विरको त हिसाबै नगरौं ।
हिन्दी र नेपाली भाषा छासमिस पारेर बोल्ने यिनको नेपालका केही नेतासित पनि राम्रो दोस्ती रहेछ । मधेसी जनअधिकार फोरमका नेता उपेन्द्र यादव मुम्बई पुगेका बेला यिनले प्रवासी नेपालीवीच भव्य कार्यक्रमको आयोजना गरेका थिए । माओवादी प्रवक्ता पम्फा भुसाल आफ्नी आमालाई लिएर तीर्थ जाँदा यिनले मद्दत गरेका थिए । त्उही नाताले उनले काठमाण्डौं आएका बेला पम्फा भुसाललाई टेलिफोन गरेर भेट्न आग्रहसमेत गरे । उपेन्द्र यादवसमर्थित जनआधिकार फोरमका केन्द्रीय सदस्य अर्जुन थापा यिनका पुराना साथी हुन् ।
मुम्बईमा नेपालीमाथि हुने कुनै पनि अन्यायका घटना यिनीसमक्ष आइपुग्छन् । नेपालीको हितका लागि संगठन र कार्यालयसमेत खोलेर बसेका थापाले कुटेर हुन्छ कि कसरी हुन्छ, नेपालीको पक्षमा काम गर्छन् । मुम्वईमा अभर परेका धेरै नेपाली चेलीहरुकोसमेत उद्धार गरेको उनी दाबी गर्छन् । बाग्लुङकी श्यामला शर्माको दुईवटै मृगौला काम नलाग्ने भएपछि ७ लाख उठाएर सहयोग गरेको उनको कथन छ । ‘हिन्दू राष्ट्र’का नागरिक भएकाले बाल ठाकरेले समेत नेपालीहरुलाई औधी माया गर्ने गरेको थापा स्मरण गर्छन् ।
भारतको प्रशिद्ध मुम्बईलाई उसै पनि ‘डन’हरुको शहर भनिन्छ । तर त्यो डनहरुको सूचिमा होटलमा भाँडा माझ्ने एकजना नेपाली ‘बहादुर’को नामसमेत आउनुलाई चाँहि निकै रोचक घटना मान्नुपर्छ । बाल ठाकरेको संरक्षण पाएपछि उनी मुम्बईको ‘डन’ बन्न सफल भएका हुन् ।
थापाका अनुसार मुम्बईमा लगभग तीन लाख नेपाली छन् । जसमध्ये १ हजार ५ सय जत्ति धनाढ्य नेपाली रहेका छन् ।